कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

नक्कली बयान : सफाइ नै दुखाइ

देवेन्द्र भट्टराई

काठमाडौँ — ३६ वर्षीया मतिरा खड्का जीसी वरपर कोही नौलो मानिस देखिए झस्किन्छिन् । उनको अनुहार रङ बदलिन्छ । टाउकोमा बाँधेको पट्टी खोल्दै र खुकुलो पार्दै गरिरहेकी हुन्छिन् । एउटा प्रसंगमा कुराकानी गरिरहेका बेला बहकिएर अर्कै कुरा गर्न थाल्छिन् ।

नक्कली बयान : सफाइ नै दुखाइ

दोलखा, बिगुबाट मतिरा काठमाडौं आइपुगेको एक वर्ष मात्रै हुँदै छ । यसबीच उनले धेरै कुरा बिर्सिसकेकी छन् । दुई प्रसंग भने बरोबर सम्झिरहन्छिन्– दुई छोराछोरी र २०७४ वैशाख २३ गते ।


श्रीमान् सुन्दर जीसीले टाउकोमा ढुंगाले प्रहार गरेपछि १० दिनसम्म बेहोस भएकी मतिराले अस्पतालको ‘क्रिटिकल केयर’ बाट पुनर्जीवन पाएकी थिइन् । ‘म घर छेवैको धारामा लुगा धोएर फर्किरहेकी थिएँ,’ उनले सुनाइन्, ‘एक्कासि लोग्नेले कञ्चटमा ढुंगाले हानेको सम्झना छ । त्यसपछि एकैचोटि काठमाडौंको अस्पतालमा आफूलाई पाएँ ।’ ढुंगाले हानेपछि भुइँमा लडेकी श्रीमतीलाई अनुहारै कुच्चिने गरी ढुंगा, भाटा र मुड्कीले हानेर मरणासन्न बनाई नजिकैको प्याजबारीमा फालेर श्रीमान् सुन्दर सिधै स्थानीय लोटिङ प्रहरी चौकी पुगेका थिए ।


घरनजिकै बसिरहेका सासू–ससुरा यो घटनाको प्रत्यक्षदर्शी भए पनि चौकीबाट प्रहरी नआई कसैले मतिराको शरीर उठाएनन् । धेरै बेरपछि गाउँले र प्रहरी मिलेर उनलाई दोलखा अस्पताल पुर्‍याए । अस्पतालले ‘तुरुन्त काठमाडौं लैजानू’ भनेपछि रातको १२ बजे टिपरमा हालेर वीर अस्पतालको ट्रमा सेन्टर ल्याइयो । काठमाडौं ल्याउन मतिराका देवर, ससुरासहित गाउँलेले सहयोग गरेका थिए ।

मतिरामाथि भएको चर्को घरेलु हिंसाबारे उनका मामा टीकाराम तामाङ, सामाजिक कार्यकर्ता देवी सिवाकोटीसहितले सामाजिक सञ्जाल र अरू माध्यमबाट आवाज उठाउँदै आएका थिए ।


ट्रमा सेन्टरमा गत वर्ष वैशाख २३ गते राति भर्ना गरिएकी मतिराको १० दिनपछि मात्रै होस आयो । शारीरिक र मानसिक रूपमा विक्षिप्त उनलाई पूर्ण ठीक नभई अस्पतालले पन्ध्रौं दिनमै ‘डिस्चार्ज’ दियो । ‘कसको के प्रभाव र भनसुनले हो, दिदीलाई झन्डै बेहोसीमै डिस्चार्ज गरियो,’ मतिरासँगै रहेकी बहिनी रिया जीसीले भनिन्, ‘हामी जडीबुटीस्थित डेरामा बस्न थाल्यौं । दिदीको टाउकाको घाउ भने उस्तै थियो ।’


मतिराका बारेमा दिइएको स्वास्थ्य प्रतिवेदनअनुसार ‘उनको खप्परको हड्डीको केही भाग जीवित राख्न र पुनः प्रत्यारोपण गर्न पेट शल्यक्रिया गरेर जटिल अवस्थामा’ राखिएको छ । उनका दुवै नलीखुट्टाको माथिल्लो भागको हड्डी पनि चर्किएको छ । हातको शल्यक्रिया गरिए पनि कुइनानिरको नसा अझै बाहिर निस्किएको छ ।


छोरीमाथि भएको आक्रमणलाई लिएर उनका बुबा नीरबहादुर खड्काले जिल्ला प्रहरी कार्यालय दोलखामा वैशाख २५ मै जाहेरी दिएका थिए । जाहेरीअनुसार प्रतिवादी सुन्दर जीसीलाई अनुसन्धानका लागि हिरासतमा पनि राखियो ।


‘तर अदालती प्रक्रिया सुरु हुनासाथै प्रहरी–प्रशासनले पीडित महिलाका पक्षमा सहयोग नगरेको स्पष्ट देखिन्छ,’ चरिकोटस्थित कानुन व्यवसायी अधिवक्ता सरोज उप्रेतीले भने, ‘तयार गरिएको मिसिल अधुरो छ, पीडित महिलाको स्वास्थ्य र शारीरिक अवस्थाबारे उल्लेख छैन, अस्पतालको रिपोर्टसमेत राखिएको थिएन ।’


अदालतको थुनछेक आदेशमा जम्मा १० हजार रुपैयाँ धरौटी राखेर रिहा भएका प्रतिवादी सुन्दर जीसी झन्डै ३ साता मात्रै हिरासतमा बसे । ‘दिदीको बोलीको टुंगो थिएन, बेहोस भइरहनुहुन्थ्यो,’ रियाले भनिन्, ‘त्यस्तो बेला जेठ ११ गते दिदीसँग बयान र औंठाछापसमेत लिएको भनेर अदालतमा त्यसको प्रतिलिपि बुझाई मुद्दालाई कमजोर बनाइएको रहेछ, यसबारे हामीलाई केही थाहा भएन ।’


मतिराको स्थिति र घरेलु हिंसाको घटनाबारे ध्यानाकर्षण भएपछि राष्ट्रिय महिला आयोगले पीडितका पक्षमा परामर्श तथा सहयोग जुटाउन थालेको थियो । ज्यान मार्ने उद्योगमा पीडितका तर्फबाट बकपत्र पेस गर्ने क्रममा आयोगले आफ्ना दुई प्रतिनिधिलाई साथै लगाएर भदौ २० मा दोलखा जिल्ला अदालत पठाएको थियो ।


आयोगका कानुन अधिकृत हेमा पाण्डे र मनोसामाजिक परामर्शदाता पार्वती सुवेदीका साथमा एम्बुलेन्समा अदालत पुगेकी मतिराले ‘आफूले यसअघि कुनै बयान नदिएको र औंठाछाप नलगाएको जिकिर’ गरिन् । अदालतमा बुझाइएको नक्कली बयानमा भने मतिराले ‘आफ्नो लोग्नेले जानाजानी आफूलाई ढुंगाले हानेको नभई झुक्किएर उक्त घटना भएको र आफूलाई मार्ने कुनै नियत नभएको’ बताएको उल्लेख छ ।


‘त्यो औंठाछापको रेखाजाँच गरियोस् र नक्कली बयानबारे छानबिन गरियोस् भनेर अदालतमा जिकिर भएको हो,’ आयोगकी मुद्दा व्यवस्थापक बिमला खडका दर्लामीले कान्तिपुरसँग भनिन्, ‘यसबारे सुनुवाइ भएन, सिधै फैसला भएको छ ।’ मतिरालाई अहिले महिला आयोग, साथी, ल्याकलगायत संस्थाले कानुनी र बसोबास लगायतमा सहयोग गरिरहेका छन् ।


मतिराको मुद्दा जिल्ला अदालतमा टुंगिए पनि उच्च अदालत जान सकिने अधिवक्ता सरोज उप्रेतीले बताए । ‘यो मुद्दामा सरकारी वकिल खटाएर उच्च अदालत जान सकिने स्थिति छ,’ मतिराका पक्षमा मुद्दा लडेका उप्रेतीले भने, ‘गलत बयानको आधारमा गरिएको फैसला र नक्कली औंठाछापमा रेखाजाँच गरिनुपर्ने जिकिर गर्न सकिन्छ ।’ दोलखा जिल्ला न्यायाधीश तेजबहादुर खडकाले अघिल्लो सोमबार प्रतिवादी सुन्दर जीसीलाई सफाइ दिएका थिए ।


वैदेशिक रोजगारीको कथा

२० वर्षे उमेरमै बिहे गरेकी मतिराले ८ कक्षा पढेकी छन् । बिहे गरेर दुई छोराछोरी भएलगत्तै श्रीमान् सुन्दर लगातार दुईपटक मलेसिया रोजगारीमा गएका थिए । श्रीमान् मलेसिया गएका बेला मतिरा गाउँमै ज्यामी काम गर्थिन् । ‘छोराछोरी हुर्कंदै गएपछि र लोग्नेको भरथेग नभएपछि रोजीरोटीको उपाय खोज्दै म कुवेत गएकी थिएँ,’ मतिराले भनिन्, ‘पछिल्लोपटक एक वर्षजति कुवेत बसेर २०७४ फागुनमा मात्रै फर्केकी थिएँ ।’ यसअघि उनी २ वर्षका लागि कुवेत गएकी रहिछन् ।


श्रीमान्ले आफूलाई परपुरुषसँग लागेको भनेर दोष लगाइराख्ने र घरमा झगडा भइरहने गरेको मतिराले सुनाइन् । बिहे भएपछि श्रीमान्सँग मुस्किलले ३ वर्षजति सँगै बस्न पाएको सुनाउँदै उनले पारिवारिक बेमेलकै कारण छोराछोरी बुलुङस्थित माइतीघरमै हुर्के–बढेको बताइन् ।


कोही पराईसँग खुलेर मनको कुरा सुनाइरहेका बेला मतिरा भक्कानिएर रोइहाल्छिन् । उनीसँग भेटघाट गरेर बाहिर निस्किएपछि बहिनी रियाले फेरि कोठामा बोलाइन् । मतिराले अघि भन्न भुलेको र गहिरो गरी सम्झेको कुरो एउटै रहेछ, ‘सर, मेरा छोराछोरीलाई मसँग ल्याइदिनुस् न, कृपा गरेर ।’

प्रकाशित : चैत्र १४, २०७५ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?