१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

डीएनए मिलेन, न्याय मिल्यो

मैले न्याय पाए, खुशी छु : पीडित युवती
देवेन्द्र भट्टराई

काठमाडौँ — पन्ध्र महिनादेखि अल्झेर रहेकाे गोदामचौर बलात्कार काण्डकी पीडित युवती सुस्मिता (नाम परिवर्तन) शुक्रबार पनि पाटन जिल्ला अदालतमा हाजिर थिइन्, उनकी आमाका साथमा । आफूमाथिको बलात्कार काण्डलाई लिएर प्रतिवादी र वकिलसमेतले सधैं झैं चाहिनेभन्दा नचाहिने प्रश्न गरिरहँदा उनलाई झिँझो लागिसकेको थियो ।

डीएनए मिलेन, न्याय मिल्यो

तर, बहस सकिएपछि न्यायाधीश धनसिंह महराको एकल इजलासले बलात्कार काण्डका तीनैजना अभियुक्तलाई १० वर्षको जेलसजायसहितको फैसला सुनाएपछि सुस्मिता खुशीले उफ्रिदैं आफ्नी आमालाई च्याप्पै समाइन् ।

'न्यायका लागि यति धेरै कुदाकुद गरेपनि कतैबाट आशभरोस नपाएका बेला आज अदालतले न्याय दिएको छ,' सुस्मिताले कान्तिपुरसँग भनिन्, 'कहिले डीएनए म्याच भएन भनेर, कहिले बलात्कारको प्रमाण भेटिएन भनेर मलाई मर्ने हालतमा पुर्याइएको थियो । आज म पीडितको आवाजलाई प्रमाण मानिएकोमा म खुशी छु, मैंले बाँच्ने आधार भेटेकी छु ।'

आफूमाथि शारीरिक जघन्य आक्रमण गर्ने अभियुक्तलाई स्पष्ट चिनेरै किटानी जाहेरी दिएको र त्यो किटानीका बारेमा सधैं अडानमा रहेकोबारे उनले दोहोर्याएर अदालतमा सुनाएकी थिइन् । उनले ललितपुर, गोदामचौरकै रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवरमाथि किटानी जाहेरी दिएकी थिइन् ।

ललितपुरको गोदामचौर मूल घर भए पनि सामाजिक तिरस्कार र मानसिक प्रताडनाका माझ धापासीमा डेरा सरेर दुःखजिलो गर्न थालेका सुस्मिता दम्पत्तिले राष्ट्रिय महिला आयोग, रेज एगेन्स्ट रेप अभियानबाट भने निरन्तर परामर्श र सहयोग पाउँदै आएका छन् । उनको आफ्नो ६ ठाउँमा भााचिएको हातको निःशुल्क शल्यक्रिया चिकित्सक डा.लक्ष्मण रिजालको समन्वयमा सम्भव भएको थियो ।

'डीएनए म्याच नभएको कारण अथवा अन्य प्रमाण नष्ट भएका आधार मात्रै न्यायिक प्रक्रियाका साध्य होइनन् भन्ने पुष्टि भएको छ,' राष्ट्रिय महिला आयोगकी मुद्दा व्यवस्थापक विमला खड्काले भनिन्, 'खासमा यो मुद्दामा प्रारम्भिक अनुसन्धानमैं कमजोरी देखिएको थियो । प्रमाणहरु नष्ट गर्ने वा नष्ट भएको अवस्था थियो । आरोपीले दिएको एकपछि अर्को बयान आफैंमा बाझिएको स्थितिले पनि प्रमाण पहिल्याउन सहज भएको हो ।' उनले मिडिया र सामाजिक तहबाट भएको निरन्तरको बहसपैरवीका कारण पीडितका पक्षमा वकालत सम्भव भएको बताइन् ।

उनले महिला आयोगमा अहिले आइरहेका कतिपय मुद्दाहरु 'जाहेरी गर्नै कठिनाइ भएका प्रकृतिका' रहेकोमा गोदामचौर मुद्दाको छिनोफानोले एउटा स्पष्ट बाटो तय गरेको खड्काले बताइन् ।

पीडित युवती सुस्मिताका ससुरा केरबहादुर घलेले बुहारीमाथिको बलात्कार काण्डपछि समाजमा व्यहोरेको कठिनाइका कारण गाउँमा रहेको घर बिक्री गरिसकेको र आफूहरु पनि अब बुढानिलकण्ठतिर बसाइँ सर्न लागेको जानकारी दिए । 'जे होस्, न्याय मिलेको छ,' घलेले भने, 'बुहारीले किटानी जाहेरी दिएका अभियुक्त दोषी नै रहेछन् भनेर प्रमाणित भएको छ, यो न्यायले दिलाएको खुशीको क्षण हो ।'

प्रकाशित : फाल्गुन १८, २०७५ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?