१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

‘कर नीति बनाउनेहरूले अरू चोर, आफू मात्र इमानदार भन्ने सोच्छन्’

काठमाडौँ — सन् १९६९ मा अमेरिकाबाट अध्ययन सकेर फर्केपछि ‘रक्सी भट्टी’ लाई रूपान्तरण गर्न आधुनिक मेसिन ल्याएर नेपालमा मदिरा व्यवसाय विस्तार गर्ने विजयकुमार शाह तीन वर्षयता सबैभन्दा बढी आयकर बुझाउने करदातामा पर्छन् । जावलाखेल ग्रुप अफ कम्पनिजलाई अध्यक्षका हैसियतले ५३ वर्षदेखि निरन्तर नेतृत्व गरिरहेका शाह मातहतमा हिमालयन डिस्टिलरी, राज ब्रुअरी, एसियन डिस्टिलरी, राज डिस्टिलरीसहित आधा दर्जन कम्पनी छन् ।

‘कर नीति बनाउनेहरूले अरू चोर, आफू मात्र इमानदार भन्ने सोच्छन्’

उत्पादनमूलक उद्योगमा लगानी गरी ७५ वर्षको उमेरमा समेत सक्रिय शाह ट्रेडिङबाट व्यवसाय गर्नेहरूलाई पछि पार्दै बढी कर तिर्ने सूचीमा अगाडि आएका हुन् । कपडा, कम्प्युटर, सफ्टवेयर निर्माण, तेल उद्योग तथा पुष्प व्यवसायमा चाहिँ असफलता अनुभव गरेका शाहसँग बढी कर तिर्ने सूचीमा पर्दाको अनुभव, लगानीको वातावरण र कर नीति तथा सुधारका लागि सुझावलगायतका विषयमा केन्द्रित रहेर कान्तिपुरका लागि कृष्ण आचार्यसीमा तामाङले गरेको कुराकानीको सम्पादित अंश :

यस वर्ष पनि व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर बुझाउने व्यक्तिको सूचीमा पर्नुभयो । सरकारले सम्मान पनि गर्‍यो ।

मैले कति कर तिर्नुपर्छ भनेर सरकारले पहिले नै व्याख्या गरिसकेको हुन्छ । कति प्रतिशत तिर्नू भन्छ, मैले त्यति नै तिर्ने हो । कर्पोरेट क्षेत्रमा अन्तःशुल्क, भ्याटलगायतका कर तिरेपछि आम्दानी हुने हो । त्यो आम्दानीमा मैले व्यक्तिगतर्फको आयकर बुझाउने हो । कर तिर्नु इमानदारी मात्र नभएर कानुनको पालना हो, जुन काम मैले पहिले पनि गर्थें, अहिले पनि गरिरहेको छु । पछिल्लो समय व्यक्तिगततर्फ तीन पटक सबैभन्दा बढी आयकर बुझाउनेमा परेको हुँ । यदि मेरो कम्पनी विभाजित नगराएर एकमुस्ट रूपमा कारोबार गर्ने भएको भए संस्थागततर्फ पनि सबैभन्दा बढी कर बुझाउने उत्कृष्टको सूचीमा हुन्थें ।

कोभिड–१९ अघिसम्म जावलाखेल ग्रुप बढी कर बुझाउने सूचीमै पर्थ्यो । बर्सेनि अर्बौं कर बुझाउँथ्यो । तर कोभिड–१९ ले एकै ठाउँबाट सबै उत्पादन तथा कारोबार गर्नु ठीक रहेनछ भन्ने पाठ सिकायो । त्यसैले विभिन्न कम्पनीमार्फत फरकफरक स्थानबाट उत्पादन गर्ने व्यवस्था गरिएको छ, जसले छुट्टाछुट्टै रूपमा कारोबार गर्छन् । त्यसैले संस्थागततर्फ अहिले उत्कृष्ट हुन कठिनाइ देखिएको हो ।

विभाजित नभएको अवस्थामा सबैभन्दा बढी कर तिर्ने सूचीमा पर्ने थियौं भनेर दाबी गर्नुभयो । जावलाखेल ग्रुपअन्तर्गतका कम्पनीहरू कसरी उदाएका हुन् ?

मेरा बुबा–बाजेले मदिराकै व्यवसाय गर्नुभएको थियो । त्यस बेला प्राविधिक अनुभव भए पनि मसँग औपचारिक कलेजको डिग्री थिएन । पढ्न अमेरिका जाने निर्णय गरें । अमेरिका जानुअघि बुबाले मलाई प्रश्न सोध्नुभएको थियो, ‘के पढ्छौ ?’ मलाई केमिकल इन्जिनियरिङ पढ्ने रहर थियो तर बुबाले ‘बिजनेस म्यानेजमेन्ट पढ्नू, सबै खर्च हेर्छु’ भन्नुभयो । बुबाको इच्छा राख्न बिजनेस म्यानेजमेन्ट नै पढें । तर, आफ्नो इच्छा पूरा गर्न अमेरिकामा काम गर्दै आफ्नै खर्चमा केमिकल इन्जिनियरिङ पनि पढें । म सन् १९६९ मा अमेरिकामा अध्ययन सकेर नेपाल फर्कें र मदिराकै व्यवसाय गर्न थालें । मेरो परिवारमा मदिराकै व्यवसाय गर्ने पाँचौं पुस्ता थिए ।

त्यो बेला नेपालमा ह्विस्की, खुकुरी रमको आफ्नै उद्योग थियो । मदिरा व्यवसायमा कडा प्रतिस्पर्धा थियो । रम बनाऊँ भने पहिले भएको खुकुरी रमसँग प्रतिस्पर्धा गर्नुपर्ने, ह्विस्की बनाऊँ भने पनि भएकै कम्पनीसँग प्रतिस्पर्धा गर्नुपर्थ्यो । अन्य व्यवसायीको तुलनामा म फुच्चे थिएँ । आफ्नो फरक र छुट्टै उत्पादन गर्ने र अन्यसँग प्रतिस्पर्धी गर्नु नपर्ने बजारको खोजीमा हिँडें । त्यस बेला जनकपुरमा सडक बनाउँदा रसियनले त्यहाँको छेउका सडकमा भोड्काका बोटलहरू फालेका देखिन्थे । भोड्का बनाएँ भने मैलै कुनै कम्पनीसँग प्रतिस्पर्धा गर्नुपर्दैन भन्ने लाग्यो । तर भोड्का बनाउन सजिलो थिएन । भोड्का बनाउनलाई उत्कृष्ट प्लान्ट, मेसिन र उपकरणको आवश्यकता थियो ।

किनभने, अल्कोहल रक्सी/जाँड होइन । यसमा ठूलो विज्ञान छ । अल्कोहलको प्रविधि बुझ्नलाई धेरै मिहिनेत र परिश्रम गर्नुपर्छ । कलेजको डिग्रीले मात्रै पुग्दैन । जस्तै— फ्रेस रम पिउँदा टाउको दुख्छ, तर २०–२५ वर्ष पुगेको स्कचले केही हुँदैन, ह्याङओभर हुँदैन । तर दुवै अल्कोहल हो नि ! त्यसकारण मैले आफ्नै प्रयोगशालाको आवश्यकता महसुस गरें । अल्कोहल क्षेत्रकै उत्कृष्ट प्रयोगशाला स्थापना गरें ।

भोड्का बनाउन मैले धेरै खोज–अनुसन्धान गरें । अझै पनि अनुसन्धान पेपर साथमै छ । अमेरिकाको विशेष प्रयोगशालामा एक्युरेट गर्नका लागि पठाएका छौं । अहिलेसम्म ४५ केमिकल इम्प्युरिटिज, जसलाई कन्जेनर्स भनिन्छ, तिनको ‘वान पार्ट पर बिलियन’ को मापन गरिसक्यौं । इम्प्युरिटी अर्थात् अशुद्धतालाई हाम्रो ‘डेस्टिनेसन कोलम’ मा कसरी छुट्याउने, अशुद्धता वा इम्प्युरिटी कसरी हटाउने भन्नेतर्फ पनि लागिरहेका छौं । म नभए पनि यो अनुसन्धान जारी रहोस् । हरेक कम्पनी हामीले यसरी नै स्थापना गरेका हौं ।

हामीले एउटै मेगा कम्पनी पनि बनाउन सक्थ्यौं । ६ वटा कम्पनी बनाउने आवश्यकता थिएन । तर कोभिडको समयमा सबैभन्दा पहिले जाँड–रक्सीको मुभमेन्ट बन्द भयो । मानौं भैरहवा खुला छ र विरगन्ज बन्द । भैरहवाबाट सामान ल्याएर अन्यत्र पठाउन सक्छौं । सडक बन्दलगायतका विभिन्न बाधा–अवरोध आइरहेका थिए । यदि ६ ठाउँमा फ्याक्ट्री छ भने यसले ६ गुणा कम क्षति गर्छ । धेरै जनशक्तिको प्रयोग पनि हुने नै भयो । एउटा मेसिन ६ ठाउँमा राखेपछि एक सिफ्टका लागि ६ जना मान्छे चाहियो । राजनीतिक अस्थिरता, सडक बन्दलगायत विभिन्न समस्ताका कारण हामीले कम्पनीलाई ६ ठाउँमा विभाजन गर्‍यौं । अहिले १० करोडदेखि २० करोडमा एउटा ब्रुअरी बनाउन सकिन्छ, तर राज ब्रुअरीका लागि ४–५ अर्ब खर्चियौं । संक्रमण नफैलिओस् भनेर अस्ट्रेलियाबाट इन्जिनियर ल्याएर त्यसको ड्रेनेज मिलाएका छौं ।

जावलाखेल ग्रुपअन्तर्गत भएका सबै कम्पनी मदिराकै मात्र हुन् ? मदिराबाहेक अन्य क्षेत्रमा व्यवसाय गर्नुभयो कि भएन ?

मदिरा उद्योगभन्दा बाहिर पनि मैले हात हालें । सोया मिल्कमा आफ्नो समय खर्चिएँ, तर फेल भएँ । नेपालमा सिल्क उत्पादनमा मेरी श्रीमती लागेकी थिइन् । स्वदेशमै कच्चा पदार्थ उत्पादन गर्न किम्बुको बिरुवादेखि सबै गरियो । तर साथीहरूले चीनबाट सस्तोमा सिल्क ल्याएर नेपाली बजार नै स्वाहा पारे । यसमा इनोभेसन नै हुन सकेन । नेपाल अहिले सिल्कबाट कोसौं टाढा पुग्यो । आयात गरेको सिल्क सस्तोमै पाइन्छ भने उत्पादन किन गर्ने ? हामीले सस्तो सोच बोकेर नेपाललाई विकास गर्न सक्दैनौं । त्यसैले दीर्घकालीन सोच हुनु जरुरी छ । दरबारले इजरायल, जापानबाट आएको स्ट्रबेरी र केरालाई कसरी नेपालमा फैलाउन सक्छ, फैलाउनुपर्‍यो भन्यो । त्यसपछि हामीले टिस्यु कल्चर प्रयोगशाला स्थापना गर्‍यौं । स्वदेशी र विदेशीको हर्टिकल्चरिस्टसहितको टोलीले बिरुवाहरू उत्पादन गर्‍यौं । अहिले चितवनलगायत जिल्लामा हरियो केरा देख्दा लाग्छ, यसमा मेरो पनि केही सहयोग छ । टिस्यु कल्चरबाट फैलाएको अर्को बिरुवा सुगन्ध कोकिला पनि हो । नेपालको एउटा धरोहर हो, यसलाई बचाउनुपर्छ भनेपछि टिस्यु कल्चरबाट धेरै बिरुवा उत्पादन गर्‍यौं । जिओग्राफिकल इन्फर्मेसन सिस्टम (जीआईएस) मा पनि हात हाल्यौं । पछि विभिन्न संस्थाले आएर यसलाई टेकओभर गरे, जुन राम्रो पनि हो ।

कम्प्युटर सफ्टवेयरमा पनि हामी सहभागी भयौं । म गर्वका साथ भन्छु— अहिले घरघरमा कम्प्युटर हुनुमा मेरो पनि केही योगदान छ । शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेलामा नेसनल कम्प्युटर सेन्टर थियो । यो सेन्टर नहटाएसम्म निजी क्षेत्र अघि बढ्दैन, त्यसैले यसलाई हटाउनुपर्छ भन्ने मेरो सुझाव थियो । मेरो सुझावलाई मानेर उहाँहरूले नेसनल कम्प्युटर सेन्टर हटाउनुभयो । त्यसैले आज घरघरमा कम्प्युटर छ । मैले धेरै इन्नोभेटिभ काम गरें, तर सफल हुन सकिनँ । लाग्छ, भगवान्ले मेरो जेनिटिकमा अल्कोहल मात्रै लेखिदिएका छन् । त्यसैले मलाई अरू व्यवसाय नै फापेनन् । अल्कोहल मेरो पुस्तैनी व्यवसाय हो । अरू मेरो खोज थियो । समयभन्दा अघि पनि हुन नहुने रहेछ । नेपालले नखोजेको बेला मैले ती काम गरें । त्यसैले सफल हुन सकिएन ।

यी सबै व्यवसायी गरिरहँदा विगत तीन वर्षभन्दा पहिलेचाहिँ व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर बुझाउने व्यक्तिमा पर्छु भन्ने लाग्थो कि लाग्दैनथ्यो ?

म सानो हुँदा जनकपुर चुरोट र वीरगन्ज चिनी मिल थिए । त्यो बेला रेडियोबाट जनकपुर चुरोट कारखाना र वीरगन्ज चिनी उद्योगले यति करोड कर तिरे भनिन्थ्यो । त्यो सुन्दा सोच्थें, ठूलो भएपछि म पनि योभन्दा धेरै तिर्छु । केटाकेटी बुद्धि, १ अर्ब कर तिर्छु भनेर सोच्थें । मेरो त्यो प्रार्थनाजस्तो भयो, पूरा भयो । सरकारलाई अहिले म र हाम्रा कम्पनीहरूबाट वार्षिक अर्बौं राजस्व बुझाउँछौं ।

म एउटा उद्देश्यमा स्पष्ट छु, कर चोर्नेमा नाम कमाइँदैन, कर तिर्दा मात्रै नाम पाइन्छ । यो राष्ट्रिय जिम्मेवारी हो । सडक बनाउने, स्कुल बनाउनेलगायतका सामाजिक विकासको काम सरकारले गर्ने हो । सरकारलाई तिर्नुपर्ने कर समयमै तिरेर त्यसका लागि सहयोग हामी करदाताले गर्ने हो । २०७२ को भूकम्पमा हामीले ३ करोड ८२ लाख खर्च गर्‍यौं । व्यवसाय कसरी गर्ने, नाफा कसरी गर्ने, त्यो हामीलाई थाहा छ । हामीले दैनिक तीन पटक खाना खाइरहेका छौं । अहिले भूकम्पको क्षेत्रमा के हालत छ ? त्यसका लागि पनि हामीले समयमै कर तिर्नुपर्छ । सलाई, पेट्रोल जे लिए पनि हामी कर तिर्छौं । यो ठूलो धर्मात्माको काम होइन । मेरा साथीहरू भन्छन्, ‘धेरै कर तिर्ने व्यक्ति, धेरै धनी छौ है ।’ त्यस्तो होइन । मभन्दा धेरै मान्छे धनी छन् । त्यसकारण सबैभन्दा धेरै कर तिर्ने व्यक्ति हुँ भनेर म घमण्ड गर्दिनँ । म तुलना गर्दिनँ, तर म खुसी छु । नाफा कमाएको छु, कर तिरेको छु ।

करचाहिँ कति बुझाउनुहुन्छ ?

मैले लेखाजोखा गरेको छैन । मेरो भोड्का वा ह्विस्की कतिमा बिक्री हुन्छ, त्यो पनि मलाई थाहा छैन । यो व्यावसायिक व्यापार हो, मेरो पारिवारिक व्यापार होइन । कर तिर्नु मेरो कर्तव्य हो । निर्वाचनको समयमा सबै पार्टी, मान्छे चन्दा माग्न आउँछन् । मैले आफ्नो आयकरतिरेपछिको बोनस तथा डिबिडेन्टबाट चन्दा दिएको छु ।

तपाईंले कुनकुन राजनीतिक दलाई केकति चन्दा दिनुभएको छ ?

म गौरवका साथ भन्छु— राजनीतिक पार्टीहरूलाई डिबिडेन्टबाटै चन्दा दिएको छु, आयकर घट्ने गरी दिएको छैन । धेरै कम व्यापारीले यस्तो गर्न सक्छन् । तर मैले चन्दा दिए पनि अहिलेसम्म राजनीतिक पार्टीहरूबाट कुनै फाइदा लिएको छैन । मलाई चन्दा दिनुपर्छ भन्ने पनि लाग्छ, किनभने हाम्रो सिस्टममा माननीय हुन करोडौं खर्च गर्नुपर्छ । हाम्रोमा सरकारले चुनावमा खर्च गर्ने प्रणाली छैन । त्यसकारण हाम्रोमा राम्रो सिस्टम नै बन्न सकेन । बजेटको बारेमा मैले टिप्पणी गर्नै छोडिदिएँ । केही नयाँ छैन । जनतासँग क्लिसे र झूट बोल्नु बेइमान हो । भाषण दिएर मात्र नेपाल बन्दैन । भूकम्पको समयमा घरदेखि जावलाखेलमा रहेको कार्यालयसम्म रुँदै आएको थिएँ । मैले त्यस्तो गरिबी, चरम निराशा देखें । दरबार भत्किने र छाप्रो भत्किने दुवैको दुःख एउटै हो ।

तीन वर्षदेखि बढी आयकर बुझाउनेमा लगातार पर्नुको पछाडि तपाईंले धेरै मिहिनेत गर्नुभएको हो कि अरू पछि परेर तपाईं अघि हुनुभएको हो ?

मेरो मिहिनेतले नै यस्तो भएको हुनुपर्छ । मैले काम गरें र नाफा कमाएँ । त्यसैले म सफल व्यवसायी हुँ । यदि मिहिनेत नहुँदो त प्रतिस्पर्धाबाटै निकालिन्थ्यो । कोरोना महामारी र आर्थिक मन्दीपछि हाम्रो बिक्री ४० प्रतिशतले घट्यो, ७० प्रतिशत नाफा घट्यो । सरकारको सम्मान पाएपछि ताज्जुब लाग्यो । तर धेरै कर तिरेर पनि मैले केही पाएको छैन । ज्येष्ठ नागरिक भएर मैले राष्ट्रिय परिचयपत्र बनाउन लाइन बस्नुपरेन । राष्ट्रिय परिचयपत्र बनाउने लाइनमा थिएँ । एक युवतीले ‘अघि आउनुस्’ भनिन् । मैले भनें, ‘लाइन मिच्न मिल्दैन ।’ उनले भनिन्, ‘ज्येष्ठ नागरिकले मिल्छ ।’ त्यो फाइदा मेरो उमेरले दियो । तर धेरै कर तिरेर पनि मैले केही पाएको छैन । अर्को वर्ष मलाई गाह्रो हुनेछ । किनभने ७० प्रतिशतले नाफा घटिसक्यो ।

नाफा नभए म जस्ता व्यवसायीको मात्रै हैन, मुलुककै उन्नति हुँदैन । नाफामुखी हुनु र नाफा कमाउनु दुई फरक विषय हुन् । दक्ष, योग्य, मिहिनेती र बुद्धिमानी व्यक्तिले मात्र नाफा कमाउन सक्छ । नाफामुखीले चोरी–डकैती जे पनि गर्न सक्छ । यदि मैले चोरेर पैसा बनाएँ भने म बेस्ट चोर बन्न सक्छु, त्यो मलाई थाहा छ, तर म गर्दिनँ । हाम्रो प्रणालीले हामीलाई इमानदार बन्न प्रोत्साहन गर्दैन । भ्रष्टाचार छ । नेपाल विकासको वास्तविक सपना नआउनु कारण भ्रष्टचार हो । भ्रष्टाचारलाई निरुत्साहित गर्न गाह्रो छैन ।

भ्रष्टाचार उच्च छ भन्नुभयो । कर छली पनि भ्रष्टाचार नै हो । भ्रष्टाचार गर्ने र गराउनेमा निजी क्षेत्रका उद्योगी–व्यवसायीहरू पनि हुन् । यसमा बढी दोषी प्रणाली हो कि तपाईंहरूजस्तै उद्योगी पनि हुन् ?

भरतमोहन अधिकारी मन्त्री हुँदा म भरत दाइ, मन्त्री पदबाट निस्केपछि पनि भरत दाइ नै भन्थें । म त्यो बेला उद्योग वाणिज्य संघमा थिएँ । उहाँले भन्नुभयो, ‘तिमी व्यापारीहरू चोरैचोर ।’ देशमा घूस खाने मान्छे छैन, भ्रष्टाचारलाई प्रोत्साहन गर्ने मान्छे छैन भने मसित एक्स्ट्रा पैसा छ र भाइ–भतिजो भन्दै दिन जानू ? सिस्टमले नै भ्रष्टाचारलाई प्रोत्साहन गरिरहेको छ । दुई–चार जना उद्योगपतिहरू छलफल गर्न बस्यौं भने भ्रष्टाचार कसरी उन्मूलन गर्ने भन्ने कुरा उठ्छ । मेरो दिमागमा केही राम्रा आइडिया पनि आउँछन्, यसौ गरौं भनिन्छ पनि, तर लागू गर्ने गरिँदैन । भ्रष्टाचार निर्मूल गर्ने संकल्प छ भने गर्न सकिन्छ, जुन गाह्रो छैन । अहिलेको जमानामा सबै कारोबार बैंकबाट मात्रै गर्न सकिन्छ । चेकबाट, बैंकिङ प्रणालीबाट, डिजिटल प्रणालीबाट मात्रै कारोबार गर्ने प्रणाली ल्याउन सकिन्छ । त्यस्तो अवस्थामा मैले तपाईंसँग १ करोड घूस मागें भने त्यो बोक्न सक्नुहुन्न, लुकाउन सक्नुहुन्न ।

अहिले ठेलागाडीवालाले क्यूआर कोडमार्फत पैसाको कारोबार गरिरहेका छन्, नगद कारोबार गर्दैनन् । मानौं कोही गरिब छ र क्यूआरका लागि मोबाइल खरिद गर्न सक्ने अवस्था छैन भने स्मार्ट फोन किन्न सरकारले सहयोग गर्नुपर्छ । गरिब र खरिद गर्न नसक्नेलाई तालिम दिनुपर्छ । २–४ वर्षपछि हरेक नेपालीको बैंक खाता र क्यूआर कोड हुन्छ । बैंकप्रति विश्वास बढ्छ । यदि नगद नै छैन, हरेक कारोबार बैंकबाट मात्रै हुन्छ र पैसा छैन भने घूस कसले माग्न सक्छ ? त्यसैले अब भ्रष्टाचार नियन्त्रण गर्न क्यासलेस र डिजिटलतिर जानु आवश्यक भइसक्यो । सय रुपैयाँभन्दा माथिको नोट हटाइदिऔं । यो कामका लागि नेपाली कमजोर छन् भनेर म कहिल्यै विश्वास गर्दिनँ । नेपाली बहादुर र हिम्मतिलो जात हो, देशको सेवा गरेको छ । सही वा गलत भन्दिनँ, १७ हजार मान्छे मरे, यो बलिदान हो । तर भ्रष्टाचार कुनै बलिदान नै नगरी रोक्न सकिन्छ ।

भ्रष्टाचार, विकृति–विसगंति देख्दा आफूले तिरेको करको सदुपयोग नभई दुरुपयोग भयो भन्ने लाग्छ कि लाग्दैन ?

लाग्छ नि ! मरीमरी पसिना चुहाएर कमाएको पैसा हो । उद्योगमा केही समस्या पर्‍यो भने २२–२३ घण्टा काम गर्छौं । एउटा प्लान्ट चलाउनुपर्दा तीन दिनसम्म आफ्ना कर्मचारीसँग प्लान्टमा बसेको अझै याद छ । त्यसरी काम गरेर कमाएको पैसा खेर गइरहेको छ । कर तिर्नु दायित्व हो, त्यसैले तिरिरहेका छौं, तर हामीले तिरेको करको पैसा खेर गइरहेको छ । पैसाभन्दा पनि पैसाको गरिमा खेर गइराखेको छ । लक्ष्मीलाई अनादर गरिरहेका छौं । यस्तो हुनुको पनि कारण छ । नेता कोही चोर बन्छु भनी जन्मिएर आउँदैन, हाम्रो सिस्टमले भ्रष्टाचारी बनाउँछ । कोही एक नेता हुनुहुन्थ्यो, जो अहिले हुनुहुन्न । उहाँले सुनाउनुभएको थियो, ‘निर्वाचनमा मैले ५ करोड खर्च गरें, मेरो विपक्षीले ७ करोड खर्च गर्‍यो । त्यसैले म हारें ।’ जबकि त्यो बेला निर्वाचनमा केही लाख रुपैयाँ मात्रै खर्च गर्न पाउने व्यक्तिगत सिलिङ थियो । अहिलेको साधारण निर्वाचनमा कति खर्च भइरहेको छ ? नेताले पैसा घरजग्गा बेचेर ल्याउनुपर्छ । त्यसैले समग्र निर्वाचन प्रणालीलाई नै डिजिटल बनाउन जरुरी छ । भारतले गर्‍यो, हामी पनि गर्न सक्छौं । निर्वाचन डिजिटल प्रणालीमार्फत गरौं । महँगो निर्वाचनलाई छोडौं ।

तर हामी त्यसो गर्दैनौं, सामाजिक–राजनीतिक तवरबाट अधिकार दिन खोजिरहेका छौं । भोट बैंक भन्दै हामी आफैंले मजदुर, किसान र गरिबलाई कमजोर बनाइरहेका छौं । जहिलेसम्म किसान हुँदैन, मजदुर हुँदैन, निर्वाचनमा भोट दिन को आउँछ ? जहिलेसम्म देशको मजदुरलाई धनी बनाउँदैनौं, तबसम्म केही हुँदैन । हतियार दिएर, गिफ्ट दिएर धनी बनाउन सकिँदैन । उसको उत्पादकता बढाउनुपर्‍यो । आज नेपालको हालत कति दयनीय छ ? वार्षिक कति युवा बाहिर पठाइरहेका छौं ? के हामीले रोजगारी दिन सकिरहेका छैनौँ ? कति भारतीय युवाहरू नेपालमा काम गरिरहेका छन् ? ठेलागाडा चलाएर, सब्जी बेचेर भारतीयहरूले नेपालमा कमाइ गरिरहेका छन् । हामीले उत्पादकत्वको बारेमा कुरा नगर्नाले यस्तो भएको हो ।

भारतीय व्यापारीहरूले साँझ पर्नासाथ आफ्नो साँवा जोगाएर सस्तोमा तरकारी बेचेर हिँड्छन्, तर हामी नेपाली कहाँ त्यति सस्तोमा बेच्नु भन्दै कुहाएर फाल्छौं । यस्तो छ हाम्रो माइन्डसेट ! किसानले प्रतिकिलो १२५ रुपैयाँमा अलैंची बेचिरहेका छन्, तर काठमाडौंमा त्यही अलैंची हजार रुपैयाँभन्दा बढीमा बिक्री हुन्छ । हामीले किन जनताको स्वामित्वमा रहेको सामुदायिक प्रणाली बनाउन सक्दैनौं ? हामी धेरै राजनीतिक विषय गर्न सक्छौं । म सोच्थें, मेरा छोराछोरीको समयमा देशमा सहज वातावरण बन्छ । अब त म डराउन लागेको छु, मेरा नातिनातिनाको पालामा पनि सहज हुन्छ कि हुँदैन ? यो तपाईं–हाम्रो लागि चरम निराशाको अवस्था हो । अहिले जति विदेशी ऋण लिए पनि तिर्ने जिम्मेवारी अर्को अर्थमन्त्रीको हुने गर्छ । देशको ऋण बढ्दै गइसक्यो । तपाईं–हाम्रा नातिनातिनापछिको पुस्ताले समेत तिर्नुपर्ने भइसक्यो । आज पाकिस्तानको के हालत छ ? ऋणले गर्दा देशको अर्थतन्त्र टाट पल्टिएको छ । श्रीलंकाको त्यही भयो । बंगलादेश कुन अवस्थामा छ ? हामी आफैंसँग इमानदार छैनौं । बिहान उठेर ऐनामा हेर्नुस्, आफूले कति झूट बोलेको छु भनेर । प्रस्ट देखिन्छ । यही हो हाम्रो कर्म । म नेपालको व्यावहारिक नागरिक हुँ । त्यसैले कर तिरेर ठूलो धर्म गरेको होइन, यो मेरो दायित्व हो ।

हाम्रो कर प्रणाली कतिको करदातामैत्री छ ?

हाम्रो कर प्रणाली करदाता अनुकूल छैन । यो प्रणालीले करदातालाई कर तिर्न प्रोत्साहन गर्दैन । व्यक्तिगत आयकरको सीमा पहिले ३० प्रतिशत थियो, त्यसपछि ३६ प्रतिशत पुर्‍याइयो, अहिले ३९ प्रतिशत पुर्‍याइएको छ । दायरा बढाउनुस्, दर नबढाउनुस् । विदेशी लगानी किन नआएको भन्छन्, त्यसको एउटै समस्या हो— हरेक वर्ष करनीति परिवर्तन हुनु । भारतमा व्यक्तिगत आयकरको सीमा ८ लाख रुपैयाँबाट सुरु हुन्छ, ८ लाखभन्दा कमको अम्दानीमा आयकर लाग्दैन, छुट छ । हाम्रोमा ५ लाख बनाइएको छ, ५ लाखले व्यक्तिको घर चल्दैन । त्यसैले कर यसरी लिनुस् कि व्यक्तिको घर चलेर एक्स्ट्रा भयो भने राज्यलाई तिर्नुपरोस् । राज्यबाट चाहिँ केही पाएको छैन, धेरै कर तिर्नेले पनि केही पाएको छैन । ३९ प्रतिशत कर तिर्ने हैसियत छ नेपालीको ? जीडीपी हेरेर आयकरको दर तोक्नुपर्छ । करको दर बढेपछि मान्छेहरूले चोरबाटो अपनाउन थाले । करको दर बढ्यो, दायरा बढेन । कर नीति बुझिने खालको छैन, नेपालको आयकर कानुन सबैले बुझ्ने गरी सरल भाषामा छैन । मैले एउटा सिमेन्ट फ्याक्ट्री खोलें भने १० वर्षमा यति–यति हुन्छ भन्ने योजना बनाएको हुन्छु । तर, सधैं कर नीति परिवर्तन गरिदियो भने के हालत हुन्छ ? मेरो नाफाको के हालत हुन्छ ?

सरकार राजनीतिक रूपमा मात्र होइन, कर नीति, मौद्रिक नीतिलगायतमा पनि स्थिर रहनुपर्छ । बर्सेनि कर बढाएर उद्योग–व्यापारीमा द्वन्द्व फैलाउने हो भने सबैले चोरबाटो रोज्छन् । खुनपसिना बगाएर कमाएको पैसा फोकटमा दिन कोही तयार हुँदैन । त्यसपछि एउटै बाटो हुन्छ— चोरी । कुनै बेला नेपालको मदिरा सस्तो थियो, धेरै मात्रामा भारत निर्यात हुन्थ्यो । अहिले भारतबाट नेपालमा आयात हुन्छ, सरकारले रोक्न सकेको छैन । नेपालमा कुनै वस्तुको आयात बन्द भइहाल्यो भने पनि कहिल्यै हाहाकार मच्चिएको छैन । कहाँबाट आउँछ ? कसरी आउँछ ? चोरबाटो अपनाएर ल्याइएको हुन्छ । कतिपय व्यक्ति मलाई ‘तिमी कति मूर्ख, धेरै कर तिरेर मूर्ख काम गरिरहेका छौ’ भन्छन् । कतिपय भन्छन्, ‘पहिला एक बाक्सा चोर्दा यति पैसाको फाइदा हुन्थ्यो, अहिले एक बाक्सा चोर्दा यति हजारको फाइदा हुन्छ ।’ तर म डरपोक हुँ, त्यसैले चोरी गर्दिनँ ।

त्यसैले जे–जस्तो वस्तु बेचे पनि करदाताको डिजिटल लेखा हुनैपर्छ । भाटभटेनीमा बारकोड पढेर डिजिटल काम भइरहेको छ । तर अर्को किरानापसलेले बिल काट्दैन । किन बिलमा कारोबार नगरेको भनेर सोध्दा, ‘नेपाली पढेलेखेको छैन, बिल काट्न आउँदैन’ भन्छ । मोबाइल चलाउन आउँछ, क्यालकुलेटर प्रयोग गर्न आउँछ तर बिल काट्न नआउने भन्ने हुन्छ ? हामी इमानदार हुन नै चाहँदैनौं, बहाना बनाउँछौं ।

विदेशी लगानी आएर नेपालको विकास गरोस् भन्ने चाहन्छौं । विदेशी लगानी किन आउँछ ? विदेशी लगानी भित्रिसकेपछि पैसा बाहिर लैजान्छ । राम्रो वा नराम्रो जुनसुकै ढंगले आफ्नो नाफा लैजाने हो । ऊ नेपाल बनाउँछु भनेर आउने हैन, नाफा कमाउन आउने हो । लगानी गरेर नाफा कमाइ आफ्नै देशमा पैसा लैजान आउने हो । उसका छोराछोरी र परिवार उतै छन्, उतै लैजान्छ । कडा निगरानी गरेर नेपाली उद्योगीलाई अन्य देशमा लगानी गर्न दिइँदैन । सबै उद्योगी चोर हुन् भन्ने गरिन्छ, के सबै नेपाली चोर हुन् ?

हामीसँग कानुनी प्रावधान छन्, तर प्राक्टिकल छैनन् । जस्तै— बियरमा म्याद सकिने मिति हुन्छ । सरकारको एउटा निकायले ‘म्याद गुज्रेको सामान बेच्यो भने पक्रिन्छु, थुन्छु’ भन्छ । अर्को निकाय ‘मेरो अनुमतिबिना बजारमा गएको सामान फिर्ता ल्याएर फ्याक्ट्रीभित्र नष्ट गर्न पाउँदैनस्’ भन्छ । देशभरि वितरण गरीएका यस्ता वस्तु ३० दिनभित्र जम्मा गरी स्वीकृति लिएर मात्र नष्ट गर्नुपर्ने कानुन छ । म्याद गुज्रिएको सामानलाई फिर्ता ल्याएर नष्ट गर्ने हो, तर त्यसमा पनि कर लगाइन्छ । उपभोक्ताले खायो भने पो कर लाग्ने हो, नष्ट गर्दा पनि कर लिन थालेपछि व्यवसाय कसरी प्रतिस्पर्धी हुन्छ ? यसरी व्यावहारिक रूपमा ढिलो वा चाँडो व्यवसायलाई घाटामा लगिरहेका छौं । वास्तविक घाटालाई रिकग्नाइज गर्ने कर प्रणालीको खाँचो छ । नाफा हुँदा सरकारले हरेकमा कर लगाउँछ, घाटा भएमा जिम्मेवारी नै नलिने ? यो कहाँको न्याय हो ? सामान बनाएर बजारमा पठाउँछौं, बिक्री भएन भने त्यसलाई फिर्ता ल्याएर नष्ट गर्नुपर्छ । गोदामदेखि सबै ओगट्ने हुनाले जति सफा गर्‍यो, त्यति व्यवसाय फस्टाउने हो । तर त्यो सफा गर्ने वातावरण नै छैन । कानुनले सहज नै बनाउन सकेको छैन । कानुन प्राक्टिकल हुन नसकेन भने त्यसको अर्थै रहन्न ।

मेरो शेषपछि मेरा छोराछोरीलाई आफ्नो कम्पनी पनि दिन नसक्ने कानुन छ । ५० प्रतिशतभन्दा बढी सेयर दिएँ भने सरकारले त्यसमाथि बेचबिखनसरह कर लगाउँछ । के छोराछोरीलाई आफ्नो कम्पनी हस्तान्तरण गर्नु बेचबिखन हो ? एउटा अनपढ व्यक्तिले पनि यो बेचबिखन होइन भन्न सक्छ । यो पारम्परिक रूपमा परिवारको सन्तानलाई हस्तान्तरण गर्ने हो । पारिवारिक लेनदेन र व्यावसायिक लेनदेन फरक विषय हो । परिवारका सदस्यहरूबीच कुनै हिसाबले व्यवहार मिलाउनुलाई पनि नाफा–घाटा वा खरिद–बिक्री भनेर व्याख्या गर्न थाल्नु नराम्रो हो । जस्तै— कुनै परिवारको एक व्यक्तिसँग सय प्रतिशत सेयर छ । तर उसको मृत्यु भयो । हाम्रो कानुनअनुसार त्यो उसकी श्रीमती, छोरा वा छोरीमा जानुपर्‍यो । शतप्रतिशत लेनदेन हुनासाथ हाम्रो कानुनले त्यसलाई स्वामित्वको हस्तान्तरण भन्छ । वा, स्वामित्वको निःसर्ग मानिन्छ । त्यस्तो निःसर्गमा एउटाले बेचेको र अर्कोले किनेको मानेर हिसाब गरेर कर तिर्नुपर्छ । यो अव्यावहारिक हो ।

कर प्रणालीबारे चौतर्फी समस्या देखाउनुभयो । यो समस्या अहिले आएर भएको हो कि पहिलेदेखि नै यस्तै हो ?

सन् १९८० को दशकभन्दा अगाडिको कर प्रणाली सबैभन्दा उत्कृष्ट थियो । विगतको तुलनामा क्रमशः कर प्रणाली बिग्रँदै गइरहेको छ । कर दुरुपयोग पनि बढी हुन थाल्यो । कति वटा राष्ट्रिय गौरवका आयोजनाहरू सफल भएका छन् ? भैरहवा, पोखरामा अर्बौं लगाएर राष्ट्रिय गौरवका आयोजना बनाइयो, ऋणमा । त्यो पनि जनताको पैसा बगाउनु हो । के यो न्याय हो ? राष्ट्र बनाउन समय लाग्छ, तर बनाइरहेका छैनन् । कर नीति बनाउनेले अरु चोर, आफू मात्र इमानदार भनेर सोच्छन् । नीतिनिर्माताले आफ्ना जनतालाई विश्वास गर्दैनन्, नीति बनाईसकेपछि भने चोर हुन् भनेर सोच्छन् । जस्तै— मैले आयकर तिरें, एक जना कर्मचारीले भन्छन्, ‘तपाईंले यो वर्ष सय रुपैयाँ आयकर तिर्नुपर्छ ।’ अडिटर जनरलबाट आउनेले भन्छन्, ‘१०५ रुपैयाँ हो, तपाईंको १०५ रुपैयाँ हुनुपर्छ ।’ त्यसपछि सम्पत्ति शुद्धीकरण आउँछ । एक पटकमै एक कार्यालयले फाइनल गर्नुपर्‍यो, अनि कर चोरी कम हुन्छ । यो गाह्रो छैन । व्यवसायीलाई कानुनी झमेलामा भन्दा व्यवसायमा फोकश गर्ने वातावरण बनाइदिनुपर्‍यो । सरकारले नेपाली जनतामा र व्यवसायीमा विश्वास राख्नुपर्छ । राज्यको राजनीतिक–आर्थिक नीतिका बारेमा सोच्न पाउनु हरेक नेपालीको नैसर्गिक अधिकार हो । कतै मिल्छ, कतै मिल्दैन । राज्यको नीतिनियमका बारेमा हरेक नेपालीले कुरा गर्न पाउनुपर्छ ।

तस्बिर : अंगद ढकाल/कान्तिपुर

प्रकाशित : मंसिर २४, २०८० ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?