कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०
अन्तर्वार्ता

‘हाम्रो पार्टीमा प्रचण्डजीले खेल्न खोज्नु भएको छ’

'आफ्नो सम्बन्ध बनाउनेमै केन्द्रित हुने र लाभ लिने प्रयास दुवै पक्षबाट भएका छन् । देशकै सम्बन्ध केन्द्रित चर्चाहरु आवश्यक छ । भारतका तर्फबाट पनि भारतको राष्ट्रिय हितको कुरा हुनुपर्ने ठाउँमा निश्चित विचारको प्रचार भएको मात्रै देख्छु । नेपालको तर्फबाट पनि त्यस्तै भइराखेको छ । यसले दुवै देशलाई राम्रो गर्दैन ।'
कान्तिपुर संवाददाता

नयाँदिल्ली — पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई यतिबेला भारत भ्रमणमा छन् । उनी बैंग्लोर, गोवा, चण्डिगढपछि दिल्ली आइपुगेका छन् । उनी भारतमा रहेका बेला उनको पार्टी भित्र माओवादीसँग एकताको विषयमा पार्टी भित्रको मतभेद बाहिरिएको छ ।

‘हाम्रो पार्टीमा प्रचण्डजीले खेल्न खोज्नु भएको छ’

उनको भारत यात्रा, पार्टीभित्रको विवाद र सरकारको काम कारबाहीबारे भट्टराईसँग दिल्लीस्थित कान्तिपुरका ब्युरो प्रमुख राजेश मिश्रले गरेको कुराकानी :

तपाईंको अहिले भारत यात्रा किन ?

केही वर्ष पहिलेदेखि नेपालमा वैकिल्पक राजनीति नयाँ शक्तिका रुपमा सुरुवात गरेका थियौं । त्यही क्रममा विभिन्न प्रयोगहरु गर्दै अहिले हामी नेपाल समाजवादी पार्टीका रुपमा संगठित भइरहेका छौं । बीचको समय पूराना पार्टी, केही मधेश केन्द्रित दल, माओवादी लगायतसँग सहकार्य गर्यौं । त्यसले हाम्रो छविलाई बिगार्ने काम मात्रै गर्‍यो । तिनलाई साथमा लिएर हिँड्न सकिन्छ कि भन्ने बुझाइ थियो । तर, व्यवहारले त्यो पुष्टि हुन सकेन । त्यसैले हामी फेरि आफ्नै बलबुतामा सामाजवादीलाई वैकल्पिक शक्तिका रुपमा उभ्याउनुपर्छ भनेर साउन १ गतेदेखि ६ महिने अभियान सुरु गरेका छौं । त्यही क्रममा सातवटै प्रदेशमा तयारीको म्यासेज दिएको छु । प्रवासमा पनि हाम्रो संगठन छ । प्रवासमा प्रगतिशील नेपाली समाज छ, त्यसैले आयोजना गरेको कार्यक्रममा सहभागी हुन यता आएको हुँ । बैैंग्लोर, गोवा, चण्डिगढपछि दिल्ली भ्रमण भएको हो । मुख्य लक्ष्य यही हो ।

दोस्रो, सुशासन र समृद्धिलाई मुख्य मुद्दा बनाउनुपर्छ भन्ने लक्ष्य हो । नेपालको जनशक्ति पलायन भइरहेको छ । अब श्रम निर्यात गर्ने होइन, त्यसको साटो पूँजी र प्रविधि आयात गरौं र देशभित्रै अद्योगिकरण गरौं । आर्थिक विकासको थेसिस प्रयोग गर्न पनि खोजेको छु । त्यसका लागि सम्भव भएसम्म भारतीय लगानीकर्तासँग पनि अनौपचारिक छलफलको प्रयत्न गरेको छु ।

भारतमा रहँदा धर्म कर्ममा पनि जोडिनु भएको फोटो समाजिक सञ्जालमा भाइरल भएको देखिन्छ नि ?

त्यो विल्कुल गलत हो । केही वर्गमा पागलपन बढेर गएको देखिन्छ । खासगरी राजावादी र धार्मिक कट्टरपन्थी शक्तिले दुष्प्रचार गरेको हो । त्यो फोटो वास्तवमा एक जना दलित साथी श्यामकुमार परियारको घरमा गएका थियौं । उहाँको परिवार लामो समयदेखि यता बसेको छ । उहाँले आफ्नो घरमा मैसुर कन्नाडा संस्कृतिको कन्नाडा पगडी र हारा लगाइदिनुभएर स्वागत गरेको हो । त्यसलाई गलत प्रचार गरिएको हो ।

बाबुराम पनि मन्दिरमा गएर पूजा गर्‍यो भनेर कट्टर हिन्दुवादी, राजावादी र माओवादीले पनि त्यसलाई दुष्प्रचार गरेका हुन् । प्रचण्डजी भारत आएको बेला उज्जैनमा गएर पूजाआजा गर्नुभयो, त्यसको आलोचना मैले नै गरेको थिएँ । धर्मको विरोध मैले गरेको होइन । तर, धर्मनिरपेक्ष देशको प्रधानमन्त्रीले पूरै मन्त्रिपरिषद्सहित त्यसो गर्न मिल्दैन । मैले–हामी कता जाँदैछौं भनेर कमेन्ट गरेको थिएँ ।

उहाँहरूले उज्जैनको जल पशुपतिमा लगेर चढाउने काम पनि गर्नुभयो । व्यक्तिगत रुपमा कसैले गर्दा मेरो आपत्ति छैन । तर, प्रधानमन्त्रीका रुपमा गर्ने कुरा मिलेन, त्यसको आलोचना गरेको थिएँ । अहिले मेरो फोटो देखाएर बाबुराम कता जाँदैछ भनेर गलत प्रचार गर्ने प्रयास भएको हो । म घरमा गएको बेला भएको त्यहाँको संस्कृति अनुसार गरिएको स्वागत मात्रै हो । म धर्मको विरोधी पनि होइन र धर्म मान्ने कट्टरवादी पनि होइन ।

भारत बसाइमा औपचारिक/अनौपचारिक राजनीतिक भेटघाट को-कोसँग भयो ?

औपचारिक रुपमा भेट्नुपर्ने त्यस्तो कुनै निश्चित कार्यक्रम छैन । तर, व्यक्तिगत चिनजानका साथीहरुसँग भेटघाट हुनसक्छ । प्रोफेसर एसडी मुनी लगायत केही बौद्धिक व्यक्तिहरुलाई भेटेको छु । दुई देशबीच नागरिक स्तरको संवाद र सहकार्य बढ्नुपर्छ भन्ने म ठान्दछु । त्यस दिशामा मेरो छलफल र भेटघाट केन्द्रित छ । स्वतन्त्र बुद्धिजीवीहरुसँगको मैत्रीपूर्ण सम्बन्धले देशको सम्बन्धलाई बलियो बनाउन सघाउँछ । आफ्नो पार्टीको र व्यक्तिगत कुरा मात्रै गरिरहेका छन् मानिसहरुले । आफ्नो सम्बन्ध बनाउनेमै केन्द्रित हुने र लाभ लिने प्रयास दुवै पक्षबाट भएका छन् । देशकै सम्बन्ध केन्द्रित चर्चाहरु आवश्यक छ । भारतका तर्फबाट पनि भारतको राष्ट्रिय हितको कुरा हुनुपर्ने ठाउँमा निश्चित विचारको प्रचार भएको मात्रै देख्छु । नेपालको तर्फबाट पनि त्यस्तै भइराखेको छ । यसले दुवै देशलाई राम्रो गर्दैन ।

प्रसंग बदलौं, माओवादी केन्द्रसँग तपाइँहरूको एकताको कुरा कहाँ पुगेको छ ?

उहाँहरुसँग पार्टी एकता कसरी ? विचारधारा नै फरक छ । समाजवादी विचारमा हामी छौं । कांग्रेस र कम्युनिस्ट पार्टीभन्दा फरक विचार बोकिरहेका छौं । चुनावी तालमेल एउटा कुरा हो । कांग्रेस र माओवादीको त भयो । हाम्रो पनि चुनावी तालमेल भएको हो । पार्टी एकता त होइन । कम्युनिस्ट पार्टी र गैरकम्युनिस्ट पार्टीबीच कसरी एकता होला ? हामी त गैरकम्युनिस्ट समाजवादी विचार बोकेको पार्टी हो । हाम्रो डकुमेन्ट नै त्यही छ । ८ वर्षदेखि त्यो कुरा भनिरहेका छौं । बाबुराम केटाकेटी त होइन ! पार्टी एकताको कुरा छैन ।

अनि तपाईंकै पार्टीभित्रै माओवादीसँग एकताको कुरालाई लिएर दुई धार जस्तो देखियो । तपाईंले एकताको कुरै छैन भनिरहँदा तपाइँको पार्टीका नेता महिन्द्र राय यादव एकताको प्रयासमा देखिुन भएको छ । के हो त्यो ?

त्यो सत्य होइन, मैले पनि मिडियामा सुनेको छु । नेपाल पुगेर छलफल हुनेछ । त्यस्तो गर्न जरुरत नै थिएन । प्रचण्डजीले किन त्यस्तो गर्नुहुन्छ, मलाइ बडा अचम्म लागिराछ । उहाँले यस्तै खेल खेलिरहनुहुन्छ । संसदीय अंकगणितको खेलमा लाग्नु भएको छ । प्रचण्डजीले खेल्ने प्रयत्न गरेको देखिन्छ । चुनावी तालमेलदेखि सबै पत्र व्यवहार प्रचण्डजी र मेरो बीचमा भइरहेको हो । अब प्रचण्डजीले जुन दिन काठमाडौं छोड्नुभयो, त्यही दिन म पनि बैंग्लोर आएँ । अब त्यस्तो प्रचार कुन उद्देश्यले किन भएको गरिएको हो, म काठमाडौं पुगेर बुझ्छु । पार्टी भित्र पनि छलफल गर्छौं । हाम्रो पार्टीमा समस्या छैन । तर, प्रचण्डजीले खेल्न खोज्नु भएको छ कि भन्ने आशंका छ । उहाँले यस्तो खेल खेल्नुहुन्छ, मैले पहिलेदेखि बुझिरहेको छु । खाली गणितको खेल खेल्ने, भ्रम सिर्जना गर्ने । त्यही भएर पनि मेरो आशंका हो ।

तर पार्टी एकताका लागि कार्यदल नै गठन गर्नु भएको छ नि ?

होइन, पार्टी एकता त सम्भव नै छैन । उहाँहरुसँग कसरी हुन्छ ? विचारै मिल्दैन । समाजवादी केन्द्र बनाउने त्यो विषयमा कसरी जान सकिन्छ भनेर कार्यदल बनेको हो । त्यो कुरा अलग हो । तर, उहाँहरुले एकलौटी समाजवादी केन्द्र बनाउनुभयो । मोर्चा त बनेन भने पार्टी एकता हुन्छ ? समाजवादी मोर्चामा त हामी छैनौं, भने पार्टी एकता कसरी होला । त्यो कमन सेन्सको कुरा हो ।

प्रचण्डका लागि तपाईंले आफू जितिरहेको गोरखा निर्वाचन क्षेत्र छाडेपछि, त्यसलाई मानिसहरुले पार्टी एकतासँग जोडेर हेरेका थिए नि ?

त्यो भनेको शान्ति प्रक्रियाका बाँकी कामहरु पूरा गर्नलाई हो । त्यहाँ हाम्रो साझा मुद्दा हो । त्यसको निम्ति सहयोग गरेको हो । तर, उहाँ सत्ताकै जोड घटाउमा लाग्नु भएको देखिन्छ ।

तपाइँको पार्टी सरकारकमा सहभागी छ । तपाइँ सत्तारुढ दलकै हैसियतमा हुनुहुन्छ । सरकारको काम कारबाहीलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

सरकारले दैनिक कार्य, प्रशासन सञ्चालन चलते चलाते काम मात्रै गरेको छ । चाहिएको रुपान्तरकारी नीतिहरु बढाउनुपर्ने बेला हो । राजनीतिक अस्थिरता, संविधानका अपूर्णता, संघीयता कार्यान्वयन जस्ता समस्यातर्फ उहाँको ध्यान गएको छैन । भ्रष्टाचार रोक्न पनि संरचनात्मक र संस्थागत ढंगले नै भ्रष्टाचार नियन्त्रणको प्रयासमा जानु भएको छैन । कुनै इस्यू आउँछ, त्यतापट्टि हल्लखल्ला गर्ने र छोड्ने मात्रै काम गर्नु भएको छ । शिक्षा, स्वाथ्य क्षेत्रमा लथालिंग स्थिति छ । त्यसलाई सुधार्ने प्रयास पनि छैन । मुख्य रुपमा आर्थिक पक्ष, युवाहरुको विदेश पलायन बढेको छ । पूँजी परिचालन गरेर तीब्र आर्थिक विकासको योजना ल्याउनु पर्ने त्यता ध्यान नै दिएको देखिएको छैन । शान्ति प्रक्रियाका बाँकी कामलाई उच्च प्राथमिकताका साथ गरियोस् भन्ने मेरो पनि आग्रह थियो । त्यो दिशामा पनि खास प्रगति छैन । त्यसैले यो निरन्तरताकै सरकार हो जस्तो मात्रै देख्छु ।

सत्ताधारी पार्टी भएर पनि तपाईंले सरकारले केही गरेन मात्रै भनिरहनु भएको छ नि ?

सत्ताधारी पार्टी मात्रै नभनौं न । हामी सहकार्य गर्दै आएको हो । तर, अलग पार्टी त हो नि ! आफ्नै पार्टीको सरकारले काम नगर्दा त सडकबाट विरोध गरिन्छ । सचेत गराउनुपर्छ । त्यो पनि अहिलेको कोलिसन गभर्मेन्ट । त्यसमाथि प्रचण्डजीले कहिले कता, कहिले कता गरिरहनु हुन्छ । त्यही भएर पनि सरकारमा भएर पनि उहाँले लिएको बाटो ठीक होइन भन्ने लागेको छ ।

प्रकाशित : आश्विन ५, २०८० १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र डा. गोविन्द केसीबीच चिकित्सा शिक्षाको विषयमा भइरहेको आरोप्रत्यारोपबारे के भन्नुहुन्छ?