अन्तर्वार्ता

‘भारतको समस्या नेपालको पनि हुने, नेपालको समस्या भारतको नहुनु नै मुख्य चुनौती’

कान्तिपुर संवाददाता

काठमाडौँ — राज्यको निर्माण, नेपालको विकास, दुई ठूला मुलुकबीच रहेका कारण यहााको भूराजनीतिबारे लामो समयदेखि बहस हुँदै आइरहेको छ । राणाकाल, पञ्चायत र बहुदल हुँदै लोकतान्त्रिक प्रणालीसम्म आइपुग्दा नेपाल र यसको विदेश सम्बन्धमा पनि धेरै उतार–चढाव आइसकेको छ ।

‘भारतको समस्या नेपालको पनि हुने, नेपालको समस्या भारतको नहुनु नै मुख्य चुनौती’

यी विषयहरूलाई लिएर नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) का कार्यकारी निर्देशक मृगेन्द्रबहादुर कार्कीसँग कान्तिपुरका लागि दुर्गा खनाल, सुरेशराज न्यौपानेजगदीश्वर पाण्डेले गरेको कुराकानीको सम्पादित अंश :

संसारभरका मान्छेलाई सबैभन्दा उद्वेलित र जोसिलो बनाउने विषय राष्ट्रियता वा राष्ट्रवाद रहेछ । म यो देशको, म यो इतिहासको, म यो विरासतको तथा म त्यो सन्तानको रक्षक भन्ने हुँदो रहेछ । यो पृष्ठभूमिमा तपाईंको विचारमा देश भनेको के हो र नेपाल भनेको के हो ?

देशविशेषको भूगोलमा फरक–फरक इतिहास जोडिएको हुन्छ । त्यस्तो इतिहास त्यस क्षेत्रको सम्पदा, वातावरण र वातावरणबाट निर्माण भएको दर्शनसँग जोडिएको हुन्छ । हामी जहाँ बस्छौं, सुरुमा यसको अहिलेको जस्तो राजनीतिक नक्सा थिएन । शास्त्रहरूमा भनिन्थ्यो, ‘जम्बुद्वीपे, भारतवर्षे, हिमवत्खण्डे, नेपाल देशे ।’ यसमा राजनीतिक भारत, राजनीतिक नेपाल, राजनीतिक चीन छैनन् । अहिले हामी जसलाई देश भन्छौं, त्यो एकातिर भूगोल हो; सँगसँगै त्यो भूगोल र मानव सभ्यतासँग जोडिएर जुन भावना निर्माण हुन्छ, त्यो हाम्रो भूगोलको विशेषता हो । हाम्रो सभ्यता किन विशेष छ भने, यो नदीको किनारमा निर्माण भएको होइन । हाम्रो सभ्यता हिमालबाट, पहाडबाट, ससाना नदीका संगमबाट तथा खोचबाट निर्माण भएको हो । यहाँ ज्ञान निर्माण भयो । त्यो ज्ञान ‘ग्याग्नेटिक प्लेन’ मा गएर एक किसिमले अभ्यासमा गयो । पहाडमा हामी बस्ने ठाउँ थिएन, मान्छेको जनसंख्या धेरै कम थियो । त्यो हिसाबले हामीसँग भएका गुरुकुल, तक्षशिला, नालन्दाजस्ता स्कुलको सम्मिश्रणमा हाम्रो देश निर्माण भएको हो । हामी कहिल्यै उपनिवेश भएनौं । एसियामा उपनिवेश नहुने तीनवटा देश छन् भनिन्छ— नेपाल, थाइल्यान्ड र जापान । नेपाली सेना संसारकै पुरानो सेना रहेको अमेरिकी अध्ययनमा उल्लेख छ । त्यसको मतलब, यो भूगोलमा यही स्थानमा जन्मेको मान्छेले शासन गर्दै आएको हो । ब्रिटिसहरूको संसारभरि नै घाम अस्ताउँदैन भनिने समयमा पनि उनीहरूले एउटा मात्र देशको आर्मीलाई छानेका थिए, नेपालको सेनालाई ।

एउटा डकुमेन्ट्री १९७५ डिसेम्बर २ को राति ११ देखि १२ बजेसम्म रेकर्ड आएको थियो, जुन बीबीसीमा पनि सार्वजनिक भइसकेको छ । तत्कालीन अमेरिकी राष्ट्रपति गेराल्ड फोर्डले चीन भ्रमण गर्दा त्यहाँका उपप्रधानमन्त्री देङ स्याओपिङबीचको छलफलमा सातवटा विषय नेपालसँग जोडिएका थिए । ‘सिक्किमलाई भारतले निलिसकेपछि अब दोस्रो लक्ष्य नेपाल हो ?’ भनेर फोर्डले प्रश्न गर्दा देङले ‘त्यो हाम्रो जानकारीमा छैन, नेपालसँगको सिमानासम्म हाम्रो पहुँच पुगेको छैन, हामीसँग नेपालको सीमित सम्पर्क छ तर पनि राम्रो सम्बन्ध छ’ भनेका छन् । देङलाई बीचमा रोकेर तत्कालीन अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरले ‘प्रेसर ?’ भनेर प्रश्न गर्दा देङको जवाफ छ— ‘नेपालका राजा, सरकार र नागरिक फरक छन् ।’ नेपालीहरू प्रतिरोध गर्न सक्छन्, अमेरिकाले पनि त्यसलाई ‘टेक केयर’ गर्नुपर्छ भन्ने भाव त्यहाँ देखिन्छ । र, फोर्ड ‘मेरा मित्र मार्किता मोस्ले मायट्यागलाई म नेपालको राजदूत बनाएर पठाउँछु’ भन्छन् । उनी सन् १९७६–७७ सम्म नेपालको राजदूत बनेको देखिन्छ । र, उनी एउटा विवाद परेपछि फर्किएका रहेछन् । यो हेर्दा सारमा नेपाल फरक र विशेष हो भन्ने देखिन्छ । मेरो बुझाइमा, पृथ्वीनारायण शाहको दिव्योपदेशले नेपाललाई एक किसिमले परिभाषित गर्‍यो । नेपालको विदेशनीति र रणनीतिलाई त्यहाँबाट लिएर आयौं । कुमालेले माटो नभईकन भाँडो बनाउन सक्दैन । त्यस बेलाका नेपालीको एउटा ‘सेन्टिमेन्ट’ थियो, जुन गोपाल वंशदेखि नै किरात, लिच्छवि, मल्ल सबैको पालामा निर्माण हुँदै आएको हो । त्यो सेन्टिमेन्ट नदीको किनारमा निर्माण नभएकाले हामीसँग देवी, कुलपूजाका कुरा छन्; समुदायसँग जोडिएर माटोसँगको कनेक्टिभिटीमा नेपालको राष्ट्रियताभन्दा पनि नेपाल देश र देशभक्तिको भावना त्यहाँ छ ।

हामीसँग गुरुकुल, तक्षशिला, नालन्दाजस्ता अध्ययन र अध्यापनको व्यवस्था थियो; पश्चिमाभन्दा हाम्रो सभ्यता र चेतना धेरै अगाडि थियो भने त्यो सभ्यताले मानव जीवनलाई सहज बनाउने आविष्कार किन गरेन होला ? मोबाइल, कम्प्युटर, जहाज लगायत मान्छेका लागि आवश्यक कुरा हाम्रो पूर्वीय सभ्यताले किन बनाएन होला ?

दर्शन भनेको ‘आइडियोलजिकल फ्रेम’ होइन । कोही मान्छे सुतेको थियो, भोलिपल्ट उठेन, मर्‍यो । सुरुको मान्छेलाई मृत्यु भन्ने पनि थाहा थिएन । मरेपछि मात्र मृत्यु भन्ने थाहा पायो । मृत्यु संस्कारमा त्यहाँको भूगोलमा जे–जे पाइन्छ त्यही प्रयोग गरियो । अघि मैले वातावरण भनें, त्यही वातावरणमा जोडिएर दर्शन भनें । पूर्वीय दर्शनमा सबैकुरा ‘म’ बाट सुरु भयो । पश्चिममा ‘म्याटर’ (विषयवस्तु) के हो भनेर सुरुआत भयो । म्याटरबाट सृजना भयो । ‘म’ बाट म्याटरमा जोडिएको सिद्धान्त र दर्शन नै फरक भयो । हामीले अघि बढ्ने बाटो नै फरक रह्यो । ‘डिपार्टिङ फिलोसफी’ फरक भएको हुँदा अंग्रेजीमा मनको ट्रान्सलेसन छैन ।

हाम्रो शैली र पश्चिमाको शैली नै फरक रह्यो । हाम्रोचाहिँ ‘म’ भन्ने मान्छे कहाँबाट आयो, म को हुँ, म यहाँ किन छु भन्ने भयो । त्यस बेला यहाँ समृद्धि थियो, पुर्खाले त्यसैमा आफूलाई जोडेर हेरे । तर पश्चिममा एक खालको विकटता थियो । अहिले पनि पश्चिमा मुलुकमा बढी हिउँ पर्छ । उनीहरूले मान्छेको सुविधाका लागि म्याटरसँग जोडेर आविष्कार गरे । हिन्दुइजम, बुद्धिजम, कन्फ्युसिइजम, ताओइजम, क्रिस्चियानिटी पनि यहाँबाट गएर पश्चिमतिर विकास भए । हामी एक खालको वर्ल्ड भ्युको स्टफ, जुन म्याटरसँग होइन अध्यात्मसँग जोडिएको छ, त्यतैतिर गयौं । चीन र भारतमा अहिले त्यसैलाई पर्गेल्ने प्रयास भइरहेको देखिन्छ । चीनमा राष्ट्रपति सी चिनफिङले सन् २०१९ मै एउटा सम्मेलनमा ‘डाइलग अफ एसियन सिभिलाइजेसन’ भन्नुभएको थियो । हाम्रा स्कुल र कलेजका विषयवस्तु हाम्रो दर्शनमा आधारित हुनुपर्‍यो भन्ने सीको विचार हो । भारतमा मोदीले नयाँ शिक्षा नीति ल्याउनुभएको छ । जब भारत र चीन क्रमशः पाँचौं र दोस्रो ठूलो अर्थतन्त्र भए, अब उनीहरूले यी चीजहरूलाई आफूसँग जोडेर हेर्न थालेका छन् । यो कहीँ न कहीँ हाम्रो अर्थतन्त्रसँग पनि जोडिन्छजस्तो लागेको छ । हामीचाहिँ त्यसमा पछि छौं ।

नेपालका विद्वान्‌हरूले नै भन्दै आइरहेका छन् कि नेपाल अहिले भूराजनीतिक हिसाबले धेरै कमजोर अवस्थामा आइपुग्यो । राणा शासनदेखि पञ्चायतसम्म पनि नेपाल धेरै बलियो थियो । चन्द्रशमशेर र राजा महेन्द्रका पालामा पनि बलियो थियो तर अहिले कमजोर भयो भन्छन् । यस विषयमा तथ्यहरूले के भन्छन् ? पहिले बलियो थियो, अहिले कमजोर भएको हो ?

ऐतिहासिक रूपमा हेर्दा नेपालले दुई–तीनवटा चरण पार गरेजस्तो लाग्छ । पहिलो चरणबारे हामीले अघि भन्यौं । नेपाल बन्द थियो र विकट थियो । नेपाल सन् १९५० पछि मात्र खुला भएको हो । नेपालसम्बन्धी अंग्रेजीमा लेखिएको पहिलो लेख नेपाल–चीन युद्धसँग जोडिएको छ । चीनसँग लड्दा त्यस बेला हामीले ब्रिटिस इस्ट इन्डिया कम्पनीसँग सहयोग माग्यौं, लड्ने बेला कर्णेल नुवाकोटमा गएर तीन साता बसे । उनले त्यहाँका जातजातिबारे बुझे र पहिलो किताब ‘एन अकाउन्ट अफ नेपोल’ लेखे । हामी को हौं भनेर हामीले भन्दा पहिले बाहिरका मान्छेले परिभाषित गरे । जब हामीले आधुनिक शिक्षाका लागि त्रिभुवन विश्वविद्यालयको सुरुआत गयौं, जुन सिद्धान्त हामीले पढायौं, त्यस बेला म दुई चरण देख्छु । एउटा समयमा सबैभन्दा धेरै अंग्रेजी जान्ने र राम्रो लेख्न सक्ने सबैभन्दा विद्वान् भनेर चिनिन्थे । अहिले अंग्रेजी जान्ने मात्र होइन, संस्कृत र यहाँका स्थानीय भाषा बुझ्ने तथा सभ्यता जोडेर नयाँ सिद्धान्त निर्माण गर्नेलाई राम्रो भन्ने चरणमा आइपुगेका छौं । र, सन् १९७० को दशकमा विशेष गरी राजनीतिशास्त्र र अन्तर्राष्ट्रिय सम्बन्धमा तथा भूराजनीतिलाई हेर्ने हो भने, लिओ ई रोजको ‘स्ट्राटेजी फर सर्भाइभल’ किताबमा नेपाल कहिले दक्षिणतिर मिल्छ र उत्तरसँग झगडा गर्छ, कहिले उत्तरतिर मिल्छ र दक्षिणसँग झगडा गर्छ भनिएको छ । यसमा मेरो अलिकति विमति छ ।

राणा शासनको पालाका तथ्यहरूले के देखाउँछन् भने, नेपाल ब्रिटिसको दक्षिण एसियाको मित्र हो । दक्षिण एसियाका अरू मुलुक ब्रिटिसका लागि सब्जेक्ट (नागरिक) हुन् । मैले पाएको तथ्यका आधारमा भन्दा त, नेपाली नेताहरू त्यति बेला पनि ट्रेनमा फस्ट क्लासमा हिँड्न सक्थे रे, जुन भारतीयका लागि थिएन । दक्षिण अफ्रिकामा महात्मा गान्धीको त्यत्रो घटना नै भयो । भारतमा ब्रिटिस जाने रेस्टुराँमा नेपाली जान पाउथे, जबकि भारतीयलाई त्यस्तो व्यवस्था थिएन । भारतीयहरू त्यस बेला ब्रिटिसहरूका लागि सब्जेक्ट थिए, त्यसैले अनुमति थिएन । हामी त्यस बेला वीरताका लागि चिनिएका थियौं । भारतमा सम्भावित विद्रोहलाई कन्ट्रोलमा राख्न ब्रिटिसहरूलाई मित्र चाहिएको थियो । नेपालका राणाहरू ब्रिटिसहरूका स्थानीय साथी थिए । त्यही कारण राणाहरूले पनि ब्रिटिससँग सम्बन्ध विस्तार गरेका थिए । त्यसैले नेपालले भनेको बिक्थ्यो । सन् १८५७ मा भारतको विद्रोह दबाउन नेपाली सेना गयो । भीमबहादुर पाँडेले ‘त्यस बखतको नेपाल’ को भाग एकमा लेख्नुभए अनुसार, पहिलो विश्वयुद्धताका नेपालमा करबाट सवा १ करोड उठ्ने रहेछ । २ लाख नेपाली सेना त्यस बेला लडे । कति मरे, कति पेन्सन लिएर आए । त्यति बेला १३ करोड रुपैयाँ नेपालमा आयो, पहाडमा मात्र । त्यो पैसाले पहाडमा लाहुरे संस्कृतिको सुरुआत गर्‍यो, सबैभन्दा आलिसान जीवन लाहुरेहरूकै भयो । लाहुर अहिलेसम्म पनि गइरहेका छौं । खाडी मुलुक जान्छौं, जापान जान्छौं, काम गर्छौं र पैसा लिएर आउँछौं । तर, आफ्नो गाउँमा गएर काम गर्दैनौं । अनौपचारिक रूपमा भन्ने हो भने, नेपालीहरू निकै ठूलो संख्यामा फ्रेन्च आर्मीमा छन्, अमेरिकी सेनामा छन् । अहिले रुसी सेनामा पनि नेपाली छन् ।

मान्छेको व्यक्तिगत स्वतन्त्रतालाई हामीले स्वीकार गर्नैपर्‍यो । तर एकातिर सर्भाइभल स्ट्राटेजी भन्यौं; राजनीतिक, कर्मचारीतन्त्र र शिक्षा क्षेत्रका प्राज्ञले पनि त्यसलाई प्रस्थानविन्दुको आधार मान्यौं; अर्कातिर नेपाल सानो छ पनि भन्यौं । नेपाल त्यस बेला बलियो भएको ब्रिटिसको साथी भएर मात्र होइन, युद्धमा नेपालीले ब्रिटिसलाई हराएका हुन् । एउटा युद्धमा हामी हारेका हौं, अरू युद्धमा त ब्रिटिसलाई सन्तुलनमा राख्यौं । चीनले पनि त्यो समय हामीलाई ‘पेनिट्रेट’ गरेको थिएन । चीनसँगको हाम्रो झगडा त तिब्बतका लागि मात्र भएको हो ।

भूबनोटका हिसाबले हामी आफैंमा समृद्ध छौं । हामी सबै कुरा उत्पादन गर्थ्यौं, प्रयोग गर्थ्यौं । बाहिरबाट ल्याउने कुरा धेरै थिएन । अहिले पो हाम्रो अर्थतन्त्रको आकारभन्दा बढी बाहिरबाट ल्याएर प्रयोग गरिरहेका छौं । हामी बाहिरबाट आएको रेमिट्यान्सले त बाँचेका छौं ।

पञ्चायतकाल, त्यसमा पनि महेन्द्रको शासनकाललाई कसरी हेर्नुहुन्छ ?

हाम्रो इतिहासको धरोहर लामो समयदेखि रहिआएको छ, त्यो राजा महेन्द्रका पालामा पनि रहेको देखिन्छ । अहिले बिग्रियो भने सही बाटोमा ल्याउन लामो समय लाग्छ । पञ्चायतकालमा हाम्रो चेतना अहिलेको जस्तो थिएन । भारत र चीन त्यत्ति धेरै धनी थिएनन् । पश्चिमा शक्तिहरूको अगाडि चीन र भारत केही पनि थिएनन् । चीनमा सत्ता कब्जा गरिसकेपछि माओले ‘अबचाहिँ हाम्रो प्रतिस्पर्धा अन्तिममा अमेरिकासँग हुन्छ’ भनेका थिए । त्यो प्रतिक्रियाका आधारमा हेर्दा, हाम्रो पहिलो द्विपक्षीय सम्बन्ध बेलायतसँग भयो, दोस्रो अमेरिकासँग भयो । अनि मात्र स्वतन्त्र भारतसँग कूटनीतिक सम्बन्ध स्थापना भयो । अमेरिकाले नेपालमा आएर एक खालको सम्बन्ध अघि बढायो । हामीसँग हिजो ब्रिटिस डराउथे, किनभने हामीसँग क्षेत्रीय सहकार्य भएको हुँदा हामी शक्तिशाली थियौं । तर अहिले त्यो शक्ति छैन ।

आर्थिक र बौद्धिक परनिर्भरताका कारण हामीले आफ्नो शक्तिलाई कमजोर बनायौं । त्यो मात्र होइन, गरिब छौं, सानो मुलुक हो, हामी केही गर्न सक्दैनौं भन्ने न्यारेटिभ निर्माण भएको छ, जसका कारण अहिले प्लस टु पढेको विद्यार्थी नेपालमा बस्न चाहँदैन । हामीमा क्षमता छ, नेपालमै केही गर्न सक्छौं भन्ने न्यारेटिभचाहिँ निर्माण गर्न सकेनौं । यहाँनेर राजनीतिक दलहरू फेल भएजस्तो लाग्छ । बहुदलपछि जब राजनीतिक दलहरूको हातमा लगाम आयो, हामी विचारधाराको विन्दुमा आइपुग्यौं । एउटा राजनीतिक विचारधारा आउँदा एउटा राष्ट्रसँग टाँसिने र अर्को राजनीतिक विचारधारा आउँदा अर्को राष्ट्रसँग टाँसिने । अरू राष्ट्रले पनि राजनीतिक दर्शनकै आधारमा नेपालका राजनीतिक दलहरूबीच स्पेस र क्र्याक (दरार) निर्माण गरे । त्यसमै विदेशीले फाइदा देखेका हुँदा राजनीतिक अस्थिरता छ । त्यो क्र्याकमा हामीले शक्तिराष्ट्रलाई खेल्ने स्पेस दियौं ।

२००७ सालमा दिल्ली सम्झौता भयो । त्यस बेला राजा पनि दिल्लीमा, राणा पनि दिल्लीमा र कांग्रेस पनि दिल्लीमा थिए । त्यो त्रिपक्षीय सम्झौतामा के लेखिएको थियो भन्ने राजा त्रिभुवन, मातृका र बीपी तथा मोहनशमशेरलाई पनि थाहा थिएन । त्यस बेला पनि नेपालको राजनीतिमा भारतको जबरजस्त पकड थियो भन्ने देखिन्छ नि, होइन ?

कोत पर्वकै घटनाबाट हेर्दा हुन्छ । जब कोत पर्व भयो, राजा भागेर अहिलेको भारतीय दूतावास भएको स्थानमा पुगे । तर त्यस बेला ब्रिटिसहरूले ढोका खोलिदिएनन् र नेपालमा राणाहरू आए । २००७ सालमा भारतीयले ढोका खोलेर राजा त्रिभुवनलाई स्वागत गरेर लगे, नेपालमा प्रजातन्त्र आयो । हाम्रो भूबनोटको एक खालको बाध्यता छ । हाम्रो भारतसँग सम्बन्ध अलिकति फरक खालको पनि छ । र, हाम्रा बाध्यता पनि छन् । हामीले इतिहासदेखि विभिन्न कालखण्डमा बनाएका नक्सा छन् । जब हाम्रो समुद्रसँगको पहुँच गुम्यो, त्यसपछि हामी अझ बढी कमजोर भयौं । कुनै बेला टिस्टासम्म पुगेको इतिहास थियो । त्यो अवस्था रहिरहेको भए सागरसम्मै हाम्रो पहुँच रहिरहेको हुन्थ्यो । अहिले जसरी दुई मुलुकसँग मात्र छिमेकीको सम्बन्ध रही फरक रणनीति बनाएर फरक रूपमा बस्नुपर्ने अवस्थाबाट बाहिर जान्थ्यौं कि ? समुद्रसम्म पहुँच नहुँदा हामी मित्रराष्ट्रहरूको एक खालको नीतिमा पर्नुपर्ने अवस्था आएको होजस्तो लाग्छ ।

नेपालले ‘स्ट्राटेजी फर सर्भाइभल’ बनाउनुपर्नेछ, नेपाल पेन्डुलमका रूपमा घुमिरहनुपर्ने अवस्थामा छ भन्ने कुरा आएका छन् । यसमा तपाईंको टिप्पणी के छ ?

नेपालको मानवशास्त्रको इतिहास हेर्दा, नेपालीले प्रतिरोध गरेपछि पश्चिमासँग एक खालको जिज्ञासा जाग्यो रे । कसरी उनीहरूसँग यो खालको देशभक्ति र सैन्य क्षमता निर्माण भयो भनी अध्ययन गर्न पश्चिमाहरू नेपाल प्रवेश गरे । २००७ सालमा राणा शासन ढलेपछि मात्र विदेशीका लागि नेपाल खुला भयो । खुला हुँदै गएपछि जब पश्चिमाहरू नेपालमा आउन थाले, उनीहरूले विभिन्न सिद्धान्त निर्माण गरे । त्यस क्रममा नेपालका सन्दर्भमा लिओ ई रोजले ‘स्ट्राटेजी फर सर्भाइभल’ भनेर लेखे । तिमीहरू उत्तर वा दक्षिणसँग मिल्नुपर्‍यो भने । ऐतिहासिक तथ्यहरूले चाहिँ त्यसलाई सहयोग गरेको मैले पाइनँ । त्यसमा मेरो फरक खालको धारणा के छ भने, सन् १८५५ मा सेप्टेम्बर र अक्टोबरबीच नेपाल र भोटबीच केही तिक्तत्ता भयो । त्यसका आधारमा नेपालीले आक्रमण गरेर केही गाउँ लिए । त्यसका बारेमा प्रश्न हुँदा तिलविक्रम थापामार्फत अम्बानहरूलाई ३२ वटा विषय नेपालले बुझायो । ह्लासामा चिनियाँ अम्बानहरू बस्थे, बेइजिङको प्रतिनिधिका रूपमा ।

अम्बानहरूले अध्ययन गरेपछि तीमध्ये आठवटा मात्र सम्बोधन गर्न सकिने हुन्, अरूचाहिँ ठीक छैनन् भन्ने जवाफ दिए । जवाफमा अम्बानहरूले भनेका थिए, ‘तिमीहरूले गलत कुरा लेख्यौ । अब जितेको भूभाग फिर्ता गरेनौ र यो मुद्दाबाट पछि हटेनौ भने तिमीहरूका मालिक र तिमीहरूको राजधानीमाथि आक्रमण हुन्छ । मालिकलाई समातेर लगी हाम्रा बादशाहको अगाडि राख्छौं ।’ त्यसको मतलब बेइजिङ लान्छौं भनेका थिए । नेपालले बुझाएका ३२ वटा मुद्दा विषयसंगत थिए, त्यसैले जवाफ लेखे, ‘ती मुद्दाबाट हामी पछि हट्दैनौं, हामी कुनै पनि हालतमा गाउँ फिर्ता गर्दैनौं । तिमीहरूले भनेको मान्यौं भने हामी जिउँदो लास हुन्छौं । बरु हामी मर्न तयार छौं, तर हाम्रो कुराबाट पछि हट्दैनौं ।’ स्ट्राटेजी फर सर्भाइभल भनेको त बाँच्नका लागि कुनै न कुनै रणनीति अपनाउने हो नि ! तर नेपालको हिसाबमा त्यो होइन । ब्रिटिसहरू तत्कालीन भारतमा १२ सय सैनिक लिएर आएका थिए । र, धेरै राजारजौटाले उनीहरूसँग मिलेर अस्तित्व जोगाए, त्योचाहिँ स्ट्राटेजी फर सर्भाइभल हो । तर नेपाल ब्रिटिस र चीनसँग पनि लड्यो, त्यो हिसाबमा स्ट्राटेजी फर सर्भाइभल भन्न मिल्दैन । हाम्रा राजदूतहरूले पनि ‘हाम्रो त स्ट्राटेजी फर सर्भाइभल हो’ भन्ने गरेका छन् । हाम्रो विदेशनीतिमा हिजोको जुन जुझारुपन थियो, नेपालीको पहिचान थियो, त्यो गुमाएर, नयाँ खालको एउटा न्यारेटिभ निर्माण गरेपछि बौद्धिक रूपमा पनि हामी कमजोर भयौं ।

नेपालको पहिलेदेखि चीन र भारतसँग सांस्कृतिक, आर्थिक र रणनीतिक रूपमा निर्भरता र सहकार्य के हो ? भारतसँग हामी सांस्कृतिक र रणनीतिक रूपमा बढी नजिक भयौं । यसको पृष्ठभूमि के हो ?

नेपाल र भारतको यो राजनीतिक भूगोल निर्माण हुनुअघि एउटा भूगोल त थियो । भूगोलको दर्शनका आधारमा चाहिँ हामीले दुइटा तहमा हेर्नुपर्छ । एउटा हो— अनुयायी बन्नु । धेरै नेपाली काशी गएको पाउँछौं । काशी जानु भनेको अहिलेको राजनीति भारत जानु होइन, मोक्षप्राप्तिका लागि जानु हो र त्यसमा धर्म जोडिएको छ । त्यो सांस्कृतिक कुरा हो । त्यो सभ्यतासँग जोडिएको कुरा हो र विश्वासको कुरा हो । त्यो विश्वास अहिलेसम्म निरन्तर छ । भारतीय प्रधानमन्त्री मोदी आउँदा पशुपतिनाथमा दुई घण्टा पूजा गर्नुहुन्छ, चन्दन चढाउनुहुन्छ । प्रधानमन्त्री र मुख्यमन्त्री हुनुअघि मोदीले ज्ञानप्राप्तिका सिलसिलामा हिमालयमै आएर ध्यान गर्नुभएको थियो । यसरी मोदी पशुपतिनाथको अनुयायी हुनुभएको हो । त्यस्तै तत्कालीन प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाँदा काशी विश्वनाथ दर्शन गर्नुभयो । उहाँ नेपालका प्रधानमन्त्री भएर भन्दा पनि अनुयायीकै रूपमा त्यहाँ जानुभएको हो । साथै, प्रधानमन्त्री दाहालले भारत भ्रमणका दौरान महाकालेश्वर पुगेर अनुयायीकै रूपमा दर्शन गर्नुभयो । प्रधानमन्त्री हुँदा कम्युनिस्टको दर्शन बोक्नुपर्छ कि त्योभन्दा माथि जानुपर्छ, बहसको विषय हुन सक्छ । उहाँले जे गर्नुपर्थ्यो त्यही गर्नुभयो । नेपाल र भारतबीच अनुयायी स्तरको जुन सम्बन्ध छ, त्यसलाई हामी कहिलेकहिले धार्मिक कूटनीति पनि भन्छौं । त्यो हिसाबमा नेपाल र भारतमा जनस्तरमा एउटा सम्बन्ध छ; बुद्धिस्ट, हिन्दु, जैन, बोन लगायत जति पनि धर्म छन्, तीसँग जोडिएका आस्थाका केन्द्रबीच अर्को सम्बन्ध छ । अर्को तहमा नागरिककेन्द्रित राज्य संयन्त्रको कुरा छ । अहिले नागरिक र आधुनिक अवधारणाबाट छिमेकी मुलुक र हाम्रा सम्बन्धमा प्रशस्त फरकपना छन्, तर अनुयायीको तहमा चाहिँ त्यस्तो छैन । नागरिक तहमा सम्बन्ध त अमेरिका र बेलायतसँग पनि छ; अनुयायी समेतको तहमा भारतसँग मात्र छ । तर हामीले यी दुइटा तहलाई मिश्रण गरेर एक खालको सम्बन्धका आधारमा कसरी अगाडि बढ्नुपर्छ भन्ने दर्शन निर्माण गर्नच सकेनौं । मैले भारतीय समकक्षी र त्यहाँका थिंकट्यांकका साथीहरूलाई पनि भन्ने गरेको छु, ‘तपाईंहरूले नेपाल बुझ्नुभएकै छैन । नेपालले पनि धेरै भारत बुझेको छैन । तपाईंहरूले राजनीतिक रूपमा मात्र बुझ्नुहुन्छ । अनुयायी र नागरिकका आधारमा कुनै सिद्धान्त निर्माण भएकै छैन । यसलाई बुझ्न नयाँ सिद्धान्त गर्नुपर्ने हुन्छ ।’

नेपाल र भारतले एकअर्कालाई बुझ्न नसक्नुको कारण के हो ?

भारतले हेर्ने जुन अवधारणा बनाएको छ, त्यो यूरो–पश्चिमा केन्द्रित देखिन्छ । भारतले छिमेक पहिलो नीति भनेको छ । भारतका विदेशमन्त्री (जयशंकर) ले युरोप जाँदा ‘युरोपको समस्या विश्वको हो र अन्य क्षेत्रको समस्या युरोपको होइन, त्यसबाट युरोपमाथि उठ्नुपर्छ’ भन्नुभयो । भारतले नेपालबारे पनि भन्ने गरेको छ– भारतको समस्या नेपालको पनि समस्या हो तर नेपालको समस्या भारतको होइन । भारतको चासो र प्राथमिकता नेपालको पनि हुनुपर्ने र नेपालको चासो र प्राथमिकता भारतको नहुने पनि हुन्छ ? यसले गर्दा विवाद हुँदैन र ! नेपाल–भारत सम्बन्धमा उनीहरूले नबुझेका हुन् कि ?

अमेरिकी र युरोपेलीले नेपालमा केमा चासो राख्छन् ? र, सबैभन्दा बढी पहुँच पुर्‍याउन आतुर को छ ? नेपालका विषयमा भारत, चीन, अमेरिका र युरोपका चासो के–के हुन् ?

नेपालको समग्र बहस अमेरिकाले नेपाललाई कसरी हेर्छ, भारत, चीन र युरोपले कसरी हेर्छन् भन्नेमा छ । तर हामीले नेपाल यो हो र अमेरिका, भारत, चीन यसरी आउँदै छन्, यसरी संवाद गर्नुपर्छ भनेर बनाएनौं । हामी को हौं भन्ने निर्क्योल नगरी कुरा गर्छौं । अमेरिकीहरू आएर नेपालका माध्यमबाट वरिपरि प्रभाव बढाउन चाहन्छन् । भारत परम्परागत रूपमा आफ्नो पकड जुनमा छ, त्यसलाई कायम राखेर अघि जान चान्छ । चीनले एउटा स्तरबाट अर्को तहमा आफ्नो प्रभाव बढाउन खोजिरहेको छ । अमेरिका र चीन अहिलेका प्रतिस्पर्धी हुन् । अमेरिकाले इन्डो प्यासिफिक रणनीति र एमसीसी ल्यायो । चीनले त्यसलाई काउन्टर दिन बीआरआई, जीडीआई, जीएसआई र जीसीआई ल्यायो ।

भारतको त त्यस्तो कुनै फ्रेमवर्क छैन । भारत अन्तर्राष्ट्रिय रूपमा अमेरिका र चीनजस्तो गरी अघि आएको छैन । भारतको नेपालसँग परम्परागत सम्बन्ध छ । राजनीतिक रूपमा पनि उसको जुन सम्बन्ध थियो, त्यसलाई कायम गर्न चाहन्छ । नेपालको जीडीपीमै हेर्ने हो भने पनि भारतको ठूलै योगदान छ । भारत विश्वकै पाँचौं ठूलो अर्थतन्त्र हो । नेपालको अर्थतन्त्रको ९० प्रतिशत निर्भरता भारतमै छ ।

भारत अहिले विश्व गुरुको नारा लिएर अघि बढिरहेको छ । यो नारा उसको आन्तरिक राजनीतिमा खपत भएको छ । यसले अन्तर्राष्ट्रिय रूपमा स्थान र बहस पाएको छ कि छैन ?

मान्छे जोडिने भनेको राष्ट्रियता र भावनासँग रहेछ । हिजो कुनै अवस्थासम्म विश्वको झन्डै ५० प्रतिशतभन्दा बढी जीडीपी चीन र भारतको हुन्थ्यो । त्यसपछि मात्र अर्थतन्त्र र शक्ति पश्चिमातिर सिफ्ट भएको हो । इतिहासमा रहेको त्यो दमित भावनालाई नरेन्द्र मोदी र सी चिनफिङले प्रवाह गरेका हुन् । अहिले भारत पाँचौं ठूलो अर्थतन्त्र भएपछि मोदीले आन्तरिक राजनीतिमा कन्जम्सनका लागि विश्व गुरुको नारा ल्याएका हुन् । यो उनले सन् २०२४ को निर्वाचनका लागि लिएको एउटा एजेन्डा पनि हो । भारतमा नरसिंह रावका पालामा ‘लुक इस्ट’ विदेश नीति थियो । मोदी आएपछि ‘एक्ट इस्ट’ भयो । उहाले राइसिना डाइलग भनेर संसारभरबाट पाहुना बोलाउँदै सफ्ट पावरका रूपमा प्रयोग गर्नुभयो । मोदी आएपछि भारत एकातिर सांघाई कोअपरेसनमा सदस्य बन्यो, अर्कातिर ब्रिक्स र क्वाडमा पनि सदस्य भयो । रुसबाट सस्तोमा इन्धन किनेर त्यसलाई प्रशोधन गरी विश्वका अन्य बजारमा बेचिरहेको छ । भारत डलरलाई बेवास्ता गरेर शक्तिराष्ट बन्न खोजेको देखिन्छ । हिजो नेहरूले राखेको आधाभूत विदेश नीतिलाई मोदीले परिवर्तन गरेको जस्तो देखिन्छ ।

भारत र चीन शक्तिशाली हुँदै छन् । शक्तिशाली मुलुक अरू पनि छन् । यस्तो बेला हाम्रो शैली कस्तो हुनुपर्छ ?

आधुनिक शिक्षा आइसकेपछि निर्माण भएको न्यारेटिभ ‘स्ट्रोटेजी फर सरभाइभल’ बाट हामी माथि उठ्न सक्नुपर्‍यो । हिजो हामी विश्व शक्तिको मित्र हो । हाम्रो एसियाको गर्वलाई कायम गर्न सक्छौं भन्ने सन्देश दिनुपर्‍यो । नेपाल क्षमता भएको मुलुक हौं । हिजो राजा, राणाको कार्यकालमा विश्वशक्तिको साथीका रूपमा यहाँबाट सेनामा लगिएको थियो, हामीबिना बेलायतीहरू तर्सिन्थे । अहिले अमेरिकाले के भन्छ, भारतले के भन्छ, चीनले के भन्छ, युरोपले के भन्छ, त्यसमा प्रतिक्रिया दिने मात्र काम गरिरहेका छौं । हामी बलियो अवस्थाबाट प्रतिक्रिया जनाउने र त्यसमा पनि राजनीतिक रूपमा पछ्याउनेतर्फ अघि बढ्यौं ।

हाम्रो राष्ट्रिय संघर्षलाई हेर्दा राष्ट्रियता, भूगोल र बहादुरीको कुरा छ । तर पछिल्लो राजनीतिक परिवर्तनसँगै बहुभाषिक र विविधता को कुरा आएको छ । आन्तरिक विविधतालाई बलियो बनाउने हो कि पहिलेको बहादुरीकै कुरालाई अघि बढाउने हो ?

हिजो देश भन्ने कुरा जितेरै लिने भन्ने थियो । नेपालको न्यारेटिभ पृथ्वीनारायण शाहबाट मात्रै नेपाल आधुनिक राष्ट्र भयो भन्ने छ । त्यो भनेको किरात, लिच्छवि र मल्ललाई दुत्कार्नु हो । पहिलो त यो माटोसँग जोडिएको हो । माटोसँग जोडिएको मगर, गुरुङ, लिम्बू हुन सक्छ । तर अहिले त कस्तो किसिमबाट आएको छ भने एउटा प्रोजेक्ट गरे, एक्सक्लुजन र इनक्लुजनको । त्यस बेला नर्वेजियन दूतावासबाट एसएनबीमार्फत फन्ड पायौं ।

गाउँमा गएर अनुसन्धान गर्ने क्रममा सन् १९९१ र २००१ को जनसंख्या ६७ हजार ७ सय १ ले घटेको छ । जबकि जनसंख्या वृद्धिदर २.४ प्रतिशत छ । कामीको जनसंख्या कहाँ गयो ? समाजशास्त्रीय भाषामा संस्कृताइज भनेको भन्छ । अर्कातिरबाट हेर्दा नेपालको आइडेन्टिटीको मुभमेन्टको कुरा पनि भयो । कसाई पञ्चायतमा शाही भयो । त्यो बेला उसको इज्जत भयो । बहुदल आएपछि फेरि कसाई भनेर आयो । राणा शासनमा भएको राष्ट्रियताको निरन्तरता खोज्नुपर्छ भन्ने होइन । तर त्यसलाई राष्ट्रियतामा पनि खोज्नुपर्छ भन्ने हो । हिजो पृथ्वीनारायण शाहले माटोलाई भाडोको रूप दिएका हुन् । तर त्यसमा सबैको योगदान छ ।

पछिल्लो समय भारतीय सत्ता पक्षले संस्कृतिको आवरणमा नेपालमा अनुयायीलाई देखाएर आफ्नो अभीष्ट पूरा गर्न खोजेको जस्तो देखिन्छ । हामीले कल्पना गरेको अनुयायी हो तर भारतीय संस्थापनले अतिवादमा लाने जोखिम कति हुन्छ ?

भारतमा स वर्ण र अ वर्णको केटाकेटीबीच विवाह भयो भने पूरा समुदाय नै संलग्न हुन्छ । बच्चाका लागि समुदाय नै आउँछ । जब मधेश आन्दोलन भयो र पहाडमा माओवादी द्वन्द्व भयो, त्यो बेला बर्दिबासमा मधेशबाट पनि आएको र पहाडबाट पनि झरेको समुदाय छ, त्यहाँ नयाँ खालको संस्कृति विकास भएको छ, रिजिडिटी (कठोरपन) छैन । नेपालमा इतिहासबाटै जातजाति र समुदायबीचमा रिजिडिटी छैन । अनुयायीको कुरा विचारधाराका रूपमा आयो भने त्यो खतरनाक हो । त्यस्तो स्थितिलाई कसरी सम्बोधन गर्ने भन्ने बारेमा अध्ययन र अनुसन्धान गर्नुपर्छ । अहिले जुन हिसाबमा केही छिटपुट घटना भएका छन्, ती हाम्रा लागि अलार्मिङ हुन् ।

राणाकालमा हामीले ब्रिटिससँग मिलेर काम गर्‍यौं भन्नुयो । अहिले नेपालले असंलग्न विदेश नीति अपनाइरहेको छ । यस्तो अवस्थामा असंलग्न मुलुक भएर हामीले राष्ट्रिय हितलाई कसरी पूर्ति गर्न सक्छौं ?

सन् १९६० देखि १९८० सम्ममा नेटो र वार्सा बीचमा सुरक्षाको छातामुनि बस्नुपर्ने अवस्था थियो । अहिले पनि त्यस खालको वातावरण निर्माण हुँदै छ । चीनको जीएसआई तथा अमेरिकाका आईपीएस र क्वाड छन् । जसले जे भन्यो, त्यही गरेर बस्नेभन्दा पनि नेपालको स्वार्थ र नेपालका लागि त्यसले भोलि लामो समयसम्म पार्ने प्रभावलाई मध्यनजर गरेर विषयमा केन्द्रित गरी हाम्रो पोजिसन देखाउनुपर्छ । र, कसैको पनि सुरक्षा छातामा बस्नु हुन्न । मुलुकको हितमा ध्यान दिनुपर्छ, यो नै अहिलेको सन्दर्भमा ठीक हो ।

हाम्रो राज्य, परराष्ट्र मन्त्रालय, नागरिक समाज र बौद्धिकसँग त्यो आकलन गर्न सक्ने क्षमता छ त ?

त्यो क्षमता हाम्रोमा छैन । हामी बौद्धिक पनि विचारधाराका रूपमा विभाजित छौं, नागरिक समाजको अवस्था उस्तै छ । तर राष्ट्र त मभन्दा पनि माथि हो । कति कुरा त्यसमा प्रवेश गरेर अघि बढ्दै जाँदा सिक्दै जाने कुरा हो । हिजोको स्तरमा हेर्ने हो भने प्रतिस्पर्धीहरू नेपालभन्दा धेरै टाढा थिए । आज त प्रतिस्पर्धीहरू हाम्रा छिमेकीहरू हुन् । नेटोसहितको जापान चीनलाई आक्रमण गर्न बसेको छ । यता अमेरिकासहितको भारत छ । यस्तो अवस्थामा नेपालले लिने रणनीति एकदमै अहम् हुन्छ । सीले ताइवानलाई या त शान्तिपूर्ण आऊ, नत्र सेना प्रयोग गर्न सक्छौं पनि भनेका छन् । दोक्लममा चीन र भारतबीच द्वन्द्व भयो । ग्लोबल पावरहरूको टकराव हाम्रो आगनमा आएको छ । यो अवस्थामा हामी सबैभन्दा संवेदनशील हुनुपर्ने हो । तर हाम्रा राजनीतिक दल, नागरिक समाज, बौद्धिक जमात, प्राध्यापक विभिन्न पार्टीमा बाँडिएका छौं । अब युवा योभन्दा माथि उठ्नुपर्छ कि भन्ने लाग्छ । नेपालमा नेताहरू राष्ट्रियतालाई नै प्रयोग गरेर स्थापित भएका छन् । चुनाव जित्ने अस्त्र पनि राष्ट्रियतालाई नै बनाएका छन् । त्यसैले कस्तो राष्ट्रियता भनेर परिभाषित गर्न जरुरी छ ।

२०४६ सालपछि न्यारेटिभ निर्माणम राजनीतिक पार्टीहरूको भूमिका कति रह्यो ? तपाईंहरू विश्वविद्यालय र शैक्षिक क्षेत्रका हुनुहुन्छ, यस्तो संस्थाले न्यारेटिभ निर्माणमा कति भूमिका खेल्छ ?

मैले अघि माथि पनि भनेको थिएँ । सोसल इन्क्लुजन भनेको के हो भने कसैले आफ्नो भएको जातलाई डिनाउन्स गर्नु इन्क्लुजन हो या कसैले डिनाउन्स गरिसकेको आइडेन्डिटीलाई फेरि वनरसिप लिनुचाहिँ इन्क्लुजन हो । दलितहरूका केसमा कार्की, बस्नेत, थापा, पौडेल, कोइराला लेख्नु डिनाउन्स हो । दलितको कहिले पनि इतिहासमा गौरवपूर्ण स्थान छैन । उनीहरू राजा भएको, शासन गरेको, जहाँ लगेर जोड्दा पनि आफूलाई आनन्द हुने, प्रोत्साहन हुने खालको कुरा छैन । तर जहाँ पृथ्वीनारायण शाहले शासन लिइसकेपछि हाम्रो राज्य पनि गयो, भाषा पनि गयो, साहित्य पनि मर्‍यो, मेरो पहिचान पनि मर्‍यो, अबको संघीय तहमा मलाई त्यो सबै कुरा देऊ भनेर बहस चल्यो । बहस चलेको बेला मैले डोनरहरूलाई ‘तपार्इंहरू त्यही कुरा मात्र गर्नुहुन्छ, लेख्नुहुन्छ’ भनें । डोनरहरू दिइएको टीओरअनुसार काम गरे स्वागत गर्छन् । टीओआरअनुसार काम नगरे गेटमा पनि प्रवेश गर्न दिँदैनन् ।

दोस्रो कुरा, न्यारेटिभ निर्माणमा हाम्रो विश्वविद्यालय फेल छ । मौलिक सिद्धान्त निर्माण गर्ने हो भने कम्तीमा डबल ड्रिगी प्रोग्राम चाहिन्छ । कुनै विदेशी विश्वविद्यालयसँग सहकार्य गरेर काम गर्दा हुन्छ ।

प्रकाशित : श्रावण २८, २०८० ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्