२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९७
अन्तर्वार्ता

'नेपाल देखाएर बीजेपीले भारतमा १० वर्ष शासन गर्न खोजेको छ'

भ्रष्टाचारीलाई कारबाही गर्ने ल्याकत छैन भने प्रचण्डजीको सरकार रहँदैन । रास्वा, राप्रपा, जनमत पार्टी सहित हामीले अब संसद्‍बाटै संगठित आवाज उठाउँदैछौं ।
अहिले नेपालका ठूला भ्रष्टाचारमा 'पम्फादेवी'को संलग्नता छ । सापकोटा र भट्ट थरका व्यक्तिले उनको काम गर्छन् ।
जो दोहोरिएर मन्त्री, प्रधानमन्त्री बन्छ, त्यो भ्रष्टाचार गर्नका लागि हो ।
विजय चौथाइवाले र तत्कालिन प्रधानमन्त्रीकी श्रीमतीबीचमा जुन राखी बाँध्ने काम भयो त्यो दिनदेखि 'आरएसएस'को मनोबल बढेको छ ।

काठमाडौँ — प्रतिनिधिसभामा अहिले ठूला दलका गतिविधि भ्रष्टाचारका विषयमा सांसदहरूले आवाज उठाउने क्रम बढेको छ । दलीय बन्धन भन्दा बाहिर रहेका सांसदहरूले यी विषयहरुलाई बढी उठाउने गरेका छन् ।त्यस्तै सांसद मध्ये पर्छन्- प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंह ।

'नेपाल देखाएर बीजेपीले भारतमा १० वर्ष शासन गर्न खोजेको छ'

कांग्रेस छोडेर स्वतन्त्र रहेका सांसद सिंह अहिलेका ठूला दलहरुले गरिरहेका कामप्रति प्रश्न मात्रै उठाइरहेका छैनन् नेपाललाई विदेशीहरूको चलखेलबारे पनि नजिकबाट नियालिरहेका छन् । कुनै समय भारतसँग निकट सम्बन्ध रहेको ठानिने सिंह अहिले भारतले नेपालमाथि चलखेल गरिरहेको विश्लेषण गरिरहेका छन् । नेपालको राजनीति, सत्ता गठबन्धनको भविष्य र भारतको भूमिका लगायतका विषयमा सांसद सिंहसँग इकान्तिपुरका दुर्गा खनालले गरेको कुराकानी :

अहिले प्रतिनिधिसभामा तपाईं स्वतन्त्र सांसदको रुपमा प्रतिनिधित्व गर्नुहुन्छ । भ्रष्टाचारजन्य गतिविधिबारे बुँदागत रूपमा पनि राख्नुहुन्छ । पहिले राजनीतिक दलमा हुँदा भन्दा अहिले स्वतन्त्र हुँदा यी विषयमा बढी मुखर हुनुहुन्छ । यी विषय किन उठाइराख्नुभएको छ ?

पछिल्ला तीन कार्यकालमा काम गर्दाखेरि के देखियो भने, वास्तवमा जे हामी गरिरहेका छौं त्यो गलत हो । त्यो देशको लागि राजनीति होइन । राजनीति देश र जनताको पक्षमा हुनुपर्छ । पहिला दलमा हुँदा दलीय बाध्यता थियो । दलको नेता नै भ्रष्ट भएपछि दलकै नेताबाट विकृति सुरु भएपछि हामीले पार्टीभित्रका बैठकमा बोलिरहेका थियौं । त्यसैको परिणामस्वरुप चुनावमा टिकट पनि पाएनौं, कुनै अर्को कारण थिएन । दोस्रो कुरा पार्टी पूर्णतः विदेशीको दलाल जस्तै हुने, विदेशीको रिमोट कन्ट्रोल हुने, देश र जनताको पक्षमा नहुने अवस्था रह्यो । भूराजनीतिक अवस्था कस्तो छ भने, नेपाली नेता, प्रणालीलाई भ्रष्ट बनाइराख्ने, नेपाललाई गरिब बनाइराख्ने, नेपाली जनतालाई विदेशने बाध्यता बनाइराख्ने र नेपालमाथि शासन गरिराख्ने अघोषित रूपमा यो कुराले मलाई सार्‍है पिरोल्यो । गत असोज २३ को मनोनयनमा दर्ता गराउनु अघि मैले आफूभित्रको कांग्रेसलाई मारिसक्या छु । विगतमा मेरा कमीकमजोरी होलान् । त्यसका लागि आम जनतासँग माफी पनि माग्न चाहन्छु ।

पहिला कसैले मलाई इन्डियाको दलाल भन्थ्यो, कसैले मधेसी भन्थ्यो, कसैले प्रचण्डकै, कसैले शेरबहादुरकै दलाल भन्दिन्थ्यो । म दलाल कसैको होइन । राष्ट्र बुझ्ने क्रममा मेरो भोगाइ बुझेर यो निष्कर्षमा पुगें कि, यो राष्ट्रका दुईवटा समस्या हुन्- एउटा भ्रष्टाचार र दोस्रो विदेशीको हस्तक्षेप । यी दुवैबाट मुक्त हुनुपर्छ ।

तस्बिर/ भिडियो : अंगद ढकाल/ कान्तिपुर

तपाईंले भ्रष्टाचारको कुरा उठाइराख्नुभएको छ, भ्रष्टाचार कुन तहमा छ ?

पाँच सय, हजार रुपैयाँ सिपाही, ट्राफिक पुलिस वा कार्यालय सहयोगीले खाएर भ्रष्टाचार हुने होइन । अर्बौंको भ्रष्टाचार प्रधानमन्त्रीको तहमा पार्टी अध्यक्षको तहमा सर्वदलीय भ्रष्टाचार छ । मैले तपाईंलाई बुँदागत गणना गरिदिन्छु- वाइडबडीको भ्रष्टाचार सर्वदलीय भ्रष्टाचार हो । पोखरा विमानस्थलको भ्रष्टाचार सर्वदलीय हो । सबैको फाइल मसँग छ । आयल निगमको जग्गा सर्वदलीय भ्रष्टाचार हो । गिरीबन्धु टी स्टेटको जग्गा, जो भर्खर सापकोटा थरको 'पम्फादेवी' (अमरेशकुमार सिंहले राखेको नाम) को भाइले गराएको छ । त्यसैकारण सचिव टेकनारायण पाण्डे पहिले भूमिसुधार सचिव थिए । त्यहाँ १०० करोडको भ्रष्टचार गरेवापत् गृह सचिव बनाइएको हो । किनभने नेताहरूलाई पैसा पुर्‍याएर । नेताहरू खुसी भएर उसलाई वरदान दियो कि, भूमिसुधारमा त्यत्रो भ्रष्टाचार भयो अब गृहसचिव बनाउँ । त्यतिमात्रै होइन सेक्युरिटी प्रिन्टिङ प्रेस किनियो तर अहिले पनि अन्तः शूल्कको स्टीकर बाहिर छापिन्छ । निर्वाचन आयोगले ब्यालेट पेपर प्रिन्टिङ प्रेस किन्यो । ब्यालेट बाहिर छपाउँछ । यो सबै कमिसनको खेल हो । नेपालको कुनै पनि कानुन पास भएको छैन टेलिफोन इन्टरसेप्सन गर्ने भन्ने, तर अहिले जानुस् एनआइडीको भर्‍याङमुनि राखिएको छ मेसिन । ८ करोडको मेसिनलाई २६ करोड पेमेन्ट दिइएको छ ।

'क्यापिटल फ्लाइट' भएको छ । ठूला भ्रष्टाचारमा अर्बौंको खेल छ । त्यो भ्रष्टाचारको पैसा मैले ट्र्याक गरेर बसेको छु । १०-१२ जना बिचौलिया छन् । उनीहरूलाई कानुनको दायरामा ल्याउनुपर्छ ।

संघाई ग्रुप, विशाल ग्रुप, चौधरी ग्रुप यिनीहरूले नेपालमा कर नतिर्ने । जस्तो, अस्ति घोराही सिमेन्टको घटना भयो । संघाइ ग्रुप र विशाल ग्रुप सम्धी हुन् । मिलेमतोमा भयो । आइपीओ निकले र त्यसको भाउ बढाएर आफू त्यहाँबाट निस्किए । म सोध्न चाहन्छु कि, व्यापार र राजनीतिमा मेल हुन्छ ? यो १५ वर्षमा के भयो भने जम्मै जग्गा दलाल, गिट्टी क्रसर, डिस्टिलरीवालालाई पैसा लिएर नेताहरूले उसलाई नेता बनाइदिए । राजनीति र धर्म मिसाउनु हुँदैन, राजनीति र व्यापार मिसाउनु हुँदैन त्यस्तै बैंक र व्यवसाय मिसाउनु हुँदैन । कहाँ-कहाँ बेथिति छ भने, जतिपनि भ्रष्ट व्यापारी छन् उनीहरूका बैंक छन् । तपाईं सबै बैंकको पछाडि जानुस् पर्दा पछाडि के भइरहेको छ ? यो सबै अध्ययनको विषय हो । म त्यत्तिकै बोलेको होइन ।

त्यसकारण मैले के भन्न खोजेको के हो भने बैंक र व्यवसायी अलगअलग हुनुपर्छ । त्यहाँबाट हाम्रो अर्थतन्त्र डुबेको छ । दोस्रो कुरा नेता र व्यवसायी अलग हुनुपर्छ । नेता राष्ट्र र जनताप्रति समर्पित हुनुपर्छ । सदाचार हुनुपर्छ । उसले अर्बपति बन्ने बाटोमा जानु हुँदैन ।

नेताको भ्रष्टाचारको कुरा गर्नुभयो । हालै पूर्वगृहसचिव नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका छन् । उनलाई गृहसचिव बनाउने क्रममा खेल भएको थियो भन्नुभयो । राजनीतिक तहले यो कसरी गरिरहेको छ ?

सबै भ्रष्टाचारको मूल जरो भनेको राजनीतिक तह हो । नीतिगत भ्रष्टाचार कस्तो हुन्छ भने सबै निर्णयमा राजनीतिक नेतृत्वले हस्ताक्षर नगर्ने । तत्कालीन गृहमन्त्रीको स्वीकृतिबिना गृहसचिवले करोडौंको भ्रष्टाचार गर्न मिल्छ ? । यहाँ हरेक केसमा के देखिएको छ भने राजनीतिक तहको मान्छे चोखिने कर्मचारी फस्ने । त्यो पनि साना कर्मचारीलाई फसाइदिने । मेरो भनाइ के हो भने, जो मूल छ त्यसलाई समात्नुपर्छ । भ्रष्टाचार अन्त्य नभईकन यो देशमा सुशासन कायम हुन सक्दैन । भ्रष्टाचार अन्त्य नभईकन विदेशीको हस्तक्षेप घट्दैन । विदेशीहरूले हाम्रा नेपाली नेतालाई भ्रष्ट बनाइदिन्छन् । मेरो एक लाइनको एजेन्डा छ- नेपालको लोकतन्त्र नेपालीको हातमा हुनुपर्छ । नेपालको अर्थतन्त्र नेपालीको हातमा हुनुपर्छ ।

जस्तो कि, आरएसएस (राष्ट्रिय स्वयंसेवक संघ- भारतको हिन्दुवादी संगठन) को ७-८ वर्षको गतिविधि दंगा गराउनतर्फ केन्द्रित छ । नेपालमा त कहिले पनि दंगा त हुँदैन । अहिले भर्खरै रामनवमी घटना जनकपुरमा गरायो । म मधेसमा जन्मे हुर्केको मान्छे त्यहाँ कहिल्यै पनि भगवा संस्कृति होइन । त्यहाँ एउटै कलरको पहेँलेको वस्त्र लगाएको जुलुस निस्किँदैन । त्यहाँ कहिल्यै पनि रामनवमीमा बाहेक जुलुस निस्किएको थिएन । हनुमान जयन्तीमा जुलुस निस्किन्थ्यो । यो के हो भने सन् २०२४ को भारतको चुनावलाई उत्तरप्रदेश (यूपी), बिहारमा प्रभावित गर्नका लागि नेपालमा दंगा गराउन खोजिँदैछ । यो त हामीलाई स्वीकार्य हुँदैन ।

आरएसएसको दबाबमा हरेक पार्टीले राम्रो नेताको चुनावको टिकट काट्ने काम भएको छ । जस्तो मेरै टिकट काटियो । दीपकप्रकाश भट्टको टिकट काटियो । मिनेन्द्र रिजालको टिकट काटियो । अर्णव गोश्वामीसँग उनले टिभीमा डिबेट गरेको कारणले लिपुलेक लिम्पियाधुरा सीमा विवादका कारण मिनेन्द्र रिजालको टिकट काटियो ।

हामी हरेक मुलुकसँग दुईपक्षीय सम्बन्ध राम्रो राख्न चाहन्छौं तर आन्तरिक राजनीतिमा हस्तक्षेप चाहँदैनौं । दूतावासले प्रधानमन्त्रीलाई भन्छ कि, फलानोलाई मन्त्री नबनाउ । फलानोलाई मन्त्री नबनाउ । चन्दा चौधरीको कांग्रेसमा के थियो लगानी ? कति दिन क्रियाशील थियो ? आज टीका लगायो 'पम्फादेवी'ले भोलिपल्ट उसलाई बनायो । 'पम्फादेवी'को कम्युनिटी के हो भने पहिले पनि पम्फादेवी जुद्धशमशेरकै सन्तान थियो, राणा नै थियो, अहिलेको 'पम्फादेवी' पनि जुद्धशमशेरकै सन्तान हो ।

'पम्फादेवी' भनेर कसलाई इंगित गर्नुभएको हो ?

त्यो बेला राजाको श्रीमती पम्फादेवी भ्रष्टाचारमा थिइन् । त्यो बेला त बजेटको साइज पनि सानो थियो । अहिले त बजेटको साइज ठूलो छ । अहिले नेपालका ठूला भ्रष्टाचारमा 'पम्फादेवी'को संलग्नता छ । एउटा कुरा 'अथोरिटी विदाउट अकाउन्टिबिलिटी' साह्रै डेन्जर हुन्छ । के अथोरिटीका आधारमा डीआईजीको सरुवा पोस्टिङका लागि लाइन लाग्ने ? उसको भाइले पनि भ्रष्टाचारमा लाग्ने, छोराले पनि गर्ने ? यो कुरा हामीलाई स्वीकार हुँदैन । यो पब्लिक डिबेटको विषय बन्नुपर्छ । जनताको बीचमा यो कुरा लिएर जान्छौं । ठीक छ अहिले उहाँले आफ्नो कुरा राख्नुहोस् । म पनि आफ्नो कुरा राख्छु । उहाँले भन्नु होस् कि, यो सापकोटा थरको मान्छेसँग के लेनदेन छ ? उहाँले भन्नुहोस् कि, मन्त्रालय जाने भट्ट थरको मान्छेसँग के लिनुदिनु छ ?

तपाईंले सापकोटा र भट्ट थरको नाम लिनुभयो यी को हुन् ?

भट्ट 'पम्फादेवी'को नजिकका मान्छे हुन् । सापकोटा उनको भाइको नजिकका हुन् ।

यिनीहरूको नेक्सस र सम्बन्धबाट के-के काम भएका छन् ?

यो नेक्ससबाट स्टक एक्सचेन्ज, प्रिन्टिङ प्रेस, गिरीबन्धु टि-स्टेटको जग्गा प्लटिङ गरेर बेच्ने, विभिन्न नियुक्ति दिलाउने काम भइरहेको छ । म देखिरहेको छु कि, सचिवहरु राम्रो मन्त्रालय पाउनका लागि बिचौलियाको घर धाइरहेका छन् । पुलिसहरु पनि धाइरहेका छन् । यो दौडले देश कहाँ पुग्यो ? आजको दिनमा देश बिचौलियाले क्याप्चर गरेको छ ।

तपाईंले कांग्रेसका नेताहरुप्रति इंगित गर्दै यो कुरा गरिराख्नुभएको छ । अहिले कांग्रेस सरकारको साझेदार हो । तर प्रधानमन्त्री पुष्पकमल दाहाल हुनुहुन्छ । उहाँलाई पनि यो नेक्ससले प्रभाव पारेको छ ?

३२ सिटको प्रधानमन्त्रीको बाध्यता के हुन्छ तपाईं बुझिदिनु न ! प्रचण्डले हामीलाई प्रतिबद्धता जनाउनु भएको छ कि, भ्रष्टचारको फाइल दिनुस् म कारबाही गर्छु । त्यसैले यसपटक हामी उहाँको टेस्ट गर्न गइरहेका छौं । सबै भ्रष्टाचारको फाइल अध्ययन गरेर हामी उहाँलाई बुझाउँछौं । कारबाही गर्नुभएन भने सबै डकुमेन्ट मिडियाको हात हातमा दिन्छु अनि संसद्मा पनि कुरा उठाउँछु । ठूला नीतिगत भ्रष्टाचार अब कुनै हालतमा ओझेल पर्न दिइदैँन । राजनीतिक, नीतिगत भष्टाचार छ, कानुन बनाएर पनि भ्रष्टाचार भइरहेको छ । जस्तो एनसेललाई किन म्याद थप्नुपर्यो ? पैसा खाएर दोषी उम्काउने जुन तरिका छ त्यो स्वीकार्य हुन्न । जतिसुकै अर्बपति होस् न त्यसले ट्याक्स तिर्नुपर्दैन ? के सम्पत्ति शुद्धिकरण र राजस्व अनुसन्धान नेताहरूका बिचौलियाको पैसा उठाउने थलो हो ?

अहिले नेपाललाई सम्पत्ति शुद्धिकरणमा राम्रो कानुनी कारबाही भइरहेको छैन भन्ने विदेशमा छ । ४० जनाको विस्तृत अनुसन्धान भएको फाइल शेरबहादुरजीले रोकिदिनुभयो । ४० जनामा उहाँको मान्छेको पनि नाम थियो । यो नाम अख्तियारमा पनि पुगेको छ । अहिले सबै संस्थाहरू समाप्त गर्ने काम भइरहेको छ । अख्तियार, अदालत कमजोर बनाइएको छ । हाम्रा संस्थाहरु कमजोर बनाइएको छ । विश्वास टुट्दै गइरहेको छ चाहे त्रिभुवन विश्वविद्यालय होस् वा निर्वाचन आयोग होस् ।

दलीय भागबन्डाबाट नियुक्त हुनुहुन्न । जो योग्य र क्षमतावान् छ त्यस्ताको नियुक्ति हुनुपर्छ । नेपाली कम्पिटेन्ट मान्छेको नियुक्ति हुनुपर्छ । ठूला ठूला भ्रष्टाचार बन्द हुनुपर्छ ।

भ्रष्टाचार बन्द हुनुपर्‍यो भन्ने कुरा त वर्षौंदेखि भनिँदै आएको छ । तर त्यो फाइल खोल्ने तत्परता त कसैको छैन नि ?

अहिले आधा मान्छेलाई बचाइएको छ । मैले अहिलेकै केस (नक्कली शरणार्थी बनाएर ठगी गर्ने प्रकरण) मा पनि प्रधानमन्त्रीलाई भेटेर कसैलाई बचाउने काम नगर्नुहोस् भनेको छु । भुटानी शरणार्थीको केसमा अर्बौं पैसा लिएको छ । त्यसमा संलग्न सबै राजनीतिक नेतालाई दायरा ल्याउनुपर्‍यो । खाली कर्मचारीलाई मात्र ल्याउने ? ठूला भ्रष्टाचार नेताले गर्ने उसलाई उम्काइदिने गरिन्छ । साना कर्मचारीलाई मात्र बलिको बोको बनाउने कुरा स्वीकार्य छैन । जस्तो सुडान घोटालामा प्रहरी महानिरिक्षकहरू जेल गए, कुनै गृहमन्त्री जेल जानुपर्‍यो ?

अहिलेको नक्कली शरणार्थी प्रकरणमा चाहिँ के हुन्छ ?

यो प्रकरणमा पनि जो-जो गृहसचिव समातिन्छन् त्यो बेलाका गृहमन्त्रीलाई पनि सोधपुछ, अनुसन्धान गर्नुपर्छ । गृहमन्त्रीको संलग्नताबिना यत्रो काम हुन्छ ? कुन कर्मचारी यस्ता छन् कि, मन्त्रीको निर्देशनबिना चलुन् ? मन्त्रीको निर्देशनबिना एउटा सिपाही त सरुवा हुन्न, अनि यत्रो अर्बौंको भ्रष्टाचार उसको संलग्नताबिना कसरी हुन्छ ?

यो प्रकरणमा जोडिनसक्ने पूर्वगृहमन्त्रीहरु त अहिले ठूला पार्टी (कांग्रेस- एमाले)का नेताहरु हुन् । उनीहरुलाई अनुसन्धान र कारबाही गर्नसक्ने ल्याकत प्रधानमन्त्रीसँग छ त ?

ल्याकत छैन भने उहाँको सरकार रहँदैन । आइतबार संसद् खुल्दैछ त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनमत पार्टी हामी सबै मिलेर यो कुरा उठाउँदैछौं ।

प्रधानमन्त्रीले पूर्वगृहमन्त्रीहरुलाई अनुसन्धानको दायरामा ल्याउन सक्नुहोला त ?

केही मान्छेहरुले उहाँलाई भेटेर राजनीतिक तहका मान्छेहरुलाई छोडिदिनुहोस् भन्ने आग्रह गरेका छन् रे ! तर कानुनको बाटो कसैले छेक्नुहुन्न । कानुनलाई प्रभावित गर्नुहुन्न । यहाँ 'रुल अफ ल' होइन 'रुल बाइ ल' जस्तो भएको छ । अदालत कस्तो भएको छ भने भ्रष्टाचारको मुद्दा छुनै चाहदैन । नेताको मुद्दा आएपछि आलटाल गर्छन् । यदी न्यायाधीशले चाँडो फैसला गर्न सक्दैनन् भने त्यस्ता न्यायाधीशले छोड्नुपर्छ । मेरै क्षेत्रको एउटा वन फडानीको मुद्दा २२ वर्षदेखि फैसला भएको छैन । किनकी नेताहरूको फोन जान्छ । सर्वोच्चका न्यायाधीशहरुले भ्रष्टाचारको मुद्दा एक वर्षमा टुंग्याएनन् भने कारबाही गर्नुपर्छ । साना मुद्दा फैसला हुन्छन्, ठूला अड्काइन्छ । ललिता निवासको जग्गाको फैसला किन अड्काइरहेको छ ? यहाँ स्वतन्त्र न्यायापालिका छ भन्ने देखिनुपर्‍यो । तर शेरबहादुर देउवाले न्यायापालिका स्वतन्त्र रहनै दिएनन् । पहिले पनि सुशीला कार्कीलाई महाभियोग लगाइदिए । जसले गर्न खोज्यो त्यसलाई महाभियोग लगाइदिए । अब तर्साएर चल्दैन ।

२०६३ पछि बिचौलिया ग्रुप निर्माण भएको छ । करको दर परिवर्तन गर्दा २ खर्ब राजस्व उठ्न सकेन । सीसीटिभी धमिलो देखिँदा नेपालको २ खर्ब उड्यो । यहाँ भ्रष्टाचारका विषयमा ५ वर्षको क्याप लगाउन खोजिँदैछ । भ्रष्टाचारको हदम्याद हुन्छ ?

कूटनीतिक मामिलामा चासो राख्नुहुन्छ । पहिले राजनीतिक भविष्यवाणी गर्नुहुन्थ्यो । अघि आरएसएसको प्रसंग पनि उठाउनुभयो । अहिले भारतले नेपालमा के चाहिरहेको छ ?

अहिले भारतको सरकार आरएसएसको छायामा छ । नेपालको भारतीय राजदूतावास पनि आरएसएसको छायामा छ । कर्मचारीहरुको कुनै भूमिका छैन । आरएसएसले जे भन्यो त्यही गर्छ । आरएसएसको एउटै एजेण्डा छ- नेपाललाई हिन्दुराष्ट्र घोषणा गराउने । नेपाल देखाएर बिजेपीले भारतमा १० वर्ष शासन सञ्चालन गर्न खोजेको छ । हिन्दुराष्ट्र चाहेको हो भने भारतले पहिले आफ्नै देशलाई बनाओस् न ! नेपाल देखाएर भारतमा शासन गर्ने ?

मेरो भनाई के हो भने धर्म र राजनीतिक जोड्न हुन्न । तर यहाँ हाम्रैमा के भयो भने कांग्रेसका एक नेता पूर्वगृहमन्त्री १५ दिन एउटा ढुंगा बोकेर ट्रकको पछाडि जानुभयो,किनकी उहाँलाई मालिकले आदेश दिएका छन् - यस्तो गर्नुभयो भने राजनीति राम्रो हुन्छ । यो त मिल्दैन नि ! सांसदको कर्तव्य एउटा ढुंगाको पछाडि जाने हो ? सन् २०२४ को मेमा भारतको लोकसभा निर्वाचन हुँदैछ। त्यो निर्वाचन भन्दा पहिले नेपालको तराई मधेस क्षेत्रमा त्यहाँ दंगा गराउन खोज्दैछ । हामी नेपालीहरु सबै धर्म मान्नेहरू मिलेर बसेका छन् । तर यस्तो गराउने काम शेरबहादुर देउवाले गर्दैछन् । विजय चौथाइवाले र तत्कालिन प्रधानमन्त्रीकी श्रीमतिबीचमा जुन राखी बाँध्ने काम भयो त्यो दिनदेखि आरएसएसको मनोबल बढेको छ । अस्ती भर्खर 'मानसखण्ड' सम्मेलन भयो । हामी कुनै पनि हालतमा नेपालको लोकतन्त्र, गणतन्त्रमा आँच आउन दिन्नौं । युपीका मुख्यमन्त्री हिन्दु राष्ट्र नहुँदा नेपाल चिनिँदैन भन्छन् । उनले भन्दैमा चिनिने र नचिनिने हुन्छ र ? नेपाल आफ्नो सार्वभौम मुलुक हो नि ! हाम्रो भारत सरकारसँग कुरा हुनुपर्छ । 'ननस्टेट एक्टर'सँग कुरा हुनुहुन्न।

आरएसएसलाई यहाँ हुर्किन दिने र पम्प गर्ने चाहिँ को छ त ?

दलका नेताहरु छन् । सबैभन्दा बढी कांग्रेसका छन् ।

नेपाल सरकारसँगको उनीहरूको अपेक्षा चाहिँ के हो ? भारतले के फाइदा फाइदा लिन खोजिरहेको छ ?

उनीहरूको अपेक्षा भनेको हरेक प्रधानमन्त्रीले हिन्दुराष्ट्र घोषणा गर्न सघाइदियोस् भन्ने नै हो । जो कुनै पनि प्रधानमन्त्रीले गर्न सक्दैन । न संसद्को दुई तिहाईबाट गर्न सक्छ, न बाहिर त्यसरी बोल्न सक्छ । फेरि बन्द कोठामा सबैले त्यही प्रतिबद्धता जनाइरहेका छन् । २०७२ सालमा संविधान जारी हुने बेलामा पनि त्यही कुरा हो । त्यतिबेलै भ्रमणमा गएका सबै प्रधानमन्त्रीहरू, चाहे त्यो पुष्पकमल दाहाल होस्, चाहे त्यो माधवकुमार नेपाल होस् वा चाहे सुशील कोइराला होस् सबैले गएर हामी संविधानमा हिन्दु सनातन धर्म लेखिदिन्छौं भनेका थिए । तर संविधानमा त्यो नभएपछि दौडिएर आए । त्यतिबेला मधेशमा त्यति ठूलो आन्दोलन भयो भारतको एउटा विज्ञप्ति आयो र ? त्यसैले यो मधेसको मुद्दै होइन । यो हिन्दु धर्मको मुद्दा हो । त्यसैले अहिले पनि यहाँ खेलहरू भइरहेका छन् मधेशको अस्तित्व समाप्त गरिदिने । आजको दिनमा महन्थ ठाकुर, राजेन्द्र महत्तो सबैको राजनीति सकिएन ? यिनीहरुको राजनीति कसले सकाइदिएको हो र ? त्यसकारण हामी न मधेश सक्न दिन्छौं, न देश सक्न दिन्छौं ।

मेरो त अहिले पनि एउटै अभियान छ, लोकतन्त्र बचाउनुपर्‍यो, र अर्थतन्त्र बचाउनुपर्‍यो । अर्थतन्त्र हाम्रो यति कमजोर किन भयो ? यसको पनि कारण छ । यहाँ ठूल्ठूला बिजनेस हाउसहरूले नै देशको अर्थतन्त्रमा प्रहार गरिरहेका छन् । करछली गरेका छन् । एक-एक गरेर हामी त्यसको लिष्ट बनाउँदैछौं । तिनलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । जो मन्त्रीले उनीहरुलाई बचाउँछ, हामी उसैलाई कारबाहीको दायरामा ल्याउँछौं । पहिलेका दिन गए अब । यहाँ कसैले कसैको दुई लाख रुपैयाँ बुझेर करोडौंको कर मिनाहा गरिदिने कुरा हुँदैन ।

यो सबै कुराको पछाडि विभिन्न कारणहरु छन् । अहिले एउटै मान्छे पटक पटक प्रधानमन्त्री हुने व्यवस्था छ । कसैले रोकटोक गर्दैन । पाँचपटक, छपटक एउटै मान्छे प्रधानमन्त्री हुन पाउनुहुँदैन । हामी संविधान संशोधनको प्रस्ताव ल्याउँछौं, अब संविधानमै व्यवस्था गर्नुपर्छ कि एउटै व्यक्ति दुई पटकभन्दा धेरै प्रधानमन्त्री बन्न पाउँदैन । तीनपटक भन्दा बढी मन्त्री पाउँदैन । जो दोहोरिएर मन्त्री, प्रधानमन्त्री बन्छ, त्यो भ्रष्टाचार गर्नका लागि हो । त्यसरी देशलाई केही पनि प्राप्त हुँदैन । यहाँ सात चोटीसम्म प्रधानमन्त्री बन्छ भनिदिने ज्योतिषी छन्, त्यो पनि भ्रष्टाचार गर्नकालागि ।

तपाईं त यी सबै कुराहरू उठाए पनि भनेका कुराहरू गर्नका लागि त बहुमत चाहियो नि ?

अहिलेको संसद्‍मा भ्रष्टाचारविरोधी युवाहरूको समूह बनिसकेको छ । हामी संसद् र बाहिर पनि छलफलमा बसिसकेका छौं । हामी यो विषय उठाउँछौं । यसमा धेरै सांसदहरूको आवाज उस्तै हुन्छ ।

को–को छन् ? सत्तारुढ दलबाटै हो कि अन्य दलबाट ?

सत्तारुढ दलबाट पनि छन्, अन्य दलबाट पनि छन् । तर अहिले यो भ्रष्टाचारको विरुद्धमा बोल्नका लागि धेरै सांसदहरू छन् । बाहिर बोल्न नसक्नेहरू मनमनै साथमा छन् । जो सरकारमा छैनन्, उनीहरू पनि हाम्रो साथमा छन् । अहिले सरकारमा समर्थन भएपनि सरकारबाहिर रहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी छ, राष्ट्रिय प्रजातन्त्र पार्टी छ । उनीहरूले उठाउँछन् । कांग्रेस एमालेकै सांसदहरू पनि यो विषय उठाउन तयार छन् । यो विषयमा तीन करोड जनताको ब्याकअप छ, कुनै दल वा नेता भन्ने कुरै छैन । भ्रष्टाचारको मुद्दामा तीन करोड जनताको ब्याकअप छ । तपाईं अन्ना हजारेलाई हेर्नुहोस्, उहाँ त सांसद पनि होइन, उहाँको भ्रष्टाचार आन्दोलनले भारतमा त्यति ठूलो परिवर्तन भयो, आज त्यही भ्रष्टाचारविरुद्धको आन्दोलनबाट केजरीवाल दिल्लीको मुख्यमन्त्री भएका छन् ।

सांसद भइसकेपछि सांसदको रुपमा मात्रै बोल्ने भन्दा पनि सरकारमा गएर काम गर्ने इच्छा होला नि तपाईंलाई दलहरूले सरकारमा किन लगेनन् ?

सरकारमा जानेबारे मैले धेरै पहिले नै भनिसकेको थिएँ कि, यो मेरो रोजाइ होइन । म पहिले पावर पोलिटिक्समा थिएँ, अहिले म जनताको पोलिटिक्समा छु । मेरो प्राथमिकता सरकार होइन, देश र जनता हो । मेरो प्राथमिकता भ्रष्टाचारको न्यूनीकरण हो, विदेशी हस्तक्षेपको अन्त्य हो । दलका नेताहरूले विदेशीहरूलाई किन भेट्ने ? के काम छ ? हाम्रो राष्ट्रपति, प्रधानमन्त्री वा जो कोही भन्नुहोस् । विजय चौथाइवालेलाई पनि भेटिराखेको हुन्छ, ऊ को हो ? किन भेटेको ? यसमा जवाफदेहिता, पारदर्शिता भन्ने हुने कि नहुने ?

मैले त अहिले राष्ट्रपतिको सेवा सुविधाबारे पनि कुरा उठाइरहेको छु । राष्ट्रपतिले त्यत्रो जना सल्लाहकार किन राखेको ? के काम छ ? राष्ट्रपतिलाई आर्थिक सल्लाहकार किन चाहियो ? के राष्ट्रपतिले यो मुलुकको बजेट निर्माण गर्ने हो र ? नभए किन चाहियो ? राष्ट्रपतिको काम कानून निर्माण गर्ने हो र कानूनी सल्लाहकार राख्नको लागि ? राजनीतिक सल्लाहकार किन चाहियो ? त्यस्तो विज्ञ चाहिन्छ भने अतिरिक्त खर्च नहुने गरी सरकारी संयन्त्रबाटै काजमा कर्मचारीहरू लगेर उपयोग गरेपनि हुन्छ नि ! राज्यलाई भार किन थप्ने ? राष्ट्रपतिले समानान्तर शासन गर्ने होइन । बालुवाटार र सिंहदरबारमा बिचौलियाको बिगबिगी हुनुभएन ।

मैले त संसद्मै भनेको छु, कि प्रधानमन्त्री, राष्ट्रपति, प्रधानन्यायाधीश वा जतिपनि सरकारी जिम्मेवार पदाधिकारीहरू छन्, उनीहरूको घरको गेटमै सीसीटिभी राखौं, र त्यसको मनिटर टुाडिखेलमा राखौं । दिनका दिन कसले किन भेटिरहेको छ ? त्यसको दिनका दिन बुलेटिन निकाल्नुस्, त्यसपछि सबै थाहा भइहाल्छ । हाम्रा मन्त्री, प्रधानमन्त्रीलाई क–कसले किन भेट्छन् ? त्यो थाहा पायो भने तपाईंलाई रुन आउँछ ।

तपाईं त पहिले राजनीतिक भविष्यवाणी पनि गर्नुहुन्थ्यो । अहिलेको संसद्, सत्ता र सरकार अबको पाँच वर्ष कसरी अगाडि बढ्ला ?

अहिलेको सरकार जति ठूलो गठबन्धन भएपनि नेपाली जनताको इच्छा र आकांक्षामा खरो उत्रिएन भने टिक्दैन । किनभने विदेशीले मात्रै यहाँ सरकार टिकाउन सक्दैन । किनकी जनतामा उकुसमुकुस छ, वितृष्णा छ । मैले त संसद्मै भनिसकेको छु, अब केही महिनापछिसम्म पनि यस्तै रहिरहृयो भने नेताहरूमाथि जनताको ढुंगामुढा हुन्छ, एकपटक त अस्ति पनि भइसक्यो । नेकपा एमालेको अध्यक्षमाथि ढुंगामुढा भयो, दाङमा सञ्चारमन्त्रीमाथि त्यस्तै प्रयास भयो, यो त्यतिकै भएको होइन । नेताहरू जो पदमा बसेका छन् । भ्रष्टाचार गरेका छन् उनीहरूलाई जनताले निगरानी गर्छन् । हामीले जनताको देश बनाउन सकेनौं । कार्यकर्ताको भावना बुझ्न सकेनौं । खाली दलीय भागबण्डा गर्ने र तलदेखि माथिसम्म भ्रष्टाचार गर्ने कुरा मात्रै मौलाएको छ । हामी कहाँ भ्रष्टाचार पनि दुई खालको छ । ठूला भ्रष्टाचार छ, त्यो सर्वदलीय भ्रष्टाचार छ । त्यसमा सबै दल मिलेका छन् । साना भ्रष्टाचारहरू दलीय भ्रष्टाचार छन् । दलबाट मन्त्री बन्ने, करोडौं लुट्ने । दलबाट मुख्यमन्त्री बन्ने करोडौं लुट्ने । यस्तो दलीय र सर्वदलीय भ्रष्टाचारहरूको न्यूनिकरण मात्रै होइन, अन्त्य हुनुपर्छ । अर्को जनताको सास्ती अन्त्य हुनुपर्छ । आज जनताको पकेटमा पैसा छैन । सार्वजनिक शिक्षा, स्वास्थ्य बिग्रिएको छ ।

गिरिराजमणि पोखरेल शिक्षामन्त्री भएको बेला उहाँले जहिल्यै पनि भीसीलाई बोलाएर भन्नुहुन्थ्यो, कि तपाईंको विश्वविद्यालयमा मेरो पार्टीको संगठन बनाइदिनुहोस्, संगठन खोल्न दिनुहोस्, नत्र मेरो पार्टी कसरी चल्छ ? कर्मचारीलाई राजनीति, विद्यार्थीलाई राजनीति, सबैलाई राजनीति । त्रिभुवन विश्वविद्यालय त पहिल्यै ध्वस्त भएको हो, अहिले अरुलाई पनि ध्वस्त बनाइयो । कर्मचारी भर्नामा प्रतिस्पर्धा छैन । सोर्सफोर्समा कार्यकर्तालाई जागिर लगायो, पछि त्यतिकै स्थायी गरिदियो । न दक्षता परीक्षण, न क्षमताको मापन । दलीय कार्यकर्तालाई भर्ती गरिएको छ । म शिक्षामन्त्री भएको भए अहिलेको भन्दा सय करोड बढी बजेट छुट्याउँथे । तर विश्वका सर्वोत्कृष्ट प्रोफेसरहरूलाई वर्षको करोड रुपैयाँ दिएर सय जना प्रोफेसरलाई नेपाल बोलाउँथे जस्तो सिंगापुरले, चीनले गरेको छ । किनभने जबसम्म शिक्षाको विकास हुँदैन, तबसम्म देशको विकास नै हुँदैन । यो सबै राजनीतिक दलहरूले बिगारेको हो, शिक्षा यस्तो छ, स्वास्थ्य उस्तै, पूर्वाधारको क्षेत्र उस्तै । सबै क्षेत्र भताभुंग बनाइदिएको छ । कर्मचारी युनियन के-को लागि चाहियो ? सरकारी तलब खाएर कुनै पार्टीको राजनीति गर्न पाइँदैन । सरकारी शिक्षकहरू सबै पार्टीको झोले भइसकेका छन् । त्यसकारण यस्ता कुराहरु हटाउनुपर्‍यो ।

तपाईंलाई अर्को कुरा भनुँ, पहिले मान्छेहरू नेपालमै बसेर भ्रष्टाचार गर्थे तर अहिले विदेशमा बसेर भ्रष्टाचार गर्न थालेका छन् । यहाँ हतियार हुन्छ, अफिस उता सिंगापुरमा छ । त्यहीबाट डिल हुन्छ । उनीहरू सिंगापुर, दुबई, बैंकक बसेर नेपालको कर्मचारीलाई, नेतालाई सिकाउँछ, र भन्छ, तपाई‌ंको भ्रष्टाचारको पैसा पनि विदेशमा ट्रान्सफर गराइदिन्छु, तपाईंले हुण्डी गरिराख्नै पर्दैन । यो भ्रष्टाचार अब देशका लागि डरलाग्दो छ । म एक-एक मान्छेको अध्ययन गर्छु, र सार्वजनिक गर्छु । कानून छ नि नेपालमा । कुन नियमले हजारौं मान्छेहरूले दुबईमा घर बनाइरहेको छ ? विदेशमा घर किन्न पाउने कानून छ ? त्यसकारण सबै समग्र कुराको अध्ययन गर्दैछु । मेरो कोशिस लोकतन्त्रको शासन ल्याउनका लागि हो । जनताको शासनको नाममा लुट्ने काम बन्द हुनुपर्छ ।

अहिले सरकार बन्ने क्रममै छ । चार महिना भइसक्यो, तर मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । राजनीति झन् धेरै अस्थिर हुने र सत्ताको चलखेल हुने देखिन्छ । नयाँ पार्टीको उदयले पूराना पार्टीहरूमा फ्रस्टेसन मौलाएको देखिन्छ । यी सबै घटनाक्रमलाई तपाईंले कसरी मुल्यांकन गरिरहनुभएको छ ?

यो मैले पनि एकदमै सोचिरहेको विषय हो । मैले पहिले पनि भनेको थिएँ, कांग्रेस यत्तिकै सच्चिदैन, त्यसका लागि कांग्रेस फुट्नुपर्छ । जस्तो वीपी कोइरालाले नै कांग्रेस फुटाएर बनाएका हुन् । वीपी र मातृका त दाजुभाई थिए । यही शेरबहादुर देउवाले पनि पार्टी फुटाएका हुन् । त्यसैले अहिले पनि यदि कांग्रेसलाई बचाउने हो भने फुटाउनुपर्छ । अहिलेको नेतृत्वले कांग्रेसजस्तो पूरानो पार्टीलाई सुधारको प्रयास गर्न सक्दैन । जनताले यो नेतृत्वलाई मान्दैन । यदि गगन, विश्वप्रकाश वा प्रदीप पौडेल वा शेखर कोइराला कै कुरा गर्ने हो भने कुनै होटलमा, पार्टी प्यालेसमा छलफल गरेर पार्टी सुध्रिदैँन । जनताको मनमा कांग्रेस मरिसक्यो । पार्टीको शक्ति दुरुपयोग गरेर नेताले आफ्नै श्रीमतीलाई पटक पटक सांसद बनाउने, त्यो के कारणले ? के योगदान छ ? त्यसैले त्यो भएन । त्यसैले म त यो समानुपातिक निर्वाचन प्रणालीको पनि विरोधमा छु । पैसा उठाउने, श्रीमती, ग्रलफ्रेण्ड, विदेशीको मान्छे, को–को ल्याउनकालागि समानुपातिक निर्वाचन प्रणाली ल्याएको होइन नि ? समानुपातिक निर्वाचन प्रणाली हटाइदिने हो भने मात्रै देशमा विदेशीको हस्तक्षेप घट्छ । किनभने विदेशीले जनतालाई प्रभावित गर्न सक्दैन, विदेशले नेतालाई प्रभावित पार्ने हो । तपाईंले उपनिर्वाचनमा देख्नुभयो त, ठूल्ठूला दल एक ठाउँमा भएपनि भोट त रवि लामिछानेकै धेरै आयो त । दल मिलेर हुन्छ ? नेतामात्रै मिलेर त हुँदैन नि ? अब जनता चेतनशील भइसके, जनताले आफैं निर्णय गर्न सक्छ अब ।

अब नेपालको इलेक्टोरल पोलिटिकल ल्याण्डस्केप चेन्ज हुँदैछ । आज दुवई, कतार, मलेसिया, अष्ट्रेलिया, अमेरिका लगायत विदेशमा बस्ने जो नेपाली दाजुभाईहरू छन्, उसको हात हातमा मोबाइल छ, त्यहाँबाट उनीहरूले निर्णय गर्छन् । तपाईंले विगतको १५ वर्ष देशमा बस्न दिनुभएन, अब उनीहरूले तपाईंहरूलाई देशमा बस्न दिदैनन् । पुराना नेताहरूले, पुराना पार्टीहरूले अब चुनाव जित्दैनन् । चुनाव नजितेपछि घरमै बस्नुपर्यो । जनताको प्रतिनिधि भएर अब जनतामाथि शासन गर्न पाउँदैनन् । विदेशमा बस्नेले रेमिट्यान्समात्रै पठाएको छैन, उसलाई देशको चिन्ता छ । देश नबनेको चिन्ता, देशमा बढेको बेथितिको चिन्ता उनीहरूलाई छ । अहिले उनीहरूको हस्तक्षेपको परिणाम नै राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हो । रास्वपाका कार्यकर्ता छैन, सिट छैन, तर जनता छ । यो भारतको आम आदमी पार्टीको जस्तै हो, त्यहाँ पनि उनीहरूका १० जना कार्यकर्ता थिएनन् । तर मुख्यमन्त्री जिते । अब जनताको मुद्दालाई केन्द्रमा राख्नुपर्‍यो । देशमा सुशासन चाहियो, भ्रष्टाचारको अन्त्य हुनुपर्‍यो । विदेशीको हस्तक्षेप अन्त्य हुनुपर्‍यो ।

प्रकाशित : वैशाख २२, २०८० २०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?