‘मिर्गौला प्रत्यारोपण सफलता ९९ प्रतिशतभन्दा बढी’

मेरै नेतृत्वमा १ हजार ८६ वटा मिर्गौला र १० वटा कलेजो प्रत्यारोपण भएको छ
केन्द्रमा मिर्गौला प्रत्यारोपण गराएका मध्ये ९८ प्रतिशत व्यक्ति बाँचिरहेका छन्
प्रत्यारोपणमा सबै मापदण्डका हिसाबले हामी संसारको कुनै पनि केन्द्रभन्दा कम छैनौं
उच्चस्तरीय जनशक्ति उत्पादन गर्न निकट भविष्यमै प्रत्यारोपण प्रतिष्ठान बन्नेमा ढुक्क छु
अतुल मिश्र

काठमाडौँ — भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले विभिन्न स्वास्थ्य संस्थामा रहेर एक हजारभन्दा बढी मिर्गौला प्रत्यारोपण गरिसकेका छन् । मिर्गौला तथा कलेजो प्रत्यारोपण विज्ञ डा. श्रेष्ठको नेतृत्वमा नेपालमै १ हजार ८६ वटा मिर्गौला प्रत्यारोपणको रेकर्ड छ ।

‘मिर्गौला प्रत्यारोपण सफलता ९९ प्रतिशतभन्दा बढी’

उनी निर्देशक रहेको भक्तपुरस्थित राष्ट्रिय प्रत्यारोपण केन्द्रसमेत हजारभन्दा बढी मिर्गौला प्रत्यारोपण गर्ने मुलुकको पहिलो केन्द्र बन्न सफल भएको छ । एक दशकअघि मात्र नेपालमा सुरु भएको अंग प्रत्यारोपणको पछिल्लो अवस्था, सफलता, चुनौतीलगायत विषयमा डा. श्रेष्ठसाग कान्तिपुरकर्मी अतुल मिश्रले गरेको कुराकानीको सम्पादित अंश :

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमै हजारभन्दा बढी मिर्गौला प्रत्यारोपण कसरी सम्भव भयो ?

नेपालमै हजारभन्दा बढी मिर्गौला प्रत्यारोपण गर्ने पहिलो विशेषज्ञ हुने सौभाग्य पाएको छु । हाम्रो केन्द्रबाहेक मुलुकका अन्य कुनै पनि निजी वा सरकारी संस्थामा हालसम्म एक हजार प्रत्यारोपण भएको छैन । मेरै नेतृत्वमा १ हजार ८६ वटा मिर्गौला प्रत्यारोपण सम्पन्न भएको छ । वीर अस्पतालमा हुँदा ९९ वटा र केन्द्रमा ९६६ वटा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ वटा, सुर्खेतमा एउटा गरी सरकारी स्वास्थ्य संस्थामा १ हजार ७२ र अन्यमा १४ गरी जम्मा १ हजार ८६ मिर्गौला प्रत्यारोपण मेरो नेतृत्वमा भइसकेको छ । साथै केन्द्रमै १० वटा कलेजो प्रत्यारोपणसमेत गरेको छु ।

अंग प्रत्यारोपणमा तपाईंले विशेषज्ञता कसरी हासिल गर्नुभयो ?

शल्यक्रियामा स्नातकोत्तर (एमएस) सकेपछि जनरल सर्जनका रूपमा काम गर्न बुटवल छानें । त्यति बेला २५–४० वर्षका युवायुवतीको मिर्गौला वा कलेजो फेल भएर मृत्यु हुने गर्थ्यो तर म केही गर्न सक्ने अवस्थामा थिइनँ । सामान्य शल्यक्रिया त सबैले गरिहाल्छन् तर अंग प्रत्यारोपण गर्ने कोही छैन भन्ने लाग्यो । त्यसपछि यही क्षेत्रमा आफ्नो भविष्य देख्न थालें । सुरुमा मिर्गौला प्रत्यारोपणभन्दा पनि कलेजो प्रत्यारोपणमा केन्द्रित हुने सोचेको थिएँ । सन् २००० तिर भारतमा समेत कलेजो प्रत्यारोपण हुँदैनथ्यो । दक्षिण एसियामै नहुने काम त झनै आवश्यक छ भन्ने लागेको थियो । त्यही बेला नेपालका युवा शल्यचिकित्सकका लागि ‘स्कटिस फाउन्डेसन फर सर्जरी इन नेपाल’ ले बेलायतमा ६ साताको छात्रवृत्ति दियो । त्यसका लागि आवेदन दिएँ र छनोट पनि भएँ । ६ सातासम्म बेलायतमा रहँदा कलेजो, मिर्गौला, प्यांक्रियाजको प्रत्यारोपणबारे जानकारी पाएँ । त्यो बेलायत बसाइले मलाई प्रत्यारोपणतर्फ मोडिदियो । पछि फेरि बेलायतबाटै बर्मिङघमस्थित लिभर ट्र्रान्सप्लान्ट सेन्टर भिजिटिङ फेलोका रूपमा निम्तो आयो । त्यहाँ दुई वर्ष बिताएँ । मिर्गौला प्रत्यारोपणको विशेषज्ञता हासिल गर्न पछि फेरि गएँ र चार वर्ष बसें । सन् २००८ मा फर्कंदा मिर्गौला र कलेजो प्रत्यारोपणमा दक्षता हासिल गरिसकेको थिएँ । बेलायतमा रहँदा नै कलेजोका २५० जति प्रत्यारोपणमा सरिक भएको थिएँ ।

तपाईंले नेपालमा मिर्गौला प्रत्यारोपण सुरु गर्दा र अहिले के परिवर्तन देख्नुभएको छ ? अंग प्रत्यारोपणको सन्दर्भमा नेपाल कहाँ छ ?

हामीले मिर्गौला प्रत्यारोपण सुरु गर्नुभन्दा अगाडि सन् २००८ मा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को अध्ययनले नेपालजस्तो देशमा मिर्गौला फेल भयो, डायलसिसको पहुँच नहुने र भएकाले पनि आर्थिक हिसाबले धान्न नसक्ने हुँदा ९० प्रतिशत जति बिरामी केही महिनामै मर्छन् भन्ने देखाएको थियो । त्यति बेला नेपालमा प्रत्यारोपण हुँदैनथ्यो जबकि पछिल्लो अध्ययनले केन्द्रमा मिर्गौला प्रत्यारोपण गरेका मध्ये ९८ प्रतिशत व्यक्ति बाँचिरहेको देखाएको छ । ९० प्रतिशतभन्दा बढी डायलसिसमा बाँचिरहेका छन् । हेर्नोस् त डेढ दशकभित्रै ग्राफ यस्तो भएको छ । नेपालको चिकित्सा क्षेत्रका लागि यो फड्को नै हो ।

मिर्गौला प्रत्यारोपणमा यति ठूलो फड्को कसरी सम्भव भयो ?

महँगो डायलसिस र मिर्गौला प्रत्यारोपणको पहुँच अत्यन्त कम भएर मिर्गौला फेल भएका मध्ये ९० प्रतिशतभन्दा बढीको मृत्यु भइरहेको थियो तर डायलसिस र प्रत्यारोपणको निःशुल्क व्यवस्था तथा व्यापक सेवा विस्तारले आज मिर्गौला फेल भएका व्यक्तिमध्ये ९० प्रतिशतभन्दा बढी बाँच्न सम्भव भएको छ ।

केन्द्रमा मिर्गौला प्रत्यारोपणको सफलता दर कस्तो छ ?

भक्तपुरमा मिर्गौला प्रत्यारोपणको सफलता दर ९९ प्रतिशतभन्दा बढी छ । एक समय यस्तो थियो भक्तपुरमा मेरै नेतृत्वमा करिब ५०० जना बिरामी लगातार प्रत्यारोपणपछि घर गए । त्यो आफैंमा पनि एउटा ठूलो रेकर्ड हो । हाम्रो केन्द्रमा एक वर्षभन्दा बढी मिर्गौलाले काम गरेको र बिरामी पनि बाँचेको रेकर्ड ९९ प्रतिशतभन्दा बढी छ । प्रत्यारोपण सफलताको दर हेर्ने विभिन्न मापदण्ड हुन्छन् । घाउको संक्रमण दर, रिजेक्सन दर, रक्तस्राव (ब्लिडिङ) को अवस्था र अन्य जटिलता । हामीले गरेको शल्यक्रियामा घाउ पाक्ने दर २ प्रतिशतभन्दा कम छ । जबकि संसारको उच्चस्तरको केन्द्रमा पनि २ देखि २५ प्रतिशतसम्म घाउ पाक्न सक्छ भन्ने छ । ब्लिडिङसमेत ४ प्रतिशतभन्दा कम छ । हाम्रोमा करिब २ प्रतिशत छ । यो सबै मापदण्डको हिसाबले संसारको कुनै पनि उत्कृष्ट केन्द्रको दाँजोमा हामी कम छैनौं । केन्द्रको स्तर र सफलताका लागि आधिकारिक रूपमा अध्ययन गरिरहेका छौं । एक हजार प्रत्यारोपण र प्रत्यारोपितहरूको फाइल लिएर अध्ययन गरिरहेका छौं । त्यसबाट धेरै प्रस्ट तथ्यांक निस्कनेछ । त्यही तथ्यलाई आधार बनाएर अन्तर्राष्ट्रिय क्षेत्रमा गर्वका साथ सफलताको कथा भन्न सक्छौं ।

आवश्यक जनशक्ति कसरी तयार भयो ?

केन्द्रमा मिर्गौला प्रत्यारोपणको तालिम पाएका धेरै जनाले केन्द्रका लागि नै मरिमेटेका छन् । काम सिक्नेबित्तिकै निजीमा गएर काम गर्ने पनि छन् । यहीँबाट सिकेर ६ जना शल्य चिकित्सक र ५ जना फिजिसियन हाल निजीमा काम गरिरहेका छन् । केन्द्रमा प्रत्यारोपण सिकेर सुमेरु, किस्ट, मेडिसिटी, कलेज अफ मेडिकल साइन्स चितवन, नर्भिकलगायतका निजी संस्थामा कामसमेत गरिरहेका छन् । प्रत्यारोपण सेवा सबै प्रदेशमा विस्तार गर्ने सरकारी नीतिअनुसार प्रदेशका शल्य चिकित्सक, फिजिसियन, एनेस्थेटिक्स, अन्य चिकित्सक र चिकित्साकर्मीलगायत ४० जनालाई क्रमिक रूपमा मिर्गौला प्रत्यारोपणको तालिम दिइएको छ । केन्द्रबाट देशभरिका हजारभन्दा बढी चिकित्सक, नर्स, तथा प्राविधिक कर्मचारीलाई डायलसिसको तालिमसमेत दिइएको छ ।

एक जना मिर्गौला प्रत्यारोपण शल्य चिकित्सक तयार गर्न न्यूनतम कति समय लाग्छ ?

एउटा प्रत्यारोपण शल्य चिकित्सकले कम्तीमा एक सय वटा प्रत्यारोपण हुने ठाउँमा एक वर्ष र ५० वटा हुने ठाउँमा २ वर्ष काम गरेको हुनुपर्छ । मेडिकल काउन्सिलको अनुमोदनमा रेनल ट्र्रान्सप्लान्ट सर्जरी र रेनल ट्र्रान्सप्लान्ट नेफ्रोलोजी २–२ विधामा फेलोसिप पनि सुरु गर्दै छौं ।

प्रत्यारोपण केन्द्रको भविष्य कस्तो देख्नुभएको छ ?

एकदम राम्रो भविष्य देखेको छु । यो सरकारी संस्था हो र यसले एक दशकमा जुन नतिजा दिएको छ, यसको मूल्यांकन तपाईंहरूले आफैं गर्नुहोला । सरकारले केन्द्रलाई उच्च प्राथमिकतामा राखेको छ । यसलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने र ७ वटा प्रदेशमा विस्तार गर्ने योजनाअनुरूप काम अगाडि बढेको छ । उच्चस्तरीय जनशक्ति उत्पादन गर्न निकट भविष्यमै प्रत्यारोपण प्रतिष्ठान बन्नेमा म ढुक्क छु ।

केन्द्रको सेवा थप विश्वसनीय र गुणस्तरीय बनाउँदै धनी र गरिब सबैको पहुँचमा राख्न के योजना छ ?

एउटा संस्थाले मात्र धान्न सक्दैन । हाल केन्द्रमा सय बेड छ । यसलाई ५०० बेड बनाए पनि माग पूरा हुँदैन ।

हाल नेपालमा ३ हजार मिर्गौला र एक हजार कलेजो प्रत्यारोपणको बर्सेनि माग छ । केन्द्रले २०० जनाको मिर्गौला प्रत्यारोपण गरिरहेको छ । कलेजो भने अहिलेसम्म १० जनामा प्रत्यारोपण गरेका छौं । भनेपछि यो केन्द्रले मात्र माग धान्न सक्दैन । त्यसैले सेवा ७ वटै प्रदेशमा विस्तार गर्नुपर्छ । काठमाडौंमा आउन नसक्नेका लागि प्रदेशमा सेवा विस्तार गर्दा फाइदा पुग्छ । ३ प्रदेशमा मिर्गौला प्रत्यारोपणको काम सुरु नै भइसकेको छ । बाँकी प्रदेशमा पनि छिट्टै गर्छौं । प्रत्यारोपण प्रतिष्ठान बनाउने योजना कार्यान्वयन भयो भने प्रत्यारोपण अभावले कुनै नेपालीको ज्यान जाने छैन ।

प्रकाशित : चैत्र १५, २०७९ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?