२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७
अन्तर्वार्ता

‘संविधान संरक्षणको भूमिकामा दायाँबायाँ हुन्न’

कान्तिपुर संवाददाता

काठमाडौँ — राजनीतिक जीवनमा लामो प्रतीक्षापछि कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् । तनहुँको मिर्लुङ, बाहुनपोखरा (हालको व्यास नगरपालिका–८) घर भएका पौडेल मध्यम वर्गीय किसान परिवारमा जन्मेका हुन् । पटक–पटक मन्त्री र सभामुख भएका उनी २०६७ सालमा प्रधानमन्त्रीका लागि सत्र पटक प्रतिस्पर्धा गर्दा असफल भएका थिए ।

‘संविधान संरक्षणको भूमिकामा दायाँबायाँ हुन्न’

पौडेलसँग उनको राजनीतिक यात्रा र राष्ट्रपति भएपछिको भूमिका विषयमा कान्तिपुरका लागि कुलचन्द्र न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :

मुलुकको तेस्रो राष्ट्रपतिका रूपमा निर्वाचित हुनुभएको छ, कतिको उत्साही हुनुहुन्छ ?

ठीकै छ । अहिलेलाई सन्तोष नै मान्नुपर्छ । यो पदबाट राष्ट्रका लागि केही न केही योगदान दिन सकिन्छ भन्ने छ । मेरो लामो राजनीतिक यात्रामा यस उपलब्धिलाई ठिक्क रूपमा लिएको छु । हिजोका दिनमा मेरो प्राथमिकता प्रधानमन्त्रीमा थियो । प्रधानमन्त्री बन्दा म जति उत्साही हुन्थें, राष्ट्रपति हुँदा त्यही तहमा छैन । प्रधानमन्त्री हुँदा जति गर्न सकिन्थ्यो, यो पदमा बसेर त्यस्तो कार्यकारी भूमिका निर्वाह गर्न सकिँदैन । तर पनि देश जोगाउने, संविधानका उपलब्धि रक्षा गर्ने जिम्मेवारी अब मेरो काँधमा आएको छ । यसबाट मलाई सन्तोष नै मिलेको छ ।

तपाईंको यो लामो संघर्षपूर्ण राजनीतिक यात्रामा राष्ट्रपति बन्नु त ठूलो सफलता होइन र ?

उमेर र सबै हिसाबले अन्तिम अवस्थामा राष्ट्रपतिमा पुग्नु सन्तोषकै विषय हो । यो अवस्था र परिस्थितिमा जिम्मेवारी पाउनुलाई म सफलता नै मान्छु । लामो राजनीतिक यात्रामा म सफल नेताचाहिँ होइन । म त्यति सफल हुन सकिनँ । विभिन्न परिस्थितिले मलाई पछाडि धकेल्ने काम इतिहासमा पटक–पटक भयो । चाहे पार्टी सभापति हुने बेला होस् वा चाहे प्रधानमन्त्री हुने बेला । संसदीय दलको नेता भए पनि प्रधानमन्त्री अरू हुने, म हुन नपाउने अवस्था भयो । तर निरन्तरता नै सबैभन्दा ठूलो कुरा हो । निरन्तरता र प्रतिबद्धताले मलाई यहाँसम्म ल्याइपुर्‍याएको ठान्छु ।

तपाईंमा लामो समयदेखि नै कार्यकारी हुने हुटहुटी थियो, पाँच वर्षभित्र प्रधानमन्त्री बन्न नसक्ने देखेपछि राष्ट्रपतिका लागि तयार हुनुभएको हो ?

२०६४ को पहिलो संविधानसभाका बेला राष्ट्रपति हुन्न भनेकै हो । त्यतिबेला गिरिजाबाबुले पहिलो नम्बरमा मेरो नाम लिनुभएको थियो । ‘देशको लोकतन्त्र अझै सुरक्षित छ जस्तो लाग्दैन, संविधान आए पनि लडाइँ बाँकी छ गिरिजाबाबु, त्यो लडाइँ म मैदानबाट लड्न चाहन्छु, सुविधाको पदमा जान्न’ भनेर म सक्रिय राजनीतिमा बसेको हो । दोस्रो नम्बरमा रामशरण महतजीको नाम थियो । उहाँले पनि नजाने भन्नुभयो । त्यसपछि शेरबहादुर (देउवा) र रामवरण (यादव) को नाम थियो । शेरबहादुरले त दरखास्त ल्याएर फाराम भरिसक्नुभएको रहेछ । फाराम नै भरिसकेपछि शेरबहादुरजीलाई उम्मेदवार बनाऔं न त भनेको हो । तर, गिरिजाबाबु मान्नुभएन । रामवरणलाई बनाउनुभयो ।

गएकै निर्वाचनमा पनि तपाईंको राजनीतिक मुद्दा त प्रधानमन्त्री बन्नेतिरै थियो नि ?

देशका लागि सुशासन कायम गरेर राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा भूमिका खेल्ने उत्कट अभिलाषा थियो । केही गरौं भन्ने कर्मशील मान्छे हुँ म । कार्यकारी भूमिकाले गर्ने ठाउँ दिन्थ्यो । गर्नका लागि ठाउँ चाहिएको हो । तर, अहिले गर्ने ठाउँभन्दा लोकतन्त्रको रक्षा गर्ने शीतल निवास पनि संवेदनशील भयो । लोकतन्त्र बचाउन यो पद महत्त्वपूर्ण भयो । संविधान संरक्षण गर्ने र बचाउने जिम्मेवारी निर्वाह गर्न सक्छु भन्ने सोचेरै मैले राष्ट्रपति बन्ने निधो गरेको हो ।

पार्टीभित्र तपाईंको भूमिका जहिल्यै मध्यमार्गी भयो । अहिले यही भूमिकाकै कारण राष्ट्रपति हुने अवसर मिलेको हो भन्ने लाग्छ ?

कांग्रेसमा योभन्दा अभूतपूर्व एकता कहिल्यै थिएन । पार्टीको इतरपक्ष र सत्तापक्ष दुवै मबाट सुरक्षित महसुस गर्छन् । यसको कारण यही मध्यमार्गी बाटो नै हो । व्यक्तिगत रूपमा यो भूमिकाले मलाई पार्टीमा अलि पछि पार्‍यो । राजनीतिमा अलिकति दह्रोसँग गुट समात्न सक्दा माथि पुगिने रहेछ । त्यस्तो गुटको विश्वासमा म कहिल्यै भइनँ । शेरबहादुरले त्यस्तो मौका पाए । कहिले कृष्णप्रसाद र कहिले गिरिजाप्रसादको बढी भइदिने र बफादार हुने हुँदा उनले मौका पाउँदै आए । त्यस दृष्टिले म पछि परेकै हो ।

गएको पाँच वर्षमा राष्ट्रपतिको भूमिकालाई लिएर धेरै आलोचना भए । तपाईं आफैंले पनि चर्को आलोचना गर्नुभएको थियो । अहिले पनि राजनीति सङ्लिएको छैन । राष्ट्रपतिको भूमिकालाई विवादभन्दा बाहिर राख्ने र संस्थाको गरिमा बढाउने दिशामा कतिको चुनौती देखिरहनुभएको छ ?

विवादमा नपर्ने एउटै कुरा छ– राष्ट्रपति कसैबाट प्रभावित हुन हुन्न । प्रधानमन्त्री वा आफू रहेको पार्टीबाट प्रभावित हुन हुन्न । राष्ट्रपतिले स्वतन्त्रपूर्वक निर्णय गर्नुपर्छ । प्रभावित भइयो भने स्वतन्त्र निर्णयमा विचलन आउँछ । आफ्नो व्यक्तित्वको कुरा पनि हुन्छ । म त्यस्तो विवादमा आउने भूमिका खेल्दिनँ । संविधान कार्यान्वयन, पालना र संरक्षण गर्ने भूमिकाबाट म दायाँबायाँ हुन्न । यो जिम्मेवारी पूरा गर्ने अठोट लिएर म यहाँ आएको हुँ ।

अहिलेको राजनीतिक र आर्थिक दुवै वातावरण सकारात्मक देखिँदैन । यस्तो तरल अवस्थामा तपाईंको भूमिका कस्तो हुन्छ ?

म राष्ट्राध्यक्षको भूमिकामा पुगे पनि जो प्रधानमन्त्री हुन्छ, ऊसँग देशको परिस्थिति यस्तो छ, यसरी जाँदा राम्रो होला भनेर सुझाव दिने काम गर्न सक्छु । मैले सुझाव मात्रै दिने हो । प्रधानमन्त्रीको सुझाव र सिफारिसअनुसार मैले काम गर्ने हो ।

अर्कातर्फ राजतन्त्र फर्काउन सडकमा अनेक अभियान चलाइएका छन् । यसले राष्ट्रपति संस्थामाथि नै चुनौती बढाएको जस्तो लाग्दैन ?

यसलाई सामना गर्न सक्ने नैतिक साहस मसँग छ । मलाई लाग्छ, मसँग हिम्मत गर्न सक्दैनन् । पूर्वराजाले मेरो अगाडि संविधानविपरीतको दुस्साहस गर्न सक्दैनन् । राष्ट्रपति संस्थालाई हिजोको जस्तो विवादमा ल्याउने काम मबाट हुँदैन ।

प्रसंग बदलौं, तपाईंसँग लामो राजनीतिक संघर्षको इतिहास पनि छ । तपाईं आफैं राजनीतिमा कसरी प्रवेश गर्नुभएको थियो ?

केटाकेटी छँदै म राजनीतिमा लागेको हुँ । म जन्मेको रिस्तीको त्यो बाहुनपोखरा डाँडा राजनीतिबाट अलि परै थियो । तनहुँको ठुल्ढुंगा (हाल भानु नपा–१३) मा पढें । अहिलेको अरनिको हाईस्कुलनेर एउटा चौतारो थियो । त्यही चौतारोमा हामी पढ्थ्यौं । पढाउने कोइराला फाँटका एक जना गुरु हुनुहुन्थ्यो । उहाँ कांग्रेस हुनुहुँदो रहेछ । एक दिन पढिरहेका बेला बन्दीपुरबाट त्यही बाटो हुँदै श्रीभद्र शर्मा घोडा चढेर आउनुभयो । लमजुङको कुन्छा जानुपर्ने रहेछ । अघिपछि चुच्चे बन्दुक बोकेका सिपाहीका बीचमा रातो घोडामा चढेका उहाँलाई पहिलोपल्ट देखेको थिएँ । पार्टीले सशस्त्र विद्रोह गरेका बेला श्रीभद्रजी जनसरकारको गभर्नर हुनुहुन्थ्यो । हामीलाई पढाउने गुरुसँग त्यतिबेला श्रीभद्रजीले कानेखुसी गरेको देखें । यो २००७ सालतिरकै कुरा थियो । त्यस दृश्यले मलाई छोएको थियो । त्यसपछि अंग्रेजी पढाउन २००८ सालमा मलाई बुबाले काठमाडौं ल्याउनुभयो । जेठा बुबाको छोरा दाइ काठमाडौंको जेपी हाईस्कुलमा पढ्नुहुन्थ्यो । म पनि त्यहीँ पढ्न थालें । जेपी हाईस्कुलमा विद्यार्थीले पहिलोपल्ट कलम अंकित झन्डा बोकेको देखें । त्यो झन्डामा मेरो आँखा गड्यो ।

बीचमै घरायसी समस्या आइलाग्यो । बुबाहरू छुट्टिने कुरा भयो । हजुरबुबाले अंग्रेजी पढेको मन पराउनुभएको थिएन । हजुरबुबा संस्कृतको विद्वान्, पण्डित हुनुहुन्थ्यो । काठमाडौंबाट बाहुनपोखरा फर्किएँ । पछि घरमै पण्डित झिकाइयो र संस्कृत पढ्न सुरु गरें । संस्कृतमा हितोपदेश नीति श्लोक पढ्न थालें । केही समयपछि लमजुङको दुराडाँडामा पढ्न गएँ । दुराडाँडा राजनीतिक चेत भएको ठाउँ थियो । श्रीकान्तहरू (अधिकारी) झन्डा लिएर आउँथे । श्रीकान्तको घरमा टन्न मान्छे जम्मा हुन्थे । झन्डा बोकेर जुलुस निकाल्थे । त्यसबाट म प्रभावित बन्दै गएँ । काठमाडौंमा विद्यार्थीले बोकेको झन्डा, दुराडाँडामा श्रीकान्तहरूको विद्रोह र श्रीभद्र शर्माको त्यो दिनको भेटले मलाई भित्रैदेखि राजनीतिप्रति चेत जगाइरहेको थियो ।

तनहुँकै पोखरीछाप र पुलिमर्‍याङमा राजनीतिक कार्यक्रम हुन्थे । नेताहरूको भाषण हुँदा हजुरबा मलाई लिएर जानुहुन्थ्यो । श्रीभद्र शर्मा र गोवर्द्धन शर्मा पोखरेलको भाषण सुन्थें । खासगरी श्रीभद्रजीको धेरै भाषण सुनें । त्यसपछि म पढ्नका लागि पोखरा गएँ । पोखरामा विन्दवासिनी संस्कृत पाठशालामा भर्ना भएँ । म गएको केही समयमै विद्यार्थीको युनियन गठन भयो । पहिलो वर्ष नै गण्डकी छात्र संघको महासचिव भएँ । दोस्रो पटक सभापति भएँ । २०१७ वैशाखतिरको कुरा हो, राजधानीबाट संस्कृत छात्र संघको सम्मेलनमा सहभागी हुन पत्र आयो । त्यतिबेलैदेखि विद्यार्थीका दुइटा संघ रहेछन् । सम्मेलन कांग्रेस समर्थित छात्र संघको रहेछ । मलाई विद्यार्थी स्वतन्त्र हुनुपर्छ भन्ने लाग्थ्यो । यसैलाई कारण बनाउँदै हामी त्यो सम्मेलनमा गएनौं । त्यसको केही महिनामै कम्युनिस्ट समर्थित अर्को छात्र संघको सम्मेलनको सहभागी हुने निम्तो आयो । संघका महामन्त्री रेवतीरमण खनालले हस्ताक्षर गरेको त्यो चिठी एकदमै राम्रो अक्षरमा लिपिबद्ध थियो । यस पटक पनि गइएन भने केन्द्रमा हाम्रो आवाज कसरी पुर्‍याउने भन्ने लाग्यो । बैठक बस्यौं । जानेमा सबैको मत मिल्यो । सबैले मलाई नै ‘जा’ भने । त्यतिबेला मैले प्रथम परीक्षा पास गरिसकेको थिएँ । म काठमाडौं आएँ । पोखरामा हुँदै नेपालमा पुँजीपतिमा महावीरशमशेर र भूमिपतिमा माधवशमशेर भनेर प्रख्यात रहेको थिएँ । मलाई कम्युनिस्ट समर्थित छात्रा संघका महामन्त्री रेवतीरमण खनाल र कुलप्रसाद खनालसहित विद्यार्थी नेताहरूले एक दिन माधवशमशेरको दरबारमा पुर्‍याए । तिनको कुरा सुनें । छात्र संघको सबै हेरचाह उनीहरूले नै गर्ने रहेछन् । उनी कांग्रेसलाई भरमार गाली गर्ने गर्थे । विद्यार्थी नेताहरू उनको आज्ञाकारीका रूपमा प्रस्तुत हुन्थे । मलाई असजिलो लाग्यो । मलाई नेपालका सबैभन्दा भूमिपति पो कम्युनिस्टको हितैषी रहेछन् भन्ने छाप पर्‍यो । कम्युनिस्टको प्रस्तुति र व्यवहार फरक देखें ।

तपाईं त्यतिबेलासम्म कम्युनिस्ट हुनुहुन्थ्यो भन्ने छ नि ?

हो, त्यतिबेला ममा वामपन्थी झुकाव थियो । समाजमा समानता हुनुपर्छ, उचनीच हुनुहुन्न भन्ने धारणा थियो । पोखराको विन्दवासिनी संस्कृत पाठशालामा दलितलाई पढ्न दिँदैनथे । दलितले किन पढ्न नपाउने भन्दै गणेशबहादुर परियारलगायतलाई हामीले पाठशालामा हुल्दिएका थियौं । यी सबै कुराले मलाई कम्युनिस्टको समाजवादी विचारसँग जोडेको थियो । पोखरामा डमरुबल्लभ रेग्मी भन्ने हामीभन्दा सिनियर साथी हुनुहुन्थ्यो । उहाँ कम्युनिस्ट हुनुहुँदो रहेछ । उहाँको संगत पनि पर्‍यो । काठमाडौं सम्मेलनदेखि मलाई वामपन्थीको चालामाला उल्टो लाग्न थालेको हो । त्यतिबेला मैले सम्मेलन उद्घाटन गर्ने क्रममा मन्त्रीहरू किन झन्डा हल्लाएर नआएको भनेर सोधें । तर, कम्युनिस्ट विद्यार्थी नेताहरूले कांग्रेसमा पो मन्त्री भन्ने कुरा हुन्छ, हाम्रो त राजा छन्, हेर न एकछिनमा राजाको सन्देश आउँछ भने । मलाई लाग्यो, राजा त कांग्रेसभन्दा ठूला शोषक हुन्, सामन्त हुन् । राजासँग नजिक हुने त राम्रो संकेत होइन भन्ने मेरो दिमागमा पर्‍यो । नभन्दै उनीहरूले भनेजस्तै राजाको सन्देश पनि आयो ।

कुन मोडबाट तपाईं कांग्रेस प्रवेश गर्नुभयो ?

चितवनको मटियानीबाट आएका मुक्ति सुवेदी र म कुरा मिल्ने साथी थियौं । छात्र संघको सम्मेलनमा हामी दुईले विद्यार्थीको दुइटा संघ हुन्जेल तटस्थ बस्ने सल्लाह गर्‍यौं । मैले त्यसबेलादेखि नै मध्यमार्गी बाटो समातेको हो । संस्कृत छात्रावासमा दुइटा युनियन किन हुने भन्ने विचार हामीले लिन थाल्यौं । तटस्थ बस्यौं । कतै पनि भोट दिएनौं । नन्दी रात्रि माविमा पनि विद्यार्थी संघको सभापति भएको थिएँ । नन्दी रात्रि माविपछि म रानीपोखरीको संस्कृत माविमा पढ्न थालें । त्यहाँ पढ्न थालेको पहिलो वर्ष महामन्त्री, दोस्रो वर्ष युनियनको सभापति भएँ । मलाई त्यतिबेला कांग्रेस र कम्युनिस्ट दुवैतिरको भोट आउँथ्यो ।

२०१७ पुस १ को घटनाले काठमाडौं सनसनीपूर्ण भएको थियो । म त्यतिबेला १६ वर्षको थिएँ । राजनीतिमा आउने पहिलो प्रेरणा श्रीभद्रजीबाट भएको थियो । त्यतिबेलासम्म बीपीसँग चिनजान थिएन । २०१७ पुस १ पछि बीपी, श्रीभद्रजीहरू सबै पक्राउ पर्नुभयो । त्यही बेला ममा कांग्रेसप्रति झुकाव बढ्यो । २०१७ सालको काण्डपछि म गाउँ फर्किएँ । तनहुँकै पुलिमर्‍याङ हुँदै बाहुनपोखरा जानुपर्थ्यो । पुलिमर्‍याङमा एक जना डल्ले–डल्ले, रातोपिरो वर्णको मानिसलाई स्कुल बनाइरहेको देखें । उनले मलाई ए बाबु कहाँ जान आयौ भनेर सोधे । काठमाडौंबाट आएको भनें । के छ काठमाडौंको खबर भनेर सोधे । त्यतिबेला राजाले पुस १ मा ‘कू’ गरेको सुनाएँ । उनले बुझ्यौ, राजा बदमास हुन् भने । ममा अझै जोस थपिदिने ती लालध्वज गुरुङ थिए । उनी पछि भरतपुर काण्डमा सहिद भए । एकातिर सबैले राजा बदमास हुन् भन्ने, अर्कातर्फ तिनै राजासँग कम्युनिस्ट साथीहरूको हिमचिम देखेको थिएँ । यिनै घटनाबाट म कांग्रेस भएको हो ।

त्यसपछि तपाईंको बीपीसँग कहिले भेट भयो ?

भरतपुर कब्जा गर्ने कांग्रेसको सशस्त्र संघर्षमा संलग्न हुँदा म पहिलोपल्ट पक्राउ परें । करिब एक महिनाको हिरासतपछि मुक्त भएँ । विद्यार्थी आन्दोलनमा सहभागी, डीआईजी निष्कासनको विरोध, प्रजातान्त्रिक समाजवादी युवा संघको गतिविधिमा संलग्न भएको आरोपमा म पटक–पटक जेल परें । ०२५ सालमा म भद्रगोल जेलमा थिएँ । हामीसँगै मनमोहन अधिकारी, शम्भुराम श्रेष्ठ, कमल कोइराला पनि जेलमा थिए । बीपी कोइराला जेलबाट छुटेर हामीलाई भेट्न आउनुभयो । जेलरले माथिपट्टि कोठामा लगेर हामीलाई भेट गराए । बीपीका बारेमा पहिल्यैदेखि धेरै सुनेको थिएँ । परराष्ट्र मन्त्रालयमा बाबुराम तिमिल्सिना भन्ने साथी हुनुहुन्थ्यो । हामी एउटै डेरामा बस्थ्यौं । उनीहरूले त्यति बेलाका प्रधानमन्त्री बीपीका बारेमा सुनाउँथे । पछि कांग्रेस नेता लेखनाथ अधिकारी पनि त्यहीँ डेरामा बस्न आइपुगे । त्यसपछि बीपीका बारेमा राम्रो जानकारी मिलेको थियो । भौतिक रूपमा भने पहिलो भेट भद्रपुर जेलमै भएको हो । त्यतिबेलाको ऐतिहासिक क्षण पनि छ । बीपीलाई के भन्ने भनेर मनमोहन, शम्भुराम र कमलजीलगायत हामीले पहिल्यै सल्लाह गरेका थियौं । देशबाहिर नजानुहोस्, चर्को भाषण नगर्नुहोस्, एक पटक पूरै नेपाल घुम्नुहोस्, स्वास्थ्यलाई ख्याल गर्नुहोस्, मेची–महाकाली पुगेर नेता–कार्यकर्तालाई भेटनुहोस् भनेर बीपीलाई सामूहिक सुझाव दिएका थियौं ।

हामी जेलबाट छुटेपछि नेविसंघ गठन भयो । त्यतिबेला बीपी प्रवास (भारत) गइसक्नुभएको थियो । हामी पनि अल इन्डिया टुरमा गयौं । दिल्लीबाट हामी भेट्न आउँदै छौं भनेर बीपीलाई चिठी पठायौं । कांग्रेसमा बीपी र सुवर्णजीको दुइटा गुट थियो । दुई जना नेतालाई मिल्न हामीले दबाब दिइरहेका थियौं । दिल्लीबाट पठाएको चिठीको आशय पनि त्यही थियो । बीपीले तिमीहरू आओ, म सुवर्णजीलाई पनि झिकाउँछु भनेर जवाफ पठाउनुभयो । दिल्लीबाट सिधै बनारस गयौं । तर, सुवर्णजी जानुभएन । बीपीलाई भेटेर फर्कियौं । त्यसपछि बीपीलाई २०३३ सालमा सारनाथमा भेटेका हौं । त्यतिबेला उहाँ नेपाल फर्कने कि प्रवासमै बस्ने भन्ने कुरा चलिरहेको थियो । मसहितका साथीहरूले नफर्कनुहोस्, साथी राम–लक्ष्मण मारिएका छन् भन्यौं । बीपी नेपाल फर्कन खोज्ने, म रोक्न खोज्ने । यस्तै कुरा हुँदा तीन दिनसम्म उहाँले सिक्किम भारतमा विलय भएको, दक्षिण एसियाको राजनीतिमा देखा परेको बदलाव र नेपालको राष्ट्रियतासँगका सन्दर्भ जोडेर मलाई नेपाल किन फर्कनुपर्छ भनेर सम्झाउनुभयो । यसबारेमा बीपी र मेरोबीचमा मौखिक सम्झौता नै भयो । तपाईं जाने नै हो भने राष्ट्रका नाममा सम्बोधन गर्नुपर्छ, तपाईं नेपाल गएपछि राजाले कि जेलमा हाल्छन्, कि मार्छन्, त्यसैले तपाईंले जानुअघि नै पार्टीलाई राजनीतिक विचार दिनुपर्छ र तपाईंले दिएको राजनीतिक लाइन बोक्न सक्ने किसुनजीलाई कार्यवाहक सभापति बनाउनुपर्छ भनेर मैले प्रस्ताव राखेको थिएँ । यो कुरा गर्नुहुन्छ भने म तपाईंलाई स्वागत गर्न विमानस्थलमा आउँछु पनि भनें । तीन वटै कुरा गर्ने वचन दिनुभयो । लगत्तै सम्बोधनको वक्तव्य दिनुभयो । मेलमिलापको नीति बोकेर फर्कने बेला बीपीले गणेशमानजीलाई बनारसमै बोलाउनुभएको थियो । तर, उहाँ जान मान्नुभएन । बीपी आएर जेल पर्नुभयो । जेलमा छँदै औषधि उपचारका लागि अमेरिका जानुभयो । अमेरिकाबाट फर्केर पटना आएपछि एउटा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा घोषणा गरेरै किसुनजीलाई कार्यवाहक सभापति दिनुभयो ।

बीपी र तपाईंको सम्बन्ध कस्तो थियो ?

म समाजवादका बारेमा धेरै लेख लेख्थें । नेपाल पुकारमा मैले एक पटक समाजवादका बारेमा लामो लेख छापेको थिएँ । बीपीले त्यसको खुबै तारिफ गर्नुभयो । भाषण पनि गर्ने र लेख पनि लेख्ने गरेकाले उहाँको नजरमा म अलि फरक थिएँ । बीपी यसको हात, मुख दुवै चल्छ भन्नुहुन्थ्यो । एक पटक देवेन्द्रबाबु (भारतका समाजवादी नेता) सँग मपछिका यी केटाहरूले पार्टी धान्न सक्छन् भन्नुभएको रहेछ । शेरबहादुर देउवा, विपिन कोइराला र म भएर देवेन्द्रबाबुलाई भेट्न गएका बेला देवेन्द्रबाबुले यो कुरा हामीलाई सुनाउनुभएको थियो । देवेन्द्रबाबुले पनि हामीलाई भेटेपछि बीपीसँग हाम्राबारेमा ‘कितने ब्राइट

लड्का है’ भन्नुभएछ । त्यतिबेला पनि मेरा उत्तराधिकारी यस्ता छन् भनेर बीपीले प्रशंसा गर्नुभएछ । बीपी हामीसँग बारम्बार भन्नुहुन्थ्यो, ‘सच्चा राष्ट्रवादी र प्रजातन्त्रवादी ५० जना मान्छे भए पुग्छ । यति निकाल, प्रजातन्त्र आउँछ ।’ एक पटक बीपीलाई पटनामा भेट्न जाने कुरा भयो । बीपीले तिम्रो टिममा को–को छन् भनेर सोध्नुभयो । विपिन कोइराला, शेरबहादुर देउवा, मछिन्द्र पाठक, चिरञ्जीवी वाग्लेलगायत १० जनाको नाम लिएको थिएँ । त्यतिबेला उहाँले दस जनाको समूहलाई मेरो टिमका रूपमा लिनुभएछ ।

प्रजातान्त्रिक संघर्षमा लाग्दा तपाईं खासमा कति वर्ष जेल बस्नुभएको हो ?

पहिलोपल्ट २०१८ सालमा एक महिनाजति हिरासतमा बसें । त्यसपछि विभिन्न चरणमा पञ्चायतकालभर १३ वर्ष जेल बसें । राजाको प्रतिगमनपछि एक वर्ष बसें । जम्माजम्मी १४ वर्ष मेरो जेल जीवन हो ।

तपाईं गाउँको दूरदराजबाट राजनीतिमा उदाएको नेता हुनुहुन्थ्यो, राजनीति, पढाइ र घरपरिवार सबै व्यवस्थापन गर्न त्यतिबेला कतिको दुःख हुन्थ्यो ?

राजनीतिमा लाग्दा त जोस थियो । सुरु–सुरुमा घरबाट खर्च आउँथ्यो । खर्च आउन्जेल खासै समस्या हुन्थेन । खेती किसानको आम्दानीले सधैं खर्च पठाउने अवस्था घरबाट पनि सम्भव भएन । त्यसपछि भने समस्या पर्थ्यो । पत्रिकामा काम गरेर मैले खाने र डेरा भाडा जुराएको थिएँ ।

तपाईंले पत्रकारिता पनि गर्नुभएको हो ?

सुरुमा स्वतन्त्र समाचारमा काम गरें । त्यसपछि नवीन खबरमा काम गरें । नेपाल टाइम्स र समयमा पनि लेख्थें । कहिले कुनमा, कहिले कुनमा काम गर्दा अलिअलि पैसा आउँथ्यो । योबाहेक वाल्मीकि विद्यालयबाट मासिक ६० रुपैयाँ छात्रवृत्ति पाउँथें । त्यसले डेरा भाडा र खाने खर्च चल्थ्यो ।

आर्थिक समस्या परेर तपाईंले खेती किसान सुरु गर्नुभएको र कागती बेचेर निर्वाह गरेको भन्ने चर्चा पनि आइरहन्छ नि ?

०३२ सालमा जेलबाट छुटेपछि म गाउँमा फर्किएँ । खासमा त्यतिबेला काम पनि भएन । घरमा गएर एउटा पाखोमा बगैंचा सुरु गरें । बगैंचामा काम गर्दागर्दै पनि पुलिस आउँथ्यो । बारीमा कोदालो छाडेर जंगलतिर भाग्नुपर्थ्यो । यस्तो घटना धेरै घटे । मैले सुरु गरेको बगैंचामा कागती राम्रो फल्यो । ०३८/०३९ सालतिर हुनुपर्छ, आफैंले लगाएको बगैंचाको कागती ठूलो खाग्रामा हालेर बसको छतमा राखी राजधानीमा बेच्न लान्थें । असनमा राति ११ बजे कागती बेचेको छु । कागती एकदमै राम्रो थियो । त्यसले अलिअलि पैसा भयो । पछि घरबाटै पनि बिक्री हुन थाल्यो ।

त्यतिबेलाको संघर्ष र अहिले यो ओहदामा आउँदा कस्तो लाग्छ ?

बढो रोमाञ्चकारी सम्झना हुन्छ । म भावनाबाट बढी चल्ने मान्छे हो । सुख–दुःखको मतलब नराख्ने, चिन्ता नगर्ने, पारिवारिक मतलब पनि नराख्ने । पढ्नुपर्छ भन्दाभन्दै संघर्ष गर्नुपर्छ भन्नेतिर लागें । पढ्नुपर्छ भन्दा घरपरिवारबाट टाढा भएँ । पछि संघर्ष गर्नुपर्छ भन्ने कुराले आज यहाँसम्म ल्याइपुर्‍यायो । कांग्रेसमा बीपीपछि गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको सामूहिक नेतृत्व थियो ।

त्यसपछि आरएसएस भनेर तपाईं, शेरबहादुर देउवा र शैलजा आचार्यलाई नेताहरूले अघि सार्नुभएको कि तपाईंहरू आफैंले बनाउनुभएको हो ?

०४६ सालपछि रामचन्द्र, शेरबहादुर र शैलजा भनेर आरएसएस भनिएको हो । हामी तीन जना अलि मध्यमार्गी थियौं । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको अन्तरद्वन्द्वमा पार्टी फुट्न दिनु हुन्न भन्नेमा हाम्रो साझा मत थियो । पार्टी एकता चाहिन्छ भनेर नेताहरूलाई मिल्न दबाब दिन्थ्यौं । मैले पार्टी मिलाउन मध्यमार्गी भूमिका नै खेलें । त्यो भूमिका अहिलेसम्म रह्यो । २०१७ पुस १ मा राजा महेन्द्रले शासन सत्ता हातमा लिएपछि विरोध गर्ने क्रममा बीचमा बसेर माइकिङ गर्ने मार्शलजुलुम शाक्य थिए । सैनिक मञ्चमा राजा महेन्द्र जाँदा कालो पछ्यौरा ओढेर तानाशाह मुर्दावाद भन्दै नारा लगाउने शैलजा हुनुहुन्थ्यो । त्यसपछि विद्यार्थी आन्दोलनबाट राइज भएर अन्तिमसम्म टिकेका शेरबहादुर र म हौं । विद्यार्थी आन्दोलनका क्रममा कांग्रेस र कम्युनिस्टका त्यत्रा नेता थिए, सबै पञ्चायततिर लागे । कोही सग्लो भएनन् । जेलमा बस्दा कति त वक्तव्य निकालेर निस्के । मैले त वक्तव्य निकालेर निस्कन मानिनँ ।

तपाईं पहिलोपल्ट पार्टीको केन्द्रीय सदस्य कहिले हुनुभयो ?

२०४३ सालमा जेलबाट छुटेपछि शेरबहादुर देउवा, शैलजा आचार्य र म सँगै केन्द्रीय सदस्य भएका हौं ।

गणेशमान, किसुनजी र गिरिजाबाबुलाई मिलाउन तपाईंले निर्वाह गरेको मध्यमार्गी भूमिकाले व्यक्तिगत रूपमा तपाईंलाई र समग्रमा पार्टीलाई कति लाभ मिल्यो भन्ने लाग्छ ?

२०५० सालमा मदन भण्डारीको निधनपछि किसुनजीलाई उपनिर्वाचनमा लडाउने कुरा भइरहेको थियो । मेरो मनमा किसुनजीलाई लडाउन हुन्न भन्ने थियो । म विराटनगर भएका बेला काठमाडौंमा केन्द्रीय कार्यसमितिको बैठक डाकियो । म विराटनगरबाट आउँदा गणेशमान, किसुनजी र गिरिजाबाबु बैठकबाट उठिसक्नुभएको थियो । पक्कै किसुनजीलाई चुनाव उठाउने निर्णय गरिएछ भन्ने मलाई पर्‍यो । किसुनजीलाई अन्तर्घात गरेर चुनाव हराइदिन्छन् भन्ने मलाई लागेको थियो । बिहानै किसुनजीकामा गएँ र चुनाव लड्ने हुनुभएछ नि भनें । उहाँले भन्नुभयो– मेरो पक्षमा जनमत छ । मैले ‘तपार्इंको पक्षमा जनमत नभए कसको पक्षमा हुन्छ ! सत्याग्रह गरेर आएको यत्रो उचाइको नेता, एकै वर्षमा संविधान जारी गर्ने, एकै वर्षमा चुनाव गराउने, यस्तो नेता लोकप्रिय नभए को हुन्छ ? तर, किसुनजी काठमाडौंमा रातारात जनमत प्रभावित पार्ने शक्तिहरू छन्, एकै रातमा वातावरण पिरो बनाउने र अमिलो बनाउने शक्तिहरू छन्’ भनें । किसुनजी मान्नुभएन । चुनावमा जानुभयो । आखिर मैले जे सोचेको थिएँ, त्यही भयो । कांग्रेसभित्र कलहको सबैभन्दा बढी बीजारोपण पनि त्यसै घटनाबाट हुन पुग्यो ।

प्रकाशित : फाल्गुन २६, २०७९ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?