मुलुक अस्थिरतातिर जाने खतरा : प्रदीप ज्ञवाली- कुराकानी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुलुक अस्थिरतातिर जाने खतरा : प्रदीप ज्ञवाली

कान्तिपुर संवाददाता

काठमाडौँ — दुई वर्षपछि सहकार्यमा जुटेका एमाले र माओवादीको गठबन्धन दुई महिनामै भत्किएको छ । १० पुसको समझदारीले प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल एमालेलाई राष्ट्रपति दिन तयार नभएपछि राजनीतिले अर्को मोड लिएको हो । राष्ट्रिय मुद्दा सम्बोधन गर्न भन्दै कांग्रेस उम्मेदवारलाई राष्ट्रपति बनाउन आठ दल शुक्रबार सहमत भएका छन् । यसै सन्दर्भमा नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीसँगको संक्षिप्त कुराकानी :

अब एमालेले के गर्छ ?

यसबारेमा शनिबार पार्टी केन्द्रीय सचिवालय बैठकबाट निर्णय गर्छौं । राजनीतिक सहकार्यलाई टिकाउने मुख्य तीन आधार हुन्छन्– स्पष्ट गन्तव्य, आपसी विश्वास र पारदर्शिता । प्रधानमन्त्रीले निर्णय गर्दा आज तीनवटै चीजलाई तोड्नुभएको छ । गन्तव्य अस्पष्ट छ, विश्वास टुटाइएको छ र अपारदर्शी निर्णय भएको छ । अब माओवादीसँग सहकार्य गर्ने सम्भावना एकदमै कम देख्छु ।

एमाले संघ र प्रदेश सरकारमा बसिराख्छ कि बाहिरिन्छ ?

केन्द्रको कोर्सको प्रभाव प्रदेशमा पनि पर्छ नै । निर्वाचन परिणाम आइरहँदा नै प्रतिपक्षमा बस्नुपर्ने हुन सक्छ, चुनाव पहिलेको गठबन्धन कायम रही हामीमाथि निरन्तर दमन, घेराउ र आक्रमण हुन सक्छ भनेर हामी मानसिक रूपमा तयार थियौं । यसबीचमा हामीले मुलुकको राजनीतिलाई सही दिशा दिन सकिन्छ कि भनेर प्रयत्न गरेका हौं । त्यो प्रयास असफल भएको छ ।

एमाले नेतृत्वको गठबन्धन तोडिएपछि मुलुक झन् अस्थिरतातिर जाने संकेत देख्नुहुन्छ ?

हामी भूराजनीतिक भुमरीमा नजानिँदो गरी फस्दै गएका छौं । राष्ट्रिय हितको जगेर्ना गर्न झन् कठिन हुन थालेको छ । मुलुकको अर्थतन्त्र संकटको डिलमा छ । मुलुकलाई सही मार्गमा फर्काएर आर्थिक दुर्घटना हुन नदिन असाध्यै कुशलतापूर्वक निर्णय गरी अघि बढ्ने हाम्रो प्रयास छ । अर्को, जनतामा असन्तुष्टि बढ्दै गएकाले कुनै पनि बेला विस्फोट हुन सक्छ । यी तीन वटै कुराबाट मुलुकलाई जोगाउन परिपक्व र स्थिर राजनीतिको जरुरी छ । यो निर्णयपछि मुलुक अस्थिरतातिर जाने खतरा छ । हामीलाई राष्ट्रिय हितको रक्षा गर्न गाह्रो हुने देखिन्छ किनभने यसमा भूराजनीतिक स्वार्थहरू जोडिएका छन् । संकेतहरू छर्लंग देखिएका छन् ।

यसले नेपालको राजनीतिमा झन् विकृति बढ्ने देखिन्छ । केही नेताको क्रियाकलापले राजनीतिको मूल्य र वजन गुमाएको छ । कांग्रेसको सत्ता मोह र माओवादीको अवसरवाद यो परिस्थितिको जिम्मेवार छ ।

एमालेबाट राष्ट्रपति हुँदा सरकारले काम गर्न नसक्ने दाबी प्रधानमन्त्रीको थियो नि ?

प्रधानमन्त्रीलाई शुभकामना छ, कांग्रेसको राष्ट्रपति बनाउन लागेकामा । प्रधानमन्त्री र राष्ट्रपतिको कार्यकाल राम्रो होस् ।

आठ दलले गरेको निर्णयअनुसार राष्ट्रपतिमा राष्ट्रिय सहमति हुने सम्भावना देख्नुहुन्छ ?

कुनै सम्भावना छैन । एमालेलाई सत्ताबाट बाहिर राख्ने र एमालेको पहलमा बनेको सरकारलाई भत्काउने उद्देश्य छ । राष्ट्रपति निर्वाचन बहाना मात्र हो । राष्ट्रिय सहमति जे भनिएको छ, त्यसमा कांग्रेसले भनेको कुरा जसरी पनि हुनुपर्ने देखिन्छ । एमाले, रास्वपा र राप्रपालाई बाहिर राखेर गरिने राष्ट्रिय सहमतिको कुरा फर्जी हो ।

प्रकाशित : फाल्गुन १३, २०७९ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्

यो समझदारी भत्किन दिन्नौं : गगन थापा

कान्तिपुर संवाददाता

काठमाडौँ — दुई वर्षपछि सहकार्यमा जुटेका एमाले र माओवादीको गठबन्धन दुई महिनामै भत्किएको छ । १० पुसको समझदारीले प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल एमालेलाई राष्ट्रपति दिन तयार नभएपछि राजनीतिले अर्को मोड लिएको हो । राष्ट्रिय मुद्दा सम्बोधन गर्न भन्दै कांग्रेस उम्मेदवारलाई राष्ट्रपति बनाउन आठ दल शुक्रबार सहमत भएका छन् । यसै सन्दर्भमा नेपाली कांग्रेसका महामन्त्री गगन थापासँगको संक्षिप्त कुराकानी :

राष्ट्रपतिमा समर्थन लिने मात्रै नभई सत्ता गठबन्धन नै भत्काउनेसम्मको सहमतिले राजनीतिक अस्थिरता बढाउने काम भएन ?

निर्वाचन अघि र पछिको गठबन्धनमा धेरै फरक छ । कि त निर्वाचनअघि गठबन्धन गर्न हुन्थेन । गरिसकेपछि, पाँच वर्षको अवधि पूरा गर्नु नै पर्थ्यो । त्यसमा हामी चुकेका थियौं । अहिले बनेको समझदारीले नयाँ सरकार बन्ने ढोका खुलेको छ । यो भनेको मतदानबाटै अनुमोदित भएर आएको हो । बरु, एमाले र माओवादीसहितको गठबन्धन सरकारले लगातार शृंखलाबद्ध अस्थिरता ल्याइरहन्थ्यो । निर्वाचनपछि बन्ने गठबन्धन अघि बनेजस्तो जनताबाट अनुमोदित भएको हुन्न । सुविधाअनुसार जोसँग पनि मिल्न सक्थ्यो । हामीले पुस १० मा एउटा गल्ती गर्‍यौं, त्यो सच्याउने काम सुरु भएको छ ।

भोलिका दिनमा तपाईंहरूलाई एमालेले पाँच वर्ष सरकार चलाउनुहोस्, माओवादीलाई छाड्नुहोस् भनेर प्रस्ताव गर्‍यो भने फेरि अर्को सरकार बन्ने त होइन ?

त्यही भएर यसपालि हामीहरू पनि छलफलमा बस्यौं । सरकारको नेतृत्वका विषयमा केही कुरा नेताहरूले छुट्टै गर्नुभयो । अब अर्को निर्वाचनसम्मै यो गठबन्धन लैजाने समझदारी नेता–नेताबीचमा नभएर पार्टी–पार्टीबीचमा भएको छ । कांग्रेसको कारणले अब आउने निर्वाचनसम्म समझदारीमा तलमाथि हुँदैन ।

सत्ताका लागि कांग्रेसले जे पनि गर्छ भन्ने सन्देश गयो नि, होइन ?

चुनावअघिको समझदारी जोगाउन नसक्नु हाम्रै कमजोरी थियो । अहिले एउटा परिस्थितिले फर्कने अवस्था बनेको छ । यसमा कांग्रेसको सबैभन्दा ठूलो जिम्मेवारी छ, त्यो कांग्रेसले निर्वाह गर्नुपर्छ ।

समझदारी तलमाथि हुँदैन भन्ने विश्वास के ?

हामी संलग्न भएको पनि त्यही भएर हो । जहिले पनि दुई–तीन जना नेताहरू मात्रै बस्ने । उहाँहरू मात्र संलग्न हुने, कुरा गर्ने । एउटा बिन्दुमा आएपछि उहाँहरूले आफ्नो निजी कुराजस्तो बनाउने गर्नुभयो । समझदारी गर्दा पनि अपारदर्शी र व्यक्ति–व्यक्तिका बीचमा भयो । त्यही भएर यस पटक सिंगो पार्टी यसमा संलग्न छ ।

कसले कति समय सरकारको नेतृत्व लिने समझदारी छ ?

अहिलेलाई हामी सबैको ध्यान राष्ट्रपतिमा छ । यसले नयाँ यात्राको ढोका खुलेको छ । भएका समझदारी र भनिएका कुराहरू पूरा नगर्ने अवस्था आउन हामी दिँदैनौं ।

कांग्रेसले कसलाई उम्मेदवार बनाउँदै छ ?

अनौपचारिक ढंगले विभिन्न चरणमा कुरा गरिरहेका छौं, शनिबार बिहान एकैछिनको बैठकपछि निर्णय आइहाल्छ ।

साझा उम्मेदवार अघि सार्ने काम भएन ?

भएन, सबै दलका नेताहरूले कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने भन्नुभएको छ ।

सरकारमा जाने र मन्त्रालय भागबन्डाबारे ?

अहँ, त्यसमा छलफल भएकै छैन ।

प्रकाशित : फाल्गुन १३, २०७९ ०७:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×