२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७
अन्तर्वार्ता

'सहिद भनेर राज्यले सम्मान गर्ने, तिनका परिवार चाहिँ भोकभोकै बस्नुपर्ने ?'

‘०९७ सालको घटनालाई महत्त्व दिइएन भने राजनीतिक इतिहास नै अधुरो रहन्छ’

काठमाडौँ — माघ १६ गते सहिद दिवस । १९९७ सालमा राणा शासनको विरोध गरेको आरोपमा तत्कालीन श्री ३ जुद्धशमशेर राणाले चार जना युवाहरूलाई फाँसीको सजाय दिए । ०९७ सालको काण्डले इतिहासमा चर्चित उक्त घटनालाई कसरी हेरिन्छ ?

'सहिद भनेर राज्यले सम्मान गर्ने, तिनका परिवार चाहिँ भोकभोकै बस्नुपर्ने ?'

सहिद दिवसको सन्दर्भमा इतिहासका प्राध्यापक राजेश गौतमसित इकान्तिपुरका ध्रुव सिम्खडाले गरेको कुराकानी:

१९९७ सालको मृत्युदण्डको घटनालाई कसरी बुझ्न सकिन्छ ?

त्यसबेलासम्म सामाजिक र धार्मिक रूपमा राणा शासनको विरोध गर्ने कार्य सुरू भइसकेको थियो । तर राजनीतिक रूपमा राणा शासनको विरोध गर्ने स्थिति ०९२ सालपछिमात्र भयो । ०९२ सालमा जब नेपाल प्रजापरिषद् गठन भयो र त्यसमा संलग्न भएकाहरूले राणाहरूको विरूद्ध ३/४ प्रकारका पर्चाहरू निकालेर जनमत खडा गर्ने वा जनतामा प्रभाव पार्ने कार्य गरे त्यसले ०९७ सालको घटना सिर्जना गर्‍यो । राणा शासकले उनीहरूलाई सजायस्वरूप जुन मृत्युदण्ड दिए त्यसले राजनीतिक रूपबाट अगाडि बढेर देशमा प्रजातन्त्र स्थापना गर्नुपर्छ भन्ने स्थितिको सिर्जना भयो ।

जुद्धशमशेरले त्यो सजाय कहाँ सुनाएका थिए ?

मूलद्वारबाट सिंहदरबार प्रवेश गर्नासाथ जुन पोखरी छ, त्यसकै छेउमा ०९७ साल काण्डका सबै ‘अभियुक्त’हरूलाई पंक्तिबद्ध उभ्याएर जुद्धशमशेरले त्यो सजाय सुनाएका थिए ।

त्यो घटनाले नेपाली समाजलाई कस्तो चेतना दियो ?

त्यसै घटनालाई आधार मानेर बीपी कोइरालाले नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गर्ने बेला ‘चार जना महान् सहिदहरूलाई सम्झेर त्यसैको आधारमा हामी अगाडि बढेका हौं' भन्ने धारणा राखेका थिए ।

तीमध्ये चारजना ब्राह्मण भएका कारण मृत्युदण्डको सजायबाट बचे । तर उनीहरूको जात काढियो, दामल गरियो र चारपाटा मुडेर सुँगुरका पाठा बोकाएर चारभन्ज्याङ कटाइयो भन्ने गरिन्छ । यसबारे के भन्नुहुन्छ ?

सिंहदरबारभित्रै चारपाटा मुडिएको भनिन्छ । यद्यपि, टंकप्रसाद आचार्यले यसलाई स्विकारेको पाइन्न । उनी चारपाटा मुडिएको र सुँगुरको पाठो बोकाएर चारभन्ज्याङ कटाएको कुरालाई स्विकार गर्दैनन् ।

जात काडेर चारभन्ज्याङचाहिँ कटाइयो भन्ने छ नि ?

सिंहदरबारमा चारपाटा मुडियो । अनि भद्रकाली हुँदै टुँडिखेलको बीचबाट सुँगुरको पाठो बोकाएर ‘सेन्ट्रल जेल’ पुग्ने जुन बाटो थियो त्यहीँबाट हिँडाएर जेल हालिएकोसम्म हो । जेलभित्र गइसकेपछि टंकप्रसादजीहरूले के गरे रे भने ‘हाम्रो त जात काडियो, जात गयो’ त्यसैले हामीलाई नछुनूस् है भनेर जेलभित्रका अन्यलाई भनेका थिए भनी धर्मरत्न यमीले आफ्नो स्मरणमा उल्लेख गरेका छन् । त्यसरी टंकप्रसादजीहरू अलग्गै बस्न थालेपछि जेलभित्र पनि जातपातको कुरा गरेको भनी यमीले उक्त कुराको विरोधसमेत गरेका छन् ।

राणाहरूले सजायस्वरूप काटिदिएको जात फर्केको प्रसंग पनि इतिहासमा कतै उल्लेख छ कि ?

त्यो उल्लेख गर्नुपर्ने कुरै भएन । ०७ सालमा जब राणा शासन गएर प्रजातन्त्र आयो उनीहरूको जात पनि स्वतः पुनःस्थापित भइहाल्यो । जेलभित्रै जातपातको कुरा गौण भइसकेको थियो ।

०९७ सालको विद्रोहको सामाजिक महत्त्व के थियो ?

त्यसभन्दाअघि समाजमा राणाको विरोध गर्नु हुँदैन भन्ने दृष्टिकोण थियो । त्यो दृष्टिकोणमा क्रमिक ह्रास नआएको चाहिँ होइन । किनभने ०९१ सालमा काठमाडौंमा एउटा घटना भएको थियो । त्यो फुटबल खेलसँग सम्बन्धित थियो । त्यसमा जनताको टिम (नेपाली विद्यार्थी मण्डल/शिक्षा विभागका जनसाधारणहरू समावेश) र राणाको टिम (जावलाखेल क्लब जसमा नरशमशेरलगायत राणाजी र तिनका चाकडीदारहरू समावेश) खेलेको थियो । उक्त टिमलाई राजाको टिम र प्रधानमन्त्रीको टिम पनि भनिएको थियो । खेल भइरहँदा दर्शकहरूले आक्रोश पोखेको देखिन्थ्यो । राणा पक्ष खेलाडीले बल लगे भने ‘ए त्यसको खुट्टामा हान्’ भन्ने र जनता पक्षका खेलाडीले बल पाउनासाथ ‘गोल गर, गोल गर’ भनेर हौसला दिएबाट नै राणाहरूविरूद्ध सामाजिक विद्रोहको ज्वाला फैलिएको बुझ्न सकिन्थ्यो । त्यो सामाजिक आक्रोश हो । त्यो आक्रोश नयाँ पुस्तामा थियो । बुढाहरूमा चाहिँ राजा अर्थात् राणाजीहरूको विरोध गर्नुहुँदैन भन्ने थियो ।

त्यो एउटै घटनाको आधारमा नयाँ पुस्ता राणाको विरोधमा थियो भन्न सकिन्छ ?

नयाँपुस्ता राणा शासकको विरूद्धमा थियो भन्ने पुष्टि हुन्छ । ०९७ सालमा गिरफ्तार गरिएका जति पनि ‘अभियुक्त’ हरू थिए ती सबैजसोका बाउबाजे वा परिवारका कुनै न कुनै सदस्य राणाको दरबारका जागिरे थिए । जस्तैः शुक्रराज, धर्मभक्त, चुडाप्रसाद आदि । सबैका बाउबाजे राणाकै दरबारमा जागिर खाने, छोराहरूजति सबै राणा शासन फाल्न लाग्ने देखिनुबाट पनि समाजमा युवापुस्ताले परिवर्तन खोजेको बुझ्न सकिन्थ्यो । हो, त्यो परिवर्तनको चाहना के भने धार्मिक र सामाजिक रूपमा देखिएको आक्रोश राजनीतिक रूपमा प्रकट भएको थियो, ०९२ सालको प्रजापरिषद् पार्टीको रुपमा स्थापना भएर । त्यो पार्टीका सदस्यहरूको गतिविधिले समाजमा राजनीतिक आक्रोश देखायो । ०९७ सालमा ज्यानै गए पनि मानवअधिकार र प्रजातन्त्रका लागि तयार हुने पुस्ता देखिनुले राजनीतिक क्रान्तिको आधार खडा गरिदियो ।

०९७ सालको घटनाले प्रजातान्त्रिक नेपालको जग बसालेको हो ? यो घटनाको राजनीतिक महत्त्व के छ ?

नेपालको प्रजातान्त्रिक इतिहासमा यदि हामीले ०९७ सालको घटनालाई राजनीतिक महत्त्व दिएनौं भने हाम्रो इतिहासै अधुरो रहन्छ । किनभने नेपालमा राणाको विरोध गरेर राजाको अधिकार पुनःस्थापित गर्न र जनताको अधिकार जनतालाई नै दिनुपर्छ भन्ने जुन भावनाको विकास भयो त्यो नै प्रजातन्त्रको आधार खडा गर्ने विन्दु थियो । त्यसबेला राजाको विरोध थिएन । राजा र जनता मिलेर राणा शासनलाई फाल्ने र जनताको अधिकार जनतालाई नै दिने भन्ने भावनाले नयाँपुस्ता ज्यानकै बाजी थापेर संघर्षमा उत्रिएको थियो । राजनीतिक दलहरूले पनि राजाको अधिकार र मानवअधिकारको कुरालाई सँगसँगै जोडेर त्यसबेला प्रजातन्त्रको कुरा गरेका थिए । ०९७ सालको घटनापछि जुन तरिकाले जनता क्रान्तिमा होमिए, राणा शासनविरूद्ध संघर्ष चर्कियो त्यसलाई प्रजातान्त्रिक नेपालको एउटा महत्वपूर्ण आधार वा जगको रुपमा हेर्नुपर्छ । किनभने ०९७ सालमा प्रजापरिषद्ले उठाएको सवाललाई त्यसपछि कुनै पनि राजनीतिक दलले छाडेनन् । नेपाली कांग्रेस होस् या नेपाली राष्ट्रिय कांग्रेस या प्रजातन्त्र कांग्रेस होस् या कम्युनिस्ट पार्टी नै होस् ती सबैले जनताको अधिकार जनतालाई दिनुपर्छ भन्ने भावना छाडेनन् । त्यही भावनाबाट प्रेरित भएर नै उनीहरू अगाडि बढेका हुन् । यसले पनि ०९७ सालको घटना नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासमा एउटा आधार हो भन्ने देखाउँछ । त्यसपछि भएका सबै क्रान्तिको आधार नै ०९७ सालको घटना हो । अहिले राजनीतिक दलहरूका सिद्धान्त र विचार फरक होलान् तर जनतालाई अधिकारसम्पन्न बनाउनुपर्छ भन्ने मूल मन्त्रचाहिँ त्यही घटनाको उपज हो ।

माघ ५ गते जनमत पार्टी संसदीय दलका अध्यक्ष सीके राउतले सभामुखको जानकारी बेगर नै संसद्को रोस्ट्रमबाटै एक्कासी मधेस विद्रोहमा सहादत प्राप्त गर्नेहरूको नाउँमा हाउसका सबै माननीयहरूलाई उभिन आग्रह गर्दै एक मिनेट मौनधारण गराइदिए । राज्यले सही तरिकाले व्यवस्थापन गर्न नसक्दा सहिदहरूकै अपमान त गरिरहेका छैनौं हामी ?

पछिल्लो समय सहिदहरूप्रति राज्य भनौँ या हामीले जुनरूपका व्यवहार प्रदर्शन गर्दै आइरहेका छौँ त्यसले वास्तवमा सहिद शब्दकै अपमान भइरहेको छ । राजनीतिक र संवैधानिक दुवै रूपमा नेपालमा सहिदहरूको परिभाषा गरिएन । हिजोका दिनमा जब प्रजातान्त्रिक आन्दोलनहरू सफल भए त्यसमा संलग्न भएर सहादत प्राप्त गर्नेहरूलाई नै महत्त्व दिनुपर्छ भनेर ०९७ माघमा फाँसी दिइएका चार जना वीर सपूतहरूलाई हामील सहिद मान्यौं । त्यसको अर्थ तीबाहेक पनि त्यसबखत अन्य सहिद थिएनन् भन्ने होइन । तर‚ हामीले ती चार जनालाई मुख्य मानेर ज्ञात/अज्ञात सहिदहरूलाई आधार बनाएर हामी अगाडि बढ्यौं । तर पछिल्ला चरणमा जुन किसिमले सहिदहरूको अवमूल्यन हुन थाल्यो त्यसले अन्योलको स्थिति सिर्जना गरेको अवस्था छ ।

सरकारहरू कमजोर हुँदै जान थाले । सरकारले नै जसलाई मन लाग्यो उसलाई दबाबको भरमा सहिद घोषणा गरिदिन थाल्यो । यसमा सरकारकै कमजोरी भयो । साधारण झैझगडामा मरेकालाई पनि सहिदै मान्न थालियो । माओवादीहरूले पनि ७ हजारलाई नै सहिद घोषणा गरिदिए । नामै थाहा नभएकालाई पनि नामै थाहा हुननसकेको अज्ञात सहिद भनेर समेत उल्लेख गरियो । यसरी सहिदहरू घोषणा गर्न थालेपछि सही अर्थमा सहिदहरूको अवमूल्यन हुन पुग्यो । हुँदाहुँदा मान्छे मर्ने बित्तिकै १० लाख पाउने लोभमा जनताले पनि कहीं कतै भवितव्यमा आफ्नो मान्छे मर्दा पनि सहिद घोषणा गरियोस् भन्ने माग राखेर राज्यलाई बाध्य पारेको सम्म देखियो । यसले गर्दा सही रूपले सहिदहरूको सम्मान हुन सकिरहेको छैन ।

सहिदहरूबारे देखिएको यो किसिमको व्यवस्थित र अव्यवस्थापनलाई कसरी व्यवस्थित गर्ने ?

पहिलो, राष्ट्रले सहिदहरूको सही परिभाषा गरिदिनु पर्छ । अहिलेजस्तै सरकारले नै जथाभावी सहिद घोषणा गर्दै गयो भने सहिदहरूको अवमूल्यन अझ हुनेछ । दोस्रो, कम से कम सरकारले एउटा ‘सहिद गाउँ’ निर्माण गरोस् । र, त्यहाँभित्र स्कुल, अस्पताललगायत आवश्यक सबैकुराको व्यवस्था गरेर सहिदका परिवारलाई त्यहाँ व्यवस्थित गरेर राखोस् । सरकारले एकातिर बाउआमालाई सहिद घोषणा गरेर सम्मानको पगरी गुथाएको छ भने अर्कोतिर तिनका छोराछोरी खान नपाएर सडकमा मागेर बसिरहेका छन् । सहिद परिवारको विचल्ली र वेदना सबै सरकारलाई थाहा छ । नेताहरूलाई थाहा छ । तर पनि किन तिनको उचित व्यवस्थापनमा राज्य उदासीन ? हामी पनि सहिद दिवसका बेला मात्र सहिदलाई सम्झन्छौं । अरू बेला बिर्सन्छौं । यो प्रवृत्ति अन्त्य गरिनु पर्छ । सहिद भनेर राज्यले सम्मान गरिसकेपछि तिनका परिवारका सदस्यले पनि भोकभोकै बस्नुपर्ने अवस्था हुनु हुँदैन ।

०९७ सालको घटनाले नेपाली समाजलाई के दियो ?

त्यसबेलाको समाजले एकदम ठूलो परिवर्तन खोजेको थिएन । कुनै सामाजिक परिवर्तन पनि खोजेको थिएन त्यसबखत कुनै धार्मिक परिवर्तन पनि खोजेको थिएन । खाली राजनीतिक परिवर्तन खोजेको थियो । राजनीतिक परिवर्तनमा पनि दुईटा कुरा मूलभूत रूपमा खोजिएको थियो । एउटा राणाहरूले खोसेका राजाको अधिकार राजालाई नै पुनर्स्थापित गराउने र अर्को जनतालाई प्रजातान्त्रिक अधिकार दिनुपर्छ भन्ने थियो । यी दुईटा आधारमात्र त्यतिखेरका सहिदहरूले बोकेका थिए । र, पछिल्ला चरणमा त्यसैको आधारमा सामाजिक परिवर्तनहरू भए, धार्मिक संस्कारमा सुधारहरू हुनथाले । राजनीतिक परिवर्तनहरू आए । समग्रमा राष्ट्र विकासको आधार नै निर्माण भयो ।

प्रकाशित : माघ १६, २०७९ १३:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?