कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४
अन्तर्वार्ता

‘महासंकट उन्मुख छन् युवा’

'खाँचो परेको अवस्थामा हाम्रो देशमा पैसा तिरेर पनि पासपोर्ट पाइँदैन'
'नयाँ उद्यम दर्ता गर्नेदेखि गाडीको लाइसेन्स लिनेसम्म बिचौलियाको भर पर्नुपर्छ'
'५०–६० वर्षको मान्छेले आफ्नो काम गरिरहेको हुन्छ, ऊमाथि लगानी गर्नुपर्दैन'
दीपक सापकोटा

काठमाडौँ — युवा अधिकार र सामाजिक न्यायका लागि पैरवी गर्दै आएका प्रदीप परियारले नेपालको युवा नीति र युथ भिजन २०२५ बनाउने कार्यदल सदस्यका रुपमा पनि काम गरेका छन् ।

‘महासंकट उन्मुख छन् युवा’

जातको सवाललाई अन्तर्राष्ट्रियकरण गर्न सामाजिक आन्दोलन ‘दलित लाइभ्स म्याटर’ को नेतृत्व गरिरहेका उनी ‘एसिया २१ योङ लिडर’ र वर्ल्ड इकोनोमिक फोरमका ‘योङ ग्लोबल लिडर २०२०’ हुन् । उनीसँग कान्तिपुरका दीपक सापकोटाले गरेको कुराकानी :

भर्खरैको निर्वाचनबाट केही नयाँ र युवा अनुहार चुनिएका छन् । यसले आशा पनि जगाएको छ । तपाईं कसरी विश्लेषण गर्नुहुन्छ ?

केही नयाँ अनुहार शासन सत्तामा प्रवेश गरेकामा व्यक्तिगत रूपमा म खुसी नै छु । यस निर्वाचनले परम्परागत राजनीतिक शक्तिलाई आफ्नो चेत र अभ्यासमा सुधार ल्याउनुपर्छ भन्ने सन्देश पनि दिएको छ । विश्व परिवेश, समग्र देशको परिस्थिति र युवाको अवस्था नियाल्दा हामी कुनै महासंकट उन्मुख छौं कि भन्ने लाग्छ ।

किन नि ?

गएको वर्ष म १० देश र नेपालका सातै प्रदेशका ४० भन्दा धेरै जिल्ला पुगें विभिन्न तह–तप्काका नागरिकसँग अन्तरक्रिया गरें । ती शृंखलाबद्ध छलफल र अन्तरक्रियाका आधारमा म यो निष्कर्षमा फुगेको हुँ । रुस र युत्रेन युद्धले निम्त्याएको विश्व ऊर्जा र खाद्यान्न संकटसँगै विश्व सम्बन्धमा अनेक द्वन्द्वका नयाँ प्रश्नहरू देखापरेका छन् ।

ताइवान र अन्य विभिन्न अर्थराजनीतिका कारण चीन र अमेरिकाबीचको सम्बन्ध, दक्षिण एसियामा श्रीलंकाको आर्थिक संकट, भारतको हिन्दुत्ववादी राजनीतिक हावा, हरेक हिसाबले पछि फर्किरहेको अफगानिस्तान र जलवायु परिवर्तनले आगामी मानव पुस्ताको जीवन अत्यन्तै जटिल र कष्टकर हुने देखिँदै छ । नेपालकै कुरा गर्ने हो भने प्रत्येक वर्ष पाँच लाखभन्दा धेरै वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता छ । देशमा भने खाँचो परेको अवस्थामा पैसा तिरेर पनि पासपोर्ट पाइँदैन । नयाँ व्यवसाय, नयाँ उद्यम दर्ता गर्नेदेखि गाडीको लाइसेन्स लिनेसम्म दलाल र बिचौलियाको भर पर्नुपर्ने अवस्था छ । यहाँ सिस्टमले काम गर्दैन ।

उसो भए यो संकटबाट पार पाउन युवाको केही भूमिका पनि त होला नि ?

विश्वको आधाभन्दा बढी जनसंख्या ३० वर्षभन्दा कम उमेरको छ । उनीहरूको भूमिका त रहने नै भयो । तर, भूमिका निर्वाह गर्न स्पेस पनि त दिनुपर्‍यो । समस्या र संकटको समाधान गर्ने सिर्जनात्मक स्पेस दिन नेतृत्वमा बसेकाहरू चाहँदैनन् । अर्थ राजनीतिको हरेक क्षेत्रमा दशकौंदेखि कब्जा गरेर आसन जमाएकाहरू नयाँ पुस्तालाई अर्थपूर्ण भूमिका दिन तयार नभए नयाँ चुनौतीको सम्बोधन गर्न नयाँ सम्भावनाहरूको खोजीका लागि म युवाको संगठित हस्तक्षेप आवश्यक देख्छु ।

युवालाई कसरी बुझ्ने ? कसरी परिभाषित गर्ने ?

युवालाई परिभाषित गर्दा मुख्यतः तीन पक्षलाई ध्यान दिनुपर्ने हुन्छ । एउटा वैज्ञानिक, दोस्रो आर्थिक–सामाजिक–राजनीतिक पक्ष र तेश्रो भावनात्मक पाटो । मेरो अनुभवमा नेपालमा भावनात्मक पाटोलाई धेरै जोड दिइएको पाउँछु । विश्वव्यापी रूपमा हेर्दा एउटा निश्चित उमेर समूह र संक्रमणको अवस्थालाई युवा भनेर परिभाषित गरिएको पाइन्छ । युवाको परिभाषा र अवधारणा पनि समयसँगै 'इभोल्भ' भइरहेको छ ।

युवाविज्ञ जेरेमी रोचे बाल्यावस्थाबाट वयस्क बन्ने समयलाई समाजशास्त्रीहरूले युवा भनेर परिभाषित गरेको बताउँछन् । संयुक्त राष्ट्र संघले १५ देखि २५ वर्ष उमेर समूहका व्यक्तिलाई युवा भन्छ भने नेपालको राष्ट्रिय युवा नीतिले १६ देखि ४० वर्षको उमेर समूहलाई युवा भनेर व्याख्या गरेको छ । र नेपालको परिभाषालाई वैज्ञानिक मान्न सकिँदैन ।

विश्वमा युवाको अवस्था कस्तो छ ?

संसारभरि नै युवा अवसरको खोजीमा छन् । तर, युवाको जनसंख्या र उपलब्ध अवसरबीच ठूलो खाडल देखिन्छ । १५ देखि २४ वर्षका ६२ करोडभन्दा धेरै युवाले शिक्षा, रोजगार वा तालिम पाएका छैनन् । तालिम लिएका साढे सात करोड युवा बेरोजगार छन् । अर्को दशकसम्म एक अर्ब युवा श्रम बजार प्रवेश गर्नेछन् ।

तीमध्ये ठूलो जनसंख्या अनियमित र अनौपचारिक रोजगारमा संलग्न हुनेछ । विश्वका ९० प्रतिशत युवा विकासोन्मुख देशमा छन् । वयस्कको तुलनामा युवाको बेरोजगार हुने सम्भावना तीन गुणा धेरै छ । सन् २०२१ मा १८१ देशमा गरिएको अध्ययनअनुसार युवा बेरोजगारी दर झन्डै २० प्रतिशत छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले सन् २०१६ मा विश्वव्यापी युवा बेरोजगारी दर १३.१ प्रतिशत हुने र सन् २०१७ सम्म निरन्तर रहने अनुमान गरेको छ ।

नेपालमा चाहिँ ?

नेपाली युवालाई राजनीतिक दलले आन्दोलनमा बारम्बार सहभागी गराए । युवा आफैं पनि विभिन्न आन्दोलनमा सहभागी भए । तर, राजनीतिक उपलब्धि प्राप्त भएपछि वा राजनीतिक दलहरूको स्वार्थ पूरा भएपछि युवालाई शासन सत्तामा कहिल्यै सहभागी गराइएन । अहिले १५ देखि २९ वर्षका नेपालीको जनसंख्या २७.८ प्रतिशत छ भने १५ वर्षभन्दा कम उमेर समूहका नेपालीको जनसङ्ख्या ३४.९ प्रतिशत छ ।

यसका आधारमा नेपाली युवाको जनसंख्या अबको १० वर्षभित्र कुल जनसंख्याको ३० प्रतिशत पुग्ने देखिन्छ । तर, १६ देखि ४० वर्ष उमेर समूह गणना गर्दा कुल जनसंख्याको ४०.३५ प्रतिशत हुने र अझै बढ्ने देखिन्छ । उद्यमशीलता प्रोत्साहन गर्ने अर्थपूर्ण प्रयास र लगानी नहुँदा करिब ८० लाख युवा वैदेशिक रोजगारमा संलग्न छन् ।

युवा हुनु उमेर मात्रै हो कि सोच पनि ?

हामीले अर्थ–सामाजिक परिप्रेक्ष्यमा युवा र उनीहरूको भूमिकालाई एब्स्ट्र्याक्ट होइन, वैज्ञानिक आधारमा बुझ्नुपर्छ । २०४६ सालदेखि हामीकहाँ उही अनुहारहरूले शासन गर्दै आएका छन् । यहाँ दिगो युवा विकास र समाज रूपान्तरणका लागि नेतृत्वमा पनि युवापुस्ताको सिर्जनात्मक भूमिका आवश्यक छ । सोचमात्रै भनेर उही अनुहारहरूले शासन गरिरहने विवशताबाट हामीले मुक्ति पाउनै पर्छ । युवामा लगानी गर्नुपर्छ, यो समय लगानी गर्ने हो । ५०–६० वर्षको मान्छेले आफ्नो काम गरिरहेको हुन्छ, ऊमाथि लगानी गर्नु पर्दैन ।

नेपालका युवा प्रोग्रेसिभ छन् कि पुरानै सोचका ?

नेपाली युवा भनेको को ? मधेसी, दलित, आदिवासी जनजाति, थारू, महिला, मुस्लिम, यौनिक तथा लैंगिक अल्पसंख्यक, अपांगता भएका व्यक्तिलगायत सीमान्तकृत समुदायका युवा हुन् कि प्रिभिलेज्ड समुदाय र वर्गका ? कर्णालीका युवा हुन् कि मधेसका ? यो गम्भीर प्रश्नको मन्थन सही र समयसापेक्ष नहुँदा आरक्षणजस्तो समावेशीकरणका लागि गरिएका सकारात्मक प्रयासको विरोधमा पनि युवा नै अघि देखिएका छन् । सामाजिक न्यायको पक्ष र विपक्षमा पनि युवा नै छन् ।

यस हिसाबले हेर्दा, नेपाली युवा प्रोग्रेसिभ होइनन् कि भन्ने भान त होला । तर, चुरो कुरो उनीहरूलाई प्रोग्रेसिभ नै मान्नुपर्छ । आज झन्डै ७० प्रतिशत घरबाट एक जना वैदेशिक रोजगारीमा छन्, त्यो पनि भारतलाई छाडेर । हुने खाने परिवारका युवाले समृद्ध पश्चिमा मुलुकमा आफ्नो सपना देख्छ भने मध्यम वर्गीय र न्यून मध्यम वर्गीर्य युवाले आफ्नो सपनालाई जापान, कोरिया, मलेसिया र खाडीमा सीमित पार्नुपर्ने अवस्था छ । सही नीति र नेतृत्व नहुन्जेलसम्म यो अवस्थामा खास परिवर्तन आउने म देख्दिनँ ।

नेपालका युवा धेरै विदेशमै छन् । विदेश गइरहेकै छन् । हाम्रो मुक्तिको बाटो यही हो त ?

नेपाली युवाहरू दाम, माम र कामका लागि विदेश जानु नौलो विषय होइन । दुई तिन सय वर्षदेखि नै चीन, भारत, भुटानसम्म नेपालीहरू समूहगत रूपमा रोजगारीमा गएको देखिन्छ । यद्यपि पहिलो विश्वयुद्धदेखि यो क्रम अझै संस्थागत र संगठित हुन पुग्यो, जुन आजको मितिसम्म अझै व्यापक भएको छ । नेपाल आफैंमा समृद्ध हुनुको साटो कहिले सस्तो सेनाका रूपमा, कहिले सस्तो श्रमिकका रूपमा अन्य देशको समृद्धिको सहयोगी मात्रै हुनुपर्ने बाध्यता आफैंमा विडम्बनापूर्ण छ ।

आज झन्डै सत्तरी प्रतिशत घरबाट एकजना वैदेशिक रोजगारीमा छन्, त्यो पनि भारतलाई छोडेर । हुनेखाने परिवारका युवाले समृद्ध पश्चिमा मुलुकमा आफ्नो सपना देख्छ भने मध्यमवर्गीय र न्यूनमध्यमवर्गीय युवाले आफ्नो सपनालाई जापान, कोरिया, मलेसिया र खाडीमा सीमित पार्नुपर्ने अवस्था छ । मेरो विचारमा प्रत्येक युवाको मुक्तिको बाटो भनेको आफ्नो पूर्ण क्षमताको समुचित विकास र प्रयोग गर्दै आफू, आफ्नो परिवार र समाजको समृद्धि गर्नु हो । दुःखका साथ भन्नुपर्छ डीभी, पासपोर्टको लाइनले त्यो दिन अझै क्षितिजमै देखिन्छ । सही नीति र नेतृत्व नहुन्जेलसम्म यो अवस्थामा खास परिवर्तन आउने म देख्दिनँ ।

तपाईं वर्ल्ड इकोनोमिक्स फोरमको योङ ग्लाबल लिडर पनि हुनुभयो । तपाईंको अनुभव कस्तो रह्यो ?

वास्तवमा नेपालजस्तो देशबाट विश्व नेताहरूको मञ्चमा दलित समुदाय छनोट हुन पाउनु ठूलो अवसर नै हो ।नेपालबाट हाल गगन थापासहित पाँच जनामात्र त्यसको सदस्य छौं । मेरो ब्याचमा फिनल्यान्डकी प्रधानमन्त्री साना मरिनलगायत विश्व नेताहरू पनि थिए । यस मञ्चमा सहभागी भएर संसारमा जे खालका नयाँ–नयाँ चुनौतीहरू आइरहेका छन्, तिनलाई सामना गर्न कस्तो नेतृत्व हनुपर्छ भनेर हामीले छलफल–बहस गरिरहेका छौं । मेरा लागि सिकाइ, सम्पर्कको विस्तारको सन्दर्भमा अभुतपूर्व अनुभव रह्यो । ती सिकाइहरू नेपालका सीमान्तकृत युवाका विचमा साट्ने र बाँड्ने अभियानमा छु ।

नेपालका दलित युवा र दलितबाहेक अरू युवालाई हेर्ने तपाईंको दृष्टिकोण के हो ?

सुरुमा युवा आन्दोलनमा लाग्दा युवाको समस्या समाधान भए सबैको समस्या समाधान हुन्छ भन्ने सोच्थें । पछि बुझ्दै जाँदा समग्र युवा भनेर नहुने रहेछ । कर्णालीका युवालाई के चाहिएको छ, यहाँ मैले भनेर हुँदैन वा दलित युवालाई के चाहिन्छ भन्न दलित नै हुनुपर्छ भन्ने कुरा अनुभूत भयो । म आफैंले विभिन्न विभेद भोगेर आएको छु । काठमाडौंमा डेरामा बस्दा भएका विभेद, स्कुल पढ्दा सरबाट भएका विभेद अहिले पनि मलाई गहिरोसँग अनुभूत हुन्छ । त्यो कारणले युवा र दलित युवामा धेरै फरक छ । राज्यले युवाका लागि जे गर्छ, त्यति मात्रै गरेर पुग्दैन । को युवा ? कर्णालीको युवा हो भने कसरी काम गर्ने ? दलित युवा हो भने कसरी काम गर्ने ? पिछडिएको हो भने कसरी गर्ने ? त्यो फरक–फरक हुनुपर्छ । त्यो नेपालमा भएको छैन ।

यहाँको राजनीतिक नेतृत्वले युवालाई एउटा भोटरको रूपमा मात्रै हेरेको हो ?

नेपालमा कुनै एउटा आन्दोलनको नेतृत्व गरेका आएका मान्छेहरू नेतृत्वमा छन् । उनीहरूलाई कसरी आन्दोलन गर्ने र कसरी व्यवस्था परिवर्तन गर्ने भन्ने कुरा थाहा थियो । त्यो भनेको मिसन थियो । पञ्चायतविरुद्ध प्रजातन्त्र ल्याउने । राजतन्त्रविरुद्ध गणतन्त्र ल्याउने । उनीहरूलाई त्यो मिसनमा लाग्नु थियो । उनीहरूले व्यवस्था परिवर्तन गरे, तर राज्य संयन्त्र कसरी चलाउने भन्ने कुराचाहिँ उनीहरूलाई थाहा थिएन । तर, राज्य संयन्त्रमा उनीहरू पुगे, राज्य भनेको कलरफुल हुन्छ । धेरै हाम्रा नेताहरूको लाइफ ब्ल्याक एन्ड ह्वाइट छ । दुःख सहेका थिए, चप्पल लगाएर हिँडेका थिए । कलरफुल सत्तामा पुगेपछि आफूले खोज्न आएको कुरा उनीहरुले बिर्सिए । त्यसपछि उनीहरुले जसरी हुन्छ आफू सत्तामा रहिरहने वातावरण सिर्जना गर्न खोजिरहे । उनीहरू सोच्छन्, ‘म नेतृत्वमा रहिनँ भने सबै डुब्छ, मेरो जिन्दगी डुब्छ ।’ त्यसैले नेतृत्व छोड्न चाहँदैनन् । जस्तो बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोन्सनलाई त्यहाँको एउटा न्युजपेपरले उनले पाइरहेको तलबभन्दा डबल अफर गरेको थियो । नेतृत्वलाई म यहाँ नभएपछि कहाँ हुन्छु त ? भन्ने हुन्छ । हाम्रो नेतृत्वले छोड्ने कुरामा विश्वास गर्दैनन् । र, तपाईंले भनेजस्तै युवालाई नेताले भोटरका रूपमा मात्रै हेरे ।

नेपालमा सरकार, विकास साझेदार संस्था र विभिन्न नागरिक समाजले युवाको क्षेत्रमा काम गरिरहेका छन् । तिनको प्रभाव कस्तो छ ?

हाम्रोमा युवाका क्षेत्रमा गतिलो अध्ययन, अनुसन्धान नै भएको छैन । त्यसैले प्राथमिकता निर्धारण नगरी गरिएका कामको बृहत् सकारात्मक प्रभाव देखिएको छैन । हिजोआज ‘इभिडेन्स बेस्ड पोलिसी मेकिङ’ भन्छन्, तर युवाको क्षेत्रमा त्यस्तो भएको छनक पाइँदैन । राजनीतिक दल, सरकार, नागरिक समाज र दातृ निकायले हचुवाका भरमा लगानी गरिरहेका छन् । त्यसले दिगो परिवर्तन ल्याउँदैन ।

प्रकाशित : माघ १४, २०७९ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?