१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०
अन्तर्वार्ता

'पुरानै अनुहारको नेतृत्वमा जान्नौं, बलियो प्रतिपक्षको खाँचो छ'

एउटा दुईवटा मान्छेको कुरा होइन, पुरै टिम कस्तो हुन्छ भन्ने कुरापछि मात्रै हामीले रुचि राख्न सकौंला । तर हामी अहिले भएकै कुरामा थपिएर नयाँ भाग बन्न हामीलाई रुचि छैन ।

काठमाडौँ — देशभरका मुख्य सहरी क्षेत्र र सहरी प्रभाव रहेका क्षेत्रहरु राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ आधा दर्जन बढी स्थानमा अग्रता देखाएको छ भने समानुपातिक मतमा पनि मुख्य तीन ठूला दलहरुलाई चुनौती दिईरहेको देखिन्छ ।

'पुरानै अनुहारको नेतृत्वमा जान्नौं, बलियो प्रतिपक्षको खाँचो छ'

छोटो अवधिमा पार्टी निर्माण गरिवरी चुनावमा होमिएको स्वतन्त्र पार्टी अबको सत्ता समिकरणमा निर्णायक भूमिकामा रहने देखिन्छ । यसै सर्न्दभमा पार्टीका सभापति रवी लामिछानेसँग जनकराज सापकोटाले गरेको कुराकानी :

जुन हिसाबले तपाईंहरुले समानुपातिक र प्रत्यक्ष दुवैमा राम्रो मत पाईरहनुभएको छ । यसको पछाडी के कारण देख्नुहुन्छ ?

नागरिकप्रति जवाफदेही नहुने, नियुक्ति लगायतका कुरामा दलगत मनोमानी गर्ने, आम नागरिकका सवाल नसुन्ने जस्ता समस्याले जन्माएको वितृष्णाको मत हामीले पाएका हौं । यो वितृष्णासँगसँगै जनतामा एउटा आशा पलाईरहेको थियो । त्यो आशा कोबाट पुरा होला त भनेर जनताले हेरिरहेका बेला हामी आयौं । मैले नागरिकसँग जोडिएर काम गरिरहेको, असाध्यै भुईं तहका जनताको दैनिकीसँगै समस्या परिरहेका विषय र जनजीविकाकै कुरा हेडलाईन बनाईरहेको पृष्ठभूमि पनि भयो । एकातिर अपेक्षा र आशा अर्कोतिर चरम निराशा । हामीले मत पाउनुमा यी दुईमध्ये कुन घटी वा कुन बढी कुन हो भन्न सक्दिन । तर यो दुवै हो ।

नेपालका धेरैजसो दलहरु कि त आन्दोलनबाट उदाएको देखिन्छ । कि त विभिन्न मुद्दाहरुबाट । तर तपाईंहरु मुख्य दलहरुप्रतिको वितृष्णाबाट उदाउनुभएको छ । तपाईंहरुका निम्ती तत्कालको चुनौती अब के हो ?

हाम्रो लागि अबको चुनौती भनेको संगठन हो । हामीले चुस्त संगठन बनाउन पाईसकेका छैनौं । हुन त हामी क्याडरबेस्ड पार्टी होईनौं । हाम्रोमा भातृ संगठन छैन, कार्यकर्ता हुँदैनन् । हाम्रोमा अधिकारसम्पन्न सदस्यहरु हुन्छन् । उनीहरुले 'प्राईमरी ईलेक्सन'मा भोट हाल्न पाउँछन् । संसदमा उपस्थितीको कुरा गर्दा विभिन्न पेशा र व्यवसायबाट हामी आएको मान्छे भएकाले संसदीय अभ्यासमा हामीलाई अलिकति केही समय अलमल होला कि भन्ने लाग्छ । तर त्यससम्बन्धि पनि हामीले अलिकति होमवर्क गरिसकेका छौं । संसद् कसरी चल्छ, संसद्मा कुन ढंगले प्रस्तावहरु लगिन्छ, संसदीय अभ्यासको केही तालिममा हामी संग्लन छौं । हामीले यसबारे केही बुझेपनि व्यवहारतः कसरी प्रस्तुत हुने भन्ने एउटा चुनौती होला कि ? अरु भनेको नागरिकको अपेक्षा नै धेरै छैन । त्यसैले चुनौती नै छैन । किनकी नागरिकले मागेका कुरा धेरै छैनन् । आधारभूत आवश्यकताका कुरा मात्रै छन् । बाटो बनाईदेउ भन्छन्, पानी ल्याईदेउ, विजुली चाहियो भन्ने, विद्यालय छैन, उपचार पाईएन भन्ने यस्तै न हुन् ।

धेरैजसो नागरिकका गुनासा सर्भिस डेलिभरीमा देखिन्छ । तपाईंहरुले यसलाई पनि त महत्वपूर्ण विषय नै ठान्नुभएको होला नि ?

सबैभन्दा महत्वपूर्ण कुरा नै यही हो । हाम्रो होमवर्क पनि यसैमा धेरै छ । दिगो शासन भएन । हामीलाई एउटा कुरामा के सजिलो हुन्छ भने हामीसँग कार्यकर्ता छैनन्, हामीसँग भातृ संगठन छैनन् । अहिलेको वेथितिको सबैभन्दा ठूलो कुरा, विभिन्न पदहरुमा नेताहरुको व्यवस्थापन, कार्यकर्ताको व्यवस्थापन हो । यो दुवै चिन्ता हामीलाई छैन । अनि हामीसँग परिवारवाद पनि छैन । अहिले जे चिजले निराशा छाएको छ, त्यो सबै कुरालाई निर्मूल गर्ने तरिकाले पार्टी गठन गरेको हुनाले सर्भिस डेलिभरीको मुद्दामा, सुशासनको मुद्दामा र विधिको शासन स्थापित गर्ने कुरामा हामीले जनतासँग बाहेक कसैसँग जवाहदेही हुनुपर्दैन । कसैसँग पनि हामी झुक्नु पर्दैन । कोहीप्रति कृतज्ञ हुनुपर्दैन । राजनीतिमा कहिलेकाँही देशीविदेशी तत्वहरु भन्ने कुरा पनि आउँछ नि, त्यस्तो केही कसैको आर्शिवाद छैन । कोही कसैले उठाएको र बोकेको नभएर, जनताबाटै उठाईएको भएर हामी जनतासँग मात्रै जवाफदेही भए पुग्छ । त्यसैले हामी सर्भिस डेलिभरीमा बढी केन्द्रित हुन्छौं । त्यसमा बढी जोड लगाउँछौं ।

सर्भिस डेलिभरी गर्न र जनतासँग जोडिन पनि तपाईंहरुलाई संगठन त चाहिन्छ नै । अहिले तपाईंहरुको संगठनको अवस्था के छ ?

अहिले ६४ वटा जिल्लामा हाम्रो जिल्ला समितिहरु बनेका छन् । केही वडा कमिटीहरु पनि बनेका छन् । मिहिनेत त हामीले एकदमै धेरै गरेका छौं । तर ती समितिहरुले पूर्णता पाएका छैनन् । पार्टी महाधिवेशनमा भएको छैन । भर्खरै पार्टी गठन भएको हुनाले समितिहरु तदर्थ रुपमा छन् । हामीले फुलसेटमा पार्टी बनाईसकेका छैनौं । केन्द्रीय समिति चुस्त बनाएका छौं । विधानले १ सय ५१ भनेपनि हामीले २४ जनाको केन्द्रीय समिति बनाएका छौं । सबै चिजहरु सांगठनिक रुपमा छन् । पार्टीलाई हामीले चुस्ता बनाएका छौं । अरु पार्टीमा तपाईंहरुले हेर्नुभयो भने नेता नै नेता देख्छौं । तर हामीले भोटर र लिडरको बीचमा कोही पनि राखेका छैनौं । यो बीचमा शुभचिन्तकहरुमात्रै छन् । त्यसकारण हामीलाई त्यति धेरै पार्टी व्यवस्थापन, कार्यकर्ता व्यवस्थापन, नेता व्यवस्थापनमा चुनौती छैन । अहिले 'डिजिटल डेमोक्रेसी'को अभ्यास पनि भएकाले मिल्ने कुराहरु डिजिटल्ली गर्छौं । त्यति धेरै अप्ठ्यारो मैले देखेको छैन । विधानका हिसाबले पनि हामी चुस्त छौं । राजनीतिक दलहरुमा देखिएको बेथिति र त्यसले निम्त्याएको वितृष्णालाई मध्यनजर राखेर नै हामीले पार्टी गठन गरेका छौं । त्यसकारण हामीलाई त्यति समस्या नपर्ला । हामीलाई रिझाउनुपर्ने, मनाउनुपर्ने कोही छैन । अरुले सय प्रतिशत ईफोर्ट लगाउँदा हामीले १० प्रतिशत ईफोर्ट लगाए पुग्छ ।

प्राप्त मत परिणामहरु हेर्दा तपाईंहरु सरकार निर्माणमै निर्णायक बन्न सक्ने देखिन्छ । त्यस्तो अवस्थामा तपाईंहरु सरकारभित्रै जानुहुन्छ वा बाहिरै बसेर रखवारीको भूमिकामा बस्नुहुन्छ ?

यो बिषयमा अहिले हामीले एकदमै सामान्य छलफल मात्रै गर्न सुरु गरेका छौं । मिहिन ढंगले त्यसमा अध्ययन गर्न पाएको छैन । किनकी सबै साथीहरु चुनावमा हुनुहुन्छ । तर हामी कुन ढंगको नेतृत्व हुन्छ, कस्तो टिममा सरकार बन्दाखेरी त्यसका कस्ता मान्छेहरु सहभागी हुन्छन, कस्तो क्याबिनेट बन्छ भन्ने कुराले महत्व राख्छ । प्रतिपक्षको अभाव नेपालमा छ । नेपालमा सबै दलहरु कुनै न कुनै किसिमले एक अर्कामा मिलेका छन् । हिजो मिलेका दलहरु र आज चुनावमा मिलेका दलहरु छन् । सबै दल सबैसँग मिल्ने, विचार नमिले पनि मिल्ने भएकाले नेपालमा प्रतिपक्ष छैन । लोकतन्त्रमा प्रतिपक्ष नहुनु भनेको सबैभन्दा खतराको बिषय हो । हाम्रो ध्यान यतिबेला अलिकति प्रतिपक्षमा छ । तर त्यसो भन्दै गर्दा एउटा जिम्मेवारी लिएर भोलि सरकारमा सहभागी भएर नागरिकलाई डेलिभरी दिने कुरामा पछाडि हटनु पनि सार्न्दभिक नहोला । यी दुई कुराहरुमा हामी अध्ययन गर्छौं । भोली पर्सीबाट हामी कुन साईजमा रहन्छौं भन्ने पनि थाहा हुन्छ । त्यसले गर्दा हामी यी दुई कुरामा समन्वय गर्छौं ।

तपाईंले बारम्बार एउटा कुरामा संकेत गर्दै भन्नुभएको छ, यिनै पुराना अनुहारहरुलाई प्रधानमन्त्री बनाउन जनताबाट पाएको मतको दुरुपयोग गर्दैनौं । यो कुरालाई अलिक विस्तृतमा बुझाईदिनुस न ?

हामी 'ईन्ट्रेस्टेड' छैनौं । किनभने यही चिजमा अगाडि बढेर त्यसको एउटा अंग हामी बन्न चाहदैनौं । जुन वेथिति छ, त्यसको अर्को भाग बन्न चाहदैनौं । तर त्यहाँ भोलि प्रतिबद्धताहरु होलान्, नागरिकसँग उत्तरदायी हुने कुनै नयाँ टिम बन्न सक्ला वा त्यस्तो केही भएको खण्डमा वा हामीले नै नेतृत्व गर्ने कुराहरु आउन सक्ला । यस्ता कुराहरुमा छलफल गर्न सकिएला तर जुन चिजका लागि जनता निराश छ, त्यो निराशाको बीचमा हामी सहभागी हुने कुरामा म भन्छु, 'ईट्स अ बिग नो ।'

भनेपछि पुराना दलबाट नयाँ अनुहारहरु प्रधानमन्त्रीको रुपमा सारियो भने तपाईंहरुले विचार गर्न सक्ने कुरा रहृयो ?

मान्छेमात्र होईन, पुरै टिमको कुरा आउँछ । मान्छे परिवर्तन हुनेवित्तिकै प्रवृत्ति चेन्ज हुँदैन । कुनै दलको प्रधानमन्त्री चेन्ज भयो तर बाँकी त्यही रहृयो भने हुँदैन । हामीले एउटा कमिटमेन्ट गर्न सक्नुपर्यो, हामीले भोलीको दिनमा यो टिम भएर जानसक्ने । गठबन्धन त भोली चुनाव लड्नलाई गर्ने होईन कि, मेघा प्रोजेक्टहरुमा गर्ने, केका लागि हामी काम गर्ने भन्ने विषयमा साझा सहमति भएर 'डाईनामिक लिडरसिप'को टिम बन्यो भने 'हृवाई नट' ? तर यही चिजमा, यिनै पुराना अनुहारहरुको नेतृत्वको सरकारमा जाने रुचि छैन । एउटा दुईवटा मान्छेको कुरा होईन, पुरै टिम कस्तो हुन्छ भन्ने कुरापछि मात्रै हामीले रुचि राख्न सकौंला । तर हामी अहिले भएकै कुरामा थपिएर नयाँ भाग बन्न हामीलाई रुचि छैन ।

प्रकाशित : मंसिर ६, २०७९ २१:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?