‘जनतालाई मेरो आवश्यकता खड्किएको छ’

कान्तिपुर संवाददाता

दाङ — विद्यार्थीकालदेखि राजनीतिमा लागेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी पाँचौँपटक चुनावी मैदानमा छन् । २०३० सालदेखि नै मुलुकमा प्रजातन्त्र प्राप्तीको आन्दोलनमा सहभागी भएका गिरी निरन्तर राजनीतिमा सक्रिय छन् ।

‘जनतालाई मेरो आवश्यकता खड्किएको छ’

२०५१ देखि संसदीय निर्वाचनमा होमिन थालेका गिरी २०७० मा पहिलोपटक सांसद् जितेर २०७३ मा सिँचाइमन्त्री भए । अहिले उनी सत्ता गठबन्धनका तर्फबाट दाङ क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । गिरीसँग कान्तिपुरका दुर्गालाल केसीले गरेको अन्तर्वार्ता :

निर्वाचनका क्रममा जनतामाझ जाँदा के-कस्ता अपेक्षा र गुनासाहरू आउने गरेका छन् ?

यसअघि हजुरले चुनाव नजितेका कारण हामीले दु:ख पायौं । विकासका धेरै कामहरू हुन पाएनन् । यसपटक हजुरले जित्नुपर्छ भन्छन् । तपाईंजस्तो काम गर्ने मान्छे हामीलाई चाहिएको छ भन्छन् । गाउँमा धेरै विकासका कामहरू भएका छैनन् । जनताले धेरै विकासका कामहरू होऊन् भन्ने चाहेका छन् । सबैले घर अगाडि कालोपत्रे बाटो हुनुपर्छ भन्छन् । बाटाहरू धुलाम्मे भए भन्ने गुनासो बढी छ । जनताका धेरै महत्त्वाकांक्षी अपेक्षाहरू छैनन् । सडक, खानेपानी, सिँचाइजस्ता विकासका संरचनाहरू बन्नुपर्छ भन्ने छ । बितेको ५ वर्ष कुनै पनि महत्त्वपूर्ण कामहरू हुन सकेका रहेनछन् । यसले गर्दा पनि मेरो आवश्यकता झन् धेरै खड्किएको मैले पाएँ ।

हजुर पहिलोपटक सांसद् भएर सिँचाइमन्त्री पनि हुनुभयो । मन्त्री हुँदा के कस्ता कामहरू गर्नुभयो ?

खासमा हामी संविधान बनाउन गएको हो तैपनि दाङका लागि धेरै महत्त्वपूर्ण कामहरू गरेको छु । सिँचाइमन्त्री हुँदा बृहत् दाङ उपत्यका सिँचाइ आयोजना स्थापना गरी पक्की नहर, बाँध, तटबन्ध, डिपबोरिङ, जलाशय, सिँचाइ, खानेपानीजस्ता धेरै संरचना निर्माण गरेको छु । यो दाङका लागि ठूलो उपलब्धि हो । लिफ्ट सिँचाइका कामहरू गरें । म ९ महिनामात्र मन्त्री भएको हुँ तैपनि किसानको जीवनमा सुधार आउनेखालका कामहरू गरें । धेरै पुलहरू बनाएँ । तुलसीपुर-पुरन्धारा-बोटेचैर सडक कालोपत्रे गराएँ । ग्रामीण बस्तीमा विद्युत् विस्तार गरें । शिक्षा, स्वास्थ्यमा पनि धेरै सुधारका कामहरू गरें । राप्ती बबई क्याम्पसको स्तरवृद्धि गर्न भूमिका खेलें । संसदीय बाटोका रुपमा मैले सुरु गरेको सुकौरा-पातुखोला-चरकमटिया सडक मपछि आएको सरकारले अलपत्र पारिदियो । क्रमागत रुपमा बजेट थप हुनुपर्नेमा भएन । सडकको बिजोग भयो । मैले गरेका तटबन्धबाट अहिले ढुंगाहरू चोरी हुन थालेका छन् । भएका विकासका कामहरू पनि संरक्षण हुन सकेका छैनन् । बाँकी योजनाहरूलाई पूर्णता दिन फेरि उम्मेदवार भएको छु । बितेको पाँच वर्ष दाङ धेरै पछि पर्‍यो । विकासका ठूला योजना आउन सकेनन् । जनताले मेरो अभाव महसुस गरेका छन् ।

यसपटक तपाईंले उठाएका एजेन्डाहरू के के छन् ?

मैले तुलसीपुर र यसदेखि पश्चिमको विकासका लागि शिक्षा, स्वास्थ्य, सिँचाइ, सडक, विद्युत् र रोजगारीलाई मुख्य एजेन्डा बनाएको छु । कतिपय स्थानमा अझै पनि सिँचाइको समस्या कायमै छ । यसलाई पूरा गर्नु छ । दंगाली उर्वर भूमिमा कृषिको सम्भावना भएकाले मैले बृहत्तर दाङ सिँचाइ आयोजनाको सुरुवात गरेको हुँ । यसलाई निरन्तरता दिने योजना बनाएको छु । टरिगाउँ विमानस्थलको स्तरोन्नति तथा नियमित सञ्चालन गर्ने योजना छ । जसरी पनि तुलसीपुरको विमानस्थललाई ‘ए’ क्लासको डोमेस्टिक विमानस्थल बनाउन सकिन्छ । म त्यसका लागि काम गर्छु । मैले त्यसको भिजन बनाएको छु । नेपालगञ्जमा हुस्सु लाग्दा यो नै वैकल्पिक विमानस्थल हुन्छ ।

तुलसीपुरलाई व्यवस्थित सहरका रुपमा विकास गर्ने मेरो योजना छ । यो नाम मात्रको उपमहानगर छ । उपमहानगरका रुपमा हुनुपर्ने संरचनाहरू छैनन् । यसका लागि व्यवस्थित योजना बनाएर काम गर्नुपर्छ । सहर कसरी व्यवस्थित गर्ने भन्ने योजना छ । विद्यालय, स्वास्थ्य संस्था, अटोभिलेज, औद्योगिक क्षेत्र, पार्किङलगायत सबैको व्यवस्थित योजना बनाएर काम गर्छु । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा विशेषज्ञसहितको गुणस्तरीय स्वास्थ्य सेवा, सुशासन अभिवृद्धिलगायतका कामहरू गर्ने योजना बनाएको छु ।

दाङ पर्यटकीय रुपमा पछि परेको छ । दाङमा रतननाथ मन्दिर छ‚ जसको सम्बन्ध भारतको तुलसीपुरसँग छ । यसलाई कसरी राष्ट्रिय महत्त्वको बनाउने भन्ने योजना छ । यतिमात्रै होइन‚ मैले मन्त्री हुने अवसर पाएँ भने स्वर्गद्वारी, हलेसी, रिडी गण्डकी, त्रिपुरा सुन्दरीजस्ता धार्मिक, पर्यटकीय महत्त्व भएका तर उचित महत्त्व नपाएका ठाउाहरूलाई धार्मिक, पर्यटकीय आकर्षणको केन्द्र बनाउने सोच छ । भारतबाट वार्षिक ५ करोड धार्मिक पर्यटक आउने अवस्था बनाउने योजना छ । म नारामात्र दिने होइन, काम गर्ने खालका योजना मात्र बनाएर अघि बढेको छु । म काम गरेरै देखाउँछु ।

तपाईं पाँचौँपटक चुनावी मैदानमा हुनुहुन्छ । हालसम्म एकपटक मात्रै निर्वाचित हुनुभएको छ । यसपटक जित्ने आधार के छन् ?

पहिलो कुरा हाम्रो गठबन्धन बलियो छ । गठबन्धनको साथ नै पहिलो आधार हो । अर्को कुरा म इमानदारीका साथ निरन्तर राजनीतिमा छु । म लोकतन्त्रका लागि लडें । मैले कहिलै बेइमान गरिनँ । बाल्यकालदेखि नै प्रजातन्त्रका लागि लडें । सांसद् र सिँचाइमन्त्री हुँदा सिँचाइ आयोजनामा धेरै काम गरेको छु । सधैँ भ्रष्टाचारको विरोध गरें, लोभलालचमा कहिलै लागिनँ । घर परिवारको आर्थिक अवस्थाले राम्रै जीवन बिताउने अवस्था हुँदा पनि मैले सामान्य जीवनशैली बिताएँ । मैले धेरै महत्त्वकांक्षा पनि राखेको छैन । म तेस्रोपटक पार्टीको केन्द्रीय सदस्य भएको छु । मसँगैका साथीहरू कहाँ पुगिसके तैपनि मैले जे छ त्यसैमा चित्त बुझाएर बसेको छु । म नैतिकताको राजनीति गर्ने मान्छे हुँ । संविधान बनाउन संविधानसभा सदस्य निर्वाचित हुँदा पनि विकासका धेरै कामहरू गरें । सिँचाइ, पुल, सडकलगायत धेरै विकासका संरचनाहरू बनाउन भूमिका खेलें । राप्ती नदीको तटबन्ध, पातुखोलाको तटबन्ध, कटकुइया, पातुखोला, बैबाङ, पञ्चकुले ढोलपुर, मैयाखोला, थपगाउँ एकली, खिलतपुरलगायतका पुलहरू बनाएँ । म निर्वाचित नहुँदा जनताले धेरै घाटा बेहोर्नुपरेको छ । विकासका कामहरूले गति लिन सकेका छैनन् । मैले जनताको भावना बुझेर काम गरिरहेको छु । जनता मसँग सन्तुष्ट छन् । सबैले सजिलै निर्वाचन जित्नुहुन्छ भन्छन् । मलाई जनताले साथ दिन्छन् भन्ने विश्वास छ ।

यस क्षेत्रमा स्थानीय तह निर्वाचनको नतिजा हेर्दा गठबन्धनको भोट एकठाउँमा आउँदैन भन्ने देखिन्छ । अहिले गठबन्धन दलहरूले इमानदारीका साथ भोट हाल्छन् भनेर कसरी विश्वास गर्ने ?

स्थानीय तह निर्वाचानमा केही समस्याहरू भए होलान् तर धेरै मत बदर भएर पनि समस्या भएको हो । मत बदर हुनेमा गठबन्धनकै बढी छ । अहिले बदर हुने संख्या घट्छ । यसले पनि हामीलाई सहज हुन्छ । अहिले पनि केही व्यक्तिगत गुनासा, समस्याहरू होलान् तर गठबन्धन एक अर्काप्रति इमानदार भएर लागेको छ । हामीले लामो समय गठबन्धन गरिसकेपछि आपसी विश्वास पनि बढ्दै गएको छ । हाम्रो भावनात्मक एकता बढेको छ । म गुटबन्दीमा लाग्ने मान्छे पनि होइन । म सबैलाई मिलाएर अघि बढ्न सक्छु । सबैको भावनाको कदर गर्दै म धेरै मत प्राप्त गर्न सक्छु ।

तपाईंको क्षेत्रमा कांग्रेसभित्रको गुटबन्दीले पटकपटक निर्वाचन जित्न समस्या भयो भन्ने विश्लेषण छ । तपाईं यसलाई कसरी व्यवस्थापन गर्न सक्नुहुन्छ ?

कांग्रेसभित्र गुटबन्दी भयो भन्ने अनावश्यक हल्ला छ । बाहिर चर्चा भएजस्तो हाम्रो गुटबन्दी छैन । पार्टीको निर्वाचनका क्रममा केही सामान्य फरक मतहरू भै नै हाल्छन् । त्यत्तिकै दीपक गिरी र गेहेन्द्र गिरीको विवाद छ, दुई भाइ मिल्दैनन् भनेर हल्ला गरिदिन्छन् । हाम्रो आन्तरिक रुपमा कुनै पनि समस्या छैन । मैले मन्त्री हुँदा गरेको कामका कारण २०७४ को निर्वाचनमा मैले जित्छु भन्ने विश्वास थियो तर त्यहीबेला एमाले र माओवादीको गठबन्धनका कारण मैले हार्नुपरेको हो । उनीहरू एउटै पार्टी भएर चुनाव लडेपछि मात्रै समस्या भएको हो । हाम्रो गुटबन्दीका कारण होइन । अहिले पनि हाम्रो पार्टीभित्र कुनै विवाद या समस्या छैन । हामी एकजुट छौं ।

प्रकाशित : कार्तिक ३०, २०७९ १५:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?