अन्तर्वार्ता

'१८ महिनामा गठबन्धनले देखाएको रबैयाले जनता आजित भइसके'

भिरालो भूगोल भएको जिल्लामा सडक नभई कुनै उपाय नै छैन । त्यसैले सडक पूर्वाधारको राम्रो विकास गर्न आवश्यक छ । त्यो नै मेरो पहिलो प्राथमिकता हो ।
कान्तिपुर संवाददाता

काठमाडौँ — आसन्न निर्वाचनका लागि उम्मेदवारहरू चुनावी प्रचारप्रसारमा छन् । देशभर उम्मेदवारहरू राष्ट्रिय राजनीति र विकासे एजेन्डा लिएर मतदाता रिझाउन घरदैलो गरिरहेका छन् । मूलतः देशभर नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन र नेकपा एमाले नेतृत्वको अर्को गठबन्धनकै बीचमा प्रतिस्पर्धा छ । 

'१८ महिनामा गठबन्धनले देखाएको रबैयाले जनता आजित भइसके'

प्रदेश-१ को हिमाली जिल्ला संखुवासभामा १० राजनीतिक दलसहित १२ उम्मेदवार छन् । तर, कांग्रेस र एमालेकै उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा छ । यहाँ एमालेका स्थायी कमिटी सदस्य राजेन्द्रप्रसाद गौतम उम्मेदवार छन् भने सत्ता गठबन्धनबाट कांग्रेसले जिल्ला सभापति दीपक खड्कालाई उठाएको छ । खड्का र गौतम तेस्रो पटक आमनेसामने भएका हुन् ।

पुरानै उम्मेदवार, पुरानै एजेन्डा । मतदातामाझ उति धेरै उत्साह भने छैन । तैपनि उम्मेदवारहरू सडक, जलविद्युत् र पर्यटन विकासलाई चुनावी मुद्दा बनाएर मतदातामाझ पुगिरहेका छन् । यसै सन्दर्भमा यहाँबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार एमाले स्थायी कमिटी सदस्य राजेन्द्रप्रसाद गौतमसँग ई-कान्तिपुरका प्रकाश धौलाकोटीले गरेको संक्षिप्त कुराकानी :

तपाईं यसअघि यहीबाट निर्वाचित सांसद पनि हो । फेरि भोट माग्न जाँदा कस्तो प्रतिक्रिया पाउनुभएको छ ?

अहिले हामी चुनाव प्रचारप्रसारको अभियानमै छौँ । जनताको बीचमा, गाउँ टोल र घरदैलोसम्म जाने काम भइरहेको छ । मैले एउटा उम्मेदवारको रुपमा अहिले राम्रो प्रतिक्रिया पाएको छु किनभने मैले ०७४ देखि पाँच वर्षसम्म जनप्रतिनिधिको रुपमा काम गरिरहँदा विकास निर्माणको क्षेत्रमा के-के काम भयो भनेर यहाँका जनताले छर्लङ्गसँग बुझेका छन्, अनुभूति गरेका छन् । सायद त्यसैकारण पनि जनताले मलाई सहजरुपमा स्वीकार गरेको अवस्था छ । जिल्लाको वस्तुस्थिति समेटेर उम्मेदवारहरूको तर्फबाट पार्टीको नाममा एउटा प्रतिबद्धतापत्र जनताको माझमा पुर्‍याएका छौँ । हाम्रो मूल प्रतिबद्धता भनेको समृद्ध संखुवासभा बनाउने नै हो ।

बितेको पाँच वर्षमा तपाईंले के-के काम गर्नुभयो र ?

जिल्लाको जनप्रतिनिधिको रुपमा हामीले यो पाँच वर्षमा धेरै कामहरू गरेका छौँ । अहिले संखुवासभाको मेरुदण्डको रुपमा रहेको जोगबनी-किमाथाङ्का सडक निर्माण भइरहेको छ । यसको खाँदबारी-किमाथाङका खण्डमा ट्य्राक ओपनकै काम भएको थिएन, असाध्यै चट्टानी क्षेत्र भएका कारण यहाँ हामीले सरकारमार्फत निर्णय गराएपछि अहिले नेपाली सेनाले ट्य्राक ओपनको काम गरिरहेको छ ।

ट्य्राक खोल्न बाँकी रहेको जम्मा ११ किमिमध्ये अहिले लगभग पाँच किमि ट्य्राक ओपनको काम भइसकेको छ । यही गतिमा काम भयो भने ०८१ लाग्दासम्म यो सडक हस्तान्तरण हुन्छ । जिल्लाको हकमा सबैभन्दा महत्त्वपूर्ण विकासको योजना यही नै हो जस्तो लाग्छ । अर्को, सवारी आवतजावतका लागि सडकपछि पुल अपरिहार्य हुन्छ । यो सडकअन्तर्गत जम्मा ९ वटा पुलहरू बन्नुपर्ने हो, त्यसमध्ये अहिलेसम्म ७ वटा पुलहरू निर्माण भइसकेका छन् । अहिले वरुण नदीमा पुल बनिरहेको छ । अर्को महत्त्वको योजना भनेको खाँदबारी लविङहिलदेखि नुमसम्मको सडक कालोपत्रेको हो । यहाँ एक अर्ब २७ करोडको ठेक्का लागेको छ । यो सडक जिल्लाको लाइफलाइन नै हो ।

अर्को सडककै कुरा गर्दा पूर्वपश्चिम राजमार्गसँग जोड्नका लागि हामीले तुम्लिङटार, लेगुवादेखि चतरा जोड्ने सडक निर्माणका लागि बजेट विनियोजन गराएका छौँ । यीबाहेक जिल्लामा थुप्रै रणनीतिक सडकहरू निर्माणाधीन छन् ।

हाम्रो जिल्लामा राम्रो सम्भावना भएको क्षेत्र पर्यटन पनि हो । पर्यटन प्रवर्द्धनका लागि हामीले तुम्लिङटार विमानस्थललाई व्यवस्थित गर्ने प्रयास गरेका छौँ । यसको टर्मिनल भवन जीर्ण अवस्थामा थियो, अहिले नयाँ भवन बन्दै छ । यो पनि महत्त्वपूर्ण काम हो भन्ने लाग्छ ।

यहाँ थुप्रै पर्यटकीय गन्तव्यहरू छन्, जहाँ पर्यटन व्यवसायको राम्रो सम्भावनासमेत छ । जस्तो कि मनकामना, सभापोखरी, सिद्धकालीलगायत धार्मिक पर्यटकीय सम्भावना बोकेका स्थलहरू छन् ।

शिक्षाको क्षेत्रमा हामीले १२५ भन्दा धेरै विद्यालयहरूमा कुनै न कुनै पूर्वाधार विकास गर्ने काम गरेका छौँ । कहीँ भवन बनेको छ भने कहीँ खेल मैदान बनाइएको छ । खानेपानीको प्रबन्ध गरेका छौँ । घेराबारा गरेका छौँ । यस्ता कामहरू निरन्तर भइरहेका छन् ।

अनि अहिलेचाहिँ मतदातामाझ जाँदा कस्ता एजेन्डाहरू लैजानुभएको छ ?

हामीले गएको ५ वर्षमा जे काम थालेका छौँ, त्यसको निरन्तरता र पूर्णता नै अहिले मेरा चुनावी प्राथमिकताहरू हुन्, प्रतिबद्धताहरू हुन् । हाम्रोजस्तो भिरालो भूगोल भएको जिल्लामा सडक नभई कुनै उपाय नै छैन । त्यसैले सडक पूर्वाधारको राम्रो विकास गर्न आवश्यक छ । त्यो नै मेरो पहिलो प्राथमिकता हो ।

यसपछि शिक्षा क्षेत्रमा प्राविधिक र व्यावसायिक शिक्षामा हाम्रो जोड छ । अहिलेको निरन्तर शिक्षालाई व्यवस्थित गर्ने र सबै स्थानीय तहसम्मै प्राविधिक र व्यावसायिक शिक्षा पाउने वातावरण तय गर्ने मेरो प्रतिबद्धता हो ।

पर्यटनको क्षेत्रमा, जलविद्युत् विकास र प्रबर्द्धनको क्षेत्रमा अझै पनि थुप्रै कामहरू गर्नै बाँकी छन् । ती कामहरू गर्नुपर्ने छ । हामीसँग मकालु हिमाल छ । यो प्रतिबन्धित अवस्थामा छ, यसलाई आरोहणका लागि खुला गर्नुपर्छ भनिरहेको छु, मैले त्यसका लागि पहल गर्छु । त्यस क्षेत्रमा पदमार्गहरू निर्माण गर्ने र पर्यटकलाई आकर्षित गर्न सकिने अवस्था छ ।

कृषि तथा पशुपन्छी पालनको व्यावसायीकरणका लागि सीप विकास, बिमालगायतका योजना समेटेका छौँ । जलविद्युत् क्षेत्रमा पनि हामीकहाँ थुप्रै सम्भावनाहरू छन् । सबै सम्भावनाहरूलाई समेटेर हामीले योजनाहरू बनाएका छौँ । धेरै विषयहरू छन्, हामीले ती विषयहरूलाई प्रतिबद्धतापत्रमा लिपिबद्ध गरेर प्रस्तुत गरेका छौँ ।

फेरि चुनाव जित्नुहुन्छ त ?

अहिले मैले नै चुनाव जित्छु भनिहाल्ने अवस्था बनेको छैन । यो भनेको मूलतः हामी कहाँ दलबीचकै प्रतिस्पर्धा हो । त्यसमा अहिले नै कसले जित्छ भनेर भन्न सक्ने अवस्था बनेको छैन । मेरो विचारमा उहाँहरूको सुनिश्चित भन्ने अवस्था छैन । तर, म निकै आशावादी छु किनभने एकपटक सबै गाउँबस्तीमा पुगिसकेपछि सरसर्ती अनुभूति गर्न सकिन्छ । मैले अगुवा कार्यकर्ता, मतदातासँग अहिले जति कुरा गरेको छु, त्यो सकारात्मक नै पाएको छु ।

तपाईंका जित्ने आधारहरू के हुन् त ?

मैले जित्ने आधार भनेको यहाँको नेकपा एमालेको संगठन नै हो । हुन त अर्कोतिर गठबन्धन बनेको छ । तर, यहाँ गठबन्धनदेखि डराउनुपर्ने, अवस्था छैन । यहाँ तीन दलले तीन क्षेत्रमा उम्मेदवारी दिएका छन् । र, तीनवटै दलका उम्मेदवारहरू आ-आफ्नै लागि मात्रै मत मागेर हिँडिरहेको अवस्था छ । त्यसले मेरो जितलाई सहज बनाएको छ । यो चुनावमा राष्ट्रिय मुद्दाहरूको विषयमा मतदाताले जानेर, बुझेर निर्णय गरेर मतदान गर्ने विषय हो ।

मैले विगत पाँच वर्षमा जे जति कामहरू गरेको छु, योबीचमा नेकपा एमालले जति पनि विकास निर्माणका कामहरू गरेको छ । ती आधारमा हामीले जनतामाझ गएर मत माग्ने हो । त्यसकारण अहिले हाम्रो जिल्लामा उसको राम्रो, उसको नराम्रो भन्ने अवस्था आइसकेको छैन । दुईवटा दलहरू मिल्दा पनि गठबन्धनकै उम्मेदवारहरूसमेत ढुक्क भएको अवस्था छैन ।

फेरि स्थानीय तहमा गठबन्धनले जित्यो भन्दैमा आमनिर्वाचनमा त्यही हुन्छ भन्ने पनि हुँदैन । यो राष्ट्रिय चुनाव हो, त्यो भनेको राष्ट्रियताको सवालमा, सिमानाको विषयमा, विदेश नीतिको सवालमा नेकपा एमालेले कस्ता नीतिहरू लिएको छ भनेर हेरेर जनताले मतदान गर्ने हुन् । त्यसमाथि यो चुनाव भनेको अब शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने हो कि केपी ओलीलाई प्रधानमन्त्री बनाउने भन्नेबीचको प्रतिस्पर्धा हो । यहाँ एउटा व्यक्तिले जित्ने वा हार्ने भन्ने प्रतिस्पर्धा नै होइन । अहिले १८ महिनामा गठबन्धनले जस्तो रबैया देखाएको छ, त्यसबाट जनता आजित भइसकेका छन् । जनताले सही निर्णय गर्छन् र म चुनाव जित्छु, यो मेरो दाबी हो ।

प्रकाशित : कार्तिक २१, २०७९ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?