अन्तर्वार्ता

'एमाले र लोसपासँग पनि तालमेलको सम्भावना छ'

हामीले एमालेसँग तालमेल गर्‍यौं भने त्यहाँ विचारको साँठगाँठ गर्दैनौं । एमालेको विचार उहाँहरूसँगै रहन्छ, हाम्रो विचार हामीसँगै । निर्वाचनको लागि मात्रै क्षेत्रमा उम्मेदवारको तालमेल गर्ने हो । रातारात विचार मिल्ने भन्ने छैन, निर्वाचनमा विजित हुने उद्देश्यका साथ क्षेत्रगत तालमेल हुन्छ ।
लोसपासँग पनि चुनावमा सँगै जाने उत्तिकै सम्भावना छ । एजेन्डा, मतदाताको मनस्थिति, मधेसी जनताको इच्छाका हिसाबले पनि लोसपासँग गठबन्धन गर्ने सम्भावना खुला राखेका छौं ।
कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभाको मंसिर ४ गते हुने निर्वाचनमा सत्तारुढ गठबन्धनमा सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएको छ । गठबन्धनको ठूलो दल कांग्रेस आन्तरिक विवादमा अल्झिएको छ भने जनता समाजवादी र एकीकृत समाजवादी पनि आफूले पाउने भनेको सिटमा असन्तुष्ट छन् । माओवादी केन्द्रले भने आफ्नो असन्तुष्टि र असन्तोष सार्वजनिकरूपमा जाहेर गरेको छैन । 

'एमाले र लोसपासँग पनि तालमेलको सम्भावना छ'

प्रतिनिधिसभा र प्रदेशसभाका लागि मनोनयन दर्ता गर्ने दिन नजिकिँदै जाँदा गठबन्धनभित्र रहेका दलहरूको सिट बाँडफाँटको असन्तोष सार्वजनिकरूपमा नै प्रकट भइरहेको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले त केन्द्रीय कार्यकारिणी समितिको बैठक नै डाकेर सत्तारुढ गठबन्धन छोडेर अन्य राजनीतिक दलहरूसँग चुनावी तालमेल गर्ने वा एक्लै लड्ने निर्णय गराएका छन् । त्यसका लागि उनले गठबन्धनमा रहेका दलहरूलाई अन्तिम अवसर दिएका छन् ।

सत्तारुढ गठबन्धनमा जारी विवादबीच अन्य दलहरूसँग चुनावी तालमेल गर्ने निर्णयबारे जसपा प्रवक्ता तथा केन्द्रीय कार्यकारिणी समिति सदस्य मनिष सुमनसँग ई-कान्तिपुरका जयसिंह महराले गरेको कुराकानी :

जसपा सत्तारुढ गठबन्धनमा सिट बाँडफाँटमा कुरा नमिले एक्लै चुनावमा जाने वा अरुदलसँग तालमेल गर्ने निर्णयमा पुगेको हो ?

स्वतन्त्र रुपले एक्लै चुनाव लडेपछि नेपालमा भएका अरु पार्टीहरूसँग प्रतिस्पर्धा गर्ने कुरा भइहाल्छ । त्यसमा गठबन्धनमा रहेका दलहरू अछुतो रहने कुरा भएन ।

सत्तारुढ गठबन्धनबाट आफूलाई प्राप्त सिटमा मिल्ने, नपाएको सिटमा आफ्नै उम्मेदवार उठाउने भन्ने कुरा हो ?

स्थानीय तहमा कुनै दलसँग गठबन्धन गरेको अवस्थामा स्वीकार गरिएको थियो । पार्टीका विभिन्न तहका समितिले गरेका निर्णय माथिल्लो तहको समितिबाट अनुमोदन गराएर भएको हो । त्यस्तो गठबन्धनको बाटो सँधै खुला थियो । हामीले क्षेत्रगत आधारमा जिल्ला प्रदेश आधारमा गठबन्धन गर्ने छुट सबैलाई छ । त्यसमा दुईमत भएन । त्यसको एकतह उपल्लोले अनुमोदन गरेपछि पार्टीमा मान्य हुन्छ भन्ने हाम्रो निर्णय थियो ।

गठबन्धनमा जसपाको माग सम्बोधन नभएको कुरा के हो ?

हामीले अहिले यति संख्यामा चाहियो भन्दा पनि वैज्ञानिक तवरले २०७९ र २०७४ को मतपरिणामका आधारमा जानुपर्छ भनेको हो । त्यस्तै जित्नसक्ने सिटलाई आधार मानेर प्रतिस्पर्धामा जानका लागि तालमेल गरौं भनेका थियौं । तर यसो हेर्दा गठबन्धनमा रहेका ठूला पार्टीमा धङधङी देखियो । छोड्नै नहुने कुरा गर्नुभयो उहाँहरूले । तथ्यहरूले हामीले जित्ने भनेर बोलेको ठाउँमा पनि उहाँहरू छोड्नै नमान्ने । त्यो भएपछि हामीले उहाँहरूलाई सुध्रिन, पुनर्विचार गर्नका लागि असन्तोष प्रकट गरेका हौं ।

जसपालाई अन्याय हुने भयो र यस्तो निर्णयमा पुग्नुभएको हो ?

समग्रमा भन्दा हामीले अरुको उपस्थिति स्वीकार गर्छौं । देशभरीमा २०७४ को प्रतिनिधिसभा चुनावमा २३ सिटमात्र जितेको कांग्रेस ८५-८६ सिट माग गर्दैछ । हामीले त्यसको पनि सम्मान गर्छौं । तर हामीले जितेको सिट पनि उहाँहरूलाई बाँडेर दिनुपर्ने । हामीले जितेको सिटको सम्मान उहाँहरूले नगर्ने । सम्मान दुईतर्फी हुन्छ, एकतर्फी हुँदैन ।

कांग्रेससँग मात्रै यस्तो असन्तुष्टि होइन अरु पार्टीहरूसँग पनि छ । अरु पार्टीले पनि, कुनै सिटमा हामीले भन्छौं ल ठिक यो तपाईं माग्दै हुनुहुन्छ त आधार प्रस्तुत गर्नुस् । केही आधार त प्रस्तुत गर्नुस् भन्दाखेरि हाम्रो नेता छ त्यो क्षेत्रमा भन्नुहुन्छ । जनमतको आधारमा सिट नमागेर हाम्रो नेता छ भनेर सिट माग गर्न थालेपछि हाम्रो असन्तुष्टि सुरु भएको हो। हामीले आफ्नो असन्तुष्टि राखेर तपाईंहरू कसरी सम्बोधन गर्नुहुन्छ ? भनेर भनेका छौं । नभए पार्टीसँग एक्लै लड्ने अधिकार त जहिले पनि खुला रहन्छ नि ।

सत्तारुढ गठबन्धनमा कुरा नमिलेपछि एमाले र जसपासँग चुनावी तालमेल गर्ने सम्भावना कत्तिको छ ?

सबै बाटो खुला छन् । नेपालमा कुनै पनि राजनीतिक दल एकअर्कासँग अछुतो छैनन् । सबै राजनीतिक दलहरू संवादमा रहिरहन्छन् । अहिलेको गठबन्धनमा राष्ट्रिय जनमोर्चाजस्तो महान संघीयता विरोधीसँग हामी संघीयतावादी दलसँगै बसेका छौं । नागरिकता विधेयकमा हाम्रो र उहाँ (जनमोर्चा)को विचारै मिल्दैन । नमिलेपनि सँगै छौं । उहाँहरु अछुतो नभएपछि अरु दलहरू पनि अछुतो छैनन् । चुनाव हो, तालमेल जोसँग हुन्छ त्योसँग गर्ने हो ।

हामीले एमालेसँग तालमेल गर्‍यौं भने त्यहाँ विचारको साँठगाँठ गर्दैनौं । एमालेको विचार उहाँहरूसँगै रहन्छ, हाम्रो विचार हामीसँगै रहन्छ । विचारको साटफेर नभएपछि निर्वाचनको लागि मात्रै निर्वाचन क्षेत्रमा उम्मेदवारको तालमेल गर्ने हो । रातारात विचार मिल्ने भन्ने छैन, निर्वाचनमा विजित हुने उद्देश्यका साथ क्षेत्रगत तालमेल हुन्छ ।

लोसपासँग पनि चुनावमा सँगै जाने उत्तिकै सम्भावना छ । झन् बढी सम्भावना छ । एजेन्डा, मतदाताको मनस्थिति, मधेसी जनताको इच्छाका हिसाबले पनि लोसपासँग गठबन्धन गर्ने सम्भावना खुला राखेका छौं ।

गठबन्धनका सबै दलहरू सिट बाँडफाँटलाई लिएर असन्तुष्ट रहेको अवस्थामा यो चुनावमा सँगै जाने सम्भावना कति छ ?

यो कांग्रेस र माओवादीको केन्द्रको हातमा पर्छ । उहाँहरूले कसरी गठबन्धनभित्रका असन्तुष्टिहरूलाई सम्बोधन गर्नुहुन्छ त्यसमा भर पर्छ । मिलेर जाने सम्भावना त छँदैछ । यति माथिसम्म गठबन्धनका कुरा गरेको बित्थामा जाला भन्ने नै त लाग्दैन ।

प्रकाशित : आश्विन १६, २०७९ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?