१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३
अन्तर्वार्ता

'सबैका लागि राष्ट्रिय खेलकुद ठूलो अवसर' 

राजु घिसिङ

काठमाडौँ — नयाँ खलाडी उत्पादनसँगै पूर्वाधार निर्माणको योजनासहित राष्ट्रिय खेलकुद २०३८ सालमा सुरु भएको थियो । हरेक दुई वर्षमा आयोजना गर्ने भनिएको बृहत् प्रतियोगिताले ४१ वर्ष पार गर्दा बल्ल नवौं संस्करण आयोजनाको संघारमा आइपुगेको छ, जुन असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुँदैछ ।

'सबैका लागि राष्ट्रिय खेलकुद ठूलो अवसर' 

सात प्रदेश, तीन विभाग (आर्मी, पुलिस, एपीएफ) र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टिमका करिब ७ हजार ५ सय खेलाडी तथा २ हजार अफिसियल सहभागी हुने प्रतियोगिता ८ जिल्लाका १७ स्थानमा सञ्चालन हुनेछ । ३६ खेलका ३ सय ९३ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । घरेलु खेलकुदको एक्लो बृहत् प्रतियोगिताको आयोजना राष्ट्रिय खेलकुद परिषद (राखेप) गर्छ । नवौं संस्करणलाई सफलतापूर्वक आयोजनाका लागि अहोरात्र खटिरहेका राखेपका सदस्यसचिव टंकलाल घिसिङसँग कान्तिपुरका लागि राजु घिसिङले गरेको कुराकानी :

नवौं राष्ट्रिय खेलकुद आयोजनाको मिति तीन साता पनि टाढा छैन । अन्तिम अवस्थामा मात्र तयारीले तीव्र गति लिएको देखिन्छ । प्रतियोगिताको मुखैमा मात्रै बजेट निकासा भएर हो ?

अघिल्लो वर्षको अन्तिम त्रैमासिकको निर्णय र नयाँ आर्थिक वर्षको पहिलो त्रैमासिक भएकाले संक्रमणकालीन यो स्थितिमा नेपाल सरकारको वित्तीय कारोबारका केही चुनौतीहरू थियो नै तर हामी तयारीको अन्तिम चरणमा आइपुगेका छौं । रातो किताबमा १० लाख रुपैयाँमात्रै भए पनि सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा राष्ट्रिय खेलकुदका लागि आवश्यक बजेट विनियोजन भएअनुसार मागबमोजिम नै सरकारले बजेट उपलब्ध गराएको छ । पहिलो किस्तामा १० करोड एक महिनाअघि नै आएको थियो । त्यसैले विभिन्न अनुमान आउनु स्वाभाविक हो । तर, बजेटमा अर्थमन्त्री र मन्त्रालयबाट कुनै समस्या छैन । थप ५० करोड पनि निकासा भइसक्यो । ६० करोडको ‘सिलिङ’ दिए पनि जोडघटाउमा केही गल्ती भएकाले कुल बजेट ६३ करोड देखिन्छ । आर्थिक मापदण्ड सच्याएर थप ३ करोड पनि दिने प्रतिबद्धता अर्थबाट आइसकेको छ ।

खेलकुद–अर्थ मन्त्रालय, राखेप–मन्त्रालय, राखेप–संघहरू, राखेप–ओलम्पिक कमिटीबीच खिचातानी हुन्छ, विवादहरू सतहमै आउँछन् । यस्तै कारणले नवौं राष्ट्रिय खेलकुदको तयारी अहिलेमात्रै तीव्र भएको हो कि ?

सरकारको कार्यसम्पादनका केही मान्यताहरू पुराना छन् । त्यसको केही प्रभाव नपर्ने कुरा भएन । तर, सारभूत रूपमा ती कारणहरू होइनन् ढिलाइ हुनका लागि । विभागलाई हेर्ने हो भने खेलाडी र टिमको तयारी जेठकै लागि थियो, अहिले निरन्तर चलिरहेकै छ । प्रदेशमा खेलकुद परिषद (प्रदेश २ बाहेक) बनेको छ तर आवश्यक जनशक्ति र बजेट छैन । निर्देशिकाअनुसार सुरुमै प्रदेशलाई रकम पठाइदिएका छौं । केही कारण खर्चमा ढिलाइ भयो होला । केही प्रदेशले बेलैमा तयारी थाले, केहीमा ढिला भयो । तयारीमा विभागहरूको स्तरमा तुलना गर्दा प्रदेश पछाडि परेकै हो । तर, ११ वटै टिमबीच निकै व्यावसायिक प्रतिस्पर्धा हुन्छ भन्ने लाग्छ, त्यसका लागि शुभकामना दिन चाहन्छु ।

गत जेठमै आयोजना गर्ने घोषणा गरेर किन असोज–कात्तिकमा सारियो त ?

त्यतिबेलाको सन्दर्भ हेर्दा नवौं राष्ट्रिय खेलकुद चाँडै गर्न पाए हुन्थ्यो भन्ने भइरहेको थियो । किनभने दसौं संस्करण गर्ने बेला हुन लागिसकेको थियो । समय जति पर धकेल्यो त्यति चुनौती बढ्छ । सेप्टेम्बर (२०२२) मा चीनमा एसियाली खेलकुद भएकाले मे (२०२२) तिर राष्ट्रिय खेलकुद सकाउँदा त्यसको तयारी हुने थियो । तर, एसियाड सर्‍यो र नवौं (राष्ट्रिय खेलकुद) पनि केही समय लिएर काम गर्दा राम्रै हुन्छ भन्ने लाग्यो । तयारीमा निर्णय त गर्‍यौं तर स्थानीय तहको निर्वाचनमा विभागका खेलाडीहरू खटिनुपर्ने, कक्षा ११–१२ को परीक्षा दिनुपर्ने थियो र गण्डकी प्रदेश आफैंले पनि जेठमा नगर्न सुझाव दियो । सबै सहभागीले तयारी पुग्दैन, अलिकति सुविधाजनक समय लिएर गरौं भन्ने कुरा आएपछि सारिएको हो ।

हरेक दुई वर्षमा आयोजना गर्ने योजनासहित २०३८ सालमा सुरु बृहत राष्ट्रिय खेलकुद बल्ल नवौं संस्करण आयोजनाको नजिक छ । यस्तो ढिलासुस्ती किन हुन्छ ?

कार्यक्रम गर्नैपर्ने खेलकुदसम्बन्धी ठोस नीति छैन । अझै पनि देशले खेलकुदलाई प्राथमिकता दिइरहन सकेको छैन । राजनीतिक अस्थिरता लामो समय देशले बेहोर्नुपर्‍यो । त्यस्तोमा पनि खेलकुद अस्थिरतामा हुनु हुँदैन थियो । खेलकुद अस्थिरतामा जानु भनेको देश अस्थिरतामा जानु हो । खेलकुदले नै देशको शान, मान, प्रतिष्ठा, गौरव अन्तर्राष्ट्रियजगतमा प्रतिनिधित्व गरेर बढ्ने कुरा हुन्छ । तर, हामीले यसलाई पनि राजनीतिक खिचातानीको विषयवस्तु बनायौं । कहिलेकाहीं भूकम्प र महामारीलगायतका यावत कारणले ढिलाइ भएको छ । यिनै कारणले राष्ट्रिय खेलकुदको आयोजनामा ढिलाइ भएजस्तो लाग्छ । यसरी समयमा नहुनु खेलकुदका लागि दुर्भाग्य हो ।

देशकै खेलकुदको सर्वोच्च निकाय ‘राष्ट्रिय खेलकुद परिषद (राखेप) का कार्यकारी प्रमुखको रूपमा सदस्यसचिव नै राजनीतिक नियुक्तिबाट हुन्छ । त्यसैले राजनीतिक कारण राष्ट्रिय खेलकुद ढिलाइ भएको भन्न मिल्छ र ?

स्वाभाविक रूपले देशका सबै अंगको नेतृत्व गर्ने कार्यकारी प्रमुखहरू चाहे त्यो कानुन बनाउने संसद, मन्त्रिपरिषदलगायत महत्त्वपूर्ण कुराहरू राजनीतिक बाटोबाटै अभ्यस्त भएर आएको हुन्छ । त्यसैले राखेप सदस्यसचिवलाई लिएर त्यति धेरै राजनीतीकरण भयो भनेर बुझ्नु हुँदैन । तर, त्यो व्यक्ति खेलकुदमा आइसकेपछि उसले राजनीति गर्छ कि खेलकुद गर्छ भन्ने मूल विषय होला । कहिलेकाहीं खेलकुदभन्दा राजनीतिले प्राथमिकता पाउँदा विगतमा यसका छिटपुट प्रभावहरू देखैपरेन भन्ने कुरा होइन, बेग्लै प्रसंगमा देखा पर्‍यो होला । त्यो चुनौती मलाई पनि हो । मैले यहाँ आएर खेलकुद गर्ने कि राजनीति गर्ने ? पहिलो दिनदेखि नै प्रतिबद्धता र व्यावहारिक रूपमा मैले खेलकुद गर्न चाहिरहेको छु, खेलकुद नै गरिराखेको छु । यो मैले भन्नुभन्दा कार्यसम्पादनका शृंखलाले व्यक्त गर्ने कुरा हो, पुष्टि गर्ने कुरा हो ।

राष्ट्रिय खेलकुदमा खेलाडी उत्पादनसँगै पूर्वाधार निर्माण मुख्य लक्ष्य हो । नवौंमा नयाँ पूर्वाधार के छ ?

पूर्वाधार नयाँ बनाउन थाल्ने हो भने अब छिटोमा पनि १ वर्षमा मात्रै हुन्छ यो राष्ट्रिय खेलकुद । त्यसकारण ठूला देखिने पूर्वाधार नै बन्यो भन्दिनँ । तर, १३ औं सागका लागि बनेका पूर्वाधार र बन्दै गरेर सम्पन्नताको दिशामा लान खोजिरहेकालाई पूरा गर्नतिर लागेका छौं । जस्तो, पोखरा रंगशाला नै १३ औं सागका बेला सम्पन्न भइसकेको थिएन, अहिले सम्पन्न भएको छ । अरू थुप्रै प्रतियोगिता हुने स्थानमा पनि खेल्न योग्य बनाउन बजेट छुट्याएर पूर्वाधारका कार्य अन्तिम अन्तिम चरणमा पुर्‍याएका छौं ।

सुरुमा गण्डकी प्रदेशका सबै (११) जिल्लामै खेल सञ्चालन गर्ने भनियो । अहिले तीन जिल्ला किन छुट्यो त ?

गण्डकी प्रदेशको प्रस्ताव ११ वटै जिल्लामा खेल सञ्चालन गर्ने थियो । राखेप सहमत थियो । तर, खेलस्थल व्यवस्थापन समितिले खेल सञ्चालन हुँदा बस्ने होटल, ठूलो दुर्घटना भयो भने उद्दार, उपचार गर्ने हस्पिटलको अवस्था के–कस्तो छ, त्यहाँ खेल खेलाउन सकिन्छ कि सकिँदैन भनेर सम्बन्धित खेलका संघको प्रतिनिधि र मुख्य प्रशिक्षकले भ्रमण/अनुमगन गरेपछि निर्णय गरी टुंग्याएका छौं । त्यसैले हामी ८ जिल्लामा खेल सञ्चालन गर्ने टुंगोमा पुगेका छौं ।

सुटिङको प्रतिस्पर्धा ललितपुरकै अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुँदै छ । किन ?

राखेपमा मेरो नियुक्ति मंसिरमा भएको थियो । तर, अदालतले ४ महिना बिदा दियो । चैत २३ मा कार्यालय फर्किएपछि जेठमै प्रतियोगिता गर्नेमा केन्द्रित भएँ । कतिपय चुनौती थियो । सबै व्यवस्थापन गर्दा प्रतियोगिता नै पर धकेलिने अवस्था थियो । नवौं खेल्न बसेका कति खेलाडी खेलजीवनबाटै टाढिसके । अझै तयारीतिर लाग्ने हो भने दसौंको तयारीमा लागेका पनि खेलजीवनबाट बाहिरिने स्थिति आउँछ । त्यसैले प्रतियोगिता गर्नुपर्छ भन्नेतिर लागें । त्यसकारण राष्ट्रिय खेलकुदका लागि बन्नुपर्ने खेलगत पूर्वाधार बन्न सकेन ।

सुटिङका खेलाडीले बन्दुकको ठाउँमा इँटा बोकेर अभ्यास गर्नुपरेको छ । छनोटमा धेरैजसो टिममा प्रशिक्षक थिएन/छैन । इन्डोर गेम ‘आउटडोर’ मा भइरहेका छन् । धेरै स्थानमा ट्रयाक छैन । छनोट किन लथालिंग ढंगले भइरहेको छ ?

राष्ट्रिय खेलकुद राखेपले आयोजना गरिराख्दा यी सबै कुरालाई राखेपले नै हेर्नुपथ्र्यो भन्ने सामान्यत: सही नै छ । तर, यसपल्ट हामीले प्रतियोगिता कसरी गर्दै छौं भन्ने बुझ्नु जरुरी छ । देश संघीय संरचनामा गएपछि दोस्रोपल्ट राष्ट्रिय खेलकुद आयोजना हुन लागेको हो । तर, संघीय सरकारले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ ल्याएपछिको पहिलो हो यो । पहिला खेलकुद विकास ऐन २०४८ बाट भएको थियो, राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार पहिलोपल्ट हुन लाग्दैछ । त्यसकारण राष्ट्रिय खेलकुदका लागि सहभागी हुने टिमले नै आफ्नो तयारी गर्नुपर्ने हो ।

राखेपको पूर्वाधार, स्रोत–साधन, जनशक्ति भए पनि त्यो आवश्यकताका आधारमा जसलाई जुन चिज आवश्यक पर्छ, त्यो उपलब्ध गराइरहेका छौं । तर, त्यहाँ खेल सामग्री उपलब्ध गराउनुपर्ने, ट्रेनिङ र छनोटलाई प्रभावकारी रूपले सञ्चालन गर्नुपर्ने दायित्व राखेपको होइन । यो दायित्व सहभागी टिमकै हो । सहभागी हुन छनोट, खेल सामग्री, तालिमलगायत समग्र पक्षको तयारी सम्बन्धित टिम आफैंले गर्ने हो । त्यसैले राखेपको तर्फबाट पुरानै चलनअनुसार यो त्यो पुगेन, त्यो पुगेन भन्ने भ्रममात्रै भएको हो ।

राष्ट्रिय खेलकुदमा सबै खर्चको दायित्व राखेपको होइन र ?

प्रतियोगिता अवधिभरको खर्च राखेपले बेहोर्छ । टिम तयारीका लागि प्रत्येक प्रदेशलाई ४९ लाखको दरले पठाएका छौं । प्रदेश सरकारबाट थप बजेट लिएका छन् । त्यो रकम तयारीका लागि खर्चिनुपर्ने हो । इँटाको ठाउँमा बन्दुकले अभ्यास गर्न त्यहाँबाट किन्नुपर्ने हो । के गरेर खेल सामग्री किन्ने हो, प्रदेश वा टिम आफैंले व्यवस्थापन गर्नुपर्ने हो । प्रतियोगितामा सहभागी हुँदा खेलाडीले आफ्नो औजार, खेल्ने हतियार आफैं लिएर आउने अन्तर्राष्ट्रिय प्रचलन नै हो । हामीले खेल सञ्चालन गरिराख्दा जम्मै काम राखेपको देख्नु दृष्टिभ्रम हो ।

खेलाडी दर्ताको अन्तिम मिति भदौ २५ तोकिएको थियो । तर, केही प्रदेशमा अहिलेसम्मै छनोट भइरहेको छ । केन्द्र तातिए पनि प्रदेशहरू किन जागेन ?

राखेप संघीय ढाँचामै छ । प्रदेशका सदस्यसचिवहरू यहाँ पदेन सदस्य हुन्छन् । उहाँहरूसहितको सहभागितामा निर्णय भएको हुन्छ । तर, उहाँहरूलाई प्रदेश सरकारमा थप बजेट माग्दा त्यहाँको प्रदेश सरकारले तदारुकताका साथ प्रदेश खेलकुद परिषदलाई निर्णय दिनुपर्ने थियो, त्यसले गर्दा ढिलाइ हुन गयो । भदौ २५ सम्म खेलाडी दर्ता सकिने निर्णय गर्दा सहभागी हुने ११ वटै टिमका प्रतिनिधिहरू उपस्थित थिए । तर, छनोट प्रक्रियामै ढिलाइ भयो, जसले तालिममा असर गरेको छ, जसको असर नतिजामा पनि देखिने छ । यसले व्यवस्थापकीय पक्षलगायत धेरैमा असर गरेको छ । छनोट नसकिएकै कारण ११४ औं बोर्ड बैठकमा असोज १० लाई दर्ताको अन्तिम मिति तोकेका छौं ।

अर्को वर्ष एसियाली खेलकुद (२०२३) र दक्षिण एसियाली खेलकुद (साग) हुँदै छन् । त्यसमा राष्ट्रिय खेलकुदबाट के चाहना छ ?

अवश्य पनि १९ औं एसियाड र १४ औं सागको तयारीको सबैभन्दा ठूलो आधार राष्ट्रिय खेलकुद नै हो । धेरै खेलाडीको बीचमा प्रतियोगिता हुन्छ, प्रतिस्पर्धा हुन्छ । प्रदेशहरूले जिल्ला–जिल्लामा छनोट गरेका छन्, आफ्नै प्रदेशभित्र प्रतिस्पर्धा गराएका छन् । उनीहरूको मिहिनेत कदर गर्नुपर्छ । राष्ट्रिय प्रतियोगितामा आएर विभिन्न प्रदेश र विभागका टिमहरूबीच कडा प्रतिस्पर्धा गरेर आफूलाई अब्बल साबित गर्ने खेलाडीहरू राष्ट्रिय टिममा अनुबन्धित गरिने छ । हाई–फर्फर्मेन्स कमिटीको योजनामा राष्ट्रिय टिमको नियमित तालिम अगाडि बढाइने छ र अन्तर्राष्ट्रिय सहभागितामा ठूलो उपलब्धि हासिल गर्न ध्यान केन्द्रित गरिने छ ।

राष्ट्रिय खेलकुदको ४१ वर्षे इतिहासमा पहिलोपल्ट ट्रफी बनाउनुपर्ने कारण के हो ?

यस मानेमा आफूलाई भाग्यमानी ठानेको छु । यो अवसर मैले पाएँ । झन्डै ४१ वर्षको इतिहास, मेरो उमेरभन्दा केही वर्षले जेठो यो प्रतियोगिताको इतिहास छ । मैले सदस्यसचिवको रूपमा ट्रफी निर्माण गर्ने अवसर पाएँ, इतिहासमा यस्ता अवसर बिरलै मानिसले पाउने गर्छ । यसमा राष्ट्रिय खेलकुदको उचाइ र गरिमा उठाउनुपर्छ, यसको क्रेज र आकर्षण बढाउनुपर्छ भन्ने हुटहुटीले काम गरेको हो । यो निर्माण मात्रै गरिएन, सहभागी हुने सबै टिममा ‘ट्रफी टुर’ पनि गराइयो । त्यसैले त्यो टिमलाई ‘यो ट्रफी मैले ल्याएर आउँछु’ भन्ने सकारात्मक चुनौती, आशा, विश्वास, मिहिनेत गर्नुपर्छ भन्ने वातावरण पैदा होस् भनेर ट्रफी टुरमा पठाइएको हो । सबैभन्दा धेरै स्वर्णपदक जितेर च्याम्पियन हौं भनेर गर्व गर्ने परिस्थिति ट्रफीले बनाउँछ । यो रनिङ ट्रफीले राष्ट्रिय खेलकुदको नयाँ मूल्य–मान्यता पनि स्थापित गर्छ । अर्कोपल्ट पनि यसरी प्रतियोगिता हुनुअघि ट्रफी नियमित टुरमा जान्छ । पहिला अर्कोले लग्यो यसपालि मैले ल्याउनुपर्छ भन्ने जोस टिम र खेलाडीलाई मिल्ने विश्वास लिएको छु ।

खेलकुदमा निजी लगानीको लागि आह्वान गर्नुभएको छ । राष्ट्रिय खेलकुदलाई निजी क्षेत्रसँग जोड्ने प्रयास आवश्यक छ र ?

सरकारले चाहँदाखेरि यस्ता राष्ट्रिय प्रतियोगिता गर्न नसकिने होइन । सरकारले पर्याप्त बजेट दिएकै छ । तर, खेलकुद भनेको राष्ट्रको हो । सबै नागरिकको हो । सरकारको मात्रै होइन । निजी क्षेत्रले पनि राष्ट्रका लागि महत्त्वपूर्ण योगदान गर्नसक्छ । त्यसैले राखेपले निजी क्षेत्रसँग सहकार्य किन नगर्ने ? यो नवीनतम सोचमा निजी क्षेत्रसँग सहकार्य गर्नुपर्छ भनी आह्वान गरिएको हो । अहिले के कस्तो, कुन तहमा हुन्छ भन्ने होइन, थालनी गर्नुपर्छ । यसले नयाँ मूल्य–मान्यताअगाडि सार्छ, यही गर्न खोजिएको हो । आउने दिनमा पनि राखेपले थुप्रै पतियोगिता गर्नेछ, चाहे घरेलु वा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता होस्, ती सबै कार्यक्रममा निजी क्षेत्रको सहभागिताका लागि राजमार्ग निर्माणको काम मैले अगाडि बढाएको हो ।

गण्डकीको खेलकुदबाट क्रिकेट काठमाडौं ल्याएर एक महिनाअघि नै बर्खामै आयोजना गरियो । बर्खाले अधिकांश खेल सम्भव भएन । यसरी गर्नु त झारो टार्ने काम भएन ?

राष्ट्रिय खेलकुद राखेपले आयोजना गर्दा खेल सञ्चालन सम्बन्धित संघहरूले गर्छ । यो राष्ट्रिय खेलकुदको परम्परा हो, ‘लिगेसी’ हो । नवौं त्यही मोडालिटीमा हुँदै छ । नेपाल क्रिकेट संघ (क्यान) ले पूर्वनिर्धारित समयमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरू छ, घरेलु लिगहरू छ भनेर भदौ २३ देखि ३१ सम्म काठमाडौंमा सञ्चालन गर्ने प्रस्ताव ल्यायो । सहभागी सबै टिमले लिखित सहमतिपछि हामीले सहमति दियौं । एक–दुई दिनमात्रै पानी पर्ला भन्ने थियो तर लगातार पर्‍यो, दुर्भाग्यपूर्ण भयो । आईसीसीकै नियमानुसार ‘रि–सेडयुअल’ को लागि हामी थप खर्च र समय दिन तयार थियौं तर त्यसमा सबै टिम सहमत भएनन् । एउटा टिमले मात्रै मानेन भने रि–सेडयुअल नहुने नियम रहेछ । त्यसैले मैले प्रयत्न गरेर पनि भएन ।

राष्ट्रिय खेलकुदकै बेला गर्ने भनेको नेपाल टी–२० लिग पनि क्यानले पछाडि सार्‍यो । त्यसैले बर्खामा क्रिकेट गर्न लगाएर क्यानले राखेपलाई पंगु बनाइदियो होइन ?

यस विषयमा क्यानले जवाफ दिनुपर्छ । त्यति ठीक लागिहेको छैन । आवश्यक छलफल हुने छ । क्यान जवाफदेही बन्नुपर्छ किनभने उसैको कारण मिति र स्थान सारिएको हो । सहभागी ११ टिमले क्यानको घरेलु प्रतियोगिता र व्यावसायिक लिगसँग मिति जुध्छ भनेरै अगाडि खेल्न मानेको हो । त्यसकारण पनि क्यान जवाफदेही हुनुपर्छ ।

हरेकपल्ट राष्ट्रिय खेलकुदका बेला खेलाडीलाई ‘डाइट’ पुग्दैन, चाउचाउ खान्छन् भन्ने कथा आउँछ । यसपालि दिने भत्ताले खर्च पुग्ला ?

मैले पहिलाको कुरा बुझेको छैन । तर, पुरानो समस्या नदोहोरिन गरी अगाडि बढ्दै छौं । सबभन्दा राम्रो व्यवस्थापनका लागि उपसमितिका साथीहरू खटिएका छन्, जुटिराखेका छन् । यी समस्याहरू दोहारिने छैनन् भन्ने विश्वास छ । खाना र बसोबासको लागि प्रतिदिन २ हजार भत्ता छुट्याएका छौं । यो रकमले पोखराजस्तो महँगो सहरमा निकै कठिनचाहिँ पक्कै हुन्छ ।

तीन वर्षपछि राष्ट्रिय खेलकुदको आयोजनामा चुनौती बढी छ कि अवसर ?

चुनौतीभन्दा बढ्ता अवसर नै देख्छु । दुई आर्थिक वर्षको चेपुवामा परेकाले यो सरकारको बजेट, खरिद प्रक्रिया, प्रदेश र विभागको तयारीका लागि पनि भदौको मध्य वा अन्तिमतिर आएरमात्रै हुनु चुनौती भयो । महामारी (कोभिड–१९) पछि तत्कालै राष्ट्रिय खेलकुद हुनुपर्ने थियो तर एक वर्षपछि हँ‘ुदै छ । यो पनि उपलब्धि नै हो किनकि १४ औं साग, १९ औं एसियाडजस्ता अन्तर्राष्ट्रिय ठूला प्रतियोगिताहरू सन् २०२३ मा हुँदै छन् । त्यसपछि पेरिस ओलम्पिक २०२४ हुनेछ । ती प्रतियोगितामा देशको प्रतिनिधित्व गर्ने खेलाडीका लागि राष्ट्रिय खेलकुद सुनौलो अवसर हो, जसमा उत्कृष्ट प्रदर्शन गर्नेले राष्ट्रिय टिममा ठाउँ पाउनेछ । त्यसपछि एक वर्षभित्रै ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनेछ । हाई–फर्फमेन्सबाट राष्ट्रिय टिमको संरचना बनाउने र त्यसलाई ठीक ढंगले तयारी गर्न, राम्रो र व्यवस्थित बनाउनका लागि यो राष्ट्रिय खेलकुद निकै ठूलो अवसर हो । नवौंबाट छानिएका खेलाडीहरूले अन्तर्राष्ट्रिय प्रतियोगिता राम्रो प्रदर्शन गरेर देशको गरिमा बढाउने, खुसी दिलाउने विश्वास छ ।

प्रकाशित : आश्विन ९, २०७९ २२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?