मुनी मुनियाप्पनसँग अन्तर्वार्ता

‘नेपाल किट र मिचाहा झार प्रकोपको उच्च जोखिममा छ’

गोविन्द पोखरेल

काठमाडौँ — प्राध्यापक मुनी मुनियाप्पन मिचाहा प्रजाति र किटको एकीकृत व्यवस्थापनका लागि चर्चित अनुसन्धानकर्ता हुन् । उनी अमेरिकाको भर्जिनिया टेक युनिभसिर्टीको ‘फिड द फ्युचर इनोभेसन ल्याब’ अन्तर्गत एकीकृत किट व्यवस्थापन कार्यक्रमका प्रमुखसमेत हुन् ।

‘नेपाल किट र मिचाहा झार प्रकोपको उच्च जोखिममा छ’

यूएसएडले सञ्चालन गर्ने यो ल्याबले अमेरिकासहित विश्वभर किट व्यवस्थापन र मिचाहा प्रजाति नियन्त्रण र खाद्य संकटसम्बन्धी अध्ययन अनुसन्धान गर्दै आएको छ । एसिया, अफ्रिका, पूर्वी युरोप, ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रमा मिचाहा प्रजाति नियन्त्रण र किट व्यवस्थापन सम्बन्धी अध्ययन/अनुसन्धानमा मुनियाप्पनको संलग्नता छ । नेपालमा किट र मिचाहा प्रजाति व्यवस्थापनमा हुने अध्ययन/अनुसन्धानमा प्रत्यक्ष रुपमा विश्वविद्यालय तथा सरकारी संस्थाहरुलाई उनी प्राज्ञिक एवं वैज्ञानिक रुपमा सहयोग गर्दै आएका छन् । मुनियाप्पन नेपाल आएको समयमा ईकान्तिपुरका गोविन्द पोखरेलले गरेको कुराकानी:

विश्वमा मिचाहा प्रजातिको फैलावट र प्रकृतिलाई तपाईंले कसरी नियालिराख्नुभएको छ ?

मिचाहा प्रजाति धेरै ठाउँमा समस्याको रुपमा देखा परेको छ । ग्लोबलाइजेसनसँगै यसको फैलावाट धेरै ठाउँमा भइरहेको छ । मानिसको आवातजावत र व्यापार व्यवसाय हुने क्षेत्रमा यो फैलिरहेको छ । सजावटका लागि भनेर ल्याएर रोपिएको बिरुवाबारे सर्वसाधारणलाई त्यसको मिचाहा प्रवृत्ति र जोखिमबारे थाहा हुँदैन । बिरुवाहरूमा टाँसिएर बसेका किरा, ढुसीलगायत सूक्ष्म जीवहरू उनीहरुले एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउँदा फैलिरहेका छन् ।

जस्तो कि, जलकुम्भी झार । राम्रोसँग फूल फुल्ने भएकाले यसलाई दक्षिण अमेरिकाबाट अस्ट्रेलिया, अस्ट्रेलियाबाट एसिया र अफ्रिका पुर्‍याइयो । यो झार अहिले ती क्षेत्रमा समस्या भएको छ । त्यस्तै, काँडे वनफाँडा भनिने ‘लानटना कामरा’ पनि त्यही भइदियो । यसको फूल राम्रो देखिएकाले मानिसहरुले संसारका विभिन्न कुनामा पुर्‍याए, अहिले समस्या भयो । सेतो वनमारा पनि त्यही हो । सन् १९३५मा कलकोत्ता बोटानिकल गोर्डनमा सजावटका लागि भनेर ल्याइएको थियो । पछि त्यहाँबाट बिरुवालाई अन्य ठाउँमा लैजाँदा दक्षिण एसियाभर फैलियो ।

यी भए, मिचाहा झारका कुरा । सन् २००२ मा मेक्सिको हुँदै अमेरिकामा ‘मिलिबग किरा’ पुगेको पुष्टि भयो । यो सेतो किरा मेवामा लाग्ने गर्छ । सन् २००८ मा यो दक्षिण एसियामा प्रकोपको रुपमा फैलिसकेको थियो । मैले त्यसअघि नै यो किराको बारेमा भारतको इन्डियन काउन्सिल अफ एग्रिकल्चरल रिर्सचलाई जानकारी गराएको थिएँ तर उनीहरुले त्यति गम्भीर रुपमा लिएनन् । यसले प्रकोपको रुप लिएपछि उनीहरुलाई हामीले तालिम दिएका थियौं । नेपालमा चाहीँ यो किरा सन् २०१० मा पाइएको थियो । अहिले यो पाकिस्तान र बंगलादेशमा पनि पाइएको छ ।

तपाईंले नेपाली अनुसन्धानकर्ताहरुलाई टमाटारमा लाग्ने ‘लिफ माइनर’ र मकैमा लाग्ने फौजी किराबारे पनि सचेत गराउनुभएको थियो नि ?

‘टुटा एब्सोलुटा’ समेत भनिने लिफ माइनर दक्षिण अमेरिकीहरूमार्फत नेपाल भित्रिएको सानो किरा हो । सन् २००६ मा स्पेनमा पाइएको यो किराको उद्गमस्थल भने चिली हो । स्पेनमा भेटिएपछि युरोपभर फैलियो । सन् २०१३ मा अफ्रिकाका विभिन्न ठाउँमा भेटियो । सन् २०१३ मा मैले इथोपियामा नेपाललगायत दक्षिण एसियाली मुलुकका वैज्ञानिकहरुलाई तालिम दिएको थिएँ । तालिमको उद्देश्य नै यो किरा नियन्त्रण र व्यवस्थापन र पूर्व तयारीसँग केन्द्रित थियो ।

किरा भित्रिनुभन्दा अगाडि नै तपाईंले नेपाली वैज्ञानिकहरुलाई यस सम्बन्धमा पूर्वतयारीसम्बन्धी दिनुभएको थियो तर पनि फौजी किरा र टोम्याटो लिफ माइनरको समस्या नेपालमा अहिले पनि छ नि ?

हामीले सचेतना र पूर्वतयारी सम्बन्धमा तालिम दिएका थियौं । किटजन्य प्रकोप नियन्त्रणका लागि हामीले नेपाल सरकारलाई अपनाउनुपर्ने सम्पूर्ण सावधानीबारे जानकारी गराएका थियौं । लिफ माइनरले विशेष गरेर टमाटारलाई असर गर्छ । अन्य अन्नबालीहरुमा यसले धेरै असर गरेको छैन । आलुको बोटमा असर त गर्छ तर टमाटार जतिको हैन । यो किरा नेपालमा कसरी आयो भन्ने सवालमा तरकारीहरु एक ठाउँबाट अर्को ठाउँमा ढुवानी गर्दा नेपालभरी फैलिएको पाइएको छ । यो किरा टाढासम्म उड्न सक्दैन ।

सुरुवाती चरणमा यो किराको फैलावट अफ्रिकादेखि मध्य एसिया, त्यसपछि अफगानस्तान हुदै पाकिस्तान र उत्तरी भारतमा आउने अनुमान थियो । तर त्यसो भइदिएन, सिधै अफ्रिकाबाट मध्य एसियामा आइपुग्यो र त्यसपछि नेपाल भारतमा फैलियो ।

मध्य एसियामा नेपाल, भारत, बंगलादेश, फिलिपिन्सका धेरै नागरिकहरू कामदारहरुको रुपमा कार्यरत छन् । उनीहरू घर जाने क्रममा विभिन्न माध्यमबाट किरा पनि भित्रिएको हुन सक्ने अनुमान छ । भारतमा सबैभन्दा पहिलो महाराष्ट्र राज्यमा भेटियो भने नेपालमा चाहीँ काठमाडौंमा । फैलावट हेर्दा तराईबाट नेपाल भित्रिनुपर्ने थियो तर सिधै काठमाडौंमा भेटियो । यसको सम्भावना, मध्यएसिया हुँदै हवाई रुटमार्फत नेपालमा आएको अनुमान गर्न सकिन्छ । तरकारी बोकेका ट्रकमार्फत काठमाडौंबाट अन्य सहरहरूमा यो किरा फैलिएको हामीले निष्कर्ष निकालेका छौं ।

मकैमा लाग्ने अमेरिकी फौजी किरा चाहीँ कसरी नेपालमा प्रकोपको रुपमा देखा पर्‍यो ?

अमेरिकी फौजी किरा उत्तर र दक्षिण अमेरिकामा पाइने प्रजाति हो । यो विशेष गरेर अमेरिकाको टेक्सास, फ्लोरिडा र दक्षिण अमेरिकाको कोलम्बिया, इक्वेडर, पेरु र ब्राजिलका अन्य ठाउँमा पाइएको छ । किराको जीवन चक्रमा फुल-लार्भा-प्युपा-व्यस्क अवस्था गरी चार चरण हुन्छन् । यो किराले उष्ण क्षेत्र (ट्रोपिकल एरिया)मा मात्रै आफ्नो जीवनचक्र पूरा गर्छ । टुटा अब्सोलुटा, एउटा सानो खालको किरा भएकाले यो धेरै टाढासम्म यात्रा गर्न सक्दैन । तर,फौजी किरा अमेरिकाको टेक्ससदेखि फ्लोरिडा हुँदै क्यानडासम्म पुग्न सक्छ ।

सन् २०१६ मा यो नाइजेरियमा भेटियो । त्यसबेला धान र मकैमा लाग्ने दुई खाल स्ट्रेन पाइएका थिए । यो किराले अमेरिकाका विभिन्न ३ सय प्रजाति बिरुवालाई आक्रमण गर्ने पाइएको छ । नाइजेरियामा पाइएको यसको प्रजातिले मकैमा मात्रै धेरै असर गर्ने भेटियो । यो विभिन्न कारणबाट नाइजेरिया पुगेको पाउन सकिन्छ । जस्तो कि हावाको बाहवससँगै एट्लान्टिक ओसनबाट, बिरुवा ल्याउन क्रममा यसका फूलसँगै हुँदा वा विमानमार्फत भित्रिएको हुनुपर्छ ।

नेपालमा पनि हामीले यसबारे प्रशासकहरुलाई सचेत गराउँदै पूर्वतयारीका लागि काम गर्न सुझाव दिएका थियौं । सन् २०१९मा यो किरा नेपालमा पाइयो । पूर्वतयारीका उपायहरू लागू गर्न सुझाव दिएको थिएँ तर कार्यान्वयन भएन ।

समस्या त्यतिबेला हुन्छ जब मिचाहा झार एकैपटक आइपुग्छन् अनि यसलाई नियन्त्रण गर्ने तत्काल सामर्थ्य हुँदैन । तात्कालिक समाधान किटनाशकको प्रयोग गरिन्छ तर यसले झन् समस्या ल्याउँछ । सबै खालको किरालाई एउटै किटनाशकले काम गर्दैन । किटनाशकको सदुपयोग हैन, दुरुपयोग हुन्छ । यसले पर्यावरण र मावन स्वास्थ्यलाई प्रतिकूल असर पार्छ ।

जब कुनै ठाउँमा नयाँ किटले आक्रमण गर्छ, सुरुवाती अवस्थामा संख्या ह्वात्तै बढ्छ अनि विस्तारै घट्दै घट्दै गएर एउटा थ्रेसहोल्डमा आइपुग्छ । तर जब थ्रेसहोल्डसम्म आइपुग्दैन, तब नियन्त्रणका विभिन्न उपायहरू लागू गर्नुपर्ने हुन्छ । हामीले अहिले कस्ता कस्ता नियन्त्रणका उपायहरु प्रयोग गर्ने, प्रभावकारी हुने, सुरक्षा र दिगोपना हुनेबारे अध्ययन गर्नुपर्छ ।

वैज्ञानिकहरुका विभिन्न विचारहरू हुन्छन् । मेरो चासो भनेको प्राकृतिक रुपमा नै कसरी नियन्त्रण गर्न सकिन्छ भन्नेमा हो । हामी प्राय: पारासाइट्वाइड्स वा सम्बन्धित किराको प्राकृतिक शत्रुको प्रयोग गर्न जोड दिन्छौं । अमेरिकी फौजी किराको हामीले प्राकृतिक शत्रु फेला पारिसकेका छौं । चाडैँ नै यसलाई कल्चर गरेर धेरै मात्रामा उत्पादन गरेर लागू गर्ने तयारीमा छौं ।

अहिले हामीमार्फत नार्क, नार्कका अन्य शाखा कार्यालयहरूमा ‘न्युक्लियस सेन्टर’ स्थापना गर्ने तयारी गरिरहेका छन् । यस्ता न्यूक्लियस सेन्टरहरुले किराको प्राकृतिक शत्रु उत्पादन गर्ने, अनुसन्धान गर्ने र सहकार्य गर्ने काम गर्छन् ।

भनेपछि, तपाईं जैविक विधिबाट किट नियन्त्रणमा जोड दिइराख्नु भएको छ ?

भौतिक उपायहरू लागू गर्न त सकिन्छ तर यो प्रभावकारी हुँदैन । खर्च पनि बढी हुन्छ । रासायनिक विधिबाट प्रभावकारी देखिन्छ तर मानवीय र वातावरणीय स्वास्थ्य जोखिम निम्त्याउँछ । त्यसैले जैविक विधिबाट गरिने नियन्त्रण सबै हिसाबले प्रभावकारी र दिगो पनि हुन्छ ।

अहिले किटनाशक औषधिहरूको प्रयोग बढिरहेको छ । जैविक विधिहरु धेरै छन् । नेपालमा पनि यस्ता विधिहरु छन्‚ जस्तो कि, ट्राइकोडर्मा ढुसी । यो ढुसी धेरै ठाउँमा किट नियन्त्रणमा प्रभावकारी भएको छ । जैविक विधिमा ढुसी, जीवाणु, ब्याक्टेरिया बायो-एजेन्टस्हरु प्रयोग गर्न सकिन्छ । तर किटजन्य पारासाइट्वाइडहरू भने तत्कालै प्रयोग गर्नुपर्छ । नेपालले किरा नियन्त्रणमा बायो-पेस्टिसाइडस्को प्रयोगमा जोड दिनुपर्छ ।

तपाईंले नेपाललगायत अन्य विभिन्न मुलुकहरूमा किट नियन्त्रणको कामहरु गर्नुभएको छ । नेपाल किटजन्य जोखिमबाट कसरी बच्ने ?

नेपालले भविष्यमा आउन सक्ने किटजन्य प्रकोपको पूर्वतयारी गर्नुपर्छ । एकीकृत किट व्यवस्थापनमा नेपालसँगै धेरै अनुसन्धानकर्ता र रिसर्च संस्थाहरू छन् । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र पनि छ नेपालसँग । यी संस्थाले एकीकृत रुपमा काम गरेर कार्यक्रम बनाएर किराको प्रकोपसँग जुध्ने कार्ययोजना बनाउन सक्छन् । हामीले पनि ती संस्थाहरु सहकार्य गर्ने काम गरिरहेका छौं । यस्तै, विकासित मुलुकहरुमा निषेधित गरिएका विषादीहरु पनि प्रयोग गर्न दिनुहुँदैन ।

तस्बिरहरु : अनिश रेग्मी/कान्तिपुर

नेपाल किट र मिचाहा झारको प्रकोपको उच्च जोखिम छ । धेरै खालका किटहरु छन् तर तिनको पहिचान भइसकेको छैन । त्रिविका एक जना प्राध्यापकले भर्खरै एउटा मिचाहा झारबारे पत्ता लगाए । हाम्रै सहयोगमा विश्वविद्यालयले गरेको अनुसन्धानले मिचाहा झारको पहिचान गर्‍यो । त्यस सम्बन्धमा सचेतना पनि गराएका छौं तर कार्यान्वयन गर्ने निकायहरुले चासो र ध्यान दिनुपर्छ ।

खेतीपातीमा किटजन्य प्रकोपका कारण खाद्य संकटको सम्भावना कतिको देख्नुहुन्छ ?

अहिले नेपालमा फैलिएका किराहरुको अवस्था हेर्दा त्यस्तो नदेखिएला, तर भविष्यमा खाद्य संकटको सम्भावना धेरै नै छ । अमेरिकी फौजी किराको प्रकोप मकैमा देखिएको छ, धानमा यसले कम असर गरेको छ । नेपालमा मकै तराई र पहाडमा उत्पादन गरिन्छ । मध्यपहाडी क्षेत्रमा यो खानाको रुपमा प्रयोग गरिन्छ । यदि फौजी किरा नियन्त्रण गर्ने सवालमा गम्भीर नहुने हो भने धेरै क्षति हुने देखिन्छ ।

नेपालका कृषि अनुसन्धानकर्तालाई तपाईंले दिने सुझाव केही छन् ?

सन् २००५ देखि ममार्फत नेपालका विश्वविद्यालय, अनुसन्धानकर्ता, सरकारी संस्थाहरुलाई किटजन्य प्रकोप नियन्त्रण र मिचाहा प्रजातिको व्यवस्थापनका लागि धेरै नै सहयोग हुँदै आएको छ । अहिले हामी धान, मकै, तरकारी र सागपातमा लाग्ने किरा व्यवस्थापनका लागि एकीकृत किट व्यवस्थापन कार्ययोजनाहरु बनाउन खोजिरहेका छौं । फौजी किरा नियन्त्रणमा पनि काम गरिरहेका छौं ।

अहिले किटजन्य प्रकोप व्यवस्थापनका धेरै कामहरु भइरहेको छ । अनुसन्धान र सहकार्यहरू विश्वविद्यालयसँगै सरकारी संस्थाहरुमा पुर्‍याउनु अहिलेको आवश्यकता छ । जस्तो कि, त्रिभुवन विश्वद्यिालयले मिचाहा झारमा काम गरिरहेको छ तर यो काम सरकाको सम्बन्धित निकायले चासो देखाएर लागू गर्नुपर्ने हुन्छ । धेरै सरकारी संस्था तथा अन्य संस्थाहरूबीच सहकार्य गरेर काम गर्न आवश्यकता छ । कृषकहरुलाई फाइदा हुने किसिमले ज्ञानको दायरा बढाउन धेरै ठाउँमा ल्याबहरुको स्थापना आवश्यकता देखिन्छ ।

प्रकाशित : श्रावण २९, २०७९ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?