कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८
अन्तर्वार्ता

'संयुक्त जनआन्दोलनको अवधारणामा पुष्पलाललाई पार्टीमै जस दिँदैनन्'

'बाँचुन्जेल गाली गर्नेहरूले मरेपछि बुवाको गुणगान गाए' 
'नेपाल क्रोनी क्यापिटलिजमतिर गइरहेको छ । काण्डै–काण्ड छन् यहाँ । भर्खरै बजेट काण्ड भयो । यी सबै क्रोनी क्यापिटलिजमका लक्षण हुन् । नेताहरु प्रायः सबै पपुलिस्ट भए ।'
'मेरैअगाडि बुवाका बारेमा नेताहरूले तीन घण्टा भाषण सुनाउँदा दिक्क लाग्छ ।'

काठमाडौँ — नेपालमा कम्युनिस्ट पार्टीका संस्थापक मध्येका एक नेता हुन्- पुष्पलाल । उनको जीवनकालमा गद्दार करार गर्नेहरु पनि अहिले उनलाई कम्युनिस्ट आन्दोलनका आदर्श मान्छन् । नेपालको राजनीतिक परिवर्तनको इतिहासमा जसरी कांग्रेस वृत्तमा बीपीलाई उच्च कदर गरिन्छ त्यस्तै कम्युनिस्ट वृत्तमा पुष्पलाल । पुष्पलालसँगै उनकी श्रीमती साहना प्रधानको पनि कम्युनिस्ट आन्दोलनमा उत्तिकै योगदान छ  ।

'संयुक्त जनआन्दोलनको अवधारणामा पुष्पलाललाई पार्टीमै जस दिँदैनन्'

पुष्पलालको राजनीतिक र पारिवारिक जीवन कस्तो थियो ? पुष्पलाल स्मृति दिवसको अवसरमा उनका छोरा उमेशलाल श्रेष्ठसँग इकान्तिपुरका मणि दाहालले गरेको संवाद:

पुष्पलाल नेपाल कम्युनिस्ट पार्टीको संस्थापक हुनुभयो । तपाईं उहाँलाई बुवा र राजनीतिज्ञका रूपमा कसरी सम्झनु हुन्छ ?

बुवाका रूपमा अरुले जसरी आफ्नो बुवालाई सम्झन्छन् म पनि त्यसरी नै सामान्य रुपमा नै बुवालाई सम्झन्छु । मैले आफ्नो बुवालाई सम्झँदा सहृदयी बुवा, नरिसाउने बुवा र सहयोगी बुवाका रूपमा सम्झन्छु । उहाँले हामीलाई कहिल्यै पनि यो गर, त्यो नगर भनेर दबाब दिनुभएन । हुन त उहाँ हामीसित धेरै बस्नु भएन । ४/५ वर्ष त उहाँ निर्वासनमै रहनुभयो । त्यसैबखत उहाँको निधन भयो । त्यसैले म उहाँलाई अत्यन्त सहज व्यक्तिका रूपमा सम्झन्छु ।

अब रह्यो पुष्पलालका रूपमा कसरी सम्झने भन्ने सवाल । मैले उहाँको मृत्यु हुँदासम्म पनि उहाँलाई पुष्पलालका रूपमा चिनेको थिइनँ, बुवाकै रूपमा मात्र चिनेको थिएँ । किन हो मलाई थाहा छैन । म १९/२० वर्षको हुँदा नहुँदै उहाँ बित्नु भएको हो । स्कुल, कलेजमा मलाई कहिल्यै पनि राजनीतिमा चासो भएन । त्यसबेला मैले केही पनि पढिनँ । अहिले लाग्छ मैले त्यसबेला केही जान्न खोजेको भए, पढेको भए मेरो जीवनको मोड नै अर्को हुन्थ्यो होला । त्यसमा मलाई पछुतो त लाग्दैन । तर म जे छु ठीकै छु । सायद मैले त्यहीबेला राजनीतिको अध्ययन गरेको भए, पुष्पलालका बारे बुझ्ने प्रयास गरेको भए, अरु त्यसबेलाका महान नेताहरू जस्तै विश्वेश्वरप्रसाद कोइरालाहरूबारे अध्ययन गरेको भए राजनीति जान्न बुझ्न सहज हुने थियो कि ! मैले उहाँका साहित्यिक कृतिहरूचाहिँ पढेको थिएँ । तर राजनीतिक विचार मैले न मेरो बुवाको पढेँ न उहाँको (बीपी) पढेँ । त्यो कुरा मैले धेरैपछि आएर पढेँ । यसले गर्दा मलाई लाग्छ, सायद मैले त्यसैबेला उहाँहरूलाई पढेको भए, बुझेको भए म राजनीतितिर हुन्थेँ कि !

तर व्यवसायमा भुलिसकेपछि खासगरी २०३२ सालमा मेरो आमाको त्रिभुवन विश्वविद्यालयबाट जागिर खोसिएपछि हाम्रा दिनहरू आर्थिक रूपमा सजिला थिएनन्, कठिन नै थिए । आमाको जागिर हुँदा पनि कठिन नै थियो । त्यसपछि त पढाइ अगाडि बढाउने कि नबढाउने, कसरी जीवन चलाउने भन्ने समस्या पनि आयो । काम गरेर परिवार पाल्नुपर्ने अवस्था आयो । २०३४ सालमा म एउटा ‍औषधि कम्पनीमा एमआरका रूपमा काम गरेँ । अनि जनमतसंग्रहपछि २०३७/३८ सालतिर मैले केही राजनीतिक पुस्तकहरू पनि अध्ययन गरेँ । अलिअलि रुचि पनि लाग्यो ।

उमेर पनि भएर राजनीतिमा रुचि लागेको हो कि ?

त्यो बेला मेरो उमेर कति भएको थियो र ? म २०१४ सालमा जन्मेको हुँ । हाम्रो घरमा एउटा अघोषित नियमजस्तै थियो–परिवारबाट एकजनामात्र राजनीतिमा लाग्ने । बुवा छउन्जेल बुवा लाग्नुभयो । बुवाको निधनपश्चात् आमाले पुनः राजनीतिमा सक्रियता देखाउन थाल्नुभयो किनभने राजनीतिमा त उहाँ २००४ सालदेखि नै लागिसक्नु भएको थियो । मलाई पनि राजनीतिमा आमा भइहाल्नुहुन्थ्यो, त्यसैले मलाई पनि राजनीतिमा प्रवेश गर्नु आवश्यक थिएन । बहुदलको प्रचार गरियो, चुनाव भयो, बहुदलले हार्‍यो । त्यसपछि म उद्योग, व्यवसायमा लागेर पैसाको स्वाद चाखिसकेको थिएँ । पैसाको स्वात त मिठो हुन्छ नि हैन ?

परिवारको कमजोर आर्थिक अवस्थाबारे तपाईंले भन्नुभयो । के कारणले परिवारको आर्थिक अवस्था त्यसरी कमजोर भयो होला ? कारणहरू खोज्नतिर लाग्नु भएन ?

बीएस्सी पास गरिसकेपछि मैले करिब १७ वर्ष जागिर खाएँ । त्यसअघि त मलाई पैसा कमाउनु पर्छ भन्ने चेतै खुलेको थिएन । खुवा, बदाम खाने, एकजोर लुगा र जुत्ता लगाउन पाए पुगिहाल्ने उमेर थियो । हप्तामा एकपटक साइकल चढ्ने पैसा पाए भइहाल्थ्यो । त्योभन्दा हाम्रो माग नै हुँदैनथ्यो । आमाको जागिर गएपछि अलि सचेत भएँ । म जवान पनि भइसकेको थिएँ । बाहिर रेस्टुरेन्टमा जाँदा म:म खानलाई पनि पैसा हुँदैनथ्यो ।

केमा जागिर खानु भएको थियो ?

हेड्स भन्ने कम्पनीमा । २०३४ सालमा ।

बुवा भारत निर्वासनमा जानुभयो । उहाँलाई भेट्न जानु भयो कि भएन ?

हामी हरेक वर्ष भेट्न जान्थ्यौँ । जाडोमा यहाँ मीनपचासको विदा हुन्थ्यो त्यसबेला हामी एक महिना जति उहाँलाई निर्वासनमा भेट्न जाने गर्थ्यौं ।

उहाँ कहाँ हुनुहुन्छ भनेर कसरी थाहा हुन्थ्यो नि ?

पत्र वा मानिसको आवतजावत भइराख्थ्यो । त्यसैबाट उता र यताको हालखबर थाहा भइराख्थ्यो ।

त्यसबेला बुवासित राजनीतिका कुरा हुँदैनथे ?

खासै हुँदैनथे । त्यसबेला मलाई राजनीतिमा खासै चासो थिएन । राजनीतिमा रुचि छैन भनेर म राजनीति नै नबुझ्ने व्यक्तिचाहिँ होइन । राजनीति सबै बुझ्छु । तर म राजनीतिमा जान्न भनेर १०/१५ वर्षअघि नै निर्णय गरिसेकेको हुँ । बुवासित निर्वासनमा भेट हुँदा उहाँ गजबकै व्यक्तित्व हुनुहुँदो रहेछ भन्ने थाहा पाएँ । माया गर्ने बुवा, दिनचाहिँ केही नसक्ने बुवा त्यो रुपमा मैले सोचेको थिएँ । तर पछि मैले उहाँको बारे सोचेँ–अहो ! यो मान्छे त अर्कै रहेछ, यसले जे दिएको रहेछ त्यो त देशको लागि दिएको रहेछ भनेर सोचेँ । आफ्नो सिद्धान्तबाट उहाँ कहिलै विचलित हुनु भएन । मैले पछि के बुझेँ भने संयुक्त जनआन्दोलन भन्ने प्रतिपादन गरेको उहाँले हो । उहाँ आँखामा हाल्दा पनि नबिझाउने व्यक्ति हुनुहुन्थ्यो । तर उहाँलाई उहाँकै पार्टीका कतिपय साथीहरूले ‘गद्दार’ पनि भन्नुभयो । त्यसलाई उहाँहरूले धेरैपछि महसुस गरेर सच्याउनु पनि भयो । बाँचुन्जेल उहाँलाई गाली गर्नेहरूले पनि निधनपछि गुणगान गाए । यो संसारको रीत नै हो ।

हाम्रो राजनीतिक संस्कार नै कस्तो छ भने संयुक्त जनआन्दोलनको क्रेडिट नै पुष्पलाललाई दिन चाहँदैनन् पार्टीमै पनि । एक/दुईजनाले बाहेक संयुक्त जनआन्दोलनको क्रेडिट उहाँलाई दिन नचाहनेहरू देख्दा दुःख पनि पनि लाग्छ । त्यो कञ्जुस्याइँ किन त ?

तपाईंको बुवाले संयुक्त आन्दोलनको धारणा बनाउनुभयो, आमाले चाहिँ नेतृत्व गर्नु भयो नि ?

हो, कस्तो मज्जाको कुरा गर्नु भयो । त्यो बेला कम्युनिस्ट पार्टीमा त्यत्रा त्यत्रा ठूला नेताहरू थिए किन साहना प्रधानलाई नै वाममोर्चाको अध्यक्ष बनाउनु पर्‍यो त ? मेरो बुवाले संयुक्त जनआन्दोलनलाई अघि सार्नु भएको थियो तर त्यसबेला त्यसलाई बुझेर अगाडि बढाउने व्यक्तिहरू नै भएनन् । नेपाली कांग्रेसबाट गणेशमान सिंह जनआन्दोलनको कमान्डर । यता वाममोर्चाबाट आमा हुनुभयो । २०४५ सालमा आमाले मलाई के भन्नुहुन्थ्यो भने गणेशमान सिंहसित मिलेर आन्दोलन गर्ने कुरा गर्दा ‘तिमीहरूको टाउकै दसवटा छ कोसित मिल्ने’ भन्नु हुन्थ्यो । त्यसपछि नौला-नौला मान्छेहरू हाम्रो घरमा आइरहेका देख्थेँ । मैले आमासित यी मान्छेहरू को हुन् भनी सोध्दा भन्नुहुन्थ्यो वाममोर्चा बनाउने तयारी भइरहेकाले आउनु भएको हो । वाममोर्चा बन्नुमा सबै वाम पार्टी र गणेशमानजीको पनि केही न केही योगदान थियो किनभने जसले देशको लागि केही सोच्छ उसले पार्टीभन्दा बाहिर गएर पनि सोच्छ । मेरो पार्टी र मैमात्र सही भनेर अगाडि बढ्न खोजेपछि सहमतिको राजनीति चल्न सक्दैन । २०४२ सालको सत्याग्रहमा कांग्रेसले कम्युनिस्टको साथ चाहिँदैन भन्यो । २०३६ सालको जनमतसंग्रहमा पनि कांग्रेस र कम्युनिस्ट मिल्न सकेनन् । सायद त्यसपछि कांग्रेसमा पनि अलि चेत आयो होला ।

तपाईंलाई राजनीतिमा लाग्न अफर आएन ?

दुवैचोटीको संविधानसभा निर्वाचनमा मलाई आग्रह गरिएको थियो । मैले दुवै हात जोडेर राजनीतिमा आउँदिनँ भनेर नेताहरूलाई भनेँ । किन गइनँ मलाई थाहा छैन । तर जे गरेँ ठीकै गरेँ । मेरो स्वभाव नै राजनीति गर्ने खालको छैन । सायद मेरो बुवाको पनि थिएन होला । राजनीति गर्न चाहनेमा अलिकति आँट हुनुपर्योे, बठ्याइँ पनि हुनुपर्यो । समय र मौसमअनुसार रङ बदल्नु पर्यो । म त्यो नसक्ने व्यक्ति परेँ । म जे देख्यो त्यही बोल्छु । त्यसले गर्दा मैले धेरै भुक्तमान भोग्नु परेको छ ।

अहिले राजनीति धेरै सैद्धान्तिक छ या व्यवहारिक ? आदर्शअनुसार चलेको छ कि छैन ?

सैद्धान्तिक भन्ने हाम्रो संविधानमा छ । त्यो के भने तीन खम्बे अर्थनीति, समाजवादउन्मुख अर्थनीति । त्यो सिद्धान्त हो । यो राजनीतिक सिद्धान्त होइन, आर्थिक सिद्धान्त हो । हामी कस्तो प्रकारको आर्थिक नीति चाहन्छौँ त ? हाम्रो संविधानले प्रस्ट भनेको छ, खुलाबजार अर्थतन्त्र हुनेछ । तीन खम्बे अर्थनीति हुनेछ । सहकारीको कुरा छ । यो पनि निजी क्षेत्रकै कुरा हो । खासमा निजी क्षेत्र हुनुपर्ने हो । सहकारी थपियो । किन थपियो ? त्यो थाहा भएन । समाजवादतर्फ उन्मुख । मैले समाजवाद सोच्दाखेरी कस्तो सोच्छु भने स्तरीय बजार अर्थनीति ।

२००६ सालमा पुष्पलालले गरेको सामाजिक व्याख्यालाई तपाईंले कसरी हेर्नु भएको छ ?

म त्योभन्दा अगाडि जान्छु । कार्ल मार्क्सले दास क्यापिटल लेखे । त्यो लेख्दाताकाको समाज कस्तो थियो ? त्यसबेला मजदुर क्रान्ति हुँदा मजदुरहरू हेपिएका थिए, थिचिएका थिए, पिल्सिएका थिए, उनीहरूको स्थिति दयनीय थियो । त्यसैले त्यो बेला मार्क्सिज्म आवश्यक थियो । त्यसले केही परिवर्तन त ल्यायो तर सफल भएन । किनभने मार्क्सले सायद व्यक्ति महत्त्वपूर्ण हुन्छ भन्ने कुरा बिर्सिए कि ? खान, लाउन दियो । के त्यसले मात्र व्यक्तिको इच्छा पूरा हुन्छ त ? मेरो बुवा पनि सुरुमा त कांग्रेसै हो नि ! पछि पो कम्युनिस्ट पार्टीको स्थापना गर्न पुग्नुभयो । त्यसबेला नेपाली समाजलाई उहाँले भने जस्तै क्रान्तिको आवश्यकता थियो । तर अहिले साम्यवादी चीन पनि परिवर्तन भइसकेको छ । चीनमा अहिले अर्थतन्त्रको केही भाग राज्यनियन्त्रित भए पनि धेरैजसो निजी क्षेत्रकै नियन्त्रणमा पुगिसकेको छ । जबकि त्यहाँ सरकारले पनि व्यापार गर्छ । माओकालीन अर्थतन्त्रको अवधारणामा संशोधनतिर त उनीहरू गए । के अब डेढसय वर्षअघिको अर्थतन्त्रलाई च्याप्पै समातेर बसिरहने ? म त्यसलाई भन्छु–जडसूत्रवाद । सन् १९१८ मा मार्क्सले फलानो किताबमा यसरी बोलेका थिए भन्ने कुरा अहिलेको समाजमा सान्दर्भिक नहुन पनि सक्छ । त्यसैले अहिलेको आवश्यकता भनेको खुला अर्थतन्त्र नै हो । समाजवादतिरकै यात्रा हो । त्योभन्दा बढि म अर्को देख्दिन । तर नेपाल त्यो दिशामा गइरहेको देख्दिन । नेपाल क्रोनी क्यापिटलिजमतिर गइरहेको छ । काण्डै–काण्ड छन् यहाँ । भर्खरै बजेट काण्ड भयो । यी सबै क्रोनी क्यापिटलिजमका लक्षणहरू हुन् । नेताहरू प्रायः सबै पपुलिस्ट भए ।

२०५१ सालमा मनमोहन अधिकारकारीको पालामा सय रुपैयाँ वृद्धभत्ता थियो । अहिले बढाएर कति बनाइसके । मैले वृद्धभत्ता नदेऊ भनेको होइन, देऊ । हामीले घाँटी हेरेर हाड निल्नुपर्छ नि ! जम्मा १७/१८ खर्बको हाम्रो राष्ट्रिय बजेट छ । साढे ३ खर्बजतिको विकास बजेट छ । हामी यसरी सुरक्षा भत्ता दिन कसरी सक्षम हौँला ? जबसम्म तपाइँले आफ्नो देशको औद्योगिकीकरण गर्न सक्नुहुन्न, कृषिलाई सुधान गर्न सक्नुहुन्न, फ्रिमा बाँड्नु हुन्न । बाँडिसकेकालाई मेरो भन्नु केही छैन । अहिले त ६८ वर्षमै वृद्ध भत्ता पाउने भइसक्यो । के यो धान्न सकिन्छ ? यस्तो काम हामीले गर्नु हुन्न ।

यसको अर्थ के अर्थतन्त्र टाट पल्टिन लागेको हो ?

श्रीलंका नै त हुँदैन होला । यस्तै गर्दै जाने हो भने टाट त पल्टिन सक्छ नि ! विकास हुँदैन । साधारण खर्च, ऋण तिर्ने जस्ता काममा नै अर्थतन्त्र सकिन्छ । यसबारे नेताहरूमा चेत आउनुपर्‍यो । खालि कुर्सीमात्र ताकेर भएन ।

२००६ सालमा पुष्पलालले ल्याउनु भएको छ जस्तो आर्थिक सामाजिक व्याख्या राजनीतिक दलहरूले गर्नुपर्‍यो भन्ने हो ?

निश्चित रूपमा । अहिले जसरी चलेको छ त्यसरी गर्नु हुँदैन । अहिले सबै आयात बन्द गरिएको छ । त्यसरी गर्नु हुँदैन भन्ने मेरो मान्यता हो । भदौ १४ गतेसम्म विलासिताको वस्तुको आयात रोक्यो त्यो ठीकै छ तर त्योसँगसँगै देशको उद्योग विकास गराउने निर्यातजन्य उद्योगलाई अघि बढाउने त्यो कार्यक्रम पनि ल्याउनु पर्ने होइन र ? कृषिलाई केही न केही गर्नु पर्ने होइन र ? कृषिको ऋण भनेर ८ खर्ब रुपैयाँ बैंकबाट गएको छ । त्यो पैसा कहाँ गयो ? त्यो पैसाको छानबिन हुनपर्छ । त्यो सबै जग्गा खरिदमा गएको छ । कृषिको नामका केही पनि छैन । कृषिको नाममा एउटा दुई वटा फलफूल लगाएका छन् । ती सबै हाम्रै साथीहरू हुन् । त्यसैले नीति नियम बनाउँदा दीर्घकालीन प्रभावहरूलाई विचार गरेर बनाउनुपर्छ । तर अहिले अल्पकालीन सोचमा मात्रै छ । कृषि विकासभन्दा ऋण दिएर मात्रै हुन्छ र ?

पुष्पलाल स्मृति दिवसका कार्यक्रमहरू हुने गरेका छन् । कतिको सहभागी हुने गर्नु भएको छ ?

अहिले जान मन लाग्न छाडेको छ । भोलिको आज(शुक्रबार)सम्म निमन्त्रणा आएको छैन । निम्तो आयो कि भनेर चेक गरेँ । हुन त पुष्पलाल स्मृति प्रतिष्ठानको कार्यकारी सदस्य पनि हो । बुबाको स्मृतिमा भएको कार्यक्रममा प्राय: जसो जाने गरेको छु तर मलाई त्यति रुचिकर भने भएको छैन । डेढ २ घण्टामा त्यहाँ नानाथरीको कुरा मात्रै गर्ने गरेको मन पर्दैन ।

वैचारिक विषयमा पुष्पलालको योगदान थियो । त्यस्तो कार्यक्रममा वैचारिक विषयमा कुरा गरेको भए राम्रो हुन्थ्यो । त्यहाँ बसेर नेताहरूले त्यही पुरानो राग २-३ घण्टा अलाप्ने काम हुन्छ । मानिस जति सुकै बोर भए पनि भाषण दिएपछि नेताहरूको रोक्ने चलन छैन । 'पुष्पलाल यस्तो त्यस्तो' भनेर २० औं वर्षदेखि भन्दै आएका छन् । मेरो बाबुको बारेमा मैले ३ घण्टा सुन्नु पर्ने दिक्क लाग्छ । मलाई त्यस्तो कार्यक्रममा जाने रहर कम छ तर नजाउ अर्को कुरा हुन्छ । तर मेरो व्यक्तिगत रहर भने कम हुँदैछ ।

प्रतिष्ठान साहना प्रधानको नाममा पनि छ नि ?

त्यो पनि अहिले समस्यामा छ । कोभिड ता कुनै काम भएको छैन । एक पटक कार्यक्रम भएको थियो । त्यहाँ जाने गरेको छु । दुवै प्रतिष्ठान अहिले अंशबण्डामा परेका छन् । दुवै एस(नेकपा एकीकृत समाजवादी)मा गए । एउटाको अध्यक्ष माधव नेपालजी हुनुहुन्छ भने अर्कोको अध्यक्ष रामकुमारीजी ।

एमालेको विभाजनको कारणले त्यस्तो भएको हो ?

विभाजनको कारणले खासमा जान मन लागेको पनि हो । किन मिल्छन, किन फुट्छन ?

यस विषयमा नेताहरूसँग कुरा भएको छैन ?

कहिलेकाँही सोध्छु तर नेताहरूले तपाईंले बुझ्न हुन्छ भनिदिन्छन्, त्यसपछि सकियो । नेताहरूले बुझ्नुहुन्छ भनेपछि सक्किगो नि ! महाकाली सन्धिका कारण माले र एमाले छुट्टियो । त्यतिबेला मैले मेरो आमा र वामदेवजीलाई पार्टी विभाजन गर्ने गलत काम नगर्नुहोस् भनेको थिएँ । लडाइँ गर्नु छ भने घरभित्र बसेर गर्नुहोस् छुट्टिँदा राम्रो हुँदैन भनेको थिएँ । कम्युनिस्ट छुट्टिएपछि असाध्यै मारामार गर्छन् मिले भने असाध्यै मिल्छन् कट्‍टु साटेर लगाउँछन् भनिन्छ ।

माओवादीसँग सम्पर्क हुँदैन ?

म चिन्छु उहाँहरूले पनि चिन्नु हुन्छ होला । धेरैलाई होइन पुष्पकमलजीलाई चिन्छु । दोहोरै चिनजान छ । लिलामणिजी, गिरिराजमणिजी, पम्फाजीसँग चिनजान छ । सबैसँग मेरो सम्पर्क छैन ।

एमालेसँग जस्तो सम्पर्क छैन?

एमाले घरकै त नभनु तर उहाँहरूसँग जस्तो सम्पर्क र सम्बन्ध माओवादीसँग छैन । कसैले बोलाए जाने हो । बुवा-मुमाबाहेक अन्यको कार्यक्रममा जान्न । कसैले भेट्न चाहे भेट्छु । मसँग खासै राजनीतिक कुरा पनि गर्नुहुन्न, व्यक्तिगत वा व्यापारका कुराहरू हुन्छ । कांग्रेसमा पनि साथीहरू हुनुहुन्छ । एउटा व्यापारीका रूपमा सबै राजनीतिक दलसँग सम्बन्ध उस्तै छ ।

प्रकाशित : श्रावण ७, २०७९ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?