कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३
अन्तर्वार्ता

'माधव कमरेडले निरीहता प्रदर्शन गर्नुभयो' [भिडियो]

केन्द्रीय परिषद् बैठकमा मैले बोल्न खोज्दा ५ मिनेट पनि समय पाइनँ
जुन पात्रहरुले हामीलाई हस्ताक्षर गराए, त्यही पात्रले फेरि चोचोमोचो मिलाए
भूराजनीतिमा हाम्रो नेतृत्वले 'ब्लन्डर' गर्दैछ
मेरो 'इमोसनल' हुने र आफूलाई 'कन्ट्रोल' गर्न नसक्ने कमजोरी छ

काठमाडौँ — पार्टीभित्रको पूर्व भागबन्डाअनुसार नेकपा एकीकृत समाजवादीले आइतबार सरकारमा संलग्न आफ्ना मन्त्रीहरु फेरबदल गरेको छ । तर मन्त्री फेरबदल प्रकरणले नेकपा एसभित्र भने कलहको बीउ रोपिएको छ । नेकपा एस पार्टीभित्रको कार्यशैली कस्तो छ भन्ने मन्त्री फेरबदल प्रकरणमा बाहिर छताछुल्ल भएको छ ।

'माधव कमरेडले निरीहता प्रदर्शन गर्नुभयो' [भिडियो]

मन्त्री चयन प्रकरणले पार्टी भित्र निम्तिएको रडाको कस्तो खालको हो ? यसै सन्दर्भमा हालै सरकारबाट बाहिरिएकी निवर्तमान मन्त्री तथा नेकपा एसकी सचिव रामकुमारी झाँक्रीसँग इकान्तिपुरका दुर्गा खनाल मणि दाहालले गरेको कुराकानी:

तपाईं मन्त्री भएर मन्त्रालय छिर्दै गर्दा एउटा माहोल थियो । तर मन्त्रीबाट बाहिरिंदै गर्दा भावुक बन्नुभयो । तपाईंको त्यो आँसुको अर्थ के थियो ?

म मन्त्री हुँदा पनि सायद त्यस्तो धेरै खुसी थिईनँ । एउटा पार्टी फुटाएर नयाँ आन्दोलन सिर्जना गर्नुपर्छ भनेर लागेका थियौं । बिग्रेको बाटोलाई करेक्सन गर्ने भनेर आएका थियौं । संसद् विघटन भएको अवस्थामा संविधान निष्प्रभावी हुने हो कि भन्ने थियो । कयौं संवैधानिक प्रश्न उठेका थिए । खासगरी म पनि संलग्न रहेको पार्टीको पूर्ववर्ति सरकारका कारण ०६२/०६३ का आन्दोलनका उपलब्धीमा कुनै न कुनै हिसाबले प्रश्नचिन्ह उठेका थिए ।

त्यो सन्दर्भमा मन्त्री भईराख्दा खुसी भन्दा ज्यादा चुनौती थियो । त्यसैले धेरै खुसी थिइनँ । निस्कँदै गर्दा चाहिँ साँच्चै खुसी थिएँ तर हरेक मानिसका केही कमजोरी हुन्छन्, कोही पानीसँग डराउने,कोही उचाइमा डराउने, रोटेपिङ खेल्न नसक्ने, कोही बन्जी गर्न नसक्ने । मेरो चाहिँ भावनाको कुरा आयो भने बढ्ता 'इमोसनल' हुने र आफूलाई 'कन्ट्रोल' गर्न नसक्ने कमजोरी छ । पहिले त मैले दबाएको रहेछु । तर हिजोचाहिँ मैले दबाउन सकिनँ ।

कारण के थियो भने, मेरो आठ महिना २० दिनको कामको समीक्षा चाहिँ मैले गरेको थिइनँ, मेरो मन्त्रालयका निमित्त सचिवले गर्दै हुनुहुन्थ्यो । उहाँले मैले पहिलो दिन के गरेँ, मेरो 'डिपार्चर' कहाँबाट सुरु भयो, 'रिफर्म' कहाँबाट सुरु गरेँ, मन्त्रालयमा ब्यालेन्स गरेर 'स्ट्रक्चर'मा के काम गरेँ, फोहोर व्यवस्थापनमा के गरेँ,मन्त्रालयका 'रिफर्म'का लागि जे-जे गरेँ ती कुराहरु राम्ररी सैद्धान्तिकृत गरेर फेहरिस्त सुनाउँदा मैले आफूलाई 'कन्ट्रोल' गर्न सकिनँ । छोटो समयमा भएको कार्यक्रममा उहाँले त्यो काम गर्नुभयो । सचिव लगायत मन्त्रालयका अन्य कतिपय व्यक्तिहरु बाहिर जानुभएको थियो । तर उहाँहरु नभएको कुनै 'फिल' भएन राम्ररी प्रस्तुत गरिदिनुभयो । त्यसले मलाई 'इमोसनल' बनायो ।

मन्त्रालयका अधिकारीले तपाईंले गरेको काम राम्ररी प्रस्तुत गरिदिए भनेर मात्र भावुक हुनु भएको हो ? कि, म एउटा धारको राजनीति गरेको मान्छे विद्रोह गरेर आएर यस्तो अवस्थामा मन्त्री बनेको तर पार्टीले न्याय गरेन वा आफ्नै भावी राजनीतिक करियर कता जाला भन्ने चिन्ताले ?

तपाईंले अहिले भन्दा चाहिँ त्यो सम्झिएँ । तर त्योबेला यस्ता कुनै कुरा सम्झेको थिइनँ । राष्ट्रिय सभामा प्रश्नको उत्तर दिएपछि हामीले छोड्ने भन्ने हाम्रो टिमका सबैलाई थाहा थियो । हामी तयारी नै थियौं ।

हामीसँगै पार्टीमा लागेका धेरै साथीहरु थियौं । त्यसमध्ये हामीले पहिले चान्स पायौं । यसमा एउटा सानो सैद्धान्तिक कुरा के थियो भने- सँगै भएका एक मन्त्रीलाई चाहिँ अपग्रेड गरियो । गैरसांसदलाई पनि मन्त्री बनायौं । यस्ता विषयमा विगतमा पनि प्रश्न उठेका थिए । म महिला थिएँ मेरो ठाँउमा अर्को कुनै महिलाले 'चान्स' पाएको भए समावेशी हुन्थ्यो भन्ने केही सैद्धान्तिक विषयमा मात्र केही विमती थियो । हामी चारजनालाई बाहिर निकाल्दा एकजनालाई चाहिँ किन यति अँगालो हाल्ने भन्ने त जायज प्रश्न थियो । त्यो कुरा हामीले पार्टीमा राखेका थियौं ।

यो प्रकरणमा हामीले के भनेका थियौं भने- हामी बजेट 'डिफेन्स' गरेर छोड्छौं । त्यो कुरामा हाम्रो नेतृत्वलाई विश्वासमा लिन चाहन्थ्यौं । यो कुरामा उहाँहरुले कति के-के गर्नु भयो त्यतातिर म जान चाहन्नँ । आज भन्दा दुई तीन महिना अघि नै चैततिर जब साथीहरुले 'काउन्टडाउन' सुरु गरे, हाम्रोबारेमा 'नेगेटिभ भाइब्स'हरु सिर्जना गर्ने काम सुरु गरेपछि हामीले पार्टी अध्यक्षलाई 'हामीलाई पहिले संकेत मात्र दिनुहोस् ताकी हामी वातावरण मिलाएर छोड्छौं' भनेका थियौं । हामीलाई दु:ख चाहिँ के-को हो भने- हठात् त्यस्तो निर्णय लुकाएर प्रधानमन्त्रीकहाँ पुर्‍याउनु भन्दा यो दिनमा यस्तो यस्तो हुँदैछ है मात्र भनिदिएको थियो भने हाम्रो गुनासो नै हुने थिएन । तर त्यो गुनासो गर्ने ठाँउ दिनुभयो । अर्को कुरा बजेट अधिवेशन चलिरहेका बेला कि त कसुर गरेको हुनुपर्‍यो कि सरकार अल्पमतमा पर्नुपर्‍यो कि हामीले व्यक्तिगत हिसाबले अपराध गरेको हुनुपर्‍यो, जसले गर्दा छोड्नुपर्ने परिस्थिति आएको होस् । हामीले बनाएको नीति,कार्यक्रमबारे त भन्न मन हुन्छ नि ! मलाई चाहिँ संसद्मा यो कुरा भन्न मन थियो ।

सुधारको एजेण्डा बोकेको मानिसलाई आफूले गरेको काम, बनाएको नीति, कार्यक्रम र विनियोजनको बारेमा भन्न मन हुन्छ । हामी चारै जनाले त्यो चाहेका थियौं । मैले सहरी विकास मन्त्रालयमा रहेर जे जस्ता सुधारका काम गरेँ त्यो ठूलो माइलस्टोन भएको यो विषयका अधिकारीहरुले बताउनुहुन्थ्यो । मिडियामा पनि भन्न सक्थेँ । तर संसद्मा बोलेको विषय इतिहास हो, रेकर्ड रहन्थ्यो । प्रतिनिधिसभाको मात्रै जवाफ दिएर भएन माथिल्लो सदनमा पनि जवाफ दिनुपर्‍थ्यो। हामीले बजेटमा जवाफ दिन्छौं भन्ने विषय स्वाभाविक थियो ।

निर्णयपछि सञ्चार माध्यमहरुबाट थाहा पाउनु भएको भन्नुभयो । त्यस विषयमा नेतृत्वले कुनै छनक पनि दिएको थिएन ? कि तपाईंहरु आफ्ना काम गर्दा नेतृत्वसँग परामर्श गर्नुहुन्नथ्यो ?

मन्त्रीस्तरीय निर्णयहरु गर्ने भएपनि विश्वासका लागि पार्टी अध्यक्षसँग स-साना विषयमा पनि परामर्श गर्ने र सुझाव लिनुपर्ने हुन्छ । आफ्नोसँग मात्रै नभएर कतिपय अवस्थामा गठबन्धनका अन्य नेताहरुसँग पनि परामर्श गर्नुपर्ने हुन्छ । प्रधानमन्त्रीसँग पनि गर्न परि नै हाल्छ, कहिलेकाहीँ अन्य संवैधानिक अंगहरुसँग पनि परामर्श गर्नुपर्छ । त्यो नियमित काम हो ।

नेता मात्रै हुँदा कयौं दिन अध्यक्षलाई नभेट्दा पनि फरक पर्दैन होला । तर मन्त्री हुँदा नियमित सम्पर्कमै बसिरहनुपर्छ । हामीले परामर्शको कहिले पनि अभाव हुन दिएनौं । स्थानीय तहको चुनावको कारणले कहिले अध्यक्ष बाहिर, कहिले हामी बाहिर हुने अवस्था रह्यो । फिजिकल भेटघाट हुनलाई २-४ दिन मात्र ग्याप भयो होला तर फोनमा कुराकानी हुनेमा कहिले पनि अभाव भएन । नेतृत्वको विश्वासमै रहेर काम गर्ने भन्ने आफूले पनि सिकेको छु । र जुन तहको नेतृत्वमा भएपनि हरेकले आफूसँग काम गर्ने व्यक्तिहरु विश्वासमै होस् भन्ने पनि चाहन्छ ।

पार्टीले गत असोजमा मन्त्री बनाउँदै ६-६ महिनाको कार्यकालको विषय आएको थियो । चाँडोचाँडो मन्त्री परिवर्तनले सरकारको काम प्रभावित हुनसक्छ भन्ने विषयमा पार्टीले कहिल्यै सोचेन ?

६-६ महिनाका लागि हो भन्ने अध्यक्षले जुन कुरा भन्दै आउनु भएको छ, त्यो हामीलाई भनिएको पनि थिएन । सहीछाप पनि गरेका थिएनौं । जसरी बाग्मतीको मुख्यमन्त्रीले सहीछाप नै गरेर कागज नै राख्नु भएको छ । पार्टीसँग कुनै करार गरेका थिएनौँ । तर प्रेम आलेले चाहिँ म ६ महिना हुन्छु, धनबहादुर बुढालाई ६ महिना बनाउने भनेर गठबन्धनका नेताहरु, पार्टी अध्यक्ष र प्रधानमन्त्रीलाई भन्नु भएको थियो । सार्वजनिक रुपमा भन्दै पनि हिँड्नु भएको थियो । धनबहादुर बुढाको पनि प्रेम आले भए हुन्छ मलाई चाहिँदैन भनेर 'वाकओभर' दिएको जस्तो व्यवहार देखिन्थ्यो र सुनिन्थ्यो । हामी तीन जनाको हकमा त्यस्तो कुरा थिएन । न करारनामा उहाँहरुबाट लिएका थियौं वा उहाँहरुले हामीलाई भन्नु भएको थियो । तर पार्टीले भनेको बखत ६ घण्टामै हामी ब्याक हुनुपर्छ भनेर दिमागमै राखेर हिँडेका थियौं । भोलि म नहुनसक्छु भनेर नै काम गर्दथ्यौं । सामान्यत: सबैले त्यसैगरी नै काम गर्ने हो । ६ महिना भनिएको थिएन । तर पार्टीले भनेको बखत जुनसुकै बेला ब्याक हुनका लागि तयार थियौं ।

बजेटको अधिवेशनमा हामीले जिद्दी गरेको जस्तो देखियो, त्यो हाम्रो अधिकार र कर्तव्य पनि हो । त्यही कारणले हामीले दाबा गरिराख्यौं अन्ततोगत्वा हामी सफल भयौं । पार्टी अध्यक्षले २१ दिनमा ४२ पटक प्रधानमन्त्रीसँग सपथग्रहणका लागि भन्न जानुभयो भन्ने सुनिन्छ । त्यस्तो कसरत गर्नुपर्दैनथ्यो, उहाँले २२ गते दिउँसो बोलाएर भनेको भए हामी बजेटसम्म भन्थ्यौं त्यसपछि भैहाल्थ्यो । अध्यक्षले आफ्नो विश्वास आँफैले गर्नसक्नु भएन ।

एमालेबाट विद्रोह गरेर बाहिरिँदा विधि पद्धतिको कुरा गर्नुहुन्थ्यो । अहिले तपाईंहरुको पार्टीमा पनि पुरानै समस्या दोहोरिएको हो ?

ठूलो डेच्कीको भात सानो ताउलीमा खन्याएको जस्तो हो । चरित्र, शैली, चिन्तन, व्यवहार त्यहाँबाट त्यति नै आएको हो । यस विषयमा यति नै भनाइ छ । बाँकी कुरा गफै हुन् ।

अध्यक्ष मात्रै होइन तपाईंहरु पनि विधि र पद्धतिको कुरा गर्नुहुन्थ्यो । तपाईंहरुसँग परामर्श भएन होला तर सचिवालयले निर्णय गरेपछि त्यसको विरुद्ध आफ्नो अध्यक्षलाई भन्दा बढी माओवादी केन्द्रका अध्यक्ष र प्रधानमन्त्रीलाई भेट्नु भयो नि ? यो चाहिँ कस्तो विधि र पद्धति हो ?

इतिहासमा एउटा कठोर मूल्याकंनको प्रक्रियामा सबै जानुपर्छ । १० जनाको हस्ताक्षर कुन शैलीमा, कसको पहलमा भयो त्यो भन्न चाहन्न । तिनै पात्रहरु 'यूटर्न' कसरी भए ? भन्न चाहन्न । इतिहासले प्रमाणित गर्छ । उनीहरुले दोहोरो भूमिका खेले । हामीले प्रधानमन्त्रीलाई असार ११ र १२ गते राष्ट्रियसभामा छलफल भएपछि हामी फर्किने मानसिकता बनाएका छौं भनेर सन्देश दिन गएका थियौं । प्रधानमन्त्रीले 'ठिकै छ हामी टिममै छौं' भनेर भन्नुभएको थियो । राष्ट्रियसभाबाट पारित भएपछि नयाँ मन्त्रीलाई सपथग्रहण गराउँदा हुन्छ भनेर भन्न हामी ३ जना गएको हो । आले मन्त्रीज्यू अलि अघि जानु भएको रहेछ । माधव नेपालको घरमा उहाँले (आले) झापझुप सांसदहरु बोलाउनुभयो । त्यहाँ एकै पटक ८ जना सांसद भइयो । त्यसपछि माधव कमरेडले निरीहता प्रदर्शन गर्नुभयो । 'म पार्टीभित्रै अल्पमतमा परेँ, मलाई अफ्ठ्यारो पर्‍यो निर्णय कार्यान्वयन गर्नका लागि' भन्नुभयो । हामीले तपाईंसँगै छौं भनेर भन्यौं ।

माधव कमरेडलाई स्पष्टसँगै भनेको छु तपाईसँग तमाम विषयमा फरक थिए । म केटाकेटीमा राजनीति कति बुझ्थे त्यस समयमा पनि फरक नै थियो । तर अहिलेको मुद्दामा तपाईंसँगै छु । मैले काम गर्ने साथीहरुको ठूलो टिम छाडेर तपाईँसँगै आएको हो । तपाईँसँगसँगै भएको हो । तपाईँसँग हामी छौँ भनेर ढाडस दिन खोजेका थियौं । तर त्यस समयमा थाहा भएन आले मन्त्रीलाई निर्देशन गर्नुभयो कि के भयो ८ जना सांसदहरु त्यहाँ जम्मा गरिदिनुभयो । भोलि बिहीबार थियो, ट्रिटमेन्ट प्लान्टको शिलान्यास र सहरी विकास नीतिको रिभ्यु गर्नु थियो । त्यसैदिन नौ वटा मन्त्रालयका अधिकारीलाई र हाम्रो मन्त्रालयको टोलीलाई राखेर यस्तो हो भनेर छलफल गर्ने कार्यक्रम थियो । निकै व्यस्त थिएँ । शुक्रबार स्वास्थ्यमन्त्री विरोध खतिवडाको निवासमा सांसदहरुको भेला रहेछ । त्यसमा सांसदहरु माधव नेपालको साथमा छौं भन्ने कुरा थियो । यो माधवजीलाई बलियो बनाउने कुरा हो भन्ने भयो ।

बलियो बनाउने विषयमा पनि हाम्रो केही रिजर्भेसन छन् त्यो रिजर्भेसन लेखौं भन्नेभयो । बजेट अधिवेशन चलेको समयमा मन्त्री परिवर्तन गर्ने कुरा गलत हो, यसमा सहमत हुन सकिन्न,पूर्व जानकारी भएन तरपनि बजेटको प्रतिरक्षा गरिसकेपछि छाड्छौँ भन्नेमा मन्त्रीहरु प्रतिबद्ध हुँदाहुँदै पनि पटक पटक दबाब दिने, प्रधानमन्त्रीलाई गएर सपथग्रहण गराउन भन्ने नेतृत्वको कार्यशैली ठिक भएन, नयाँ मन्त्री ६-६ महिनामा दिने भन्ने नेतृत्वको कुरालाई मान्ने हो भने पनि एकै पटक सपथग्रहण गरेका केही हट्ने र पदोन्नती साथ कार्यवधि थप हुने न्यायीक भएन । बनाएको मन्त्रिमण्डल असन्तुलित भयो । एउटै जिल्लाबाट २ जना, महिला नरहेको र गैर सांसद पनि मन्त्री भएको भन्ने भयो । एमालेमै हुँदा रामबहादुर थापाको पत्निलाई मन्त्री बनाउँदा माधव कमरेडसहित हामीले चर्को विरोध गरेका थियौं । यो सबै विषयमा कुरा उठे । निर्णय प्रक्रियाको बारेमा पनि कुरा उठे । दलको बैठक राख्नुहोस भन्ने विषयमा यति सांसद भेटिसक्यौं त्यो लेखौं भन्ने भयो । मलाई कण्ठै भएको कुरालई ड्राफ्ट गरेर एउटा पानो त्यहिँ छाडेर हिँडेको हो । मन्त्रीका लागि चार स्थान खाली राखेर सांसदले पछिबाट हस्ताक्षर गर्दै गए ।

माधवकुमार नेपालले म निरीह भए, निर्णय कार्यान्वयन गर्न नसकेको भन्ने ठूलो प्रश्न आयो,कमजोर ठानियो, कुरै सुनिन्न भनेर ८ जना सांसद तथा मन्त्रीको अघि भन्नु भएको थियो । त्यसको भोलिपल्ट हस्ताक्षर गरिएको हो। विरोध दाईलाई मन्त्रीहरुले बजेटको प्रतिरक्षा गरेपछि ब्याक हुन्छन भनेर भनिदिनुहोस् भनियो । यो प्रकारको पेलान र असहिष्णु व्यवहार ठिक भएन भन्ने मन्त्रीहरुको कुरा पनि भनिदिनुहोला भनियो। मन्त्रिमण्डल समावेशी सिद्धान्तअनुसार बनाउनुपर्छ त्यो भएन भन्नका लागि सचिवालयको बैठक राख्नुहोस पनि भनियो ।

विरोध दाइले यसअघि सचिवालय बैठकमा पनि यो पार्टीमा मैले नमस्कार गर्नुपर्ने चार जना होलान्, बाँकी मानिसले मलाई नमस्ते गर्ने र हात मिलाउने होलान्, त्यसकारण म अहिले कहाँ छु, मेरो पोजिसन के छ भन्ने होइन, पार्टीमा म त्यति तल भुँईको कार्यकर्ता पनि थिइन् भनेर आफ्नो केही कुरा पनि भन्नु भएको थियो । त्यसको भोलिपल्ट प्रेम आलेजीले सांसदहरु जम्मा गर्नुभयो र हस्ताक्षर गराउनुभयो ।

तर त्यस समयमा बाटोको विषयलाई अघि बढाउनका लागि म बन्चरेडाँडा गएको थिएँ । बन्चरेडाँडाबाट फर्केपछि संसदीय समितिले बोलाएको रहेछ । सचिव पनि नभएको कारणले मन्त्री पनि नजादाँ राम्रो पनि मानिन्न भनेर समितिको बैठकमा गएँ । त्यस समयमा स्वास्थ्यमन्त्रीले फोन गरेर १० जना सांसदले हस्ताक्षर गरेका रहेछन् मैले माधव कमरेडलाई पार्टी कार्यालय पठाइदिए भन्नुभयो । साथीहरुसँग सल्लाह हुँदा पनि पठाइदिँउ भन्ने भयो, मैले ध्यानाकर्षण भनेर हातले लेखेर पठाइदिएँ भनेर विरोध दाईले भन्नुभयो । पार्टी कार्यालयबाटै त्यो मिडियामा पुग्यो । अन्य काममा व्यस्त भएको कारण त्यसतर्फ ध्यान नै दिएको थिइन । त्यो पठाएपछि आले माननीयले ४८ घण्टामा राजीनामा दिन्छु भन्नुभएछ । भोलिपल्ट उहाँ धनगढीतर्फ जानुभयो । आलेजीले ल्याएका सांसदहरुलाई सोमप्रसाद पाण्डेले हस्ताक्षर गराउनु भएछ । जो नाटक भैरहेको थियो त्यो मिडियाबाट थाहा पाइरहेको थिएँ । जुन पात्रहरुले हामीलाई हस्ताक्षर गराए, त्यही पात्रले फेरि चोचोमोचो मिलाए र डिफ्युज गरे, त्यसमा क- कसले कुन कुन उद्देश्यले के-के गरे यसको कथा यही हो ।

भनेपछि एकजना कुनै व्यक्तिले नेतादेखि लिएर सबै पार्टीलाई चलाइरहेको छ ?

सबैलाई चलाइरहेको छ । अनि मिडिया पनि हो फेरि ।

त्यसको अर्थ जुन विधिको कुरा गरिएको थियो, त्यो विधि अनुसार पार्टी चलेको छैन ?

पटाक्षेपहरु त्यस्तो भइरहेको छ ।

तपाईं अहिले पार्टीको सचिव हुनुहुन्छ । पार्टीका हरेक निर्णयहरुमा तपाईंको पनि भूमिका हुन्छ । तपाईं मन्त्री भइरहँदा पार्टीमा गरिने निर्णय प्रक्रियामा कुनै पनि रुपमा सामेल हुनु भएको छैन ?

अस्ती स्थायी कमिटीको बैठकमा गएर हस्ताक्षार गरेँ । अनि सामेल नै छु भन्नुपर्‍यो । पोलिटब्यूरोमा हस्ताक्षार गरेँ,सामेल नै छु भन्नु पर्‍यो । केन्द्रीय कमिटी बैठकमा चाहिँ म गइनँ । किनभने त्यो शनिबार थियो कि के बार थियो । म चाहिँ त्यो बैठक खै के कारणले गइन । गएको थिए,माइतीघर पुगेपछि फर्किएँ । आज (सोमबार) त्यो भेला (केन्द्रीय परिषद् बैठक) मा एकछिन गएको थिएँ । आज मैले बोल्न मागेको थिएँ । हाम्रो बारेमा साथीभाइले नेतैहरुले अलिकति सोसल मिडियामा तितो ओकलिरहेका छन् । यो कारणले गर्दाखेरी चाहिँ केही कुरा बोल्न ५ मिनेट दिनु भने । अध्यक्षले बोल्दै हुनुहुन्थ्यो, महासचिवलाई भनेको थिएँ । उहाँहरुले दिन चाहनु भएन । कार्यक्रम स्थगित गर्नुभयो । त्यसपछि म चाहिँ उठेर आएँ ।

केन्द्रीय परिषद्को बैठकमा पनि तपाईंले बोल्ने स्पेस पाउनु भएन ?

बोल्न मागेको थिएँ तर दिनुभएन । अब त्यसपछि...बोल्न त जहाँ भएपनि बोल्दा भइहाल्यो नि ! त्यहाँ बोल्दाको अर्थ थियो । अघि मैले किन संसद्मा बोल्न चाहन्थे, किन केन्द्रीय परिषद्मा बोल्न चाहान्थेँ,त्यो पनि त केही इस्यू थियो । सायद त्यहाँ बोलेको भएँ तपाईँसित यति म बोल्दिन पनि थिएँ होला । थोरै बोल्थे होला । त्यहाँ बोल्न नपाएपछि त कहिँ त बोल्नुपर्‍यो !

यसमा अझ अर्को कुरा गर्छु, हाम्रो पार्टीका एक जना जसले हस्ताक्षर फिर्ता गराउने अभियान चलाउनुभयो । उहाँले गरेका फोन, कुनैकुनै बेला हामीसँगै भएका साथीहरुलाई गरेको फोनको कुरा । ए...यहाँ त किसान श्रेष्ठले चाहिँ दलको नेता हुन लाग्यो, हस्ताक्षार फिर्ता गर्नुहोस् भनेर रुवाईधुवाई चल्यो के । ..अनि मलाई किसान श्रेष्ठको हाइट त्यत्रो बनाइदिएको देखेर..यो किसान श्रेष्ठ भनेको मान्छे धेरै महान् पोलिटिसयन नै हुनुभएछ, उहाँलाई एउटा खदा लगाइदिम् भनेर ठट्टामज्जा पनि गर्‍यौं ।

पार्टीभित्र के- कसरी गतिविधिहरु भइरहेका छन् त्यसबारे तपाईं सचिव भएपनि कुनै जानकारी हुँदैन ? पार्टी छलफल र सामुहिक निर्णय हुने खालको कुनै पनि प्रक्रियामा प्रवेश गरेको छैन ?

यस्तो हैन । त्यहाँ एउटा सचिवालय छ । काठमाडौंमा दैनन्दिन उपलब्ध हुने काम गर्ने खालका मान्छेहरुको सचिवालय भन्नुभएको छ । त्यहाँ सबै उपाध्यक्ष पनि छैनन् । केही उपाध्यक्ष, अध्यक्ष, महासचिव, उपमहासचिव भएको बनाउनुभएको छ अनि त्यो सचिवालयले संस्थागत निर्णय नै गर्छ । म त्यो सचिवालयमा छैन । स्थायी कमिटी ४२/४४ कति जनाको छ । त्यो अलिक ठूलो छ । कहिलेकाहिँ बैठक बस्छ । त्यसमा म गइरहेको छु । यसले चाहिँ सचिवालयको निर्णयहरु अनुमोदन गर्छ । त्यसपछि पोलिटब्युरो छ । त्यसमा पनि एक/डेढ सय कतिजनाको होला । त्यसले बैठकमा गइनै हालिन्छ, सामेल भइहन्छ । गइ नै रहेको छु । त्यसपछि केन्द्रीय किमिटी छ,३/४ सय कतिजना छन् । त्यसमा जाने भइ नै हाल्यो ।

त्यसकारण मूलतः त्यो सचिवालय भन्ने जुन फर्म गर्नुभयो । त्यो सचिवालय चाहिँ हामीले त्यो स्टाटसको कमिटी हो कि हैन भनेर हामीले प्रश्न गरेका थियौं । तर, उहाँहरुले विधानतः बनाएको भनेर कुरा गर्नुभयो ।

एक वर्षको अवधिमा तपाईंहरु सरकारमा सामेल हुनुभयो । स्थानीय तहको चुनाव पनि भयो चुनावको एकखालको परिणाम पनि आयो । अब यो गठबन्धन निरन्तर जान्छ कि जाँदैन । समग्रमा तपाईंहरुको पार्टीको पोजिसन र अवस्था कसरी अगाडि बढ्छ? संघ, प्रदेशको सरकार बनाउने सवालमा गठबन्धन क्रियाशील नै भयो । स्थानीय तहको निर्वाचनमा चाहिँ नेतृत्वमा जो हुनुहुन्थ्यो उहाँहरु संवादमा जानुहुन्थ्यो। उहाँहरुले आफूलाई प्रमाणित गर्नुपर्यो नि ! सायद दुई सय ठाउँमा पनि त्यति राम्रो गठबन्धन भएन जस्तो देखिन्छ । अनि...त्यो भएर...तर पनि गठबन्धनको भावना बाँकी नै छ । जुन-जुन साथीभाइहरुले पार्टीको प्रदेशको अध्यक्ष, प्रदेश इन्चार्ज लिनुभएको छ, त्यो ठाउँमा गठबन्धन कत्तिको सफल भयो, कत्तिको सिट जितिए भन्ने पनि हो ।

काठमाडौं महानगरपालिका र हेटौंडा उपमहानगरपालिकाको सन्दर्भमा पनि एक दिन माधव कमरेड निराश हुनुहुन्थ्यो,गठबन्धन नहुने भयो भनेर । हामीले 'ट्रयाक टु' केही कुरा गर्‍यौं । त्यसछि हामीले एउटा सहमति.. उतातिर कंग्रेसको तर्फबाट सञ्चारमन्त्रीले गरिरहनुभएकाले हामीले बसेर केही काम गरेर, समझदारी गरेर हामीले नै बनाएको मस्यौदाको कापी लिएर जानुभएको थियो । दुई वटा उपमहानगरपालिका र काठमाडौं महानगरपालिकामा उपप्रमुख पाउने निर्णय तिनै हुन् । अनि हामीले पनि काम गरेका थियौं ।

भनेजस्तो गठबन्धन त भएन भन्नुपर्‍यो । तर गठबन्धनलाई प्रभावकारी बनाउन हाम्रो कुशलता पनि भएन कि! पहलकदमी पनि भएन कि ! हाम्रो समझ पनि भएन कि, हाम्रो यथार्थ भन्दा धेरै माग गर्‍यौं की जो कुरा सहकर्मी दलहरुले पत्याएनन् कि भन्ने कुरा हामीभित्र समीक्षा हुन जरुरी थियो । त्यो सबै तहका बैठकमा राम्रोसँग समीक्षा भएको छ । हामीले हाम्रो ठाउँमा पुरानो एमाले भनेर दावा गर्‍यौं,त्यो यथार्थमा थिएन । हामी समाजवादी एक्लै लडेका थिएनौं, त्यसले गर्दा हाम्रो मतभार कति छ, मत संख्या कति छ भन्ने अनुमानित डाटा थिएन । त्यस कारणले गर्दा फरक परिस्थितिमा हुँदाखेरी हामीले त्योखालको कुशलता देखाउनु पर्थ्यो। जुन मान्छेहरु छलफलमा जानुहुन्थ्यो उहाँहरुले आफूलाई एकहिसाबले यथार्थमा उभ्याउन सक्नुभएन त्यसकारणले अरुले पनि पत्याउन सकेनन् । तर भोलि समीक्षा भएर केन्द्रीय समितिमा छलफल भएर निष्कर्ष चाहिँ निस्किएको छ ।

कहिले को नेता गएको छ, कहिले को नेता गएको छ । उहाँहरुले आफ्नो कुरा राख्ने, हामीलाई त्यो विषयमा पनि थाहा भएन । त्यसकारणले पनि प्रभावकारी भएन । र पनि आगामी दिनमा गठबन्धनको विकल्प छैन । गठबन्धनलाई मजबुत हुनुपर्छ भनेर हामी प्रतिवद्ध नै छौं । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, सबै पार्टीका नेताहरुसँग निरन्तर संवाद भएकाले एक हिसाबले प्रतिवद्ध नै छौं हामी । त्यसकारणले गठबन्धन अगाडि बढ्छ ।

वामपन्थी दलहरुबीच एकताको कुरा पनि उठिरहेको छ । माओवादी र एमालेकै नेताहरुबीच अनौपचारिक रुपमा छलफल बढिरहेको छ । तपाईंलाई चाहिँ के लाग्छ, अहिले कै गठबन्धन निरन्तरता हुनुपर्छ कि वामपन्थी गठबन्धन?

दीर्घकालीन हिसाबले वामपन्थी गठबन्धन हुनु राम्रो हो। त्यही एमाले पार्टी नै आफूलाई 'करेक्सन' गरेर एउटा क्रान्तिकारी मूलधारको पार्टी भएर आउँदा त लेफ्ट पार्टीहरुको केन्द्र एमाले हुन सक्थ्यो । जहाँबाट हामीले बनाउन पनि खोजेका थियौं । २०७४ सालमा हामीले चुनाव सँगै लड्यौं,एकता पनि गर्‍यौं। त्यो ठाउँबाट गएको हो नि ! तर त्यो ठाउँबाट अगाडि बढेन, वामपन्थीहरुको अलाइन्सको गुन्जाइस त्यही ठाउँमा सकियो । नयाँ ढंगबाट जानुपर्ने अवस्था भयो ।

म एउटा वामपन्थी राजनीतिक पृष्ठभूमिबट आएकाले वामपन्थीहरुको गठबन्धन हुनुपर्छ भन्ने सैद्धान्तिक कुरा हो । तर आजको यथार्थ चाहिँ प्रधानमन्त्री, नेपाली कांग्रेसको सभापतिको प्रतिवद्धता,समग्रमा ग्रासरुटमा नेपाली कांग्रेसका खास कार्यकर्ताहरुको प्रतिवद्धता,माओवादीको पनि केही तहको प्रतिवद्धता देख्दै गर्दा यो गठबन्धन निर्वाचन र निर्वाचनपछिको समयमा पनि जान्छ भन्ने लाग्छ । यसमा प्रधानमन्त्री धेरै नै प्रतिवद्ध हुनुहुन्छ । धेरै नै लचक पनि हुनुहुन्छ । प्रधानमन्त्रीको कारणले पनि धेरैले यो गठबन्धनको आवश्यकता छैन भन्न गार्‍हो हुन्छ । उहाँको लचकता उहाँको गरेको ब्रिफिङहरुले चाहिँ गठबन्धन जान्छ भन्ने हो । गठबन्धनमा जानुपर्छ र गठबन्धन नै अहिलेको आवश्यकता हो ।

स्थानीय चुनावमा कतिपय स्थानीय तहमा नेकपा एमाले र एकीकृत समाजवादी पार्टीको मत बाँडिदा थोरै अन्तरले पराजित भएको देखिन्छ । जुन दुवैको भोट जोड्दा जित्ने अवस्था हुन्थ्यो । यसलाई हेरेर कतिपयले आगामी आमचुनावसम्म आइपुग्दा दुवै पार्टीको बीचमा एकीकरण हुनसक्ने संभावना रहेको बताउँछन् । एमालेसँग एकीकरण तहमा पुग्ने अवस्था छ ?

मेरै गुल्मी जिल्लामा १२ वटा पालिका थिए जसमा ७४ सालमा एमालेले ९ स्थानीय तहमा चुनाव जितेको थियो । यसपटक प्रत्येक पालिकामा १०, २५ र १ सय २५ भोट निर्णायक भयो । निश्चित रुपमा त्यसमा समाजवादी निर्णायक भयो । त्यो अन्त पनि भयो होला । त्यो सत्य कुरा हो । आजको दिनमा एमाले र समाजवादीको नेतृत्व, मनस्थिति, गठबन्धनप्रतिको एक प्रकारको लचकता र समर्पण रहेको छ त्यसमा अहिले नै केही भैहाल्ने अवस्था छैन ।

चुनावको अवधीसम्म हुने हो कि?

वामपन्थी गठबन्धनको विषयमा एउटा सैद्धान्तिक छलफलमा लैजाने विषय भयो । आजको भोलि एमाले वा माओवादीसँग गठबन्धन भइहाल्ने अवस्था छैन र हुँदैन पनि चुनावसम्म । कांग्रेससँग गठबन्धन जारी रहन्छ । कांग्रेस डेमोक्य्राटिक फोर्स भयो, एमाले पनि अर्को फोर्स भयो । अर्को अलिकति प्रगतिशील एजेण्डा बनेको सेन्टरबाट लेफ्टतर्फको जाँदा एउटा स्पेस छ भन्ने प्रकारको डिबेट भएको छ । कस्तो संगठन, कार्यशैली, विचार लिएर गयौं भने 'सेन्टर टु लेफ्ट' बाट अर्को एउटा प्रगतिशील शक्ति बनाउँछौ भन्ने विषयको विश्वस्त आधार देख्दिन । तर त्यो प्रयास भएको छ । एमालेसँग इतर रहेको अलिकति राष्ट्रवादी, प्रगतिशील शक्तिहरुले एउटा ध्रुव सिर्जना गर्नुपर्छ भन्ने जस्तो केही अभ्यास र कुराकानी भएको सुन्छु । आजकै दिनमा त्यो त्यति परिपक्व अवस्था छैन किनभने आजको भूराजनीतिमा त्यस प्रकारको प्रगतिशील शक्तिले आफूलाई कहाँ उभ्याउछ, आजको विश्व राजनीति, आर्थिक नीतिमा कसरी काम गर्छौं, वैदेशिक सम्बन्धलाई के गर्दछौं, अन्तर्राष्ट्रिय मञ्चमा कसरी प्रस्तुत हुन्छौं, दस्तावेजहरुलाई कसरी परिमार्जन गर्दछौं वा कसरी त्यसमा पुर्‍याउँछौं भन्ने विषयमा ठोस आधार, कार्यक्रमहरु छैनन् । जसले गर्दा प्रतिक्रियाका लागि काम गरिरहेका छौं ।

प्रतिक्रियाको विषयले मात्रै 'सेन्टर टु लेफ्ट'को शक्ति बन्दैन त्यो प्रतिक्रियात्मक शक्ति मात्रै हो र त्यो घट्दै जान्छ । वामपन्थी कस्तो हुनसक्छ भने विश्वराजनीतिको एजेण्डाहरुलाई पनि समाउनु पर्‍यो । विश्व राजनीतिमा प्रमुख एजेण्डा आर्थिक विषयका छन् । गरिबी, रोजगारी, अवसर सिर्जना गर्ने सकिएन भने दस्तावेजको राष्ट्रवादले केही पनि काम गर्दैन । एउटा असल देशभक्त हुनुपर्छ तर अन्धराष्ट्रवादी होइन, त्यसैले त्यो विङ्स बन्ने संभावना छैन तर प्रयास भने भएको छ ।

तपाईंहरु पार्टी निर्माण गर्दा पनि यस्तो कुरा गर्नुहुन्थ्यो । तपाईंहरुकै पार्टी शक्तिको रुपमा निर्माण भएर विस्तार हुँदै जाने संभावना चाँही छैन ?

हामी आइपिएस, एमसीसी, एसपीपी जस्ता विषयहरु उठाएर वा विकासे निकायहरुमाथि सिजनल अडान राख्छौं । सत्तामा हुँदा एउटा कुरा विपक्षीमा हुँदा अर्को कुरा । त्यसले विश्वास सिर्जना गर्न सक्दैनौ । धेरैजसोले बीआरआईको वकालतकर्ता ठान्नु हुन्छ । एउटा नेपालले बीआरआई वा एमसीसीको विषयमा हेर्दा के कुरा फाइदा छ भनेर हेर्नुपर्‍यो नि त ? विकासको क्षेत्रमा काम गर्ने व्यक्तिहरुले सिंगापुर, मलेसिया वा ताइवान वा हङकङ वा कोरिया जस्ता देशको कुरा गर्दा एउटा सक्षम नेतृत्वले कल्पना गरेर मुलुक भएको हो भन्छन् । सक्षम नेतृत्व हो तर त्यसमा लगानी ल्याउने विश्वास पनि हो नि, ताइवान वा कोरिया वा सिंगापुरमा पश्चिमा लगानी नभएको भए एसियन टाइगर बन्थे र ? त्यसैले बिना लगानी देश बन्दैन । आज हाम्रो लगानीमा यति ठूलो अन्तर छ, हामीले ५० करोड अमेरिकी डलरको अनुदान स्वीकार्ने वा नस्वीकार्ने भन्ने विषय हाम्रो राजनीतिक एजेण्डा बन्छ । त्यो सत्तामा हुँदा एउटा र बाहिर अर्को हुन्छ । त्यसमा हामीले कुनै आर्थिक अन्तरबस्तु पनि खोज्दैनौं । यस्तो विषयमा हामी प्रष्ट हुनै पर्छ ।

देश बन्ने आधार भनेको आर्थिक आधार हो । समाजिक संरचनालाई परिवर्तन पनि अर्थतन्त्रले नै गर्छ । मार्क्सवादीहरुले आर्थिक संरचना परिवर्तन गर्नका लागि सबैभन्दा पहिले गरिबीबाट मुक्त हुनुपर्‍यो । १७ खर्ब ९७ अर्ब बजेट ल्याउँदै गर्दा १२ खर्ब मात्रै राजश्व संचालन गर्ने गरेका छौं । १२ खर्ब राजश्व संकलनका लागि हामीले कति रोजगारी सिर्जना गर्‍यौं? कति लगानी गर्‍यौं ? कति उद्योग सञ्चालन गरेर त्यसले के उत्पादन गर्‍यो त ? त्यो नभईकन हामीले के चीजमा लगानी गर्ने ? जबसम्म यो कुरामा यस्तो कुराहरुबाट बाहिर आउँदैनौं । यो हुने कुरा होइन । एउटालाई अर्कोसँग रिस उठ्यो भनेर फरक फरक भयौं । आजको हाम्रो राजनीतिमा भूराजनीतिमा हाम्रो नेतृत्वले जे गर्दैछ त्यो ब्लन्डर गर्दैछ । एसपीपी जस्ता विषयहरु आउँदा त्यसलाई नेपाल सरकारले रणनीतिक रुपमा हल गर्नुपर्‍यो नि जुलुस लगाएर होइन ।

'एक सचिवको असहयोगले राउटेलाई आवासमा ल्याउने काम अघि बढेन'

८ महिना मन्त्री रहेर काम गर्नुभयो । तपाईं सांसद मात्रै हुँदा, सडकमा तथा विभिन्न आन्दोलनका अरु फोरममा जहिले पनि सरकारी संयन्त्र र कर्मचारीतन्त्रमाथि प्रश्न गर्नुहुन्थ्यो । व्यवस्थामाथि प्रश्न गर्नुहुन्थ्यो । तपाईं आफै प्रणाली संचालन गर्ने सिटमा बस्दा कर्मचारीतन्त्र कस्तो पाउनुभयो ? विचौलियाको जगजगी हुन्छ भन्छन् । त्यहाँ विचौलियाको राज कस्तो रहेछ ?

म हिजो सांसद हुँँदा प्रश्न गर्ने ठाउँमा थिए । त्यसैले प्रश्न गर्थे, रोष्ट्रम, फ्लोर र संसदीय समितिबाट । तर आज जवाफ दिने ठाउँमा थिए । ती दुई कुरामा आफ्नो पक्षधरताको कुरा पनि आइ नै हाल्छ । मन्त्री हुँदा के बुझे भने तपाईंले भनेजस्तो विचौलिया कर्मचारी भन्ने चिज माध्यम हो । हतियार हो । तपाईंसँग राम्रो हतियार छ, तपाईं सार्प हुनुहुन्छ भने सुट गर्न सक्नुहुन्छ । तपाईं राम्रो हुनुहुन्न भने त्यसले सुट गर्दैन । त्यसैले हतियार कस्तो मान्छेको हातमा पर्छ त्यसैमा भर पर्छ ।

मेरो लागि कर्मचारीतन्त्र कहिल्यै बाधक बनेन । त्यसै कारणले त विदाई भएर जाँदा फेरि भेटौला भनेर कार्यक्रम राख्दै गर्दा जतिबेर उहाँहरू बोल्नुभयो मैले गरेका रिफर्म र मन्त्रालयलाई कहाँ डिपार्चर गरेका थियौं र हामीले कसरी काम गर्‍यौं भन्दैगर्दा मेरै कार्यकालको कुरा गर्दै हुनुहुन्थ्यो । त्यसैले उहाँहरूबाट कुनै अवरोध पाइन ।

मेरो कार्य समय लामो हुन्थ्यो । बिहान ८ बजे आउँथे राति १० बजेसम्म पनि बस्थ्यौं । यत्तिकै बस्दा पनि कतिपय आइडिया जेनरेट हुन्थ्यो । ती विचारलाई कसरी कार्यक्रममा लाने भनेर योजना गर्थ्यौं र निर्णय गर्थ्यौं । यसले पनि होला मलाई उहाँहरूबाट सहयोग नै भयो । मैले नबुझेको कुरालाई बुझ्न कोसिस गरेँ ।

विचौलियाको कुरा गर्दा मेरोमा कसैले एक्सेस नै पाएनन् । मेरो भर्‍याङदेखि कार्यकक्ष छिर्नेसम्ममा सीसीटीभीको सर्भिलेन्स छ । आज पनि ८ महिना २० दिनको फुटेज हेर्नुभयो भने कोही एकजना विचौलिया, राजनीतिज्ञ, पत्रकारको नाममा त छिरे होलान् तर तोकिएका देखिएका र मलाई प्रभावित गर्नेगरी कसैले पनि एक्सेस पाएन । धेरैले सचिवालय चुस्त बनाउ भन्थे । त्यो भनेको के ? मेरो सचिवालय मेरो हातभित्र थियो । मेरो नजरभित्र काम गर्थे,मेरो स्वकीय होस् कि निजी सचिवालय । मन्त्रालय प्रत्येक पलको निगरानीमा थियो । सचिवले कसलाई भेट्नुभयो । सचिवलाई को भेट्न आयो भन्नेसम्मका जानकारी मसँग हुन्थे । त्यसले गर्दा मलाई केही पनि समस्या परेन । त्यो मन्त्रालयमा मैले २ जना सचिवसँग काम गरे । उहाँहरूले जति दिन मसँग काम गर्नुभयो उहाँहरू पनि खुसी नै हुनुहुन्थ्यो । हामीले केही न केही उपलब्धिका काम गर्‍यौं । सरुवा बढुवाका लागि पनि उहाँहरूसँग नै काम गर्‍यौं ।

मैले बुझेको के हो भने नेतृत्व क्षमता नेतामा हुनुपपर्छ । स्टेटम्यानसिप हुनुपर्छ । विश्वसनीय हुनुपर्छ । सरकारी संयन्त्र हतियार हो त्यसलाई कुशलतापूर्वक प्रयोग गर्नुपर्छ भन्ने बुझें। मैले अर्थमन्त्रालयसँग पनि काम गर्नुपर्छ । मेरै कुरा भइरहेको हुन्छ अरुले गुनासो गर्छन् । भनेपछि त मैले विश्वसनीय कुरा गरेको छु । वनको कुराले जहिले अप्ठ्यारो पार्‍यो भन्नुहुन्थ्यो तर त्यै वनले इआईए र प्रोक्युरमेन्टमा खासगरी धनगढी ल्यान्डफिल्ड साइटको काममा हामीलाई अप्ठ्यारो पारेन । जंगी अड्डा, प्रहरी पनि आफ्नो ठान्नुहुन्थ्यो, उपत्यकाको क्राउड म्यानेजमेन्टबारे उहाँहरूसँग छलफल गर्दा पनि त्यो भयो । भूमि मन्त्रालयसँग पनि सहजै लाग्थ्यो । गृहको त सुरक्षाको मामिला आउँथ्यो । साइटहरूमा सुरक्षाको मामिला आउँथ्यो त्यो पनि सहज नै लाग्यो । प्रधानमन्त्री कार्यालयको कानुन उपसचिव प्रशासन शाखा होस् कि मुख्यसचिव होस् उहाँहरूले मेरोलागि ढिलाइ र नगर्ने कुरा गर्नुभएन । जुन कुरा मैले समयमा नै बुझाउन सकेँ ।

एउटा दुःख लागेको के छ भने- मेरो एकदम शक्ति लागेको थियो राउटेलाई हामी कुनै न कुनै हिसाबले स्थायी आवासमा राख्ने भन्ने कुरामा । त्यतिबेला मिडिया लान चाहेको थिएन स्थानीय मिडिया जानुभयो सिम्ता जाँदा । उहाँहरूसँग यो गरेको प्रयास १० वर्षपछि स्टोरी हुन्छ भनेर लान चाहेको थिए । हामीले उनीहरूसँग मित साइनो लगाउँ र केही गरौं र उनीहरूलाई आवासमा राखौं भनियो । उनीहरूलाई अमेरिकाको आमिज पिपुल जस्तै संस्कृति सम्पदा पहिचान नबिगारीकन आजको सामान्य जीवनमा रुपान्तरण गर्न सक्यौं भने मानव जातीको इतिहासमा नेपाली समाजमा ठूलो माइलस्टोन हुन्छ भन्ने सोच्यौं । मैले गाजलु र सम्झनासँग साइनो लगाए । डीजीले लोकेन्द्रसँग मित लगाउनुभयो । त्यसपछि हामीले काम गर्‍यौं । कार्यविधि बनायौं । कार्यविधिमा मुख्यसचिव, प्रधानमन्त्री कार्यालयको कानुन सचिवले तपाईं आँफै निर्णय गर्नुस्, तपाईंको इनर्जी मर्छ, आँफै भन्नुभएको थियो । मैले वनको इस्यु आउँछ भनेर म त एकपटक निर्णय गर्छु तर कार्यान्वयन त सबै कर्मचारीले गर्छ । भोलि उनीहरूलाई अप्ठ्यारो पर्ला कि भनेर क्याबिनेट लगेको थिए । क्याबिनेटबाट समितिमा ल्याए । म नभएको दिन क्याबिनेटबाट पास भयो ।

राउटेलाई आवास संविधानमा आवासको मौलिक हक कार्यान्वयन गर्ने कुरा पनि थियो । हाम्रा सफलता र असफलता पछि नापौंला । २-४ करोड खर्च गर्ने मामिला हो । जबकी हरेक चौमासिकमा १८ लाख रुपैयाँ उनीहरूलाई नगद सामाजिक सुरक्षा भत्ता दिन्छौं यो कुनै ठूलो कुरा होइन गरौं भन्दा अरु सबै मन्त्रालयका सचिव कन्भिन्स भए । तर प्रधानमन्त्री कार्यालयको पूर्वाधार हेर्ने सचिवले पास भएको चिज पनि हस्ताक्षर गरेर जानुभएन । न कहिले त्यसको रिभ्यू बारेमा भन्नुभयो । न मेरो सचिवलाई भन्नुभयो । हस्ताक्षर नगरेकाले पछि आचारसंहिता लाग्यो । त्यसपछि उहाँ रिटायर्ड भएर जानुभयो । उहाँले त्यो काम गरिदिनुभएन । मैले एकदमै दुःखको अनुभूति गरे । एकजना सचिवले मुख्यसचिवसहित ९-१० जना सचिव, ८ -९ मन्त्री समावेश भएको समितिबाट पारित भएको निर्णय त्यै पूर्वाधार हेर्ने सचिवले प्रमाणित नगरेपछि क्याबिनेटको निर्णय भएन । जसले गर्दा राउटेका लागि जे काम गर्न खोजेका थियौं त्यो काम यो आर्थिक वर्षमा गर्न सकेनौं । त्यो दुः ख लाग्छ । कर्मचारीले यस्तो अप्ठ्यारो पनि पार्छन् । त्यो कर्मचारीले गरेको असहयोग र मेरो इस्यु नबुझिदिएको विषय हो । यहि विषयमा फेरि प्रधानमन्त्री कार्यालयको कानुन सचिवले तपाईं आँफै गर्नुस् भन्नुहुन्थ्यो । मेरो लागि त कार्यविधि त पास गर्थे तर कार्यान्वयन गर्नेलाई समस्या पर्छ भनेर गरिन । सबैले सहयोग गरेका थिए तर एकजना निर्णायक कलम चल्ने मान्छेले नगर्दा यस्तो इनर्जी मर्दो रहेछ । त्यसमा मान्छेहरूको बुझाइको तह नमिल्दा र समयमा जानकारी नदिँदा यस्तो हुँदो रहेछ ।जहिले मैले थाहा पाए उहाँ घरी के घरी के भन्नुहुन्थ्यो । विदा बस्नुभयो र रिटायर्ड हुनुभयो ।

विचौलिया के कस्ता हुँदा रहेछन् ?

मकहाँ कोही विचौलिया आएनन् । फेरि सहरी विकास मन्त्रालय त्यत्रो ठूलो विचौलियाको धन्दा गर्ने ठाउँ पनि छैन । यो सानो पोर्टफोलियोको मन्त्रालय हो । स-साना कार्यक्रम भएकाले त्यति आकर्षण भएन होला । यसका जग्गा जमिन भए भने ठूला चिज आउँछन् । ती कुरा हेर्नै चाहिँन । त्यसकारण यो आएन । सानासाना योजनाका विचौलिया रहेछन् भन्ने थाहा पाएँ । जो उपभोक्ताको माध्यमबाट काम गर्थे । म आउँदाआउँदै तुरुन्तै अर्को व्यवस्था नहुँदासम्मका लागि भन्दै रोके । त्यसो गर्दा पनि काठमाडौंका तीन करोडसम्मका योजना एउटै ठेकेदारले अन्तिमसम्म उपभोक्ता मार्फत् खोल्न खोजेको भन्ने थाहा पाएपछि एउटा समिति बनाएको थिएँ । त्यो समितिको प्रतिवेदन आइसक्यो होला । सचिव नभएको हुनाले कारबाहीमा पठाएन । एउटा ठेकेदारले एउटा जिल्लाको काम बेजिल्लाको उपभोक्ता बनाएर गर्ने रहेछ । त्यसको रेकर्ड पनि छ । स-साना आयोजनाभित्र विचौलिया रहेछन् । त्यसलाई अख्तियारमा पठाउँछु भनेर लागेको थिए । अन्तिममा पाइनँ ।

तस्बिर/भिडियो : दिपेन्द्र रोक्का

प्रकाशित : असार १३, २०७९ २२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?