‘शिक्षण संस्थाको उचित प्रचार हुन सकेको छैन’

काठमाडौँ — ‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नारा दिएर सञ्चालन भएको कान्तिपुर हिसान शैक्षिक मेला भृकुटीमण्डपमा चलिरहेको छ । यसै सन्दर्भमा नेपालको शैक्षिक अवस्थाको बारेमा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) का अध्यक्ष रमेश सिलवालसँग गरिएको संक्षिप्त कुराकानी:

‘शिक्षण संस्थाको उचित प्रचार हुन सकेको छैन’

‘उत्कृष्ट शिक्षा नेपालमै’ नारा दिएर कान्तिपुर हिसान शैक्षिक मेला गर्नुभएको छ । यसको उपलब्धि के छ ?

हाम्रो मेला र नाराको पछाडि दुई कारण छन् । पहिलो निजी क्षेत्रले दिने शिक्षा सरकारीभन्दा राम्रो छ भन्ने हो । अन्तर्राष्ट्रिय रूपमा कहलिएका विश्वविद्यालयभन्दा त हामी पछाडि हौंला तर हामीले गुणस्तरीय शिक्षा दिने प्रयास गरिरहेका छौं । सर्वोकृष्ट बनाउने प्रयासमा छौं । मेलाको पहिलो उद्देश्य यही जानकारी दिने हो । प्लस टु लेभलको शिक्षा लिन विदेश जानुपर्दैन भन्ने हाम्रो ठोकुवा हो । आफ्नै घरको मीठोपिठो खाएर स्वदेशमै पढ्न सकिने सन्देश दिन खोजेका छौं । आफ्नै देशमा बसेर आफ्नो कला, संस्कृतिमा पनि अभ्यस्त बनाउने जोड हो । मेलाको तेस्रो दिनसम्म आउँदा विद्यार्थी र अभिभावकको उत्साहपूर्ण उपस्थिति पाएका छौं । यसले हामीलाई खुसी बनाएको छ ।

पढ्न विदेशिने प्रवृत्तिमा घटाउन कसले के गर्नुपर्छ ?

नेपालका शिक्षण संस्थाको उचित प्रचारप्रसार हुन सकेको छैन । सही सूचना विद्यार्थी र अभिभावकसम्म पुग्न सकेको छैन । सही सूचना दिनकै लागि मेला आयोजना गरिएको हो । मेलामा विभिन्न शिक्षण संस्थाबारे विस्तृतमा बुझ्न पाइने व्यवस्था मिलाइएको छ । शैक्षिक वातावरण, लगानीकर्ता, शिक्षकको गुणस्तर, विगतको नतिजा, पठनपाठन प्रणाली, लक्ष्य, उद्देश्यलगायत समग्र स्थिति के छ बुझ्न पाइन्छ । विद्यार्थीले एक ठाउँमा पढ्ने हो । निजी, सामुदायिक, सरकारी कुनैको पनि उचित प्रचार पुगेको छैन ।

पाठ्यक्रम एउटै छ, परीक्षा प्रणाली पनि एकै किसिमको छ । सेवासुविधामा मात्र फरक हो । त्यसैले राज्यले हाम्रो शिक्षा कस्तो छ, विद्यार्थी अभिभावकलाई जानकारी दिनुपर्छ । विद्यालय तहदेखि उच्च शिक्षासम्म र प्राविधिक शिक्षामा पनि राज्यले सही सूचना नागरिकसम्म पुर्‍याउन सकेको छैन । गुणस्तर कस्तो छ, पढेपछिको उद्देश्य के हो भनेर बुझाउन सकिएको छैन । अझै विश्वविद्यालय तहमा यो पक्ष अत्यन्त कमजोर छ । विश्वका उत्कृष्ट विश्वविद्यालयले निरन्तर विज्ञापन गरिरहेका हुन्छन् । हामीले कस्तो शिक्षा दिन्छौं, त्यसको गुणस्तर के छ, पढेपछि भविष्यमा के हुन्छ भनेर प्रचारप्रसार गरेको पाइँदैन । हाम्रो विश्वविद्यालयका पदाधिकारीले यो काम गर्न सक्नुभएको छैन ।

विद्यार्थीको रुचि र चाहनाअनुसार हाम्रा शिक्षण संस्थाले शिक्षा दिन सकेका छन् ?

खासमा शिक्षण संस्था विद्यार्थीका निम्ति हुनुपर्ने हो । अभिभावकलाई पनि यो कुरा बुझाउन सकिएको छैन । हाम्रोमा विद्यार्थीले रुचि, चाहनाअनुसार शिक्षा पाउन सकेका छैनन् । विदेशतिर विद्यार्थीलाई विद्यालयको तल्लो कक्षादेखि नै सूक्ष्म तरिकाले निगरानी गरिएको हुन्छ । विद्यार्थीको क्षमता केमा छ लेखाजोखा गरिएको हुन्छ । कोही पढाइ लेखाइमा अब्बल हुन्छन् । कोही खेलकुद, संगीत, चित्रकला, कलालगायत क्षेत्रमा क्षमतावान हुन्छन् । त्यहीअनुसार अभिभावकले सल्लाह पाउँछन् । हाम्रोमा यसको कमी छ । एसईईमा ४ जीपीए ल्यायो भने विज्ञान पढ्नुपर्ने आमधारणा छ । यो गलत हो । त्यसो भए काम नलाग्ने मान्छेचाहिँ अर्थशास्त्री बन्ने हो त ? विद्यार्थीको रुचि, चाहना, योग्यताअनुसार पढ्न पाउनुपर्छ ।

प्रकाशित : असार १३, २०७९ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?