'अनुशासन आयोगलाई कारबाहीका लागि दबाब दिइएको थियो'- कुराकानी - कान्तिपुर समाचार
अन्तर्वार्ता

'अनुशासन आयोगलाई कारबाहीका लागि दबाब दिइएको थियो'

'एमालेको पुनर्जागरणको कुरा गरेको छु । त्यो भन्नुको अर्थ कुनै नेताको पुनर्जागरणको कुरा, एमालेभित्र कुनै नेताको एकलौटी अधिकारको कुरा होइन । एमालेको सामूहिक वामपन्थी लोकतान्त्रिक चरित्रको पुनरोदयको, पुनर्उत्थान, पुनर्जागरणको कुरा गरेको छु । यथास्थितिमै राख्नुपर्छ, रमाउनुपर्छ भन्नेहरूले मेरो विरोध गर्दै आएका छन् । यदि यो मुद्दामा पार्टीको अनुशासन आयोग पसेको हो भने ऊ एमालेलाई यसका असल परम्पराहरू ध्वस्त पार्ने काममै लाम लाग्न जाने हुन्छ कि भन्ने डर छ ।'
कान्तिपुर संवाददाता

काठमाडौँ — एमालेको अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेको छ । एक टीभीमा अन्तर्वार्ताका क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको र स्थानीय तह निर्वाचनमा भोगेको पराजयको जिम्मेवारी लिँदै राजीनामा मागेको भन्दै उनलाई कारबाहीका लागि सिफारिस गरिएको हो । 


अनुशासन आयोगको सिफारिसअनुसार एमालेले कारबाही गर्ला कि नगर्ला भन्ने हेर्न बाँकी छ । स्थानीय तह निर्वाचनमा पराजयको कारण अन्तर्घात र गठबन्धन भनिरहेको एमालेले पार्टी अध्यक्षको नीति जिम्मेवार भुसालले ठानेका छन् । पार्टीको अनुशासन आयोगले कारबाही सिफारिस गरेको विषयमा एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालसँग कान्तिपुरका मणि दाहालले गरेको कुराकानी :

तपाईंलाई पार्टीको अनुशासन आयोगले कारबाहीका लागि सिफारिसको निर्णय गरेको छ, के भन्नुभएको थियो र यो अवस्था आएको हो ?

यसबारेमा मलाई औपचारिक रूपमा केही कुरा थाहा छैन । तर, यसको मैले गाइँगुइँ सुनेको थिए । मैले सुनेअनुसार, हल्ला वा गाइँगुइँलाई पत्याउने हो भने अनुशासन आयोगले कारबाही गर्ने भनेर केही निर्णय गर्‍यो । कारबाही गर्नका लागि जुन बैठक बस्यो त्यो दबाबमा बस्यो भनेर त्यहाँ भएका मान्छे भन्छन्, सुनिजान्नेहरू त्यसो भन्छन् ।

कसको दबाब भन्ने केही खुलाउन मिल्छ ?

कतैको भन्ने छ । कारबाही गर्नैपर्ने भयो भन्ने टाइपको कुरा चलेको थियो भन्ने सुनेको । बुधबार कारबाही गर्ने भनेर अनुशासन आयोगले निर्णय गर्‍यो । पछि त्यसमाथि वैधानिक रूपमा प्रश्न उठ्ने भएछ । किनभने, आयोग आफैले कारबाही गर्न सक्दैन भन्ने कुरा उठेपछि सिफारिस गर्ने भन्नेतिर गयो भन्ने सुनेको हो । यो गाइँगुइँ सुनेको कुरा हो । पछि अनुशासन आयोगको अध्यक्षलाई उद्धृत गर्दै मिडियामा समाचारमा आएपछि यो केही भएको रहेछ त्यहाँभित्र भन्ने मैले सुनेको छु ।

जुन विषयलाई लिएर कारबाही गर्ने भनिएको छ अन्तर्वार्ताको कुरा, त्यसमा त्यस्तो के कुरा थियो र आपत्तिको स्थिति सिर्जना भयो ?

त्यो कुरा मलाई थाहा छैन, औपचारिक रूपमा । अथवा के विषयमा उहाँहरूको टिप्पणी हो भन्ने कुरा थाहा छैन । तर, आयोगले जस्तो अतिरिक्त सक्रियता प्रदर्शन गरिराखेको छ, त्यो आयोगले आफ्नो विवेकले केही गर्दैछ भन्ने देखिँदैन । किनभने आयोगले यसरी गर्‍थ्यो भने त योभन्दा पार्टी हित, परम्परा, अनुशासन, मूल्यका विरुद्धमा बोलेका मान्छेहरूको बारेमा कोही बोलेको छैन । चुपचाप छ । अनि मैले टिभीमा भनेको कुरा पार्टीको भविष्य, वाम आन्दोलन, कम्युनिस्ट पार्टी परम्पराको निर्माण गर्ने सहिद, कार्यकर्ताको कुरा गरेको छु । तिनको भावना, योगदानको संरक्षण हुनुपर्छ; रक्षा र विकास हुनुपर्छ मैले भनेको छु । त्यस अर्थमा मेरो कुरा त आन्दोलन र पार्टीको पक्षमा हो । तर, देखादेखि आन्दोलन, पार्टी, नेताहरूको विरुद्धमा व्यक्तिगत रूपमा तथानाम बोलेका मान्छेहरूको, मेरै बारेमा बोलेका अन्तर्वार्ता दिएका मान्छेहरूको बारेमा तिनीहरूले कहिल्यै प्रश्न उठाएनन् । तर, अहिले यो प्रश्न उठाएका छन् भन्ने मैले सुनेको छु । फेरि पनि भन्छु मलाई औपचारिक रूपमा केही पनि थाहा छैन ।

यदि यो हो र उनीहरूले ममाथि प्रश्न उठाएको हो भने त्यो अंग्रेजीमा 'कंगारु कोर्ट' भन्छ- आफैले अदालत गठन गर्ने, न्यायाधीश नियुक्त गर्ने र आफैले मुद्दा लाउने, आफैले फैसला गर्ने । सबैथोक आफैले गर्ने । यदि त्यसो गरेको हो भने नेकपा (एमाले)को अनुशासन आयोगको गरिमालाई यो आयोगका मान्छेहरूले धुलीसात पार्ने भए भन्ने मलाई चिन्ता छ । म उहाँहरूले आफ्नो हैसियत नगुमाउन र उहाँहरूको इज्जत प्रतिष्ठा जोगियोस् भन्नेकै पक्षमा छु ।

पार्टीका उम्मेदवार विरुद्धमा लाग्ने, खुलेआम अन्तर्वार्ता दिनेलाई कारबाही नभएको तर तपाईंप्रति अनुशासन आयोगले अतिरिक्त सक्रियता देखायो भन्नुभयो, त्यसका लागि के कुराले आयोगलाई प्रेरित गर्‍यो ?

एक त यो अहिले हामी जुन हिसाबले महाधिवेशनमा पदाधिकारी, आयोग जसरी निर्वाचित भएर आएका छन् कतिपय कुरा बाहिर आएको छैन । त्यसको अन्तर्कहानी अरु धेरै छन् । त्यसो गर्दा एउटा विधिशास्त्रमा 'हू जजेज् दी जज्' भन्छ । न्यायाधीशमाथि कसले फैसला गर्छ भन्ने एउटा भनाइ छ । त्यस हिसाबले हेर्ने हो भने हामीभित्र बहुत धेरै समस्या छन् । एमालेले इतिहासमा अर्जेको वामपन्थी लोकतान्त्रिक पार्टी भन्ने मर्यादा, इज्जत, प्रतिष्ठा थियो त्यसमाथि अहिलेका हाम्रा महाधिवेशन उम्मेदवार हुने, बनाउने, उम्मेदवारको प्रचार गर्ने, उम्मेदवारलाई भोट देउ/नदेउ भन्ने, आयोग बनाउने यी सबै जे गरेका छौं, हामीले त्यो मर्यादालाई धुलिसात पारेका छौं ।

मैले त्यो प्रश्न उठाइराख्या छु । मैले एमालेको पुनरोदयको कुरा गरेको छु । एमालेको पुनर्जागरणको कुरा गरेको छु । त्यो भन्नुको अर्थ कुनै नेताको पुनर्जागरणको कुरा, एमालेभित्र कुनै नेताको एकलौटी अधिकारको कुरा होइन । एमालेको सामूहिक वामपन्थी लोकतान्त्रिक चरित्रको पुनरोदयको, पुनर्उत्थान, पुनर्जागरणको कुरा गरेको छु । यथास्थितिमै राख्नुपर्छ, रमाउनुपर्छ भन्नेहरूले मेरो विरोध गर्दै आएका छन् । यदि यो मुद्दामा पार्टीको अनुशासन आयोग पसेको हो भने ऊ एमालेलाई यसका असल परम्पराहरू ध्वस्त पार्ने काममै लाम लाग्न जाने हुन्छ कि भन्ने डर छ ।

आन्तरिक लोकतन्त्रको विषय पनि हुन्छ र पार्टीको फोरम बाहिर गएर बोलेको भन्ने कुरालाई कसरी लिनुभएको छ ?

यसमा हामीले पार्टीको कुरा बाहिर गएर बोलेको भन्ने ? बाहिर मैले पार्टीको विरुद्धमा बोलेको छु भने त्यो नबोल्ने हो । पार्टीको विरुद्ध, पार्टीका निर्णय, नेता, परम्परा, अनुशासनको विरुद्धमा खुलेआम बोलिरहेका मान्छेहरू माथि प्रश्न नउठाउने अनि आन्तरिक लोकतन्त्र हुनुपर्छ भन्नेहरूमाथि प्रश्न उठाउने ? यो राम्रो संकेत होइन ।

प्रकाशित : जेष्ठ २२, २०७९ १७:१८
प्रतिक्रिया
पठाउनुहोस्

स्थानीय सरकार संचालनबारे लुम्बिनीमा गाउँपालिकाका जनप्रतिनिधिसँग छलफल

घनश्याम गौतम

रूपन्देही — स्थानीय सरकारमा निर्वाचित नयाँ नेतृत्वका लागि आगामी कार्यदिशा र प्राथमिकताका विषयमा छलफल सुरु भएको छ । गाउँपालिका राष्ट्रिय महासंघले लुम्बिनी प्रदेशका निर्वाचित अध्यक्ष र उपाध्यक्षलाई स्थानीय सरकार संचालनका विषयमा आइतबार बुटवलमा अन्तरक्रिया एवं छलफल गरेको हो ।

छलफलमा स्थानीय सरकारबाट अहिलेसम्म भएका उपलब्धि र आगामी प्राथमिकताका विषय, संघीय खानेपानी मन्त्रालय र प्रदेश पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालयले स्थानीय तहमा खानेपानी तथा सरसफाई क्षेत्रका नीति, कानुन र कार्यक्रममा सम्बन्धमा छलफल भएको थियो ।

छलफलमा सहभागी स्थानीय तहका नयाँ जनप्रतिनिधिले त्यस्ता कार्यक्रमलाई निरन्तरता दिनेमा प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय महासचिव बंशलााल तामाङ, महासंघका केन्द्रीय सदस्यहरु, लुम्बिनी प्रदेशका ७३ वटै गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष तथा उपाध्यक्षको सहभागिता रहेको गाउँपालिका महासंघ लुम्बिनी प्रदेश अध्यक्ष मधुकृष्ण पन्तले बताए ।

कार्यक्रममा स्थानीय सरकारले गर्नु पर्ने काम र अधिकारका विषय उल्लेख भएको पात्रो एवं त्यसको मोबाइल एप पनि सार्वजनिक गरिएको थियो । स्थानीय शासन प्रक्रिया सबलीकरणका लागि गाउँपालिका राष्ट्रिय महासंघले अहिलेसम्म खेलेको भूमिका र आगामी कार्यदिशा तथा स्थानीय सरकारको उपलब्धि र आगामी प्राथमिकताका विषयमा छुट्टाछुट्टै कार्यपत्र पनि प्रस्तुत गरिएको गाउँपालिका महासंघको केन्द्रीय कार्यालय प्रमुख राजेन्द्रप्रसाद प्याकुरेलले बताए ।


प्रकाशित : जेष्ठ २२, २०७९ १७:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×