'राजनीतिज्ञलाई विज्ञान बुझाउन दिनभरी प्रयोगशाला हेर्न लगाउनुपर्छ'- कुराकानी - कान्तिपुर समाचार

'राजनीतिज्ञलाई विज्ञान बुझाउन दिनभरी प्रयोगशाला हेर्न लगाउनुपर्छ'

हाम्रो न्युजरुमहरुमा जसले नाफा दिन्छ त्यो बिट बनिन्छ भने जसले नाफा दिँदैन त्यो बिट बन्न सक्दैन, विज्ञानमा त्यही लागू भएको छ
गोविन्द पोखरेल

नेचर इन्डियाकी प्रधान सम्पादक शुभ्रा प्रियदर्शिनी दक्षिण एसियामा विगत २५ वर्षदेखि निरन्तररुपमा विज्ञान पत्रकारिता गर्दै आएकी छन् । विश्वको चर्चित नेचर जर्नलको इन्डिया संस्करणको प्रधान सम्पादकमा उनी सन् २००८ देखि कार्यरत छिन् । भारतको विभिन्न मूलधारका मिडियामा विज्ञान पत्रकारिताको अनुभवसँगै लन्डनमै बसेर विज्ञान पत्रकारिता गरेको अनुभव उनीसँग छ ।

विज्ञान पत्रकारितासँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय अवार्डसमेत पाएकी उनीसँग नेपाल र दक्षिण एसियामा विज्ञान पत्रकारिता विषयसँग सम्बन्धित भएर ईकान्तिपुरका गोविन्द पोखरेलले गरेको कुराकानी:

भारतमा तपाई‌ंले सुरु गर्नुभएको विज्ञान पत्रकारिता र विज्ञान पत्रकारले लेख्ने समाचारबारे बताइदिनुहोस् न ?

मलाई मेरो विज्ञान पत्रकारिताका गुरु डाक्टर के एस जयरामनले सधैं आधारभूत अनुसन्धानलाई फलोअप गर्न सिकाउनुहुन्थ्यो । उहाँ विज्ञानले एकैपटक समाजमा लागू हुने किसिमका नतिजा दिँदैन, कुनै चमत्कार गर्दैन, तर विस्तारै गर्छ भन्नुहुन्थ्यो । त्यसैले हामी विज्ञान पत्रकारको हैसियतमा विज्ञानको त्यो ढिला प्रक्रियालाई रेकर्ड गर्दै यसको विकासलाई पनि लेख्नुपर्छ ।

विज्ञानको आधारभूत अनुसन्धानलाई सधैं महत्व दिन उहाँको सुझाव हुन्थ्यो, चाहे त्यो भौतिक, रसायन र जीव विज्ञानको नै किन नहोस् । यदि विज्ञानमा कुनै ब्रेकथ्रु भयो भने त्यो ठूलो समाचार बन्छ नै । तर विज्ञानभित्र रहेका ससाना विषयहरु पनि राम्रा समाचार बन्छन् र लेखिन्छन् । र, मानिसहरुलाई यी समाचारहरु पढ्न दिइरहनुपर्छ । यसरी नै विज्ञानका पाठकहरु विस्तारै जम्मा हुन्छन् । नभए मानिसहरु सधैं विज्ञानका ठूला समाचारहरु मात्रै खोज्न थाल्छन् तर सम्भव हुँदैन ।

पछिल्लो दुई दशकमा यस क्षेत्रको विज्ञान पत्रकारिता कसरी परिवर्तन भइरहेको देख्नुहुन्छ ?

विज्ञान पत्रकारिताका सुरुवाती समय मानिसहरुलाई चासो हुने, विज्ञानसम्बन्धी उत्सुकता जगाउने, साना–ठूला खोज र विज्ञानका आश्चर्यसँग केन्द्रित समाचारहरु हुन्थे । विस्तारै खोजमूलक समचार र सत्यको उजागर गर्नका लागि विज्ञानलाई प्रयोग गर्न थालियो । र, अहिले विज्ञान पत्रकार र वैज्ञानिकहरु सरोकारवालाई प्रश्न गर्न, सत्यको उजागर गर्न पत्रकारिता माध्यम बनेको छ ।

अहिले विभिन्न किसिमका विज्ञान समाचारहरु लेख्ने विषय बनेका छन् । पहिला र अहिले समाचार लेख्ने शैलीहरु परिवर्तन भइरहेका छन् । तर पनि पुरानाशैली र फिचरहरुको महत्त्व उत्तिकै छ ।

विज्ञान पत्रकारिता गर्न गाह्रो छ भन्छन् । यो विषयको पत्रकारिता गर्न विज्ञानकै विद्यार्थी हुनुपर्छ ?

यो ठूलो प्रश्न गर्नुभयो । विज्ञानको विद्यार्थी हुँदा विज्ञान कसरी हुन्छ र यसका आधारभूत विषयहरुबारे थाहा हुन्छ र यो आवश्यक पनि छ । धेरै उत्कृष्ट विज्ञान पत्रकारहरु अन्य विधाबाट पनि आउनुभएको छ । सबैभन्दा मुख्य कुरा के हो भने विज्ञान पत्रकारलाई विज्ञानको आधारभूत विषयमा जानकारी भएकै हुनुपर्छ । यसका अलावा टेक्निकल शब्दलाई कसरी पाठकसमक्ष सरल ढंगले प्रस्तुत गर्ने खुबी विज्ञान पत्रकारमा हुनुपर्छ । कुन विषयसँग सम्बन्धित के को जानकारी कसले दिन सक्छ भन्ने उसलाई थाहा हुनुपर्छ । पत्रकार सबै विषयको विज्ञ हुन सक्दैन, तर कुन विषयमा कसलाई थाहा छ र कसले राम्रोसँग व्याख्या गर्न सक्छ भन्ने चेत विज्ञान पत्रकारमा हुनुपर्छ ।

समाचार कक्ष विज्ञान पत्रकारितालाई अझै किन मूलधारको पत्रकारिताको रुपमा लिँदैन ?

तपाईंले सही प्रश्न गर्नुभयो । यो दक्षिण एसियामा मात्रै हैन, संसारकै अभ्यासमा छ । धेरै कम संस्था र मिडिया हाउसहरुले विज्ञानलाई महत्व दिएका छन् । तपाईंलाई थाहै छ होला संसारभर मिडियाको ल्यान्डस्क्याप धेरै नाजुक र खण्डित छन् । हाम्रो न्युजरुमहरुमा जसले नाफा दिन्छ त्यो बिट बन्छ भने जसले नाफा दिँदैन त्यो बिट बन्न सक्दैन । विज्ञान र वातावरणमा पनि यही लागू हुन्छ । मिडिया हाउसहरुका लागि विज्ञान र वातावरण पत्रकारिता आम्दानी र विज्ञापनका स्रोत हुँदैनन् । र, अहिलेसम्म भएका कार्यहरु जे-जे भएका छन् तीनले केही मिडिया हाउसहरुमा पूर्णकालीन विज्ञान पत्रकारहरु नियुक्त गरेका छन् । विज्ञान र वातावरण पत्रकारिताको पहिलो पुस्ताले न्युजरुमहरुमा यी विषयहरु मुख्य बिट हुन् भन्दै विश्वभर आवाज उठाइरहेको अवस्था छ ।

तपाईं दक्षिण एसियाको कुरा गर्नुहुन्छ भने पर्याप्त लगानी र बजेटको सुनिश्चिता नहुँदा यो समस्या अझ गम्भीर छ । त्यसैले विज्ञान र प्रविधिमा सरकार र निजी क्षेत्रहरुले लगानी नबढाउँदा विज्ञापन पनि हुँदैन । लगानी हुँदैन भने विज्ञान पत्रकारितामा पनि त्यही लागू हुन्छ । जबसम्म यी क्षेत्रमा लगानी हुँदैनन् तबसम्म तपाई स्वतन्त्र विज्ञान पत्रकारिता गर्नका लागि तपाईंको न्यूजरुमले दिदैन । र, मलाई यो लाग्दैन कि ‘कोही दक्षिण एसियामा विज्ञान पत्रकारिताको क्षेत्रका लागि लगानी गर्छु भन्दै आउँछ’ । पत्रकारिताको यो महत्वपूर्ण विषयलाई न्युजरुमले चासो दिइएको छ जस्तो मलाई लाग्दैन । हामीले देख्यौं, हिमालय बुट क्याम्प २०२२ का लागि भनेर विश्व विज्ञान पत्रकार समूहले ३ वटा देशका ८ जना पत्रकारहरुलाई तालिम दियो । यस्ता स–सना कार्यहरुले विज्ञान पत्रकारिताको उन्नयनका लागि केही योगदान गरिरहेको मात्रै हुन्छ ।

दक्षिण एसियाका विज्ञान पत्रकारहरुको सम्भावना र चुनौती के के देख्नुहुन्छ ?

हामी यस्तो क्षेत्रमा बस्छौं जहाँ विज्ञानको ठूलो हिस्सा सरकारहरुले गर्छन् । निजी स्तरबाट विज्ञानमा धेरै थोरै लगानी छ । त्यही कारणले पनि स्वतन्त्र विज्ञान पत्रकारिताका लागि लगानी र सस्टेन गर्नका लागि यहाँ गार्‍हो छ ।

सरकारहरु नराम्रो सन्देश जाने भनेर यथार्थ तथ्यांक बाहिर ल्याउन चाहदैनन् । सही तथ्यांक र सूचना उनीहरुबाट थाहा पाउनु पनि चुनौती छ जसका कारण राज्यलाई उत्तरदायित्व बनाउन गार्‍हो देखिन्छ । सरकारी कार्यालयका वैज्ञानिकहरुसँग कुरा गर्न खोज्दा पनि समस्या देखिन्छ । उनीहरुलाई लगाइएको बन्देजका कारण समयमा नै समाचार सम्प्रेषण गर्नका लािग विज्ञान पत्रकारहरुलाई चुनौती छ ।

विज्ञान पत्रकारहरुलाई अर्को चुनौती भनेको न्युजरुमहरुमा विज्ञान पत्रकारिताको संस्कार पनि छैन । विज्ञान पत्रकारहरुले आफ्ना सम्पादकहरुलाई विषयको बारेमा बुझाउनका लागि धेरै पापड बेल्नुपर्ने आवस्था पनि छ । धेरै कम सम्पादकहरु विज्ञानलाई प्राथमिकता दिन्छन् ।

सम्भावना धेरै नै छन् । एसियाका विज्ञान पत्रकारहरुले ग्लोबल मिडियाहरुमा लेख्दै विश्वको ध्यान आकर्षित गरेका छन् । अहिलेको सवाल हेर्ने हो भने ग्लोबल साउथसँग धेरै विज्ञानका विषय छन् जस्तो कि, जलवायु परिवर्तन अथवा स्वास्थ्य । विज्ञानलाई समाजसँग जोडेर मानवीय समाचारहरु विज्ञानको आँखाबाट लेख्ने हो भने विश्वव्यापी सम्भावना छ । पहिला पहिला दक्षिण एसियाका विज्ञान समाचारहरु तेस्रो आँखाबाट लेखिन्थ्यो । तर अहिले यस क्षेत्रको विषयहरु आपैंm यही क्षेत्रमा बसेका विज्ञान पत्रकारहरुले अनुभवको आधारमा विश्वका पाठकहरुलाई बुझाउने अवसर नै अवसर छ ।

विज्ञानमा लगानीको अभावको कुरा गर्नुभयो । तर दक्षिण एसिया चन्द्रमादेखि मंगलग्रहको सतहसम्म पुगेको छ । यो क्षेत्रमा अन्तरिक्ष विज्ञानमा धेरै लगानी देखिन्छ अथावा भनौं युरोपको भन्दा ज्यादा । यो केही विरोधाभाष देखिएन र ?

यहाँ एउटा सानो फरक देखिन्छ । हामी यहाँ प्रविधिको कुरा गरेका छौं । अन्तरिक्ष कार्यक्रमहरु आधारभूत रुपमा प्रविधिसँग सम्बन्धित छन् । तपाईं आफैं हेर्न सक्नुहुन्छ, अन्तरिक्ष प्रविधिमा पछिल्लो दशकमा कुनै परिवर्तन आएको छैन । यो सही र राम्ररी ठीक ढंगले राखिएको छ, तर विज्ञान फरक छ ।

दक्षिण एसियाली मुलुकहरुमा आधारभूत र औद्योगिक अनुसन्धानको सामाजिक उपयोगसँग सम्बन्धित लागनी निकै नै कम छ । दक्षिण एसियाका अनुसन्धानहरु यहाँका चुनौती र मानिसहरुले भोगिरहेको समस्या समाधान गर्ने किसिमका हुनुपर्ने देखिएको छ । जस्तो कि, कृषि अनुसन्धान, पानी र ऊर्जासँग सम्बन्धित अनुसन्धान, जलवायु अनूकुलनसँग सम्बन्धित अनुसन्धानहरु यहाँका मुलुकहरुका लागि महत्वपूर्ण छन् । र, विज्ञानको यो ठूलो आयाममा भारतमा अझै पनि खगोल विज्ञान र अन्तरिक्ष विज्ञानमा कति लगानी गर्नुपर्छ भन्ने सन्दर्भमा बहसहरु भइरहन्छन् ।

र, म सधैं भन्ने गर्छु, यी दुई विषयहरु फरक फरक हुन् र सरकारी निकाय र नीति निर्माणकर्ताले यो विषयलाई एकै ठाउँमा राखेर हेर्नु हुदैन । उनीहरुले प्रविधिलाई विज्ञानसँग जोडेर भ्रमित गर्नुहुँदैन ।

तपाईंलाई के लाग्छ, यस क्षेत्रका नेता वा भनौं राजनीतिक दलहरुले विज्ञान, प्रविधि र नवप्रवर्तनका विषयहरुलाई आफ्ना घोषणपत्रहरुमा किन कम प्राथमिकता दिन्छन् ?

विश्वको आँखाबाट हेर्ने हो भने दक्षिण एसिया अलिक फरक र भिन्न परिदृश्यको अवस्था हो । अथावा भनौं, कुखुरा र अन्डा कुन पहिलो भन्ने अवस्था। स्वास्थ्य, शिक्षा, विकासजस्ता अत्यावश्यक विषयहरुमा विज्ञान र प्रविधिलाई प्राथमिकतामा दिनका लागि दूरदर्शीता चाहिन्छ । त्यसैले सामाजिक रुपमा लाभदायक विज्ञान र प्रविधिमा लगानी गर्नका लािग यी देशहरुमा सरकार र नीति निर्माताहरुले ध्यान दिन जरुरी छ । यदि दिए भने एउटै ढुंगाले दुईवटा चरा मार्छ । विज्ञान प्रविधिको विकाससँगै स्वास्थ्य,शिक्षाको समस्याको निरुपण हुन्छ ।

र,अर्को विषय भनेको बजेटको सदुपयोग पनि हो । मानौं नेपालले विज्ञान र प्रविधिमा एउटा निश्चित प्रतिशत रकम विनियोजन गर्छ,तर त्यो बजेट कहाँ खर्च हुन्छ ? के त्यो बजेट वास्तवमै आधारभूत अनुसन्धानलाई दह्रो बनाउनका लागि प्रयोग भइरहेको छ कि पूर्वाधार विकास र फ्याक्ल्टी भर्नाका लागि ? नीति निर्माणकर्ताहरुलाई सोध्नुपर्ने यो मुख्य प्रश्न हो । जहाँसम्म मैले थाहा पाएअनुसार विज्ञान प्रविधिको ठूलो बजेट पूर्वाधार निर्माणमा खर्च हुने गरेको छ । करोडौं खर्च गरेर भौतिक संरचना, म्युजियम, विज्ञान पार्कहरु निर्माण भएका छन् । सकरात्मक सोच नै राखेर निर्माण गरिएको हो तर नेपालका लागि यो दोस्रो प्राथमिकता हुनुपर्छ । राम्रो पूर्वाधार र संग्रहालय त भयो तर त्यहाँ के देखाउनुहुन्छ जबकी तपाईंको आधारभूत अनुसन्धान नै राम्रो छैन भने ?

मेरो विचारमा, दक्षिण एसियाका मुलुकहरु प्राकृतिक सम्पदामा धेरै धनी छन् र धेरै जैविक विविधता हटस्पट छन् । वातावरण, जलवायु अनुकूलन, स्वास्थ्य र कृषिसँग सम्बन्धित आधारभूत अनुसन्धानलाई सहयोग हुने किसिमका एउटा संरचना आवश्यक पनि देखिन्छ । हामीकहाँ स्वास्थ्य सेवा प्रवाह र पूर्वाधार निकै नै कमजोर छ । यहाँका वैज्ञानिकहरु धेरै नै प्रतिभाशाली छन् तर उनीहरुको बुद्धिमतालाई सहज हुने वातावरण नै छैन । कूल बजेटको एक प्रतिशतभन्दा कम विज्ञान र प्रविधिलाई छुट्याइदैमा यहाँको सार्माथ्य छुट्टिदैन । गम्भीर विचार र भिजनहरु आवश्यक देखिन्छ । त्यसैले नीति निर्माण तहहरुमा, राजनीतिमा, राजनीतिक पार्टीमा वैज्ञानिकहरु हुनुपर्छ र यो क्षेत्रको बारेमा बोल्नुपर्छ । नभए यस क्षेत्रको परिवर्तन असम्भव छ ।

नेपाल भारत र चीनको बीचमा छ, जसबाट अनुसन्धानमा धेरै नै सम्भावना छ । दुवै मुलुकका साझा सरोकारका विषयहरुमा अनुसन्धान गर्न सक्छन् जस्तो कि जलवायु परिवर्तन् । नेपालले यो सम्भावनालाई फाइदाको रुपमा परिवर्तन गर्न सक्छ ।

विज्ञान र राजनीतिज्ञहरुबीचको दुरी धेरै भएको हो ?

मैले अघि ने भनेँ, जबसम्म राजनीतिक तहहरुमा वैज्ञानिकहरु हुँदैनन तबसम्म यो विषयमा नेता र पार्टीहरु त्यति गम्भीर हुँदैनन् । राजनीतिको आँखाबाट हेरिने विज्ञान र विज्ञानको आँखाबाट हेरिने विज्ञानमा धेरै फरक हुन्छ । राजनीतिक दलहरुले आफ्ना घोषणापत्रहरुमा नबुझिकन विज्ञान र प्रविधिलाई ग्ल्यामरको रुपमा प्रयोग गर्छन् । नीति निर्माण तहमा धेरै वैज्ञानिकहरु हुँदा उनीहरुलाई विज्ञान कसरी हुन्छ र यसले सार्थकता पाउन कति समय लाग्छ भन्ने कुरा राम्ररी बुझ्छन् । सँगै विज्ञानले समाज रुपान्तरणमा के कस्तो भूमिका खेल्न सक्छ भन्ने जानकारी पनि थाहा हुन्छ ।

यसलाई समग्रमा भन्नुपर्दा, एउटा राजनीतिज्ञ छ जसले विज्ञान र प्रविधिको बारेमा थोरै बुझ्छु भन्छ तर उसलाई प्लेन र रकेट उडाउने, बत्ती बाल्ने र धाराबाट तातो पानी आउनेलाई मात्रै विज्ञान बुझ्छ । तर विज्ञानको उग्रता प्रयोगशालामा हुन्छ । यदि हामीले हाम्रा राजनीतिक दलहरुलाई प्रयोगशालामा लगेर विज्ञान कसरी हुन्छ, अनुसन्धान कसरी गरिन्छ,वैज्ञानिकहरु किन एउटा सामन्य कामका लागि वर्षौ लगाउछँन् र म्यानुस्क्रिप्ट लेख्छन् भन्ने विषयमा अझ राम्रोसँग थाहा पाउँछन् ।

विज्ञानको यथार्थ जबसम्म हामी राजनीतिक दलहरुलाई भन्न र बुझाउन सक्दैनौं तबसम्म यो क्षेत्रमा त्यस्तो परिवर्तन हुने देखिन्न् । दलहरुको घोषणापत्रमा वैज्ञानिकहरु समावेश भए अझ राम्रो हुन्थ्यो र उनीहरुले त्यसको निराकरण पनि दिन्थे ।

यहाँले विश्वको विज्ञान र विज्ञान पत्रकारिता नजिकबाटै नियाल्नुभएको छ । नेपालमा यसको विस्तार कस्तो देख्नुहुन्छ ?

म नेपालको विज्ञान र विज्ञान पत्रकारिताको कुनै विज्ञ होइन् । तर मैले बाहिर बसेर यहाँका गतिविधि हेर्नु र तपाई यही बसेर हेर्नुमा अन्तर छ । टाढा बसेर हेर्दा नेपालसँग धेरै सम्भावनाहरु छन् । सगरमाथा क्षेत्रमा नेपालले सेन्टर अफ एक्सिलेन्स सञ्चालन गर्न सक्छ । यदि तपाई नेपालको बारेमा विश्वमा हेर्नुहन्छ भने, सबैले ‘आहा नेपाल, सगरमाथाको देश, राम्रा मानिसहरुको देश, तपोभूमिको देश’ भन्छन् । नेपालसँग भौगोलिक स्थलाकृति शानदार छ र धेरै योग्य वैज्ञानिकहरु विविध पक्षमा काम गर्नुहुन्छ । यस्ता प्रतिभाशाली वैज्ञानिकहरुलाई कसरी प्रयोग गर्ने र संसारको उच्च क्षेत्रमा सेन्टर अफ एक्सिलेन्स निर्माण कसरी सञ्चालन गर्ने भन्नेमा फोकस गर्न सकिन्छ । जस्तै,पिरामिड ल्याब–सगरमाथाको नजिकै छ जहाँ उच्च हिमाली भेगमा काम गर्ने अनुसन्धानकर्ताहरुले त्यहाँ गरिएका अनुसन्धानलाई रिफरेन्स मान्नेछन् । यस्तै जैविक विविधता सम्बन्धीका सेन्टर अफ एक्सिलेन्सहरु नेपालका अन्य ठाउँहरुमा पनि बनाउन सकिन्छ ।

विज्ञान पत्रकारहरुको यस्ता विषयहरु खोज गर्न के भूमिका रहन्छ ?

वैज्ञानिकहरुले गरेका कडा मिहिनेतहरु म्यानुस्क्रिप्टको रुपमा विज्ञानका जर्नल्सहरुमा मात्रै रहन्छ । विज्ञान पत्रकारका लागि त्यो लागू हुदैनन् । नेपालको विज्ञान पत्रकारिताले त्यो स्पेस अझै बनाएको छैन जसले नेपालको मूलधारको पत्रकारितामा प्रभाव राखोस् । नेपालका विज्ञान पत्रकारहरुले नेपालको विज्ञानलाई नेपाली जनताहरुलाई मात्रै होइन त्योभन्दा बाहेक विश्वमञ्चमा पुर्‍याएर अवस्थाको बारेमा जानकारी गराउन सक्छन् । एसियाका अन्य मुलुकहरुसग सहकार्य गरेर नेपालका विषयहरु विश्वमञ्चमा ल्याउन नेपालका विज्ञान पत्रकारहरले गर्न सक्छन् ।

‘ब्रेन ड्रेन’ दक्षिण एसियाका लागि एउटा डरलाग्दो अवस्था छ नि ?

यो विषय नेपालमा मात्रै होइन, भारतमा पनि देखिएको छ । केही प्रतिभाशाली वैज्ञानिकहरु पारिवारिक कारणले गर्दा स्वदेशमै बच्न रुचाउनुहुन्छ । त्यसबाहेक यूके, अमेरिकाको तुलनामा यहाँ दिइने पारिश्रमिक र विज्ञानको कल्चर त्यति राम्रो पनि देखिँदैन । अनुसन्धानकर्ताहरुकै कुरा गर्ने हो भने अनुदान, छात्रवृत्ति, सहायता पनि समयमा आउँदैन । आधारभूत संरचना र उपकरणहरु ल्याबमा पाउन पनि गाह्रो अवस्था यो क्षेत्रमा छ । प्राज्ञिक क्षेत्रमा पनि मेन्टरसिपको अभाव छ । यही कारणले गर्दा वैज्ञानिकहरु स्वदेश फर्कन मान्दैनन् ।

भारतमा चाहि सरकारले आफ्ना वैज्ञानिकहरुलाई स्वदेश फिर्तीका लागि आकर्षक योजनाहरु ल्याएको छ ।

प्रकाशित : जेष्ठ ९, २०७९ १९:४६
प्रतिक्रिया
पठाउनुहोस्

धनकुटामा मोटरसाइकल दुर्घटना हुँदा महिलाको मृत्यु

रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटामा मोटरसाइकल दुर्घटना हुँदा युवतीको मृत्यु भएको छ । कोसी राजमार्गको धरान-धनकुटा सडक खण्डस्थित साँगुरीगढी गाउँपालिका ६ कार्कीछापमा सोमबार श्रीमान्‌ले चलाएको मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार श्रीमतीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा तेह्रथुमको छथर गाउँपालिका ५ की २२ वर्षीया कौशिला चेम्जोङ रहेको प्रहरीले जनाएको छ ।

को. ३४ प ११८५ नम्बरको मोटरसाइकल मध्याह्न पौने १२ बजे अनियन्त्रित भएर दुर्घटना भएको थियो । मोटरसाइकल चालक मृतकका पति रामकुमार लिम्बु सामान्य घाइते भएका छन् ।

मोटरसाइकलको पछाडी बसेकी चेम्जोङ गम्भीर घाइते भएकी थिइन् । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा अपराह्न साढे ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी चिरञ्जीवी दाहालले जानकारी दिए ।

प्रकाशित : जेष्ठ ९, २०७९ १९:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×