'मसँग गठबन्धनको शक्तिमात्रै हैन, अनुभव र योजना छ' [भिडियो]- कुराकानी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'मसँग गठबन्धनको शक्तिमात्रै हैन, अनुभव र योजना छ' [भिडियो]

युवाहरूको पसिना यहिँ खर्च गर्नुपर्‍यो । त्यसका लागि महानगरसँग बजेट छ, त्यो बजेट हामी हाल्छौं ।
कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौैं महानगरपालिकामा चुनावी प्रचार तीब्र छ । सत्ता गठबन्धनभित्रबाट कांग्रेसले मेयर पाउँदा उपमेयर पद नेकपा एकीकृत समाजवादीको भागमा परेको छ । एमालेबाट सुनिता डंगोल उम्मेदवार छिन् भने सत्ता गठबन्धनबाट रामेश्वर श्रेष्ठ ।

विगतमा एमालेमै रहेका श्रेष्ठ पार्टी विभाजनपछि नेकपा एकीकृत समाजवादीमा लागे । अहिले गठबन्धन समेतको बलमा उम्मेदवार बनेका श्रेष्ठका चुनावी एजेण्डाबारे ईकान्तिपुरका जयसिंह महराले गरेको कुराकानी:

नयाँ पार्टीबाट गठबन्धनको उम्मेदवार हुनुभएको छ, पार्टीलाई जनतामाझ लान कत्तिको सहज छ ?

नयाँ पार्टी त होइन, एमालेबाट विद्रोह गरेर बनाएको हो । चुनाव चिह्न नयाँ हो । किनभने हामीले कम्युनिस्ट पार्टी स्थापना गरेर, पुष्पलालदेखिको निरन्तरताको पार्टी हो । निश्चय पनि नयाँ चुनाव चिह्न लिएर जाँदाखेरि जनतामाझ चिनाउनुपर्ने अवस्था छ । पहिलाजस्तो रुख, सूर्य वा अरु कुनै भन्दाजस्तो सजिलो त छैन । कलम भन्दाखेरि नयाँ चिह्न पर्‍यो नि भन्नेहरू पनि छन् । धेरै प्रचार भइसक्या हुनाले धेरै गार्‍हो पार्दैन कि भन्ने छ । तर, नयाँ चुनाव चिह्न भएकाले अरुले भन्दा दुई-तीन गुणा बढी मिहिनेत गर्नैपर्छ । पहिला 'ल है पुरानै चिह्न हो' भन्ने अवस्था थियो अब त्यो होइन है, हाम्रो चुनाव चिह्न यो हो, हामी गठबन्धनमा छौं, सबैले समर्थन गरेको छ भनेर गइरहनुपरेको अवस्था छ ।

गठबन्धनको अप्ठ्यारो र सजिलो पाटो के छ ?

मेयर र उपमेयरको त कुरा मिलेको छ । हामीले मेयरमा उम्मेदवारी दिएकै छैनौं, कांग्रेसले उपमेयरमा उम्मेदवारी दिएकै छैन । सँगै भोट माग्दै हिँड्ने वातावरण सिर्जना भएको छ । तर, वडाहरूमा हाम्रो र उहाँहरूको छुट्टाछुट्टै पनि उम्मेदवार उठेका छन् । कुनै वडामा एकीकृत समाजवादीका नेताहरूले रुख चिह्न लिएर लडेका छन् भने कुनैमा कांग्रेसकाले कलम चिह्न लिएर पनि उठेका छन् । कुनैमा कलम र रुख छुट्टै गएका वडा छन् । मिलेर गएको वडामा सजिलो छ, जहाँ मिलेर गएका छैनन् त्यहाँ गाह्रो महसुस भएको छ ।

तर, गठबन्धन भएको कारणले गर्दाखेरि कांग्रेसका मतदाताहरूको अपेक्षा उपमेयरमा कलम नै जितोस् भन्ने छ । इमानदारीसाथ लाग्नुभएको छ । हाम्रो पनि अपेक्षा के छ भन्दाखेरि मेयरमा रुखै जितोस् । वडाहरूमा जहाँ मिलेको छैन त्यहाँ स्वच्छ प्रतिस्पर्धा गरौं भन्ने छ । माओवादी उठेको वडाहरूमा गोलाकारभित्रको हँसिया हथौडा भनेका छौं । चुनावमा के हुन्छ हेरौं ।

उपमेयरमा जितिसकेपछि के गर्ने योजना छ ?

अहिलेको नेतृत्वले काम गर्न सकेन । हामीले ती काम गर्छौं भनेका छौं । महानगरपालिकामा सुशासन हुँदै भएन । महानगरपालिकामा सुशासन कायम गर्नु हाम्रो एक नम्बरको प्राथमिकता हो । त्यहाँ घुस खाने, आजै हुने कामलाई पर्सि आउ भनेर दुःख दिने काम भएको छ । त्यो दुःख दिने काम गर्नुभएन, सुशासन कायम गर्नुपर्‍यो ।

दोस्रो, महानगरपालिकाभित्र फोहोरको समस्या छ । जहाँ पनि फोहोरको कुरा उठाउँछ । किन भइरहेको छ के कारणले फोहोर भइरहेको छ जो पनि मेयर, उपमेयर, वडाअध्यक्ष जो पनि आउँछ फोहोरलाई ठीक गर्छौं भनिरहेको छ । फोहोरलाई समाप्त पारिदिन्छौं भन्छ तर जस्ताको तस्तै छ । यो डम्पिङ साइटको पुरानो योजनाले हो । फोहोरलाई डम्पिङ साइटमा लिएर डम्प गर्ने होइन । फोहोर प्रशोधन केन्द्र बनाउनुपर्‍यो । हामीलाई फोहोर जति मन पर्दैन, डम्प गर्ने साइटका मान्छेहरूलाई पनि त्यति नै मन पर्दैन । हामीलाई रोग लाग्छ भनेर डराउँछौं उनीहरूलाई रोग लाग्छ भनेर डराउँदैनन् ? यो डम्पिङ साइटको परम्परा तोड्नुपर्छ । फोहोर प्रशोधन केन्द्र स्थापना गर्नुपर्छ । फोहोरबाट बिजुली, मल निकाल्नुपर्छ । महानगरपालिकासँग बजेट छ त्यो गर्नुपर्छ ।

उपमेयरका परिभाषित काम कसरी गर्नुहुन्छ ?

महानगरपालिकाभित्र रहेको उपमेयरको काम, कर्तव्य, अधिकार भनेको योजना, कार्ययोजना र बजेट बनाउने हो । यी योजना उपमेयरले गर्ने भएको हुँदा योजना, बजेट, कार्ययोजना राम्रो हुनुपर्‍यो र न्यायिक समिति पनि छ । न्यायिक समितिको संयोजक उपमेयर नै हुन्छ । एउटा कहावत छ कि 'न्यायमा ढिलाइ गर्नु न्याय नदिनु जस्तै हो', त्यो गर्नु भएन । न्याय छिटो हुनुपर्‍यो । त्यो योग्यता, क्षमता भएको व्यक्ति ठाउँमा पुग्नुपर्‍यो । भोलि वा पर्सि गरौंला भन्नु भएन ।

त्यो पदका लागि तपाईंको योग्यता र अनुभव के छ ?

सबैभन्दा ठूलो कुरा अनुभव नै हो, त्यसपछि शिक्षा हुन आउँछ । मैले व्यवस्थापनमा स्नातक गरेको छु । राजनीतिशास्त्रको अन्तर्राष्ट्रिय मामिला र कूटनीतिमा स्नातक गरेको छु । बुद्धिजममा पीएचडी गर्दैछु । अनुभवको कुरा गर्नुहुन्छ भने पार्टीमा लागेको ३०-३५ वर्ष पुगिसकेको छ । २०४६ र २०६३/६३ को आन्दोलनमा सक्रिय भएर लागेको हुँ । अहिले प्रतिगमनको विरुद्धमा सक्रिय भएर लागेको छु । अनुभव, परिपक्वता र शिक्षा पनि छ । यी तीनवटा कुराको समिश्रणले उपमेयर, न्यायिक समितिमा बसेर राम्रो निर्णय र न्याय गर्न सकिन्छ भन्ने मलाई लागेको छ ।

राजश्व संकलन गर्ने, करको दायरा सबै व्यवस्थापन गर्ने अधिकार उपमेयरलाई छ । त्यसका लागि पनि व्यवस्थापन र राजनीतिमा दक्षता र क्षमता भएको मान्छे चाहिन्छ ।

काठमाडौं सांस्कृतिक सम्पदा मासिँदै गएको भनेर चुनावमा एजेन्डा बनेका छन्, यिनको संरक्षण र पुनर्जीवनका लागि तपाईंका योजना के छन् ?

यहाँभित्रको कला, संस्कृति, भाषालाई संरक्षण नगर्ने हो भने हाम्रा कुराहरू देखाउन, संरक्षण गर्नका लागि अयोग्य ठहरिन्छौं । विगतको नेतृत्वले केही पैसा बाँडेको छ तर त्यसले कला संस्कृतिको संरक्षण हुँदैन । त्यसका लागि धिमे खलः भन्ने छ । विभिन्न बाजा छन् । यसको संरक्षण गर्ने हो भने त्यहाँका गुरुका लागि कोष खडा गरेर, जागिर नै व्यवस्था गरेर संरक्षण गर्ने हो । विद्यार्थीलाई भित्रै ल्याएर सिकाउने हो । एउटा व्यक्तिलाई पैसा दिएर संरक्षण हुँदैन ।

जति पनि भूकम्पले थलिएका मठ, मन्दिर, चैत्य छन्; अहिले पनि ठडिएका छैनन् । त्यसका लागि योजना नै ल्याएर एक-एकका लागि बजेटसहित आउनुपर्छ । भाषा, जाति, धर्मलाई पनि संरक्षण गर्नुपर्छ । त्यसलाई संरक्षण गर्न सकेनौं भनेपछि, बाहिरबाट पर्यटक त यहीँ हेर्न आउने हो ।

काठमाडौं महानगरपालिकामा ७७ जिल्लाबाटै मानिस आएर बसिरहेका छन्, यो पक्षको व्यवस्थापनमा तपाईंको ध्यान कत्तिको गएको छ ?

काठमाडौं महानगरपालिकामा ७७ वटै जिल्लाका मान्छे बसेका छन् । हामीले सेवा सुविधा दिनका लागि समन्वय गर्नुपर्ने हुन्छ । उहाँहरूसँग समन्वय नगरीकन वा उहाँहरूको पनि संरक्षण नगर्ने हो भने अर्को समस्या हुन्छ । समन्वय गर्नुपर्छ तर सेवा सुविधामा अलि बढी प्राथमिकता महानगरवासीलाई दिनुपर्ने पनि हुनसक्छ । जो महानगरपालिकाको बासिन्दा हुन्छ त्यसलाई अन्य पालिकाबाट आएकालाई भन्दा बढी दिनुपर्ने हुन्छ । कार्यपालिकाबाट यी विषयमा निर्णय गर्न सकिन्छ ।

तपाईंले आफ्नो राजनीतिक अनुभव ३०-३५ वर्षको भयो भन्नुभयो । तपाईंको प्रतिद्वन्दी तपाईंको राजनीतिक अनुभव भन्दा कम उमेरको हुनुहुन्छ, एमालेको सुनिता डंगोल । युवा राजनीतिमा आउनुभएको छ, उहाँको उम्मेदवारीलाई कसरी हेर्नुहुन्छ ?

अहिल्यै म बुढो त भएको छैन । मसँग परिपक्वता छ । म 'टिनएजर' पनि होइन । मैले ३० वर्षभन्दा बढी समय राजनीतिक क्षेत्रमा मात्रै नभएर सामाजिक क्षेत्रमा पनि बिताएको छु । पढाइलाई आफ्नो गन्तव्यमा पुर्‍याएँ । अहिले जुन प्रतिद्वन्द्वी भनिएको छ त्यो मलाई प्रतिद्वन्द्वी होइन कि जस्तो पनि लाग्छ । किनभने एमालेले आफ्नै कार्यकर्तालाई टिकट दिएको भए हो कि भन्ने हुन्थ्यो । तर उहाँ त कार्यकर्ता होइन । उहाँलाई घोषणा गरेको त १०-१२ दिन भयो । त्योभन्दा पहिला उहाँ एमाले होइन, साधारण सदस्य पनि होइन, संगठित सदस्यको कुरै छोडौं । साधारण सदस्य पनि नभएको मान्छेलाई यसरी एमालेका कार्यकर्ताहरू सबैलाई 'स्याक' गरेर ल्याइयो । एमालेमा पनि धेरै विद्वान्, योग्य मान्छे छन् । पचासौं वर्ष राजनीतिक कार्यकर्ता भएकालाई 'स्याक' गरेर भर्खरै दुई महिनाको चर्चापरिचर्चाको भरमा ल्याएर एमालेमा रगत, पसिना, जीवन लगाएकालाई 'स्याक' गरेर ल्याएको भनेपछि उहाँ मेरो प्रतिस्पर्धी हुनसक्छ त ?

एमालेका प्रत्येक कार्यकर्ताले एकचोटी होइन हजार चोटी सोच्नेछ । यस्तै रहने हो भने एमालेमा कसको भविष्य छ ? आज उनलाई ल्याएको छ । ५ - ६ महिनापछि अर्को चुनाव आउँदैछ, यस्तै ल्याउँदै गयो भने त्यहाँ भएका इमानदार, योग्य, जीवनभर पार्टी भनेर बसेका कार्यकर्ताहरूको जीवन त समाप्त भयो नि ! त्यो सोचेर बसेका छन् ।

गठबन्धनमा भएका दलका कार्यकताले तपाईंलाई किन भोट दिने, के छन् एजेन्डा ?

गठबन्धनमा रहेका कांग्रेस, माओवादी, जनमोर्चा, जसपाले मलाई भोट दिएन भने आउने को त भन्दाखेरि आउने प्रतिगामीको प्रतिबिम्ब हो । तानाशाहको प्रतिबिम्ब आउने हो । अहिले माथिको रोग तल सरेको छ त्यही दम्भ, घमण्ड । मेयरका उम्मेदवार 'म ब्ल्याकबेल्ट हुँ' भन्छ, ठोक्नेजस्तो कुरा गर्नुहुन्छ । उपमेयरको उम्मेदवार पनि त्यस्तै भएको छ, ठोक्दिउँ, हान्दिउँ जस्तो गर्छ । माथिको नेता खड्गप्रसाद ओली पनि घमण्डी त्यै रोग तल सरेको छ । यस्तो भयो भने जनताले विश्वास गर्दैनन् ।

जनतासँग तपाईं के भनेर भोट मागिराख्नुभएको छ ?

मसँग यो गठबन्धनको शक्ति मात्रै होइन, अनुभव छ । योजना छ । काठमाडौंको ट्राफिक जाम, फ्लाइओभरको कुरा, बृद्धवृद्धाहरूको लागि ज्येष्ठ नागरिक केन्द्र, डे केयर सेन्टरका योजना छन् ।

युवाहरूका लागि पनि योजना छन् । यो देश युवाहरूले बाहिर गएर पसिना खर्च गर्ने हो भने बन्दैन । रेमिट्यान्सले देश बन्दैन । रेमिट्यान्सले ढिकचिक गरेर देश त चल्ला तर देश बन्दैन । युवाहरूको पसिना यहिँ खर्च गर्नुपर्‍यो । त्यसका लागि महानगरसँग बजेट छ, त्यो बजेट हामी हाल्छौं । युवाहरूले गर्न सक्ने काममा कसरी केन्द्रित गर्ने, रोजगारी सिर्जना गर्नमा हामी योजना हाल्छौं ।

नबिग्रिएको बाटो बनाएर होइन त्यसमा केन्द्रित हुनुपर्‍यो । काम गर्नसक्ने धेरै आधार छन् । त्यसमा केन्द्रित भएर हामी लाग्दाखेरि महानगरपालिकालाई राम्रो सभ्य सुन्दर बनाउन सकिन्छ । महानगरपालिकालाई दिगो र व्यवस्थित बनाउनुपर्छ । बस्न र स्वास फेर्न योग्य बनाएर लान सकिन्छ ।

प्रकाशित : वैशाख २५, २०७९ २१:३४
प्रतिक्रिया
पठाउनुहोस्

कलामा मौलिकताको बहस

कान्तिपुर संवाददाता

काठमाडौँ — समय र समकालीन जीवनलाई झल्काउने नेपाली कलाहरुबारे सर्जक तथा समीक्षकहरुले चर्चा गरेका छन् । राष्ट्रिय ललितकला प्रर्दशनी २०७९ को सन्दर्भमा नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको चित्रकला विभागले बिहीबार नेपाली समसामयिक कलामा मौलिकताको पहिचान विषयमा बहस आयोजना गरेको हो ।

कार्यक्रममा अभि सुवेदी, प्रतिष्ठानका कुलपति के.के कर्माचार्य, विभाग प्रमुख प्राज्ञ सुषमा राजभण्डारी, सदस्य सचिव विपिनकुमार घिमिरे, यमप्रसाद शर्मा लगायतले समसामयिक कलाबारे चर्चा गर्दै मुलुकमा सिर्जनाका मौलिक पक्ष र महत्वबारे आ–आफ्ना धारणा राखे । शर्माले पश्चिमा र पूर्वीया दर्शनबीच रहेका मौलिकताको पहिचानका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । विभिन्न समयमा बनेका चित्रकलाहरु, पश्चिमाहरुले प्रयोग गर्ने शैली र रङहरु, विश्वप्रसिद्ध चित्रकारका चित्रहरु र त्यसमा प्रयोग भएका शैलीहरुका विषयलाई उनले कार्यपत्रमा समेटेका थिए ।

कार्यपत्रमाथि टिप्पणी गर्दै गणेश जीसीले नेपाली कला संस्कृतिलाइ पश्चिमाहरुले भारतीय आँखाले हेरेको गुनासो गरे । सुवेदीले नेपाली नेपालीकला र संस्कृतिलाई अगाडि बढाउन ओझेलमा परेका कलाहरुका खोज अनुसन्धान गरिनु जरुरी रहेको सुनाए । उनले भने ‘ललितकलाले निकै नै प्रगति गरेको रहेछ । यसले अध्ययन अनुसन्धानको पाटोलाई अगाडि बढाएको देखिन्छ । यसर्थ हाम्रो मौलिक कला, परम्परा, संस्कृतिको व्यापक रुपमा खोज अनुसन्धान बहस चलाउनु जरुरी छ ।’


प्रकाशित : वैशाख २५, २०७९ २१:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×