‘कोरोना उपचार र खोप परीक्षणमा हामी चुक्यौं’- कुराकानी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
अन्तर्वार्ता

‘कोरोना उपचार र खोप परीक्षणमा हामी चुक्यौं’

२३ जना मात्रै हामी स्थायी कर्मचारी छौं । हामीले 'ओएनएम' गरेर ७० जना जनशक्ति स्थायी रुपमा चाहिन्छ भनेका छौं । २०७४ सालदेखि भएको ओएनएम अहिलेसम्म स्वीकृत भएको छैन । अहिले त्यो फाइल मन्त्रालयमा अड्किरहेको छ ।
गोविन्द पोखरेल

काठमाडौँ — नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले स्वास्थ्य क्षेत्रमा गरिने अनुसन्धानको स्वीकृति, नियमन र आफैं अनुसन्धान गर्दै आएको छ । कोरोना महामारीका बेला यसले सरकारलाई नीति निर्माणदेखि विभिन्न किसिमका अनुसन्धान गर्‍यो । आफ्नो छुट्टै प्रयोगशाला बिना नै एनएचआरसीले कसरी अनुसन्धान गरिरहको छ ।

एनएचआरसीका पछिल्ला गतिविधिसँग सम्बन्धित भएर स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य-सचिव डा. प्रदीप ज्ञवालीसँग ईकान्तिपुरकागोविन्द पोखरेलले गरेको कुराकानी :

एनएचआरसीले प्रयोगशालाबिना नै कसरी अनुसन्धान गरिरहेको छ ?

नेपाल सरकारको स्वास्थ्य नीतिमा रहेर यो परिषद् स्वतन्त्र हिसाबले काम गर्ने संस्था हो । हामीलाई स्वास्थ्य नीतिले सम्बोधन गर्छ । हामीले इभिडेन्स प्राप्त गर्ने, रिसर्चसँग सम्बन्धित नीति र मापदण्ड बनाउने, पोलिसीले सबै अनुसन्धान अन्तर्राष्ट्रिय मापदण्डको हुनुपर्छ भन्ने हिसाबले काम गर्ने हो ।

हाम्रो मुख्य काम भनेको रिसर्चलाई रेगुलेसन गर्ने, वैज्ञानिक ढंगले अनुसन्धान गर्ने र गराउने हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वको अनुसन्धानमा हामीले सहकार्य गर्ने हो । हामीले अनुसन्धानको विभिन्न ठाउँ पहिचान गरेर अनुसन्धान गर्छौं । रिसर्च गर्ने तरिका सिकाउने र गर्न लागेकालाई प्रोत्साहन दिने काम हामी गर्छौं । क्षमता अभिवृद्धि गर्न हामीले प्रोत्साहन गर्ने किसिमका अनुसन्धान गराउन लगाउने हो । कोभिडपछि सरकारले बल्ल अनुसन्धानलाई प्राथमिकता दिएको छ ।

काउन्सिलको सर्वप्रथम ल्याब हुनुपर्छ भनेर हामीले भन्दै आएका छौं । रिसर्च गराउन अग्रसर गरिरहँदा त्यो लेभलको रिसर्च ल्याब हुनुपर्छ । हामी अहिले ल्याब बनाउने तयारीमा छौं । आजको दिनमा रोग निदानका लागि बनाइएको ल्याब रिसर्च ल्याब होइनन् । किनभने रिसर्च ल्याबमा थुप्रै खालको अनुसन्धान गर्नुपर्छ । अनुसन्धान ल्याबमा बिरामीसँग सम्बन्धित मात्रै हुँदैनन् त्यसमा थुप्रै किसिमका हुनुपर्छ जस्तै, ड्रगको निर्माणका लागि, जनावारमा गरिने अनुसन्धान,भ्याक्सिन साइन्समा, क्लिनिकल ल्याबमा पनि आवश्यकता देखिन्छ ।

हामीले अहिले कुन अनुसन्धानका लागि कस्तो किसिमको प्रयोगशाला प्रयोग गर्ने भन्ने सम्बन्धमा निर्देशिका बनाउँदै छौं । एनएचआरसीलेले अनुसन्धान गरेको छ भन्ने तर हाम्रो आफ्नै ल्याब नहुँदा अन्यत्र धाउनुपर्ने बाध्यता छ । त्यो ल्याबले दिएको डकुमेन्टमा भर पर्नुपर्ने बाध्यता छ ।

कोभिडले हामीलाई धेरै कुरा सिकायो । हामी रिर्सचमा धेरै पछाडि छौं । अहिले हामीले अब्जर्भेसन स्टडी मात्रै गर्न सकेका छौं ।

कोभिडको यो ३ वर्षमा एनएचआरसीले गरेका अनुसन्धानमा अधिकांश प्रश्नमा आधारित मात्रै छ नि ?

त्यसका थुप्रै पाटाहरु छन् । रिर्सचरहरुको क्षमता अभिवृद्धि गर्नुपर्छ भनेर अहिले एउटा व्यक्तिले राम्रोसँग बुझेको छैन । व्यक्तिले पहिला रिसर्च बुझ्नुपर्यो र अरुलाई बुझाउनुपर्यो भन्ने हो । बुझाउँदा राज्यले पनि त्यो लेभलको सेवा/सुविधाहरु पनि दिनुपर्छ । नीतिगत हिसाबले पनि समस्या धेरै छन् । रिसर्च गर्ने वातावरण पनि छैन । एउटा डाक्टर वा मेडिकल पर्सनले, पब्लिक हेल्थ एक्सपर्टले म रिर्सच गर्छु, संस्थागत हिसाबले काम गर्छु भन्दा उसका लागि वातावरण पनि छैन । त्यो हाम्रोमा विकास गर्नु जरुरी छ । जबसम्म त्यो खालको माहोल निर्माण गरिदै‌ंन तबसम्म रिसर्च अझ विकासित हुँदैनन् ।

एनएचआरसीका स्थायी २३ कर्मचारीमध्ये २ जना मात्रै प्राविधिक छन् । दुई जनाले कसरी अनुसन्धान गर्न सक्छन् ?

त्यस्तो ठ्याक्कै होइन तर २३ जना मात्रै हामी स्थायी कर्मचारी छौं । हाम्रो ऐनले विषय विज्ञलाई कन्सल्ट्यान्टको रुपमा काम गर्न लगाउन सक्ने भनेको छ । हामीले करारमा कर्मचारी भर्ना गरेका छौं । अहिले हामीले ओएनएम गरेर ७० जना जनशक्ति स्थायी रुपमा चाहिन्छ भनेका छौं । अहिले त्यो फाइल मन्त्रालयमा अड्किरहेको छ । २०७४ सालदेखि भएको ओएनएम अहिलेसम्म स्वीकृत भएको छैन । हाम्रोमा करारबाट काम भएको छ ।

कारोनाकालमा तपाईंहरुले धेरै कर्मचारी भर्ना गर्नुभयो । त्यसकाे उपलब्धि के भयो ?

कोरोनाकालमा ६७ जना प्राविधिक जनशक्तिसहित ८४ जना कर्मचारी भर्ना गर्‍यौं । अनुसन्धानले सधैँ प्रत्यक्ष प्रभाव राख्दैनन् । कम्तिमा रिसर्च कल्चरको विकास हामीले गर्न सफल भयौं । एनएचआरसी भन्ने संस्थाबारे जनताले थाहा पाए । यो बीचमा हामीले धेरै काम गर्‍यौं । हामीले एसएमएसको अध्ययन गर्‍यौं । रेम्डेसिभिर औषधिको पनि अनुसन्धान गर्‍यौं । जेनोम सिक्वेन्सिङको पनि हामीले अनुसन्धान गर्‍यौं ।

आरडीटी प्रयोग गर्ने/नगर्ने भन्नेमा ठूलो विवाद थियो । त्यसमा पनि हामीले के भन्यौ भने रिसर्चको लागि मात्रै यो परीक्षण विधि ठिक छ, ट्रिटमेन्टका लागि ठिक छैन भनेर सल्लाह दियौं । क्लिनिकल हिसाबले सरकारले आरडिटी ठिक छैन भनेर पोलिसी नै परिवर्तन गर्‍यो । एसएमएस अध्ययन गरेपछि सोसियल डिस्टेन्सिङ, मास्कको सवालमा ७२ प्रतिशतले मास्क लगाएको देखियो, २८ प्रतिशतले लगाएको देखिएन ।

हेल्थ पोलिसी बनाउन पनि हामीले सपोर्ट गर्‍यौं । र, थुप्रै निर्देशिक परिर्वतन गर्न सहयोग गरेका छौं । मन्त्रालयले थुप्रै कुरा हामीसँग सोध्छ । जस्तै, स्यानिटाइजिङ टनेल । कोभिडमा स्यानिटाइजिङ टनेलको कुरा आयो । हामीले अध्ययन गरेर काम नभएको देख्यौं ।

र, यो बीचमा हामी एउटा कुरामा पछाडि भयौं । अहिले हामीले कोभिडसँग सम्बन्धित ट्रिटमेन्ट र भ्याक्सिनको ट्रायल गर्नुपर्थ्यो । त्यो अनुसन्धानमा हामी चुकेकै हो । र त्यसमा दुईवटा कारणले चुकेको हो । एउटा चाही हामी एनएचआरसीको क्षमताका कारण चुकेको हो । त्यसका लागि आवश्यक अध्ययन,म्यानपावर,रिसर्च ल्याब पनि नभएर हो । अफ्रिकामा भेटिएको भेरिएन्ट यहाँ पनि थियो होला नि त ! तर त्यसका लागि ल्याब नहुँदा निजी ल्याबमा भर पर्नुपर्ने भयो ।

पहिला एउटा पनि जिन सिक्वेन्सिङ नेपालमा नभएको अवस्थामा हाम्रै पहलमा प्राइभेट ल्याबबाट १५ वटा स्याम्पल प्रयोग गरेर गर्‍यौं । त्यसपछि नेपालमा गर्न सकिन्छ भन्ने भयो । हामीले केयूसँग पनि सम्झौता गर्‍यौं । र अहिले विभिन्न संस्थाहरुसँग मिलेर होल जेनोम सिक्वेन्सिङका कामहरु गरेका छौं । र,यसबाट पनि केही तथ्यहरु पनि आएका छन् ।

केही न केही सुधार भएर राज्यलाई पोलिसी निर्माणमा हामीले सहयोग पक्कै गरेका छौं । यो भनिरहँदा हाम्रो दिएको रिर्पोटको भ्यालिडिटी एउटा होला तर राज्यले के सुन्यो/सुनेन भन्ने कुरा राज्यसँग पनि सोध्नुहोला । हाम्रो काम पोलिसी एडभाइज गर्ने हो । हामीले एक वर्षमा करिब दुई हजार वटा अनुसन्धान गर्‍यौं । हामीले कोभिडसँग सम्बन्धित गाइडलाइन पनि बनायौं ।

ल्याबको पनि हामीले अडिट गरेर गुणस्तर सुधार गर्नुपर्छ भनेको छौं । केही न केही भएको छ । रेम्डेसिभिर दिने कि नदिने भनने थियो । हामीले अनुसन्धान गर्‍यौं ।

कोभिडसँग सम्बन्धित अस्पतालजन्य फोहोर व्यवस्थापनमा समस्या छन् । यसमा तपाईँहरुले अनुसन्धान गर्नु भएको छैन नि ?

धेरै गर्दा यो पाटो हामीले छुटाएका छौं । हामीले गर्ने भनेका पनि थियौं । त्यो हामीले गर्नुपर्ने अवस्था छ । सरकारले गर्नुपर्छ भन्ने खालको अनुसन्धान गरेका छौं । अहिले हामी त्यो ठाउँसम्म पुग्न सकेका छौं । कसैले गर्न खोज्छ भने हामी सहयोग गर्न तयार छौं ।

सबै कर्मचारी एकै पटक कार्यालय आउँदा बस्ने ठाउँ पनि छैन नि ?

एनएचआरसीको क्षमता वृद्धि गर्ने भनेर भौतिक हिसाबले सातवटै प्रदेशमा कार्यालय सञ्चालन गर्ने भनेका छौं । म यहाँ आउने बित्तिकै कोभिड पनि आयो । करारमा एकैपटक कर्मचारी भर्ना गर्नुपर्ने भयो । त्यही पुरानो संरचनामा एकैपटक मानिसहरु थप्दा अवस्था त्यसै पनि भद्रगोल भइहाल्छ नि । एनएचआरसीको करारमा नियुक्त भएका कर्मचारीहरु एकैपटक भयो । अहिले नयाँ भवनको निर्माण गर्ने प्रक्रिया हुन्छ । अहिले भइरहको संरचनाको ठूलो क्षेत्रफलमा ६ तलाको नयाँ भवन बन्नेछ । ५ रोपनीको क्षेत्रफलमा एनएचआरसीको सेन्ट्रल बिल्डिङ बनिन्छ ।

कहिले बाट ल्याब सञ्चालन होला ?

हामीले काठमाडौं विश्वविद्यालयसँग ल्याब निर्माण गर्ने भनेर सम्झौता गरेका छौं । हामीले बायो मेडिकल रिर्सच ल्याब बनाउन सम्झौता गरेका हौं । अबको केही समयपछि हाम्रो ल्याब सञ्चालन हुनेछ ।

अब तपाईंहरु थप के गर्दै हुनुहुन्छ ?

मैले विषय विज्ञको हिसाबले रिर्सचको क्षमता वृद्धि गर्नका लागि हामीले विभिन्न प्रकारका अनुसन्धानहरु गरेका छौं । त्यसमा हामीले क्लिनकल ड्रग विकासमा काम गर्न खोजिरहेका छौं । टेक्नोलोजी ल्याएर, त्यसको प्रतिलिपि अधिकार लिएर धनी राष्ट्र बन्न सकिन्छ । एकेडेमिक रिसर्च अगाडि बढाउनुपर्छ भन्नेमा हामी दृढ छौं । त्यो भनेको एनएचआरसीको कार्यक्रमभित्र रहेर हामीले क्लिनिकल ड्रग विकासमा अनुसन्धान अघि बढाएका छौं । अनुसन्धान वृत्तिमा पनि अब राष्ट्रिय महत्त्वको विषयमा दिने हुनुपर्छ भन्ने हाम्रो योजना छ ।

प्रकाशित : माघ २५, २०७८ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्

संक्रमण घटे पनि मृत्यु संख्या किन बढ्दैछ ?

बुनु थारु

काठमाडौँ — नेपालमा कोरोना भाइरस संक्रमण दर घटे पनि मृत्यु संख्या भने स्थिर रहेको तथ्यांकले देखाएको छ । मंगलबार १२ हजार ६९२ परीक्षणमा १ हजार ९५७ जनामा संक्रमण पुष्टि हुँदा ११ जनाको मृत्यु भएको छ । १ साता यताको तथ्यांक हेर्ने हो भने संक्रमण दर ओरालो लाग्दै गरेको देखिन्छ ।

माघ १९ गते संक्रमण दर ३१.४० रहेकोमा माघ २५ गते संक्रमण दर आधा अर्थात् १५.४ मा झरिसकेको छ । तर मृत्युको संख्या भने स्थिर देखिन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार दैनिक ८ देखि १६ जनासम्मले ज्यान गुमाइरहेका छन् । तीमध्ये धेरै जना दीर्घरोगी र ज्येष्ठ नागरिक रहेका छन् । मन्त्रालयले पुस १८ गतेबाट तेस्रो लहरको रुपमा मानेको छ । माघ २० गतेसम्मको तथ्यांकअनुसार हालसम्म १९५ जनाको कोभिडका कारण मृत्यु भइसकेको छ । मृत्यु हुने धेरैजना श्वासप्रश्वासका बिरामी छन् । कसैकसैमा त ३ देखि ४ थरिका रोग पनि देखिएको छ । त्यसैगरी कलेजो, मिर्गौला, क्यान्सर,इपिलिप्सी, मधुमेह, एचआइभी, डिप्रेसन, एन्जाइटी, फोक्सोको क्यान्सर, स्ट्रोक, हाइपर टेन्सन, स्क्रब टाइफसका समस्या भएका बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा कम उमेरकी चितवनकी १६ महिनाकी शिशु छिन् । ब्रेन इन्जुरीबाट उनको मृत्यु भएको थियो ।

मन्त्रालयसँग तेस्रो लहरमा मृत्यु हुने कति जनाले खोप लगाए र कतिले लगाएका थिएनन् भने यकिन तथ्यांक राख्न सकेको छैन । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका सूचना अधिकारी नवराज गौतमका अनुसार पुस १५ देखि हालसम्म अस्पतालमा ४ जनाको कोभिड वार्डमा उपचारको क्रममा मृत्यु भएको छ । गौतमले भने–‘ २ जना खोप लगाएको र २ जना खोप नलगाएका थिए । १ जनाले पूर्ण मात्राको लगाएको र १ जनाले एक मात्राको खोप लिएका थिए । मृत्यु हुनेमा ५५ देखि ९० वर्षसम्मका छन् ।’

अरु अस्पतालको तथ्यांक हेर्ने हो भने मृत्यु हुनेको अवस्था पनि टेकुसरह नै छ । वीर अस्पतालका उपनिर्देशक डा प्रज्वल श्रेष्ठका अनुसार माघ १ गतेदेखि हालसम्म ७० जनाको मृत्यु भएको छ । जसमा ४३ जनाले खोप लगाएका थिएनन् । त्यसैगरी २३ जनाले पूर्ण मात्राको खोप र ४ जनाले एक मात्राको खोप लगाएका थिए । अस्पतालका संक्रामक रोग विशेषज्ञ तथा रिसर्च युनिटका संयोजक डा शेरबहादुर पुन अझै केही दिन मृत्यु स्थिर रहने बताउँछन् । उनका अनुसार अब केही दिन मृत्युको संख्यामा त्यत्ति कमी आउने छैन । उनी भन्छन्–‘ओमिक्रोन रुघाखोकी जस्तो लक्षण लिएर आयो, धेरैले थाहा पनि पाएन ।अहिले धेरै अस्पतालको तथ्यांक हेर्दा मर्ने दीर्घरोगी तथा ज्येष्ठ नागरिकहरु रहेका छन् । कतिपयले त एक डोज र कतिपयले खोप पनि नलगाइएको पाइएको छ । ’

उनका अनुसार संक्रमणको संख्या घट्नुको अर्थ संक्रमण छैन भन्ने होइन । डा पुन भन्छन्–‘धेरै जना संक्रमित भइसकेका छन् । अब संक्रमित हुन बाँकी थोरै नै होला । धेरैले परीक्षण गर्दैनन् किनकि ओमिक्रोनले त्यत्ति गाह्रो बनाएको छैन । परीक्षण नगरी पोजिटिभ नभई तथ्यांकमा देखिँदैन । त्यसैले पनि तथ्यांक कम देखिन्छ ।’

‘धेरै जना संक्रमित भइसकेका छन् । उनीहरु निको भएर काममा फर्किन थालिसके । बुवाआमा र छोराछोरीबीच दोहोरो संवाद कम छ । स्वास्थ्य अवस्थाका बारेमा एकअर्कालाई भन्दैनन् । तर ज्येष्ठ नागरिकहरुमा दीर्घरोग हुन सक्छ । जटिल भएपछि मात्र अस्पताल ल्याइन्छ । त्यो कारणले पनि मृत्युको संख्या स्थिर देखिएको हो र आगामी केही दिनमा पनि यो स्थिर देखिएला, ’ डा. पुन भन्छन् ।

केही दिनअघि मात्र विश्व स्वास्थ्य संगठनले नेपाललाई १८ वर्षभन्दा माथिका ७० प्रतिशतलाई पूर्ण मात्राको खोप लगाएकोमा बधाई दियो । तर खोप लगाउनेमध्ये कति प्रतिशत ज्येष्ठ नागरिकहरुले पाए भनेर मन्त्रालयसँग यकिन तथ्यांक छैन । सोमबारसम्मको तथ्यांक हेर्दा १८ वर्षमाथिका ७२.७ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् भने ८८.४ प्रतिशतले एक मात्राको खोप लगाएका छन् । १२ देखि १७ वर्ष उमेर समूहकाले ३२ प्रतिशतले पूर्ण मात्रा र ८० प्रतिशतले एक मात्रा लगाइसकेका छन् । साथै ६ लाख २९ हजार ७४१ जनाले अतिरिक्त मात्रा खोप लगाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

डा पुनले ६० माथिका सबै ज्येष्ठ नागरिकहरुले खोप पाए वा पाएनन् भन्नेमा ध्यान दिनुपर्ने बताउँछन् । उनले भने–‘संख्या घट्दै गएको देखिए पनि ज्येष्ठ नागरिकहरुलाई गाह्रो हुन सक्छ । आगामी केही दिनहरु पनि सकसपूर्ण हुन सक्छ । सम्बन्धित निकायमा पनि उनीहरुको पहुँचमा कसरी पुग्ने र उपचारमा कसरी सहज गराउनेमा एकदमै ठूलो ग्याप देखिन्छ । उनीहरुले खोप लगाउन नसकेको अवस्था होला वा दीर्घरोगले व्यापक च्यापेको होला ।’

जनस्वास्थ्य विज्ञ डा. विन्ज्वला श्रेष्ठले ओमिक्रोन र डेल्टा दुवैको संक्रमण रहेको बताउँछिन् । भन्छिन्–‘डेल्टाको पहिलाकै बिरामी उपचार नपाएर अहिले मृत्यु भएको हुन सक्छ । ओमिक्रोनसँगै डेल्टा पनि देखिएको छ । पहिलाको केस पनि होला अथवा खोप नलगाएकाहरु पनि होलान् । किनकि खोप नलगाएकालाई जटिल हुने र मृत्यु हुने सम्भावना छ । खोप लगाए पनि दीर्घरोग भएका बिरामीहरु छन् । ओमिक्रोनले युवाहरुलाई गाह्रो नबनाउला तर बुढाबूढीहरु त जोखिम नै हुन्छन् ।’

उनले पहिला दुई–तीन ज्वरो आइ निको हुने र पुन: ज्वरो आएमा हेल्चेक्र्याइँ नगर्न सुझाव दिन्छिन् । ‘हेल्चेक्र्याइँ गर्दा निमोनिया हुन सक्छ । बेवास्ता नगरी समयमा अस्पताल पुग्ने हो भने धेरै मृत्युदर रोक्न सक्छौं । साथै अस्पतालले पनि कोभिडको बिरामीको राम्रो उपचार दिनुपर्छ जुन उपत्यकाबाहिर अझै पनि पुगेको छैन,’उनले भनिन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा संगीता मिश्राले मृत्यु स्थिर नै रहेको सवालमा यसलाई केलाएर हेर्नुपर्ने बताउँछिन् । डा मिश्रा भन्छिन्–‘विगतका वर्षमा यही समयमा कोरोना हुनुअघि कतिको मृत्यु हुन्थ्यो ? यो आकस्मिक मृत्यु हो कि कोरोनाकै जटिलताले हो भन्ने हेर्नुपर्ने हुन्छ । कोरोना हुनु र यसको जटिलताले मर्नुमा फरक छ । कोरोना लागेको व्यक्तिलाई अरु थुप्रै रोगहरु लागेको हुन सक्छ । यसको तथ्यांक राख्न काम भइरहेको छ।’

प्रकाशित : माघ २५, २०७८ १७:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×