‘मधेस नामकरणले पहिचानवादीलाई उत्साहित बनाएको छ’ [भिडियो]- कुराकानी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
अन्तर्वार्ता

‘मधेस नामकरणले पहिचानवादीलाई उत्साहित बनाएको छ’ [भिडियो]

कान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन तीन दिनदेखि जनकपुरमै रहेका बेला सोमबार प्रदेश २ को नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ चयन भएको छ । सोमबार जनकपुर उद्योग वाणिज्य संघको सभाहलमा पार्टी प्रवेश गराइरहँदा प्रदेश २ को नाम मधेस र राजधानी जनकपुरधाम दुई तिहाइले पारित भएको खबर सुनेपछि यादव भावुक बने ।

मधेस आन्दोलनको जगमा राष्ट्रिय राजनीतिमा उदाएका यादव त्यही पात्र हुन्, जसले संघीयता र मधेस प्रदेशको मागलाई बुलन्द बनाए ।

२०६३ मा अन्तरिम संविधान जारी भएपछि मधेसमा विद्रोह भयो । त्यो विद्रोहको कमान्डर पनि यादव थिए । गिरिजाप्रसाद कोइराला नेतृत्वको तत्कालीन सरकारले गरेको सम्झौताअनुसार अन्तरिम संविधानमा ‘संघीयता’ थपिएपछि मधेस आन्दोलन रोकिएको थियो । मधेस आन्दोलनका दुई एजेन्डा थिए । एउटा मुलुक संघीय संरचनामा जानुपर्ने र अर्को स्वायत्त मधेस एक प्रदेश । राजनीतिक उतारचढावले मधेसको भू–भाग विभिन्न प्रदेशमा बाँडिए । तर, प्रदेश २ का ८ जिल्लालाई मधेस प्रदेश बनाउनुपर्ने एजेन्डामा यादवको अडान यथावतै रह्यो । मधेस प्रदेश बनेपछि जसपाका अध्यक्ष उपेन्द्र यादवसँग मंगलबार जनकपुरमा कान्तिपुरका अजित तिवारीले गरेको कुराकानीः

मधेस प्रदेश र राजधानी जनकपुर चयन भयो तपाईंलाई कस्तो लागिरहेको छ ?

मधेस आन्दोलन, सशस्त्र विद्रोह, जनआन्दोलनलगायतका बेलामा जनताले मधेस प्रदेश स्थापना गर्न र समानुपातिक प्रतिनिधित्व, पहिचान, शासन–प्रशासनमा भागिदारी, साधन–स्रोतमा पहुँचका लागि आवाज उठाएका थिए । खासगरी, मधेस जनविद्रोहका बेला मधेस प्रदेशका लागि थुप्रैले सहादत दिए । मधेस प्रदेश स्थापनाका लागि ति सहिदहरूको सपना पुरा गर्ने दिशामा एक पाइला अघि सरेका हौं । मधेस प्रदेश स्थापनाले मधेस मात्र होइन, देसमै पहिचानमा आधारित राज्य वा प्रदेश स्थापना गर्ने पहिचानवादी शक्ति र समुदाय (खासगरी) आदिवासी/जनजातीलाई उत्साहित बनाएको छ । र, मधेस प्रदेश मधेसीको मात्र नभई सबैको साझा प्रदेश हो । सबै समुदायले मधेसमा बराबरीका सम्मान, अवसर र आफ्नो पहिचानसहितको बिना भेदभाव विकास गर्ने अवसर पाउँछ ।

अरु प्रदेशले फरकखाले नाम राखे । प्रदेश २ सँग जानकी, मिथिलाको पनि विकल्प थियो किन त्यो विकल्पमा गइएन ?

प्रदेश २ का जनताले आफ्नो पहिचानका आधारमा नाम तय गरे । यहाँको जनताको आत्मनिर्णयको अधिकार पनि हो । जहाँसम्म अन्य प्रदेशको नाम राखिएको छ, त्यो नामाकरण राजा महेन्द्रकै पालाको हो । कोसी, गण्डकी, कर्णाली अञ्चल । नदी–खोलाका नामबाट राजा महेन्द्रले अञ्चलको नाम राखे । त्यही अनुशरण गरेर बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश भनेर नाम राखियो । उच्चस्तरीय राज्य पुनर्संरचना आयोगले पनि पहिचान र सामर्थ्यका आधारमा राज्यको पुनर्संरचना गर्नुपर्छ भनेर राज्यलाई सुझाव दिएको छ । र, पहिलो संविधानसभाले पनि त्यसलाई स्वीकारेको छ । राज्यको पुनर्संरचना गर्दा पहिचान र सामर्थ्यकै आधारमा गर्नुपर्छ ।

जुन खोला–नदीको नामबाट प्रदेशको नाम राखिएको छ, त्यो गलत हो । त्यसको के पहिचान हुन्छ । कोहि मान्छे काठमाडौंमा आए, कहाँबाट आएको सोध्दा बागमतिबाट आएको भन्दा के पहिचान हुन्छ । कुनै मान्छे पोखराबाट आए, कहाँबाट आएको सोध्दा गण्डकी भन्ला, त्यसले के पहिचान दिन्छ । न त्यसको पहिचान नदीसँग जोडिन्छ ।

भारतमा पनि आसामीहरूको पहिचानका लागि आसाम, नागाहरूको पहिचानका लागि नागालैन्ड, तमिलहरूको पहिचानका लागि तमिलनाडू, पन्जावीहरूको लागि पन्जाव राज्य छ त्यहाँ । कुनै गंगा वा ब्रम्हपुत्र नदीबाट प्रदेशको नाम त छैन भारतमा । अर्को कुरा, व्यक्तिको नामबाट प्रदेश हुनैसक्दैन । जानकी भनेको व्यक्ति हो । व्यक्तिको नामबाट कहिं दुनियाँ–संसारमा नाम छैन । त्यो झन् विकृतरुप प्रस्तुत गरिएको छ ।

मिथिला त व्यक्तिको नाम होइन । यो नाममा किन स्वीकारिएन ?

पुरै २ नम्बर प्रदेशमा मिथिला मात्रै छैन । रौतहट, वारा, पर्सा कहिल्यै मिथिला प्रदेशमा थिएन । पुरा जमानामा पनि थिएन । कोइ बज्जि संघमा थिए त कोइ अन्तै थिए । त्यसैले सबैलाई समेट्ने मिथिला छैन । मिथिला भारतमा छ । भारतमा पनि ठूलो मिथिला छ । तर, मधेस प्रदेश संसारमा यही मात्र छ ।

प्रदेश १ को पनि नाम राख्न बाँकी छ । तपाईंको लिगेसी त्यहाँ पनि जोडिएको छ । प्रदेश २ को नाम मधेस राखिएपछि प्रदेश १ लाई पनि पहिचानका आधारमा नाम राख्न दबाब पुगेको हो ?

निश्चित पर्छ । मेरो व्यक्तिगत विचार सोध्नु हुन्छ भने, प्रदेश १ को नाम किराँत वा लिम्बुवान किराँत राख्दा राम्रो हुन्छ । किनभने किराँती र लिम्बुवानहरूको इतिहास नेपालको इतिहास भन्दा हजारौं वर्ष पुरानो हो । महाभारतमा पनि किराँतको उल्लेख छ । किराँतीहरू त्यहाँका मुलवासी हुन् । उनीहरूको आफ्नै पहिचान, संस्कृति र भेषभुषा छ । संगै लिम्बुवान आफ्नो पहिचानका लागि लडिरहेकै छ । सबैलाई सम्बोधन हुनेगरी प्रदेशको नाम राख्नुपर्छ ।

मधेस वा किरात नाम राख्दा अन्य समुदाय संशकित हुने, डराउनेजस्तो भान हुन्छ । यस्तो किन भएको होला ?

यो सामन्ती चिन्तन हो । आफूले दबाएर राखेको, आफ्लैे पहिचान मेटाएका समुदायहरू पुन: पहिचान र हकअधिकार लिन्छन् भन्ने भयबाट ग्रसित मानसिकताको उपज मात्र हो । जुनसुकै प्रदेश बनेपनि त्यो सबै समुदायको प्रदेश हो । अब यही मधेस प्रदेश बन्यो । यो त सबै समुदायको आफ्नै प्रदेश हो । यहाँ बसोवास गर्ने सबैको प्रदेश हो ।

मधेसमा बस्ने अन्य समुदायलाई गर्ने व्यवहारमा फेरि विभेद होला । समुदाय हेरेर अवसर र सुविधा देला कि भन्ने भय पनि छ नि ?

गोर्खाली सम्राज्यको विस्तारबाट हामीले जे भोग्यौं मधेसमा, त्यो व्यवहार दोहरिन्न । गोर्खाली साम्राज्यमा मधेस भुगोल मिसिएपछि हामीले जुन उत्पीडन र विभेद भोग्यौं, जुन शोषण, अन्याय र अत्याचार हामीले भोग्यौं, हामी चाहदैनौं कसैले अब त्यो व्यवहार गरुन् । चाहे मधेसी हुन् वा गैरमधेसी ।

मधेस नाममा दुई तिहाइ पुर्‍याउन सकस थियो । तर कसरी संभव भयो ? सबैको सहयोगबाट मधेस नाम राख्न संभव भएको हो । हामीलाई सबै पार्टीका नेता र माननीयज्यूले सहयोग गर्नुभयो । उहाँहरूलाई म धन्यवाद दिन चाहन्छु । उहाँहरूको भावनात्मक सहयोग रह्यो । पहिचानप्रतिको आस्थाको सहयोग हो । उहाँहरूको पनि आवश्यकता र चाहना थियो कि प्रदेश २ मधेस प्रदेश बनोस् । यसले उहाँहरूको पनि सम्मान बढेको छ ।

राजधानी जनकपुरमा राख्दा वीरगन्ज चिढिएको छ नि ?

वीरगन्ज पनि राजधानी नै हो । वीरगन्ज मधेस प्रदेशको क्यापिटल सिटी हो । जनकपुर प्रशासनिक राजधानी, वीरगन्ज आर्थिक राजधानी हो । त्यसकारण वीरगन्ज र जनकपुरबीचको दूरी बढाउनु हुन्न ।

प्रदेश सरकार गठन भएको ४ वर्ष बित्यो । नाम र राजधानी पेचिलो मामिला भएपनि टुंगिएको छ । मधेस सरकारको काम–कारवाहीलाई कसरी मूल्याकंन गर्नुहुन्छ ?

हामीले जे–जति अपेक्षा गरेका थियौं, त्यसअनुसार खरो उत्रिन सकेको छैन । तर, जे–जस्तो परिस्थितिमा पनि मधेस सरकारले गरेको काम राम्रै हो । कर्मचारीको अभाव, बजेटको अभाव, कानुनको अभाव, स्रोत–साधनको अभावको बीचमा जतिसुकै काम मधेस सरकारले गरेको छ, त्यो कम आँक्न मिल्दैन ।

प्रकाशित : माघ ४, २०७८ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्

एमाले मुगुको अध्यक्षमा मल्ल निर्विरोध

राजबहादुर शाही

मुगु — नेकपा (एमाले) मुगुको आठौं जिल्ला अधिवेशनले जीतबहादुर मल्ललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । यसैगरी उपाध्यक्षमा कर्णबहादुर मल्ल, सचिवमा डबलबहादुर रोकाया, उपसचिवमा नरेन्द्रबहादुर रोकाया र कार्माछिरिङ तामाङ पनि निर्विरोध निर्वाचित भएका छन् ।

नेकपा एमाले मुगु जिल्लाको आठौं अधिवेशनबाट अध्यक्षमा मल्लसहित समावेशी रुपमा ९० सदस्यीय जिल्ला कमिटीको नेतृत्व सर्वसम्मत रुपमा चयन गरिएको नेकपा एमाले मुगुका जिल्ला इन्चार्ज तथा कर्णाली प्रदेश सह-इन्चार्ज मोहन बानियाँले बताए ।

गत पुस २७ गते उद्घाटन भई बन्दसत्र सुरु भएको एमाले अधिवेशनले नयाँ नेतृत्व चयनका लागि सहमति खोज्दै एक सातापछि बल्ल नयाँ पदाधिकारीको पूर्णता पाएको बानियाँको भनाइ छ ।

जाडो मौसममा अधिवेशन लम्बिँदै जान थालेपछि सहमति वा निर्वाचन गराएर यथाशक्य छिटो नेतृत्व चयन गराउन सोमबार कर्णाली प्रदेश कमिटी सदस्य राजु कार्की काठमाडौंदेखि जिल्ला पुगेका थिए ।

विगत लामो समयदेखि एमालेमै रहेर जिल्लास्तरमा सक्रिय राजनीति गर्दै आएका मल्ल अहिले फेरि अध्यक्ष पदमा चयन भएका हुन् । पुस २३ गते तोकिएको एमालेको जिल्ला अधिवेशन हिमपात र वर्षात्‌ले गर्दा पुस २७ गते सारिएको थियो ।

प्रकाशित : माघ ४, २०७८ १७:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×