३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५
कुराकानी

‘वैज्ञानिकहरूलाई ‘ल्याब टू लेन्ड’मा जोड्न खोजेका छौं’

गोविन्द पोखरेल

काठमाडौँ — विज्ञान तथा प्रविधि क्षेत्रमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट) सरकारको आधिकारिक अनुसन्धान निकाय हो । विज्ञान तथा प्रविधिको अनुसन्धान,प्रवर्द्धन गर्ने जिम्मा यो संस्थालाई दिइएको छ ।

‘वैज्ञानिकहरूलाई ‘ल्याब टू लेन्ड’मा जोड्न खोजेका छौं’

पहिलो नेपाली स्याटेलाइट मिसनको सफलतापछि अहिले नास्ट दोस्रो स्याटेलाइट मिसनको तयारी गरिरहेको छ । अनुसन्धानमा कामहरु भएपनि जनमानसमा प्रत्यक्ष प्रभाव देखिने किसिमका काम नास्टले गर्न नसकेको आरोप लाग्‍ने गर्छ । पछिल्लो समय नास्टमा विनियोजित बजेट पूर्ण रूपमा खर्च गर्न नसकेको, समयमा नै योजनाहरु सम्पन्न गर्न नसकेको, अनुसन्धानलाई प्राथमिकता नदिएर गीत लेखनको सूचना निकालेको भन्दै नास्टको आलोचना भइरहेको छ ।

नास्टको उपकुलपतिको रुपमा सुनिलबाबु श्रेष्ठ नियुक्त भएको आइतबार तीन वर्ष पूरा भयो । कार्यकाल सकिन १ वर्षमात्रै बाँकी छँदा श्रेष्ठसँग नास्टका पछिल्ला विवाद र समस्यासँग केन्द्रीत भएर कान्तिपुरका गोविन्द पोखरेलले गरेको कुराकानी :

तपाईं नास्टको नेतृत्वमा आउनुभएको तीन वर्ष पूरा भएको छ । यो तीन वर्षमा तपाईंले गर्नुभएका मुख्य काम के-के हुन् ?

म नास्टको नेतृत्वमा आएको तीन वर्ष पूरा भयो । यो तीन वर्षमा १० वटा सिद्धान्तमा आधरित भएर नास्टमा काम गर्ने सुरुवात गरेका छौं । पहिलो कुरा त‚ म आउनेबित्तिकै ‘समाजका लागि विज्ञान, समृद्धिका लागि नवप्रवर्तन’ भन्ने मूल सोचका साथ हामीले हरेक गतिविधिलाई त्यसतर्फ डोर्‍याउन खोज्यौं ।

विज्ञान‚ समाजका लागि प्रयोग हुनुपर्छ भनेर हामीले गरेका अनुसन्धानहरुलाई त्यसतर्फ जोड्न खोज्यौं । समाज र विज्ञानलाई जोड्न खोजका छौं । पुस्तकहरू प्रकाशन गर्दा पनि हामीले त्यसतर्फ जोड्न खोज्यौं । हामीले समाजका लागि विज्ञान हुनुपर्छ र समृद्धिका लागि नवप्रवर्तन हुनुपर्छ भनेर काम गरेका छौं ।

अर्को पक्ष भनेको हामीले सिर्जनशीलतालाई प्राथमिकता दिएका छौं । तपाईं सातदोबाटोदेखि गोदावारीसम्म जाँदा बाटोमाा धेरै वैज्ञानिक संस्थाहरू देख्नुहुन्छ । नास्ट, नार्क, एनटीएनसी, विधि विज्ञान प्रयोगशाला, इसिमोड, बोटानिकल गार्डेनलगायत धेरै महत्त्वपूर्ण संस्थाहरू यो ११ किलोमिटर सडकको वरिपरि पर्छन् । यसलाई जोडेर एउटा विज्ञान सहरको अवधारणा ल्याएका छौं । यसको काम अघि बढिसकेको छ ।

हामीले इनोभेसनमा ल्यान्डस्केप नै तयार गरौं भन्ने हिसाबले काम गरिरहेका छौं । कोभिड महामारीको समयमा हामीले इनोभेसन फर प्रोस्पर्टी भनेर नै सुरुवात गर्‍यौं । मोबाइल स्वाब कलेक्सन‚ बुथ निर्माणदेखि मास्कको गुणस्तर परीक्षण, पीपीई परीक्षणजस्ता कार्यहरु गर्‍यौं । हामीले नवप्रवर्तन केन्द्र स्थापना गरका छौं । विज्ञानलाई कला र साहित्यलाई पनि जोड्ने काम गरेका छौं ।

३९ वर्ष इतिहास बोकेको नास्ट अहिलेसम्म पालिका स्तरसम्म पुगेको छैन । विज्ञान र प्रविधिको बारेमा सचेतना ल्याउनुपर्ने यावत कुराहरू छन् । नास्ट केन्द्रमा बसेको छ । दूरदराजमा पुगेको छैन । हाम्रो दायित्व पनि त्यहाँसम्म पुर्‍याउनुपर्ने हो । नास्ट केन्द्रीकृतमात्रै भएर हुँदैन सातवटै प्रदेशमा जानुपर्छ र त्यो सातवटै प्रदेशमा विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गर्ने योजना अघि बढेको छ ।

अहिले ६० प्रतिशतभन्दा बढी मानिसहरू पालिकामा बस्छन् । दिगो विकासको लक्ष्य हासिल गर्न हामीले खाद्य हरियाली सहरको कामको सुरुवात गरेका छौं । नगरपालिकाको जमिन हरियाली पनि बनोस् र उत्पादनशील पनि होस् भनेर हामीले काम गरेका छौं । अहिले ११ वटा पालिकासँग सम्झौता भइसकेको छ । वैज्ञानिकहरूलाई ‘ल्याब टू लेन्ड’मा जोड्न खोजेका छौं ।

नास्टभित्रै एनालाइटिकल सर्भिस सेन्टरको स्थापना, अन्तरिक्ष अनुसन्धान केन्द्रको स्थापना, साइन्स सिटी, समावेशी विज्ञान, साइन्स डिप्लोमेसीलगायतका अवधारणामा अहिले काम भइरहेको छ । इन्फरमेसन एक्सेस सेन्टरको स्थापना, तथ्यांक संकलन केन्द्र, नलेज म्यानेजमेन्ट सेन्टर स्थापना गरेका छौं ।

आइतबारमात्रै नास्टले गीत लेखनको सूचना प्रकाशित गर्‍यो । जुन विवादित पनि बन्यो, नास्टको अहिलेको प्राथमिकता अनुसन्धान हो कि संगीत ?

हरेक संस्थाहरुको आफ्नो छुट्टै संस्थागत गीत हुन्छन् । नास्टको प्रवर्द्धनात्मक कार्यक्रम अन्तर्गतको कार्यक्रम भएकाले नास्ट गानको सूचना माग भएको हो । पुरानै गीत अहिलेको सुहाउँदो नभएकाले समय अनुसारको बनाउन खोजिएको हो । वैज्ञानिकहरुलाई पनि गीत संगीत मार्फत् जोड्न खोजेका हौं ।यसलाई अन्यथा लिनु हुन्न । नास्टका विभिन्न कार्यक्रमहरुमध्येको यो काम हो । हरेक विभागले काम गरिरहका हुन्छन् ।

तपाईंहरू नेपालमै अन्तरिक्ष अनुसन्धान केन्द्र स्थापना गर्ने योजना सार्नुभएको छ । दोस्रो स्याटेलाइट मिसनको पनि सुरुवात गर्नुभएको छ । नेपालमा हालसम्म अन्तरिक्ष सम्बन्धी कानुन नै छैन । यस्तो अवस्थामा कसरी सफलता हासिल गर्नुहुन्छ ?

हामीले अन्तरिक्ष अनुसन्धान केन्द्र बनाउने निर्णय गरेका छौं । समिति निर्माण भएको छ । त्यो समितिले कस्तो केन्द्र बनाउनुपर्ने, कस्तो हुनुपर्छ, पोलिसीको सबै कुरा उल्लेख गरेर प्रतिवेदन बुझाउनेछ । प्राज्ञिक समितिले गर्ने भएकाले पक्कै पनि पूर्ण रूपमा प्रतिवेदन दिनेछ । अन्तरिक्ष कानुन हामीलाई आवश्यक नै छ ।

नास्टमा वैज्ञानिकभन्दा कर्मचारीको संख्या धेरै हुनुको कारण के हो ?

नास्ट भनेको राष्ट्रको सम्पत्ति हो । दु:ख भए पनि सिस्टम बनोस् भनेर मैले काम गरेको छु । मैले नास्टको पुर्नसंरचना गर्नुपर्छ भन्दै आएको छु । धेरै युवा वैज्ञानिकहरु आउनुभएको छ । धेरै परिवर्तन भएको छ । पुर्नसंंरचना गर्नका लागि समिति पनि बनाएका छौं । मस्यौदा पनि तयार भएको छ । तर मकहाँ अहिले आइसकेको छैन । त्यो समितिले अबको नास्ट कस्तो हुनुपर्छ भन्ने प्रतिवेदन दिन्छ । त्यही अनुसार काम हुन्छ । यो पनि एउटा ब्रेकथ्रु हुन्छ ।

पहिलो कुरा कर्मचारी र वैज्ञानिकको कुन रेसियो हुनुपर्छ भन्ने आवश्यकता हेर्नुपर्छ । अन्तरिक्ष अनुसन्धान केन्द्र स्थापना गर्ने भनिएको छ । त्यसका लागि कति कर्मचारी चाहिने कति वैज्ञानिक चाहिन्छ भन्ने कुरा अध्ययन गरेर आउँछ । त्यही आधारमा कर्मचारी र वैज्ञानिकको अनुपात हुन्छ । नास्टका वैज्ञानिकले जे मन लागेको छ त्यो गर्ने हैन, राष्ट्र र देशलाई के चाहिएको छ त्यो गर्नुपर्छ ।

नास्टमा वर्षौदेखि कर्मचारीको वृत्तिविकास रोकिएको छ । कर्मचारी भर्ना पनि रोकिएको छ । यो समस्या तपाईले समधान गर्न सक्नु भएन नि ?

नयाँ संविधानमा भएका प्रावधनका कारण सेवा आयोग निष्क्रिय भयो । केही महिनाअघि नास्टले सेवा आयोगकको अध्यक्ष पाएको छ । कर्मचारीको समस्या समाधानका लागि धेरै धाएको छु । सबै प्रक्रियिा पूरा भएको छ । अबको व्यवस्थापन हुँदै अर्को प्राज्ञ सेवामा त्यो समस्या समाधान हुने अपेक्षा गरेको छु ।

अहिले कूल २३१ वटा दरबन्दी छ । रिस्ट्रक्चरिङले कस्ता कस्ता जनशक्ति माग्छ अनि पहिलो चरणमा कस्तो काम गर्ने हो त्यही अनुसार कर्मचारी भर्ना गर्ने हाम्रो तयारी छ ।

नास्टमा बजेट कम भयो,भन्नुहुन्छ । ३ वटा आर्थिक वर्षमा खर्च ५० प्रतिशत पनि गर्न सक्नु भएन नि ?

यो कोभिडको असरले गर्दा हो । कोभिड भएपछि वैज्ञानिकहरु बाहिर फिल्डमा काम गर्न जान पाएनन् । पुँजीगत खर्च राम्रोसँग हुन नपाएको हो । अन्य खर्चहरु हामीले ६० प्रतिशतभन्दा बढी गरेका छौं । अन्य खर्चहरु बढेका छन् । बजेट जति बढाउनुपर्ने हो त्यो अझै भएको छैन । अघिल्लो वर्षदेखि केही कुरामा हामीले राम्रो काम गरेका छौं ।

नेपालका वनस्पतिहरुको सूचिकरण गर्न ‘फ्लोरा अफ नेपाल’ निर्माण थालेको ३० वर्ष भयो । अझै तयार भएको छैन नि !

यो कुरा जायज पनि हो । म आउने बित्तिकै निर्माण सम्पन्न गर्नुपर्छ भनेको हुँ । यसमा विभिन्न संस्थाहरु पनि आबद्ध छन् । मैले इन्टरनेशनल मिटिङ पनि गराए । समिति पनि बनाएको छु । सचिवालय पनि बनेको छ । यो वर्षमा यो यो काम गर्नुहोस् भनेर भनेको छु । यसलाई कोही कोभिडले असर गरेको होला तर काम भइरहेको छ । यो ४ वर्षे कार्यकालमा ३ वटा भोल्युम निकाल्नैपर्छ भनेको छु । चाँडै केही भोल्युमहरू आउलान् ।

एआई प्रयोग गरेर बनाएको ह्युमोनाइड रोबर्टलाई तपाइँहरुले ठूलो उपलब्धीको रुपमा व्याख्या गर्नुभयो । रोबर्ट बिग्रिएको महिनौंदिन भयो । कहिलेबाट चल्छ ?

कोभिडको दौरानमा रोबोटिक्सलाई पनि अघि ल्याउनुपर्छ भनेर हामीले रोबर्ट बनाएका थियौं । ‘यान्त्रिका रोबर्ट’ले एक हदसम्म राम्रो रेस्पोन्स पाएको थियो । सुरुको अवस्थामा काम गरेको थियो । अहिले प्राविधिक समस्या भएर बिग्रिएको हो । टेक्निकल टिमलाई बनाउन भनेका छौं । यो रोबर्टलाई हामीले इनोभेसन ग्यालरीमा पनि राख्न खाजेका छौं । इनोभेसन ग्यालरीमा नास्टमा पहिलो पटक निर्माण भएका जति पनि सामानहरु छन् तिनलाई राख्नेछौं ।

पूर्वभीसीको कार्यकाल र तपाईँको कार्यकाललाई कसरी मूल्यांकन गर्नुहन्छ ?

मैले नास्टको वृद्धि विकासका लागि फ्रेमवर्क तयार गरेको थिएँ । त्यही अनुसार काम पनि भएका छन् । म आउँदा देखिएका समस्या समाधान हुने क्रममा छन् । कर्मचारी भर्ना र वृत्तिविकास पनि एउटा हो । विशिष्टिकृत अनुसन्धान केन्द्र स्थापना गर्ने योजना, साइन्स सिटीको अवधारणा पूरा भयो भने पक्कै राम्रो हुन्छ । ७ वटै प्रदेशमा प्रयोगशाला बने भने राम्रो हुन्छ । नास्टमा एकजना भीसी मात्रै नभएर सबैको प्रयास चाहिन्छ ।

विज्ञान प्रविधिमा ०.३५ प्रतिशत बजेट विनियोजन गरिएको छ भनिएको छ तर त्यो हो कि हैन भन्ने अझै बाँकी छ । विज्ञान प्रविधिमा विनियोजन हुने बजेटलाई पनि कोडिङ गरिरदिनुपर्‍यो । यसले गर्दा कति बजेट विनियोजन भयो भन्ने थाहा हुन्छ ।

अन्त्यमा, विज्ञान प्रविधि र नवप्रवर्तन मार्फत् समृद्धि हासिल गर्न सकिन्छ भन्ने कुरामा सबै सहमत हुनुहुन्छ । यो भनाइमा मात्रै सीमित नहोस् । सबैले अपनत्व लिएर काम गर्न सकिन्छ । अहिले हामीले साइन्स कम्युनिकेसनलाई पनि समेटेका छौं । विद्यार्थीहरुलाई हौसला दिन पुरस्कारको व्यवस्था मिलाएका छौं । नागरिकसँग काम गरेका छौं । नास्ट भनेको राष्ट्रको सम्पत्ति हो । हामी सबै मिलेर बनाउने हो । त्यो कुरामा सबैको सहयोग आवश्यक पर्छ ।

प्रकाशित : माघ ३, २०७८ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?