३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७
अन्तर्वार्ता

‘प्रतिस्पर्धाबिनै युवा पनि कसरी अघि आउने ?’ [भिडियो]

काठमाडौँ — कांग्रेसको १४ औं महाधिवेशमा नेतृत्व चयनका लागि सोमबार बिहान मतदान हुँदैछ । पार्टीको केन्द्रीय कार्यसमितिका विभिन्न पदमा सयौं आकांक्षीहरूबीच प्रतिस्पर्धा चलिरहेको छ । महाधिवेशनमा उम्मेदवारका समीकरण, नेतृत्व र एजेन्डाबारे महामन्त्रीका उम्मेदवार प्रदीप पौडेलसँग ऋषिराम पौडेलले गरेको कुराकानी :

‘प्रतिस्पर्धाबिनै युवा पनि कसरी अघि आउने ?’ [भिडियो]

महामन्त्री पदमा उम्मेदवारी दिनुभएको छ, तपाईंको एजेन्डा के हो ?

कांग्रेसका आन्तरिक समस्या छन् । पुस्तान्तरणको कुरा उठाएका छौं । आन्तरिक संगठनात्मक व्यवस्थालाई चुस्त र प्रभावकारी बनाउनुपर्नेछ । हाम्रो पार्टीमा पूर्ण एकता निर्माण गर्नुपर्नेछ । एकता नहुँदा निर्वाचनमा हार बेहोर्नुपरेको छ । कुनै पनि समस्यालाई विधिसम्मत ढंगबाट हल गर्ने स्थिति बनाउनु जरुरी छ । बाहिरी समाजमा राष्ट्रिय मुद्दालाई प्रस्ट्याउँदै अगाडि जानुपर्ने अवस्था छ ।

पार्टी नेतृत्वमा केन्द्रित छ, वैचारिक छलफल किन भएन ?

राजनीतिक दलमा विचारमा छलफल नहुने कुरा आउँदैन । पार्टीको दैनन्दिन जीवनमा हरेक मुद्दामा हरेक कार्यकर्ताले आ–आफ्ना दृष्टिकोण राखिरहेका हुन्छन् । त्यस्ता विषयलाई संगठित गरेर महाधिवेशनमा छलफल हुनुपर्थ्यो, त्यो हुन सकेन । अहिले ब्यानर र प्ले–कार्डको प्रतिस्पर्धा भयो । खासमा व्यक्ति कस्तो छ भन्ने आधारमा मत दिने कुरा स्वाभाविक हुन सक्दैन । व्यक्तिले प्रस्तुत गर्ने नीतिका आधारमा मत दिने हुनुपर्थ्यो । एक त नेपालको राजनीतिमा विचार स्खलित भएको छ । विचारमै बहस नहुनु स्वाभाविक हुन सक्दैन । हामीले यो प्रक्रिया बदल्नु जरुरी छ । त्यसमा कुनै एक दुई व्यक्तिको पहल पर्याप्त छैन, सिंगो पार्टी पंक्तिले साथ दिएमा हामीले हाम्रा अभ्यास बदल्नेछौं ।

अघिल्लो महाधिवेशनमा पार्टीमा तीन वटा गुट थिए, अहिले ४–५ वटा गुट प्रकट भएका छन् । त्यसले तपाईंलाई कहाँ लैजाला ?

समूह धेरै भए पार्टीमा अव्यवस्था हुन्छ, समस्या हुन्छ, एकता खलबलिन्छ भन्ने पनि होइन । यस्ता समूह निर्माण व्यक्तिमा सम्बन्धित हुँदैन, व्यक्तिले प्रस्तुत गरेको विचारसँग निर्भर हुनुपर्छ । त्यसैले समूह फरक–फरक भन्दैमा विचारमा फरक हुनुपर्छ भन्ने होइन । धेरै समूह र उम्मेदवार भए धेरै विचार आउन सक्छ । व्यक्ति पराजित भए पनि उसको विचार कार्यान्वयनमा जान सक्छ । व्यक्ति केन्द्रित गुट निर्माण हुनु भने गलत हो ।

तपाईं पार्टी सभापति शेरबहादुर देउवाको प्यानलमा हुनुहुन्छ, आफैं रूपान्तरण हुनुभएन नि ?

मुख्य कुरा हामी (युवा) मध्येबाट सभापतिमै दाबी गर्ने अवस्था रहेन । कसै न कसैसँग जोडिएर अघि बढ्नुपर्ने अवस्था आयो, यो वा त्यो समूहमा । मुख्य विषय हामीले आन्तरिक लोकतन्त्रलाई संगठित गर्ने, पार्टीलाई बलियो बनाउने र निर्वाचनमा विजयी बनाउने योजनालाई प्राथमिकतामा राखेका छौं । त्यसका लागि पार्टीभित्रको प्रतिस्पर्धालाई तिक्त बनाउने होइन, सौहार्द बनाउने र पार्टीमा बृहत्तर एकता निर्माण गर्ने हो । यो विषयमा तल्लो निकायमा अधिवेशनमा समग्रमा उन्नत अभ्यास भएको छ, हामीले त्यसैलाई अझ बलियो बनाउने हो ।

पाँच वर्षसम्म पार्टी विधानसम्मत चलेन भनेर विरोध गर्नुभयो, अहिले त्यही नेतृत्वलाई किन स्विकार्नुभयो ?

पार्टीभित्र उठ्ने प्रश्नहरू कहिल्यै पनि शत्रुतापूर्ण हुँदैनन्, त्यो प्रजातान्त्रिक संस्कारभित्रकै अनिवार्य अभ्यास हुन् । अहिले भइरहेको अधिवेशनमा जितहारपछि पनि हामी कुनै पनि प्रतिस्पर्धीसँग शत्रुतापूर्ण व्यवहार गर्दैनौं, कांग्रेसको त्यो संस्कार पनि होइन । महाधिवेशन भनेको समझदारीको मञ्च पनि हो, धेरै विषय समझादारीमै टुंग्याएका हौं । त्यसमा सभापति शेरबहादुर देउवाले उदारता देखाउनुभएकै हो । सबै कुरा एजेन्डागतभन्दा व्यक्तिगत हिसाबले ध्रुवीकरण हुने स्थिति बन्यो । हामी यो वा त्यो जुन समूहमा भए पनि यी विषय आउँछन् । त्यसलाई अन्यथा मान्नुहुन्न । हामी सबैको मुख्य उद्देश्य पार्टी र लोकतन्त्रलाई बलियो बनाउने हो ।

विद्यार्थी राजनीतिका सहयात्री विश्वप्रकाश शर्मा, गगन थापासँगै एउटै पदमा उम्मेदवारी दिनुभएको छ । यो संयोग मात्र हो कि योजनाबद्ध ?

युवाहरूले आपसमा प्रतिस्पर्धा नगरेको भए हुन्थ्यो भन्ने भावनलाई सम्मान गर्न सकिन्छ, तर प्रतिस्पर्धालाई अस्वाभाविक रूपमा लिनु हुँदैन । बृहद् राजनीतिक परिवर्तनको महत्त्वाकांक्षा बोकेर अघि बढेपछि प्रतिस्पर्धा अहिले नभए पनि कुनै बेला हुन्थ्यो नै । हामी युवा हौं, आपसमा प्रतिस्पर्धाबिना नै नेतृत्वमा जान्छौं भन्ने स्विकार्य हुन सक्दैन । काबिल ढंगले प्रतिस्पर्धा गरेर अघि जाने संस्कृतिलाई नै हामीले महत्त्व दिँदै आएका छौं ।

तपाईंको योजना के छ ?

मेरो आग्रह कांग्रेसले आफ्नो सम्पूर्ण शक्तिलाई संगठित गर्न नसकेको र पार्टीका मान्छेहरूबीच पनि बेमेल भएकाले सशक्त संगठन बनाउन सकेनौं । निर्वाचनमा पराजित भयौं । त्यसैले पहिले हामीले हाम्रो शक्ति पनि संगठित गर्नुपर्छ । महाधिवेशन सकिएपछि एकीकृत ढंगबाट एउटै लक्ष्यका सहयात्रीका रूपमा अघि बढ्नुपर्छ । लोकतान्त्रिक प्रक्रियामा प्रतिस्पर्धा गर्न आइसकेपछि त्यसको परिणामले लामो समयसम्म असर गर्नु हुँदैन । आफैंभित्र बहुदलीय प्रक्रिया प्रयोग गर्न हामी अभ्यस्त हुनुपर्छ । म एकता र समन्वय गर्न चाहन्छु । पार्टीलाई एकीकृत ढंगबाट अगाडि लैजाने अवस्था रहनुपर्छ ।

प्रकाशित : मंसिर २७, २०७८ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?