२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९
अन्तर्वार्ता

‘उमेरसँगै एजेन्डा महत्त्वपूर्ण हो’– शर्मा

काठमाडौँ — कांग्रेसको १४ औं महाधिवेशमा नेतृत्व चयनका लागि सोमबार बिहान मतदान हुँदैछ । पार्टीको केन्द्रीय कार्यसमितिका विभिन्न पदमा सयौं आकांक्षीहरूबीच प्रतिस्पर्धा चलिरहेको छ । महाधिवेशनमा उम्मेदवारका समीकरण, नेतृत्व र एजेन्डाबारे महामन्त्रीका उम्मेदवार विश्वप्रकाश शर्मासँग कलेन्द्र सेजुवालले गरेको कुराकानी :

‘उमेरसँगै एजेन्डा महत्त्वपूर्ण हो’– शर्मा

महामन्त्रीमा तपाईंको उम्मेदवारी किन ?

हाम्रो पार्टीलाई बदलिएको कांग्रेस र बलियो कांग्रेस बनाउनुपर्ने राष्ट्रिय अपेक्षा छ । देशले यो बेला कांग्रेस खोजेको छ । कांग्रेसले यो बेला नवीन आत्मविश्वास खोजेको छ । यो अवधिसम्म मैंले जेजति काम गरें, अनुभव लिएँ, त्यसको जगमा पार्टीलाई रूपान्तरित र आधुनिक बनाउने सन्दर्भमा मैले गर्न सक्ने कार्य भनेको महामन्त्रीको जिम्मेवारी हो । त्यस कारण म जागरुक भएर उभिएको हुँ ।

तपाईं आफ्नो पक्षमा परिणाम आउनेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?

एउटा अत्यन्त सुखद तथ्य छ । कांग्रेसको महामन्त्रीमा युवाले नेतृत्व गर्ने अवस्था बनेको छ । कांग्रेसलाई समग्रतामा युवामय बनाउनुपर्ने अवस्था छ । ६१ दशमलव ६३ प्रतिशत क्रियाशील सदस्य ५० वर्षमुनिका हुनुहुन्छ । ५० वर्षमुनिको महाधिवेशन प्रतिनिधिको संख्या ५० प्रतिशत छ । त्यो पुस्ताले आफ्नो नेतृत्व खोज्नु स्वाभाविक छ । उहाँहरूले खोज्ने नाम हुन सकेको छु । ५० वर्षभन्दा माथिका पाकाहरूले पनि मैदानमा हिँड्दै गर्दा ‘ल बाबु कांग्रेस राम्रो बनाएस्, गुट–उपगुट हामी जान्दैनौं तिमीलाई हाम्रो सहयोग छ’ भनेर शिरमा हात राखेर हार्दिकतापूर्वक आशीर्वाद दिनुभएको छ । त्यसकारण मेरो पक्षमा परिणाम आउनेमा विश्वस्त छु ।

तपाईंका प्रमुख एजेन्डा के–के हुन् ?

सांगठनिक, राजनीतिक र सामाजिक रूपान्तरणसँग सम्बन्धित थुप्रै एजेन्डा छन् । मैले महाधिवेशन हुनुअघि नै दुई वटा दस्ताबेज सार्वजनिक गरेको थिएँ । ‘हिजो राजनीतिक परिवर्तन अब राजनीतिमा परिवर्तन’ भनेर २४ वटा बुँदाको र त्यसपछि ‘दलमा रूपान्तरण, देश रूपान्तरणको अनिवार्य सर्त’ भनेर ४३ बुँदासहित सार्वजनिक गरेको छु । त्यसमा एकपटकभन्दा बढी राष्ट्रपति, दुई पटकभन्दा बढी प्रधानमन्त्री, तीन पटकभन्दा बढी मन्त्री र चार पटकभन्दा बढी सांसद हुन नपाउने, कसैलाई मन्त्री बनाउनुपर्ने अवस्था आए प्रधानमन्त्रीले बाहिरबाट पनि ल्याउन सक्ने व्यवस्था हुनुपर्‍यो भन्ने छ । अर्को कुरो, दलमा रूपान्तरण नभईकन देश रूपान्तरण हुन सक्दैन । राजनीतिक दलहरू आधुनिक बन्न पर्‍यो । दलहरूको आधुनिकीकरणको सुरुवात कांग्रेसबाट गर्नुपर्‍यो । सामाजिक रूपान्तरणका असर र मुद्दालाई बिर्सेर देश बन्दैन । त्यसकारण सामाजिक विसंगति अन्त्य दलहरूको साझा विषय बन्नुपर्छ । समृद्धिको सन्दर्भमा पनि बीपी कोइरालाले राखेको जस्तै सपनाका साथ जानुपर्छ । दुई वटा प्रकाशित र दुई वटा अप्रकाशित दस्ताबेजको जगमा म महामन्त्रीको उम्मेदवारमा छु ।

कांग्रेसमा किन विचारले जित्दैन ?

त्यसो पनि होइन । कांग्रेसमा जे स्थापित विचार हो, सबैले त्यसैलाई बोकेर आएका छन् । कुनै फरक प्रकारको विचारका बीचमा द्वन्द्व थिएन । हिजोको साझा विचार थियो– लोकतन्त्र स्थापना, गणतन्त्र स्थापना । अहिले हाम्रो पुस्तामा आइपुग्दा समाजले हिजोभन्दा फरक सोच्न थालेको छ । पार्टी रूपान्तरणको खाका प्रस्तुत नगर्ने हो भने हामी भोलि धेरै प्रश्नको घेरामा उभिनुपर्छ । म त्यो प्रश्नको घेराभन्दा अलि पर उभिएर उत्तरका साथ तयारी छु ।

महामन्त्रीमा युवा उम्मेदवार धेरै हुँदा युवापुस्ता छनोटमा अलमल पर्दैन ?

उमेर मात्रै होइन, एजेन्डाको कुरा पनि छ । एजेन्डाको कुरामा देशभरि एक खालको माहोल छ । महाधिवेशन प्रतिनिधिहरूलाई यी दुई युवा महामन्त्री भए भने कांग्रेसलाई सही ढंगले अगाडि बढाएर राम्रो काम गर्न सक्छन् भन्ने परिसकेको छ ।

पार्टी प्रवक्ता हुनुभयो, आफूलाई कसरी आत्ममूल्यांकन गर्नु हुन्छ ?

मैले प्रवक्ता हुनुका साथै प्रचार विभागमा रहेयता के—के काम गरें भन्ने कुरालाई क्रमशः हेर्दै गयो भने म एकदमै सन्तुष्ट भइहाल्छु भन्दिनँ । तर साथीहरूले भन्नुहुन्छ । म आएपछि पार्टीको वेबसाइट अत्याधुनिक भयो । पार्टीको देशभरिको रेकर्ड पद्धति भयो । आज पार्टीको वडा तहको नेतृत्वमा को छ भनेर सबै डाटा वेबसाइटमा हेर्न पाइन्छ । कांग्रेसका धारणा वेबसाइटमा देखिने, सुनिने र बुझिने गरी प्रचार विभागले राखेको छ । एउटा घरलाई व्यवस्थित गर्न कसको के दायित्व रहन्छ, त्यो दायित्व निर्वाह गर्ने सन्दर्भमा सबैको जिम्मेवारी हुन्छ । मेरो दायित्व पार्टीको प्रचारप्रसार व्यवस्थापन गर्ने थियो । त्यो काम मैले राम्रो गरेको छु । पार्टीको महामन्त्रीले गर्ने भनेको व्यवस्थापन, प्रचार, पार्टीको विचार निर्माण हो । तीन वटै खुट्टा भएको ओदान जस्तो भएर भूमिका निर्वाह गर्न म तयार छु ।

महाधिवेशनपछिको कांग्रेस कस्तो हुनुपर्छ ?

महाधिवेशनबाटै बलियो कांग्रेस र बदलिएको कांग्रेस भन्ने सन्देश दिने ढंगले युवाको बढोत्तरीलाई जोगाएर संस्थागत गरेर जानुपर्छ । यो आपसी चुनाव हो । महाधिवेशनपछि एकताबद्ध भएर चुनावमा कम्युनिस्टसँग लड्नु छ । त्यसपछि फेरि सबै एकढिक्का भएर देशको गरिबी र पछौटेपनसँग लड्नु छ भन्ने सन्देश दिनुपर्छ ।

प्रकाशित : मंसिर २७, २०७८ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?