‘लोकतन्त्रप्रति प्रतिबद्ध नेतृत्व आउँछ’– निधि- कुराकानी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
अन्तर्वार्ता

‘लोकतन्त्रप्रति प्रतिबद्ध नेतृत्व आउँछ’– निधि

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसको १४ औं महाधिवेशमा नेतृत्व चयनका लागि सोमबार बिहान मतदान हुँदैछ । पार्टीको केन्द्रीय कार्यसमितिका विभिन्न पदमा सयौं आकांक्षीहरूबीच प्रतिस्पर्धा चलिरहेको छ । शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिले प्यानलै बनाएर नेतृत्वका लागि प्रतिस्पर्धामा छन् ।
सभापतिमा युवा नेता कल्याण गुरुङले पनि उम्मेदवारी दिएका छन् ।


महाधिवेशनमा उम्मेदवारका समीकरण, नेतृत्व र एजेन्डाबारे सभापतिका उम्मेदवार विमलेन्द्र निधिसँग कलेन्द्र सेजुवालले गरेको कुराकानी :

सभापतिमा तपाईंको उम्मेदवारी किन ?

मैले कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिनुका पछाडि मुख्य तीन कारण छन् । पहिलो– हामीले संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली र नयाँ संविधान ल्याएका छौं । यसको सफल कार्यान्वयन अहिलेको आवश्यकता हो । यो कांग्रेस पार्टी मात्र नभई पूरै देश र सबै राजनीतिक दलको साझा एजेन्डा हो । यसका लागि कांग्रेसले जिम्मेवारीपूर्वक आफ्नो काम गर्नुपर्छ । कांग्रेसको सभापतिका हैसियतले त्यसलाई सबैभन्दा बढी प्राथमिकता दिनेछु । दोस्रो– एक वर्षभित्रै तीन तहका निर्वाचन हुँदै छन् । तीनवटै निर्वाचनमा कांग्रेसलाई जिताउनुपर्नेछ । कांग्रेसले नजित्दा संघीय प्रणाली, संविधान र राज्यका अंगहरू क्षत–विक्षत भएको हामीले देखिसकेका छौं । त्यसको सुधारका लागि र बिग्रेको कुरालाई लिकमा ल्याउन कांग्रेसले मात्र सक्छ ।

म सभापतिको हैसियतले यो भूमिकामा आफूलाई समर्पित गर्न चाहन्छु । र, तेस्रो– युवा पुस्ताको नेतृत्व दाबी अग्रताबिना राजनीतिक स्थिरता, विकास, आर्थिक समृद्धि सम्भव छैन । युवाको प्रभावकारी भूमिकाबिना देशको राजनीति गतिशील हुन सक्दैन । म सभापतिको हैसियतले युवा वर्गलाई अभियानको सहजकर्ता बन्न चाहन्छु ।

लामो समय शेरबहादुर देउवासँग रहनुभयो, अहिले उहाँसँगै प्रतिस्पर्धा गर्दा कस्तो अनुभव भएको छ ?

कुनै पनि चुनाव सहज हुँदैन । हिजोको सम्बन्ध जेजस्तो भए पनि अहिले पार्टीको निर्वाचनमा सहभागी भएर देश, पार्टी र लोकतन्त्रप्रति सकारात्मक भूमिका निर्वाह गरेको अनुभूति गरिरहेको छु । सबैभन्दा महत्त्वपूर्ण कुरा मतदाताको मन जित्नु हो । य यही कुरामा एकाग्र छु ।

यो महाधिवेशनबाट तपाईंको छुट्टै विचार समूह निर्माण हुन्छ ?

पूरै कांग्रेस एउटा विचार समूह हो । राष्ट्रियता, लोकतन्त्र, समाजवाद, संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, अहिंसा, शान्तिजस्ता सिद्धान्त कांग्रेसका विचार हुन् । कांग्रेस विचारमा प्रतिबद्ध पार्टी हो । म गुटभन्दा माथि उठेर विचारको प्रवर्द्धन गर्न चाहन्छु । विचारका आधारमा राजनीतिक शासन प्रणाली बलियो बनाउने हो, तब मात्र लोकतन्त्र बलियो हुन्छ ।

तपाईंको उम्मेदवारीमा पारिवारिक विरासतले कस्तो प्रभाव पारेको छ ?

मेरो पिताजी (महेन्द्रनारायण निधि) कांग्रेसको संस्थापकमध्ये एक महत्त्वपूर्ण नेता हुनुहुन्थ्यो । निधिको छोरो भएकाले मलाई सहज हुने भइहाल्यो । तर म आफैं पनि बच्चैदेखि जेलनेल भोगेको व्यक्ति हुँ । टीका लगाएर नेता भएको होइन ।

महाधिवेशनमा मधेस (प्रदेश २) को मत निर्णायक हुने अवस्था कत्तिको देख्नुहुन्छ ?

मेरो सन्दर्भमा मैले मधेसमात्र होइन, पूरै देशभरिको मत पाउँछु । हिमाल, पहाड, तराई, सातै प्रदेशका साथीको सद्भाव मैले पाएको छु । मैले नेविसंघको अध्यक्ष र पार्टीको महत्त्वपूर्ण पदमा काम गरेको हुनाले देशभरिका साथीसँग राम्रो सम्बन्ध छ । मलाई बीपी कोइरालाले कलिलैमा नेविसंघ अध्यक्षको जिम्मेवारी दिनुभएको थियो ।

तर तपाईंले महाधिवेशनमा प्यानल बनाउन सक्नुभएन नि ?

अलिकति समय पनि नमिलेको हो तर महत्त्वपूर्ण कुरा म गुटभन्दा माथि उठ्न खोजेको हुँ । मेरो टिममा धेरै साथी हुनुहुन्छ ।

कस्तो नतिजाको अपेक्षा गर्नुभएको छ ?

कांग्रेसले १४ औं महाधिवेशनबाट उत्साह, एकता र रूपान्तरणको मूल नारा तय गरेको छ । रूपान्तरण भनेको परिवर्तन हो । संगठनको स्वरूप, विचार र नेतृत्वमा परिवर्तन हुनु हो । त्यसैले यस महाधिवेशनले मूलभूत रूपमा नेतृत्व परिवर्तन गर्ने कुरामा मैले विश्वास लिएको छु । तर सभापति (शेरबहादुर) जीले सत्ता र पदको दुरुपयोग गरेर आफ्नो पक्षमा नतिजा लिन प्रयत्न गरिरहनुभएको छ । रामचन्द्रजी जस्तो नेताले महाधिवेशन प्रक्रियाबाट अलग हुने काम गर्नुभयो, यसमा सभापतिजीले विशेष भूमिका लिनुपर्थ्यो । त्यतातिर ध्यान जान सकेन । त्यसैले अबको महाधिवेशनले पार्टीप्रति जिम्मेवार, लोकतन्त्रप्रति प्रतिबद्ध नेतृत्व ल्याउँछ ।

प्रकाशित : मंसिर २७, २०७८ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्

माओवादी केन्द्र प्रदेश १ को नेतृत्वमा सहमति जुटाउने प्रयास

सुम्निमा चाम्लिङ

इटहरी — मोरङको सुन्दरहरैचा नगरपालिकास्थित विराटचोकमा सुरु भएको नेकपा माओवादी केन्द्र प्रदेश १ को अधिवेशन सहमतिको नजिक पुगेको छ । सहमतिमा नेतृत्व चयन गर्ने प्रयासमा जुट्दा बन्दसत्र समेत केहीबेर ढिला सुरु भएको थियो । 


आइतबार सवा पाँच बजेमात्र निर्वाचन समिति नामावली प्रकाशित गर्ने तयारीमा जुटेको थियो । प्रदेश १ को अध्यक्षमा इन्द्रबहादुर आङबो, सुरेशकुमार राई, हेमराज भण्डारी र धर्मशीला चापागाइर्‌ंबीच सहमति जुटाउने प्रयास जारी रहेको उक्त पार्टीले जनाएको छ ।

नेकपा माओवादी केन्द्रीय सदस्य गोपीबहादुर अछामीले प्रदेश नेतृत्व चयन सहमतिमा हुने दाबी गरे । महिला उपाध्यक्षमा प्रदेश कमिटी सदस्य लक्ष्मी न्यौपाने सरु, पूर्वसंविधानसभा सदस्य अनिता परियार, पूर्वराज्यमन्त्री धनमाया विक,प्रदेश सांसद सीता थेबे आंकाक्षी छन् ।

प्रदेश सम्मेलनबाट अध्यक्ष १, महिलासहित ३ उपाध्यक्ष, १ सचिव,३ सहसचिव र कोषाध्यक्षसहित ९ जना पदाधिकारीसहित २ सय ५९ सदस्यीय प्रदेश कमिटी चयन हुनेछ । अधिवेशनमा कुल १ हजार ५ सय प्रतिनिधि सहभागी छन् ।

माओवादी केन्द्रका धरान इन्चार्ज अईन्द्रविक्रम बेघाका अनुसार कुल निर्वाचित सदस्यमध्ये ३५ प्रतिशत महिला, ११ प्रतिशत दलित,४ प्रतिशत मुस्लिम र युवा २० प्रतिशत सदस्य चयन हुनेछन् । बाँकी ४० प्रतिशतका लागि खुल्ला प्रतिस्पर्धा हुनेछ ।

ताप्लेजुङ जिल्लाले १३, पाँचथर १३, इलाम १४, झापा २९, मोरङ ३८, सुनसरी २३, धनकुटा १०, तेह्रथुम ८, संखुवासभा १४, खोटाङ १५, भोजपुर १४, सोलुखुम्बु १६, ओखलढुंगा ११ र उदयपुरले १६ जना प्रदेश समिति सदस्य प्राप्त गर्नेछन् । यस्तै, विराटनगर महानगरपालिका ४ र कार्यालय कोटाअन्तर्गत २१ जना निर्वाचित हुने जनाइएको छ ।

झापा र सुनसरीको १२ पालिकाहरुमा अधिवेशन सम्पन्न हुन बाँकी छ । माओवादी केन्द्र विराटनगर महानगरपालिका कमिटीका उपाध्यक्ष ज्ञानु भट्टराईले प्रदेश कमिटिको बैठक बसेर भए पनि सहमतिको टुंगो लगाउन प्रयास गरिने बताए । ‘सकेसम्म पार्टीमा सर्वसम्मत गर्दा राम्रो हो, पराजित मानसिकता आउँदैन, गुट–उपगुट हुँदैन,यदि सर्वसम्मत भएन भने लोकतान्त्रिक पद्धसतबाट जान सकिन्छ,’ उनले भने ।

प्रकाशित : मंसिर २७, २०७८ ०७:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×