१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८
अन्तर्वार्ता

‘जनतालाई खुसी बनाउने संकल्पबाटै रूपान्तरण सम्भव’– खड्का

संकटमा परेको संविधान र संघीयतालाई सही लिकमा अघि बढाउन देउवा नेतृत्वको निरन्तरता आवश्यक छ

काठमाडौँ — नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट महामन्त्रीको जिम्मेवारी पाएका पूर्णबहादुर खड्का अहिले उपसभापतिको उम्मेदवार छन् । उनले शेरबहादुर देउवा प्यानलबाट उम्मेदवारी दिएका छन् । उनको उम्मेदवारी, अघि सारेका एजेन्डा र १४ औं महाधिवेशनपछिको कांग्रेस कस्तो हुने भन्ने विषयमा कान्तिपुरका कलेन्द्र सेजुवालसँग गरिएको कुराकानीको अंश :

‘जनतालाई खुसी बनाउने संकल्पबाटै रूपान्तरण सम्भव’– खड्का

१४ औं महाधिवेशनको धरातलबाट कांग्रेस र देशलाई कसरी हेर्नुहुन्छ ?

कांग्रेसको नेतृत्वमा जारी भएको संघीय लोकतान्त्रिक संविधानमार्फत मुलुक जसरी अघि बढिरहेको छ, यही सन्दर्भमा हामीले हाम्रो पार्टीलाई पनि हेर्नुपर्छ । मुलुकको संविधानले परिकल्पना गरेअनुसार सिंगो मुलुकको जनसंख्या, भूगोल, जातजाति, समुदाय र समावेशिताअनुसार वडादेखि केन्द्रीय तहसम्म विधानमै व्यवस्था गरेर प्रतिनिधित्व सुनिश्चित गरिएको छ । कतिपय ठाउँमा सहमतिमा र कतिपयमा प्रतिस्पर्धाबाट साथीहरू नेतृत्वमा पुग्नुभएको छ । १४ औं महाधिवेशनले देशलाई समुन्नत गर्नका लागि थप टेवा पुर्‍याउने विश्वास लिएको छु । पार्टीको विधान संशोधन मस्यौदा समितिको संयोजक भएको नाताले नयाँ विधानबाट बृहत् समावेशी र उत्साहपूर्ण नेतृत्वको लहर पैदा भएकोमा सन्तोष मिलेको छ । यो महाधिवेशनले यी उपलब्धिलाई थप संस्थागत गर्ने विश्वास लिएको छु ।

यतिबेला जनताले कांग्रेसलाई कसरी हेरेका छन् ?

जनताले कांग्रेसप्रति भरोसा गरेका छन् । त्यसैले कांग्रेसले प्रतिस्पर्धा, सहमति र एकतालाई सँगसँगै लगेको छ । यो महाधिवेशनबाट फर्केर जाँदै गर्दा पार्टीको सिंगो एकताको संकल्प बोकेर जानु छ । ६ महिनापछि हुने स्थानीय तह र त्यसपछि हुने प्रदेश तथा संघको चुनावमा कांग्रेसलाई बहुमत दिलाउनु छ । त्यतिमात्र होइन, केपी ओली नेतृत्वको सरकारको सर्वसत्तावादी निर्णय र दृष्टिकोणले संघीयतालाई हल्लाउने काम गर्‍यो । संवैधानिक संरचना भत्काउने काम गर्‍यो । अब कुनियतका कारण बिग्रेको प्रणालीलाई ‘लिक’ मा ल्याउने जिम्मेवारी कांग्रेसको काँधमा आइपुगेको छ । संविधानको संरक्षण र रक्षा गर्ने, संविधानले परिकल्पना गरेका जनताका हक, अधिकारको संरक्षण र सुरक्षा गर्ने जिम्मेवारी कांग्रेसले वहन गर्नुपर्नेछ । समग्रतामा भन्नुपर्दा जनताले महाधिवेशनबाट नयाँ र रूपान्तरित कांग्रेस कस्तो हुन्छ भनेर व्यग्रतापूर्वक हेरेका छन् ।

आन्तरिक लोकतन्त्रको नाममा भएका चुनावी प्रतिस्पर्धाले पार्टीलाई कस्तो असर पार्ला ?

२०७४ को निर्वाचनपछि कसैले कल्पना नगरेको अवस्थामा कांग्रेसले सरकारको नेतृत्व गरिरहेको छ । प्रदेशहरूमा पनि कांग्रेसका सरकार छन् । कतै नेतृत्वमा छ, कतै सत्ता साझेदार छ । हामीले सम्झनै पर्छ– अहिलेको परिस्थिति निर्माण कर्णाली प्रदेशबाट सुरु भएको हो । त्यहाँका कांग्रेसका सांसदले माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको पार्टीसँग मिलेर देशलाई नयाँ आयाममा अघि बढाएका हुन् । यसकै कारण अहिले देशभर कांग्रेसको नेतृत्व छ । अब कांग्रेसले देशको नेतृत्वमात्र नभई संविधान, संघीयता र लोकतान्त्रिक अधिकारको संरक्षण गर्नुपर्नेछ । जनतामा विश्वास, भरोसा र नयाँ आशाको वातावरण सिर्जना गरेर अघि बढ्नुपर्ने अवस्था आएको छ । महाधिवेशनमा भएको प्रतिस्पर्धा आन्तरिक लोकतन्त्रको उच्चतम नमुना हो । अब यहाँबाट एकताको, जनताप्रति समर्पणको र दृढताको नयाँ सन्देश बोकेर जानुपर्छ । प्रतिस्पर्धाहरूलाई महाधिवेशनस्थलमै छोडेर जानुपर्दछ । त्यसो भयो भनेमात्र कांग्रेसलाई देशको पहिलो पार्टी बनाउन सकिन्छ । बीपी कोइराला, सुवर्णशमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइरालाजस्ता युग पुरुषले देखाएको बाटोलाई आत्मसात् गरेर, राष्ट्रियता, लोकतन्त्र र समाजवादको संकल्पलाई पनि चरितार्थ गर्न सकियो भने महाधिवेशन साँच्चिकै देश र जनताको पक्षमा हुनेछ ।

कांग्रेसमा आमनिर्वाचनका बेला सधैं अन्तरघात हुन्छ, झन् महाधिवेशनको प्रतिस्पर्धालगत्तै निर्वाचन भए हालत के होला ?

वास्तवमा कांग्रेस अन्तरघातको पीडाले थला परेको रातारात होइन । यो २०५० सालदेखिको महारोग हो । त्यसैले गाउँगाउँमा बसेका कार्यकर्ताले आफूलाई दोषी ठान्न आवश्यक छैन । समस्या त केन्द्रबाट गाउँसम्म पुगेको हो । त्यसैले अब महाधिवेशनबाटै संकल्प गर्नुपर्छ, पार्टीभित्र जुन नेताको मान्छे भए पनि वा जुन गुटमा भए पनि निर्वाचनमा अन्तरघात गर्नेलाई बहिष्कृत गर्ने परम्परा थालिनुपर्छ ।

कांग्रेसप्रति जनताको गुनासो किन छ ?

लोकतन्त्रप्रति, राष्ट्रियताप्रति वा कांग्रेसको समाजवादको विचारप्रति जनताको कुनै गुनासो छैन । गुनासो छ भने हाम्रा निर्णय, जीवनशैली, बानी व्यवहार र बोलीचालीप्रति छ । यसले गर्दा कांग्रेस र जनताको सम्बन्धको ऐतिहासिक कडी टुटेको छ । जनताले यसको तीतो अनुभूति गरेका छन् । त्यसैले हामीमा बृहत् सुधारको आवश्यकता छ । त्यो सुधारको सुरुवात सबैभन्दा पहिले ‘म’ बाट हुनुपर्छ । मजस्तै प्रत्येक नेतामा रूपान्तरणको जरुरी छ । जनतालाई खुसी बनाउने संकल्पबाट मात्रै साँचो अर्थमा रूपान्तरण सम्भव हुन्छ । एकताको सन्देश बोकेर जनताको घरदैलोमा नवीन तबरले जानुपर्छ । तबमात्र कांग्रेसको सिद्धान्त, विचार र दृष्टिकोणको सही अर्थमा कार्यान्वयन हुनेछ ।

आफ्नो महामन्त्रीको पदावधिलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

म पछिल्लो समय करिब पौने ४ वर्ष महामन्त्रीको रूपमा रहें । यस अवधिमा पार्टीको केन्द्रीय कार्यालयलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुका साथै राष्ट्रिय जागरण र संगठन निर्माणको काम गरें । पार्टीले दिएको जिम्मेवारी र संविधानले परिकल्पना गरेको ढाँचामा नयाँ विधान, नियमावली तयार पार्न भूमिका खेलें । मेरो कार्यकाललाई आम नेता–कार्यकर्ताले कसरी हेर्नुहुन्छ, त्यो मेरा लागि महत्त्वपूर्ण पक्ष हो ।

मतदाताले शेरबहादुर देउवाको प्यानललाई किन मतदान गर्ने ?

देश संघीयतामा गइसकेपछि कांग्रेसले पनि विधानलाई समावेशी बनाएको छ । अहिले वडादेखि केन्द्रसम्मका संरचना सबै जाति, वर्ग र समुदायको साझा फूलबारी बनेको छ । नयाँ विधानअनुसार पार्टीलाई समृद्ध र सुदृढ बनाउने, नवीनता दिने जिम्मेवारी र अवसर उहाँलाई दिइनुपर्छ । त्यतिमात्र होइन, तत्कालीन नेकपाको झन्डै दुईतिहाइ बहुमतपछि बनेको केपी ओली नेतृत्वको सरकारलाई विस्थापित गरेर हाम्रा सभापतिको नेतृत्वमा सबै लोकतान्त्रिक शक्तिलाई विश्वासमा लिएर संयुक्त सरकार बनेको छ । यसको निरन्तरता र डरत्रासमुक्त शासन सञ्चालन अहिलेको आवश्यकता हो । ओली सरकारले जोखिममा पारेको संविधान, संघीयतालाई सही दिशामा अघि बढाउनका लागि पनि देउवाको नेतृत्वको निरन्तरता आवश्यक छ ।

अबको कांग्रेस कस्तो बनाउने ?

हामीले पार्टीलाई विधानमा नवीनता त दिएका छौं तर जनताको जीवनशैलीसँग कसरी जोड्ने भन्ने प्रमुख चुनौती हो । कांग्रेसका नेता–कार्यकर्ता सुविधाभोगी भए, जनताबाट टाढा भए भन्ने आमगुनासो बढेको छ । अब कांग्रेसलाई जनताको वास्तविक साथी कसरी बनाउने भन्नेबारे कार्ययोजना बनाउनुपर्छ । शासनमा बस्दा चाहे वडाको होस्, चाहे पालिका हुँदै केन्द्रको होस्, कम्तीमा शासनमा बस्दा जनताको मन दुख्ने काम गर्नु हुँदैन । सुधारका कार्यक्रम सञ्चालन गरिनुपर्छ । कांग्रेसले पार्टीभित्र मात्र नभई शासन सञ्चालनमा समेत ध्यान दिनुपर्ने आवश्यकता छ । अर्को कुरा पार्टी पुनर्निर्माणतर्फ पनि उत्तिकै ध्यान दिनुपर्नेछ । पार्टी वैचारिक तथा सैद्धान्तिक आधारमा अघि बढेको हुन्छ तर भएका विधि, विधान र नियममा बाँधेर कसरी पार्टी चलाउने भन्नेबारे पनि गम्भीर ढंगले सोच्नुपर्छ ।

कांग्रेसमा युवा सहभागिता बढेको छ, के सुझाव दिनुहुन्छ ?

यो निकै सुखद पक्ष हो । अब युवाले आफूलाई नयाँ ढंगले अघि बढाउनुपर्छ । कम्तीमा मेरो पुस्ताले गरेको गल्ती नदोहोर्‍याउने हो भने कांग्रेसले नयाँ गति लिन्छ । जनताले कांग्रेसबाट भरोसा र धेरै अपेक्षा गर्न सक्छन् । भोलिको कांग्रेस हाँक्ने पुस्ताले पुराना पुस्ताका कमजोरीलाई सुधार्दै नयाँ योजनाअनुसार अघि बढ्नुपर्छ । कांग्रेसलाई अन्य पार्टीका कार्यकर्ता आउने गरी आकर्षक बनाउने जिम्मेवारी युवाको काँधमा छ ।

प्रकाशित : मंसिर २७, २०७८ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?