२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८
अन्तर्वार्ता

‘गतिशील र ऊर्जाशील कांग्रेस बनाउने मेरो योजना’

काठमाडौँ — कांग्रेसका भावी नेतृत्व चयन गर्न सोमबार मतदान हुँदै छ । सत्ता र शक्तिको केन्द्रमा रहेका सभापति शेरबहादुर देउवालाई चुनौती दिन चार जनाले उम्मेदवारी दिएका छन् ।

‘गतिशील र ऊर्जाशील कांग्रेस बनाउने मेरो योजना’

संस्थापनइतर एउटा टिमको नेतृत्व गरिरहेका शेखर कोइराला आफ्नो उम्मेदवारी अनुहार परिवर्तनका लागि मात्र नभएर विचार, कार्यक्रम र युवा टिमलाई बलियो आधार मान्छन् । कोइरालासँग कांग्रेस महाधिवेशन र उम्मेदवारीका सन्दर्भमा कान्तिपुरका कुलचन्द्र न्यौपाने र ऋषिराम पौड्यालले गरेको कुराकानीको सम्पादित अंश :

पाँचपटक प्रधानमन्त्री, कांग्रेस (प्रजातान्त्रिक) सहित दुईपटक पार्टी सभापति भइसक्नुभएका शेरबहादुर देउवासँग प्रतिस्पर्धामा उत्रिनुभएको छ, तपाईंको जित्ने आधार के छ ?

उहाँ प्रजातन्त्रका लागि दुःख गर्नुभएको छ । तर मैले बितेको पाँच वर्ष देशभर भ्रमण गर्दा कांग्रेसका साथीहरूले पार्टी गलत दिशामा गएको भनेका छन् । पार्टी अत्यन्त लथालिंग हिसाबले चलेको छ । शेरबहादुरजीको प्रतिस्पर्धामा मलाई कुनै भारीको महसुस भएको छैन । उहाँले राम्रो काम गरेको भए, विधिअनुसार कांग्रेस चलाएको भए आज कांग्रेसको यो अवस्था हुन्थेन । शेरबहादुरजीले आफ्नै गृहजिल्ला डडेलधुरामा पुलिस लगाएर पार्टीको निर्वाचन गराउनुपर्ने अवस्था आयो । देशको प्रधानमन्त्री र पार्टीको सभापति भएको व्यक्तिले किन त्यस्तो गर्नुपर्‍यो ? उहाँले जे भने पनि साथीहरूको मानिहाल्थे । उहाँलाई आदर गर्छन्, सम्मान छन् ।

पार्टीको महाधिवेशनमा राज्य शक्तिको दुरुपयोग गरिएकाले निर्वाचन निष्पक्ष छैन भन्न खोज्नुभएको हो ?

यसमा कुनै शंका छ र ? मलाई त शंका छैन । देशभरिको कुरा गर्दै छु । प्रहरी प्रशासन र गृह प्रशासनले खेलेको भूमिका हेर्नुस् । मन्त्रीहरू गएर डीआईजी कार्यालयको गेस्टहाउसमा भेटघाट गर्न थालेपछि के सोच्ने ? यो कांग्रेसको संस्कार होइन । कांग्रेसको संस्कृति त गाउँमा साथीहरूसँग भेटेर कुरा गर्ने हो ।

केन्द्रको महाधिवेशनमा पनि त्यस्तो अवस्था देखिएको छ र ?

दुईचार दिनअघिको कुरा हो, उहाँ (देउवा) ले इन्टिलिजेन्टका मान्छे मेरै घरमा पठाउनुभयो । मैले ती व्यक्तिलाई सोधें । त्यसपछि आईजीलाई फोन गरें । मेरो घरमा इन्टिलिजेन्सका व्यक्ति किन पठाउनुपर्‍यो ? शेखर कोइरालाको ‘मोमेन्ट’ कहाँ छ भनेर पत्ता लगाउन खोजिएकै होला । प्रहरीसँग कांग्रेसका प्रतिनिधि कसकसले जितेको छ भनेर लिस्ट माग्नुहुन्छ । कांग्रेसभित्रको कुरा किन प्रहरीसँग माग्नुपर्‍यो ? त्यसले पार्टी कता जाँदै छ भन्ने देखाउँछ । यो अत्यन्तै गम्भीर कुरा हो । अति भइसकेपछि मैले यो कुरा आज खोल्नुपर्‍यो । निर्वाचन समितिबाट पनि गलत निर्णय भइरहेका छन् । निर्वाचन समितिका मान्छे हाम्रा न्यायाधीश हुन् । उहाँहरूले सबै निर्णय सभापतिको पक्षमा गर्दै हुनुहुन्छ । तर पनि हामी प्रतिस्पर्धा गर्दै छौं, त्यो सबैभन्दा ठूलो कुरा हो ।

विधि–विधान मिचेको र पार्टी लथालिंग भएको भन्नुभयो, तपाईं सभापति चुनिनुभयो भने कसरी पार्टी चलाउने योजना छ ?

पार्टीको विधान छ । त्यसैमा टेकेर हिँड्ने हो । मलाई विधानका धेरै कुरा चित्त बुझेको छैन । बौद्धिक सर्कल र कांग्रेसका नेताहरू बसेर एउटा सानो टिमले विधान परिमार्जन गरोस् । विधान हुबहु पालना गर्नुपर्छ ।

प्रतिस्पर्धाबाट रामचन्द्र पौडेल बाहिरिएपछि तपाईंले दोस्रो पुस्ताको प्रतिनिधित्व गर्नुभएको छ । तर उमेरमा ६/७ वर्षको मात्रै फरक छ । देउवाभन्दा आफूलाई कसरी फरक ठान्नुहुन्छ ?

लोकतन्त्रका लागि उहाँले खेलेको भूमिकाको कदर गर्नैपर्छ । तर उहाँ गुटको राजनीति गर्दै हुनुहुन्छ । गिरोहको राजनीति गर्दै हुनुहुन्छ । त्यो अन्त्य गर्नुपर्छ । गिरोहले कांग्रेसलाई समाप्त गर्न लागेको छ । अहिलेकै अधिवेशनमा जसरी पैसाको चलखेल भएको छ, जसरी खर्च गरिरहनुभएको छ, त्यो कल्पना गर्न नसकिनेछ । तपाईंहरू विश्वास नै गर्न सक्नुहुन्न । त्यसरी पार्टी चल्छ ? पार्टीको आमकार्यकर्ता निमुखा छन् । लडाइँ लडेर आएका छन् । पार्टी बचाउन आएका हुन् । काठमाडौंमा बसेका दुई/चार जना ठूला घरानाले पार्टी चलाउने होइन । तर त्यो भइरहेको छ । विकृति विसंगति कांग्रेसमा छिरिसकेको छ । त्यो कल्पना बीपी कोइरालाले गर्नुभएको थियो र ? गणेशमान र किसुनजीले गर्नुभएको थिएन । गिरिजाबाबुले गर्नुभएको थिएन । सुशीलदाको त कुरै छाडौं ।

इमानदार कार्यकर्ता पाखा पर्ने, धनवाद र डनवाद भित्रिने गरेको भनेर पार्टीभित्रै धेरै आवाज उठ्ने गर्छ । तपाईं सभापति हुनुभयो भने यसलाई अन्त्य गर्ने सामर्थ्य राख्नुहुन्छ ?

त्यसको अन्त्य गर्नैपर्छ । नत्र कांग्रेस चल्न सक्दैन । यस्तो विकृतिले कांग्रेसलाई पछाडि धकेल्दै छ ।

शासकीय अनुभव त तपाईंसँग भएन । पार्टीमा पनि लामो अनुभव नभएको भनेर भन्ने गरिन्छ । तपाईं आफैं सभापति हुनुभयो भने यो पार्टीलाई कसरी चलाउँछु भन्ने लागेको छ ?

अनभव भएका व्यक्तिहरूले मुलुक बिगारेका छन् । विगतमा जेजस्ता संसदीय विकृति भए, त्यो अनुभव भएकै व्यक्तिबाट भएका हुन् । पजेरो काण्ड मैले गरेको होइन । अनुभव भएकै व्यक्तिबाट भएको हो । अहिले देशमा भ्रष्टाचार र विकृति बढेको ग्राफ आइरहेको छ, त्यो सबै अनुभव भएका व्यक्तिहरूबाट भएका हुन् । मैले एउटा संस्था (धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छँदा) लाई विकास गर्न मौका पाएको थिएँ । अहिले किन बिग्रियो र म हुँदा कस्तो थियो भन्ने कुरा तपाईंहरूले हेर्नुहोस् ।

दोस्रो कुरा म केन्द्रीय सदस्य नै हो । मलाई जुनियर हो भन्ने चार्ज पनि लाग्यो । हो, म कहिल्यै सिनियर हो कहिल्यै भन्दिनँ । कोही सिनियर मेरै घर आउनुभयो भने पनि म कुर्सीबाट उठ्दिन्छु । सम्मानसाथ बस्नुहोस् भनेर राख्छु । अनुभव र सिनियर भन्नेले मात्रै हुन्न । राजनीतिक संस्कार पनि चाहिन्छ । राजनीतिमा नैतिकतामा आधारित संस्कार हुनुपर्छ । नैतिकता गुमाउन थाल्यो भने त्यहाँ राजनीति रहन्न । नैतिकता र संस्कार गुमेको पार्टी पार्टी हुन सक्दैन । अहिलेको नेतृत्वले नैतिकता गुमाइसक्नुभएको छ ।

शेरबहादुर देउवासँग देश चलाएको लामो अनुभव र सबैलाई मिलाउन सक्ने क्षमता छ भनेजस्तै तपाईंको पछाडिको बल के हो ?

विचार, टिम र कार्यक्रम नै मेरो पछाडिको बल हो । नयाँ सोच र नयाँ ऊर्जाका साथ पार्टीलाई अघि बढाउन युवालाई अघि लगाउनुपर्छ । युवाको टिमलाई सँगै लैजान सकिएन भने हामी अघि बढ्न सक्दैनौं । युवालाई अघि नबढाई गतिशील कांग्रेस बन्दैन । अनुभव भएका साथीहरू पनि केन्द्रीय सदस्यमा आउनुहुन्छ । रामचन्द्रजी हुनुहुन्छ । अहिलका सभापति हुनुहुन्छ । उहाँहरू सबैलाई साथ लिएर जान्छु । उहाँलाई बेवास्ता गरेर हिँड्न खोजेको छैन । कांग्रेस अब एउटा व्यक्तिको सोचले चल्दैन । सामूहिक सोच र चिन्तनलाई अघि बढाउन खोजेको छु । रामचन्द्रजीप्रति हाम्रो त्यत्तिकै सम्मान हुन्छ । उहाँ सम्मानित व्यक्ति हो । शेरबहादुरजीको पनि उत्तिकै अनुभव छ । अनुभवका राम्रा पक्षलाई हामी लिन्छौं ।

तपाईंको पछाडि रहेका युवाले विचार र सपनासँग तपाईंको गति कत्तिको मेल खान्छजस्तो लाग्छ ?

मैले नेतृत्व गरेको टिममा उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी हुनुहुन्छ । उहाँहरू भ्रष्टाचारविरुद्धको मिसनमा हिँड्नुभएको छ । जवाफदेहिता, पारदर्शिता, उत्तरदायित्वलाई साथ लिएर हिँड्ने हाम्रो प्रण छ । महामन्त्रीमा गगनजी, मीनेन्द्रजी, दिलेन्द्रजी हुनुहुन्छ । पदाधिकारीमा सबै युवा हुनुहुन्छ । कोही दुई, कोही तीनचोटि केन्द्रीय सदस्य बनिसकेको हुनुहुन्छ । हाम्रो भावना र गति मिलेकै कारणले त यो टिम बनेको हो ।

सभापति हुँदा यस्तो कांग्रेस बनाउने भन्ने तपाईंको आफ्नै योजना के छ ?

गतिशील र ऊर्जाशील कांग्रेस बनाउने नै मेरो योजना हो । नयाँ विचार र कार्यक्रमको सोच लिएर अघि बढेका छौं । त्यसलाई मूर्तरूप दिन खोजेका छौं । मैले सातवटा संकल्प पनि अघि सारेको छु । संविधानको कार्यान्वयन मेरो पहिलो प्र्राथमिकता छ । अहिले संघीय गणतन्त्रमाथि नै धावा बोलिँदै छ । धरापमा पार्न खोजिएको छ । संविधानको बलियो कार्यान्वयनले मात्रै यो परिवर्तनलाई स्थायित्व दिन सकिन्छ । अहिलेको नेतृत्वमा वैचारिक स्पष्टता छैन । राष्ट्रियताका बारेमा प्रस्ट दृष्टिकोण छैन । समाजवाद भनिएको छ, तर ‘भेग’ छ । नेपाललाई सुहाउँदो के ठीक हुन्छ, त्यसैलाई हामीले लिएर अघि बढ्नुपर्छ । जस्तो– शिक्षा र स्वास्थ्यमा हाम्रो प्राथमिकता हुनुपर्छ । पार्टी संगठनलाई ऊर्जाशील बनाउन भ्रातृ संस्था र शुभेच्छुक संस्थालाई क्रियाशील बनाउनुपर्छ । भ्रातृ संस्थाहरू क्रियाशील नभई पार्टीको संगठन अघि बढ्न सक्दैन । कुनै पनि भ्रातृ संस्थाको अधिवेशन वर्तमान नेतृत्वले गर्न सकेन । गुटको मानिस भेला हुने, भागबन्डा गर्ने र त्यसैका आधारमा चलाउने गरियो । भागबन्डा र गुटको अन्त्य गर्ने मेरो संकल्प छ । अनुभव र ऊर्जाको संम्मिश्रण नै मेरो शक्ति हो । त्यसलाई साथ लिएर अघि बढ्छु ।

तपाईंले ‘एकपटक, यसैपटक’ भन्ने नारा बनाउनुभएको छ । किन ?

मैले अहिले मात्रै होइन, सुशील कोइराला सभापति छँदा पनि भनेको विषय हो । सुशीलदाले, दोस्रोपटक पनि सभापति उठ्ने निधो गरिसक्नु भएको थियो । तर, म त्यसविरुद्ध थिएँ । मैले दोस्रोपटक रामचन्द्रजीलाई साथ दिएर हिँडेको थिएँ । सुशीलदा मसँग रिसाउनुभयो । मैले कान्तिपुर हेडलाइनरमा अन्तर्वार्ता दिँदै केन्द्रीय सभापति एक पटक मात्रै उठ्नुपर्छ भनेर सार्वजनिक रूपमै भनिदिएँ । एकपटक मात्रै सभापति हुने अवस्था बनेन भने गुटबन्दी सुरु हुन्छ भनेको थिएँ । त्यस बेलादेखि आजको दिनसम्म पनि म आफ्नो बोलीमा अडिग छु । म जे बोल्छु, त्यसलाई पालना गरेरै छाड्छु । त्यसैले मैले ‘एकपटक, यसैपटक’ भन्ने नारा ल्याएको हो । यो मेरो अन्तरआत्माले बोलेको हो, हचुवाको भरमा होइन ।

सभापति भएपछि प्रधानमन्त्री नबन्ने भन्नुभएको छ । यो पनि लागू हुन सक्ला त ?

अहिले पनि भन्दै छु, म लागू गर्छु । विश्वास दिलाउन चाहन्छु । त्यसमा ढुक्क हुनुहोस् । यसमा कुनै द्विविधा राख्नुपर्ने अवस्था छैन । कांग्रेसमा पार्टी संगठित भयो, राम्रो हुँदै गयो भने पछि पार्टी सभापति नभए पनि प्रधानमन्त्री बन्न सकिन्छ । पार्टीको संगठन नै राम्रो भएन भने प्रधानमन्त्री बन्न धेरै कुरा मिल्नुपर्छ । गुटबन्दी हुन्छ ।

तपाईंको आफ्नै समूह एक ठाउँमा उभिन सकेको छैन । कोइराला परिवार पनि विभाजित बन्न पुगेको छ । यस्तो अवस्थामा तपाईंले आफूलाई कसरी बलियो उम्मेदवार मान्नुहुन्छ ?

बलियो त कार्यकर्ताले बनाउने हो । कार्यकर्ताको उत्साह र उमंग नेतृत्व परिवर्तनप्रति छ । हो, हाम्रो समूहमा समस्या नउठेको होइन । समस्या आउँदैन भन्ने पनि होइन । सुरुमा त रामचन्द्रजीलाई अभिभावक भएर बसिदिनुहोस् भनेर मैले नै भनेको हो । उम्मेदवार मनोनयनको नजिक आउँदा मैले उहाँलाई सहमतिको उम्मेदवार हुनुभयो भने मलाई आपत्ति छैन, म छाडिदिन्छु भनेको हो । अन्तिम पटक पनि रामचन्द्रजीले अहिले म बसिरहेकै कुर्सीमा बसेर मेरो नाममा सहमति गरौं भनेर भन्नुभयो । मैले मानेकै हो । प्रकाशमानजीले स्वीकार गर्नुभएन । प्रकाशमानजीले नमानेपछि रामचन्द्रजीलाई उठ्न राम्रो हुन्न भन्ने मेरो सुझाव थियो । रामचन्द्रजी हाम्रो सम्मानित नेता हो । देशको परिस्थिति एकदमै नाजुक छ । अहिलेको सरकारले पनि काम गर्न सकेको छैन । न्यायपालिका त्यस्तै हालतमा छ । संविधान धरापमा पर्छ कि भन्ने चिन्ता छ । कोही न कोही एउटा व्यक्ति बाहिर हुँदा राम्रो हुन्छ । जस्तो गणेशमानजीले बाहिर बसेर लड्नुभएको थियो । त्यस्तै रामचन्द्रजीले पनि बाहिर बसेर देश र पार्टीभित्रका विकृति, विसंगति लड्नुभयो भने राम्रो हुन्छ भनेर मैले भनेको हो । प्रकाशमानजीले नछाडेपछि त्यसो भए म उठ्दिन भन्नुभयो । यसलाई उहाँले अन्यथा लिनुभएको छ भने म क्षमा माग्छु । उहाँ यति सम्मानित व्यक्तित्व हुनुहुन्छ कि, मलाई कुरा गर्न पनि अहिले अप्ठ्यारो भइरहेको छ ।

तपाईंकै समूहबाट सभापतिमा प्रकाशमान सिंहको पनि उम्मेदवारी छ । त्यसलाई कसरी लिनुभएको छ ?

म पहिलो चरणमै सफल हुन्छु भन्ने विश्वासमा छु ।

त्यसका आधार के छन् ?

कार्यकर्ताको बडी ल्याङ्वेजले मेरो आत्मविश्वास बढाएको छ । मनोनयनमै उपस्थित मेचीमहाकालीका साथीहरूको मप्रति जुन विश्वास देखें, त्यही नै मेरो मुख्य आधार हो ।

शेरबहादुर देउवाले आफूले जित्न नसके गठबन्धनको सरकार जान्छ, फेरि ओलीको शासन सुरु हुन्छ भन्नुभएको छ नि ?

देशका प्रधानमन्त्री र पार्टीका सभापति यति निरीह हुनुहुन्छ भन्ने मैले कल्पना नै गरेको थिइनँ । उहाँ हावादारी र गलत कुरा भनिरहनुभएको छ । झूटको खेती गर्दै हुनुहुन्छ । उहाँको नेतृत्व जाँदै छ । हाम्रो टिमले जितेपछि यो सरकार, यो गठबन्धन अझै सुदृढ हुन्छ । गठबन्धनलाई आगामी चुनावसम्मै लैजान्छौं । यहाँ गठबन्धन रहने–नरहने कुरा शेरबहादुरजीले किन गरिरहनुभएको हो ? कांग्रेसको महाधिवेशनमा प्रचण्ड र माधव नेपालले भोट दिने हो र ?

प्रकाशित : मंसिर २७, २०७८ ०७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?