१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

'सरकारले मुठभेडको वातावरण नबनाओस्'

काठमाडौँ — तत्कालीन नेकपा (माओवादी) को सशस्त्र युद्ध अन्त्य गर्ने गरी भएको विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष पूरा भएको छ । शान्ति सम्झौता पश्चात् देशको राजनीति पूरै बदलियो । माओवादीबाट छुट्टिएर नेत्रविक्रम चन्दले छुट्टै पार्टी गठन गरे ।

'सरकारले मुठभेडको वातावरण नबनाओस्'

दुई वर्षसम्म उनको पार्टी भूमिगत भएर खुला राजनीतिमा फर्किएको छ । दुई वर्ष भूमिगत हुँदा बनाइएको सैन्य फाँटका इन्जार्ज केन्द्रीय सदस्य उदयबहादुर चलाउनेले मुद्दा फिर्ता र बन्दी रिहाइमा सरकारले अलमल गरे मुठभेडको स्थिती निम्तिन सक्ने बताएका छन् । कान्तिपुरका मातृका दाहालले चलाउनेसँग गरेको कुराकानीः

सरकार–नेकपा तीनबुँदे सहमतिमा तपाईंहरूमाथिका मुद्दा फिर्ता गर्ने र बन्दी रिहाइ गर्ने भनिएको थियो, तर प्रक्रिया किन पूरा हुन सकेन ?

यो त सरकारको गैरजिम्मेवारी र उत्तरदायित्व अभावको कारण हो ।

सरकार सहमतिबाट पन्छियो भन्ने निष्कर्ष हो तपाईंहरूको ?

अवश्य, सरकारले प्रतिबद्धता अनुसार काम गरेको छैन ।

तपाईंहरूलाई सरकारले अझै शंका गरिरहेको देखिन्छ नि ?

त्यो पनि भन्न मिल्ला । तर, हामीले भन्दा सरकारमा सहमति पालनामा इमानको अभाव देखियो ।

तपाईंहरूले हतियार नबुझाएका कारण सहमति कार्यान्वयनमा जटिलता आएको भनिन्छ नि ?

हतियारको प्रसंग बहाना मात्र हो । हामीले अग्रगमनको कुरा गर्‍यौं । सरकार अग्रगमनका कुरा सुन्न पनि चाहँदैन ।

सुरक्षा निकायबाट द्वन्द्वकालमा लुटिएका थुप्रै हतियार फिर्ता भएनन्, ती कहाँ छन् अहिले ?

सेना समायोजन नभएको भए हतियारबारे प्रश्न उठाउन सकिन्थ्यो, तर समायोजन भइसकेपछि अब यो विषय उठाउनुको कुनै औचित्य छैन । अर्को कुरा हरेक युद्धमा प्रयोग भएका सबै हतियार नभेटिन सक्छन् । फेरि, यो हामीसँग सरोकारका विषय पनि होइन ।

लुटिएका हतियार तपाईंहरूसँग पनि छन् भन्ने छ नि ?

यस विषयमा प्रचण्डले खोलाले बगायो पनि भन्नुभयो । खोलाले बगायो कि, हावाले उडायो वा कसैले थन्क्याएर/थुपारेर राखे, त्यसमा हाम्रो कुरै सरोकार छैन । जसले सेना समायोजन गरे, उनीहरूसँगै सोध्नुपर्छ ।

नेकपा हतियारविहीन दल हो त ?

सामान्य रूपमा भन्नुपर्दा त्यही हो ।

करिब दुई वर्ष तपाईंहरूमाथि प्रतिबन्ध लगाउँदा नेता–कार्यकर्ताबाट प्रहरीले करिब एक सय थान हतियार बरामद गरेको थियो, ती कहाँबाट आए त ?

ती हतियारसँग हाम्रो कुनै सम्बन्ध छैन ।

सरकारले सर्त राखेर सहमति कार्यान्वयन भएन भने के गर्नुहुन्छ ?

त्यस्तो भयो भने त झडपको स्थिति आउन सक्छ । संघर्षमा जानुको विकल्प हुँदैन । त्यसबाट उत्पन्न परिस्थितिको जिम्मा सरकारले लिनुपर्छ । अझै पनि हाम्रो आग्रह छ कि सरकारले मुठभेडको वातावरण नबनाओस् ।

तपाईंहरूले शान्तिपूर्ण राजनीतिको कुरा गर्नुभएको छ, तर पार्टीभित्र सैन्य संरचना पनि बनाउनुभएको छ, यो स्वाभाविक हो र ?

परिआउँदा, आवश्यकता पर्दा भोलि युद्धकै स्थितिमा जानुपर्ने भयो भने छुट्टै कुरा भयो । तर अहिले हाम्रो कुनै सैन्य संरचना छैन ।

सम्बन्धित समाचार :

प्रकाशित : मंसिर ५, २०७८ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?