अन्तर्वार्ता

अब शेरबहादुर र रामचन्द्र दुवैबाट पार्टी चल्दैन : सिंह

– आगामी महाधिवेशनले पार्टी नेतृत्वको सही मूल्यांकन गर्छ
– सभापति प्रतिनिधिले चुन्ने हो, भारतले होइन
– प्रधानन्यायाधीशमाथिका आरोपबारे संसद् बोलाएर छलफल गर्नुपर्छ
कुलचन्द न्यौपाने

काठमाडौँ — कांग्रेसको आसन्न महाधिवेशनबाट पार्टीको नेतृत्व लिन पहिलो पुस्ताका शेरबहादुर देउवा र रामचन्द्र पौडेलका साथै दोस्रो पुस्ताका आधा दर्जनभन्दा बढी नेता आकांक्षी देखिएका छन् । आसन्न महाधिवेशनबाट कांग्रेस नेतृत्व पहिलो पुस्तामै रहला कि दोस्रो पुस्तामा सर्ला भन्नेमा धेरैको चासो छ । कांग्रेस महाधिवेशन र भावी नेतृत्वबारे संस्थापन पक्षबाट सभापतिका प्रत्याशी प्रकाशमान सिंहसँग कान्तिपुरका कुलचन्द्र न्यौपानेले गरेको अन्तर्वार्ताको सम्पादित अंश :

अब शेरबहादुर र रामचन्द्र दुवैबाट पार्टी चल्दैन : सिंह

पार्टी महाधिवेशनको संघारमा सुटुक्क भारत पुगेर आउनुभयो । कस्तो संकेत पाउनुभयो त ?

बर्दियामा गणेशमान सिंहको पूर्णकदको शालिक अनावरण कार्यक्रममा जाँदा त्यतैबाट भारत गएको हो । तपाईंहरूलाई अचम्म लाग्ला, पार्टीको १२ औं महाधिवेशनमा सुशील कोइराला पार्टी सभापति, म महामन्त्री भएपछि पहिलोपल्ट सभापतिजीसँगै भारत गएको थिएँ । त्यसपछि बल्ल गएको हुँ ।

भारतमा कसलाई भेट्नुभयो त ?

भारतमा थुप्रै नेपाली साथीभाइ छन् । उनीहरूले भारतमा पनि गणेशमान फाउन्डेसनबाट केही गर्न पाए हुन्थ्यो भनिरहेका थिए । तर समय मिलेको थिएन । बर्दिया जाने समय निकालेर दिल्ली गएको हो ।

भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग भेट गरेको चर्चा छ त ?

होइन । पत्रपत्रिकाले कुन सूचनाका आधारमा लेखे मलाई थाहा भएन ।

पार्टीको सभापति उठ्न खोजिरहेकै बेला भारतसँगको ‘कनेक्सन’ मिलाउन जानुभएको भन्ने छ नि ?

होइन । विशुद्ध प्राइभेट भिजिट हो ।

कांग्रेसको महाधिवेशनमा कसलाई सभापति बनाउने भन्नेमा भारतको भूमिका पनि अर्थपूर्ण हुन्छ भनेर सबै नेताहरू भन्नुहुन्छ त ?

भन्नेहरूले के–के भन्छन्, त्यो महत्त्वपूर्ण कुरा होइन । मुख्य कुरा पार्टी सभापति महाधिवेशन प्रतिनिधिले छान्ने हो । कार्यकर्ताले क्षमता, समयको माग र पार्टी हाँक्न सक्ने अनुहार हेरेर मूल्यांकन गर्छन् र मत दिन्छन् । पार्टीमा कसले के गर्‍यो, प्रजातन्त्र संकटमा परेका बेला कुन नेताले कस्तो भूमिका खेल्यो भन्ने कार्यकर्ताले मूल्यांकन गर्ने हो । भारतले सभापति बनाउने होइन ।

भारतको भूमिका नै हुन्न भनेर पूर्णरूपमा नकार्न सक्नुहुन्छ ?

प्रत्यक्ष प्रभाव पर्दैन । भारत छिमेकी हो । प्रजातान्त्रिक आन्दोलनमा लामो संघर्ष गरेको पार्टीको महाधिवेशनप्रति सद्भाव होला, त्यो अलग्गै पाटो हो । तर, पार्टी दर्ता गर्दा नै कार्यकर्ताको नाम, नागरिकता, सदस्यताको संख्या आवश्यक हुन्छ भने भारतको प्रभाव पर्ने कुरा कसरी हुन्छ ?

महाधिवेशनकै मुखमा नेताहरू किन भारत धाइरहेका छन् त ?

त्यसरी धाइरहने नेताहरूलाई सोध्नुहोला । मेरो हकमा ९/१० वर्षपछि मात्रै भारत गएको हुँ । गणेशमान फाउन्डेसनबाट अझै राम्रा काम गर्न सकिन्छ कि भनेर साथीहरूसँग छलफल गर्न गएको हुँ । ‘गभर्मेन्ट–टु–गभर्मेन्ट’ र ‘पार्टी–टु–पार्टी’ सम्बन्ध हुन्छन् । हामी पार्टीबाट केही दिनअघि पार्टीसँगको सम्बन्धका लागि एउटा टोली भारत गएको थियो । त्यस्तै व्यक्तिगत तहमा पनि सम्बन्ध हुन सक्छन् । तर म विशुद्ध नेपाली साथीभाइ भेट्ने प्रयोजनका लागि मात्रै गएको हो ।

महाधिवेशन आउन तीन साताभन्दा कम छ, अब तपाईंहरूको समूहबाट सभापतिको उम्मेदवार हुने नेता को हो त ?

१३ औं महाधिवेशनबाट निर्वाचित नेतृत्वले पार्टी विधान र विधिसम्मत रूपमा पार्टी चलाउन सकेन । अवसर पाएर पनि अवसर सदुपयोग गर्न नसक्नेलाई नेतृत्वलाई अब १४ औं महधिवेशनम निरन्तरता दिन हुन्न भन्ने भावना आम कार्यकर्तामा छ । वर्तमान नेतृत्वले समयको माग, विधान र विधिसम्मत ढंगले पार्टी चलाउन सकेन । चार वर्षभित्र गर्नुपर्ने पार्टीकै महाधिवेशन गर्न नसकेर संवैधानिक संकटतिर पार्टीलाई पुर्‍याइयो । ०७४ को निर्वाचनमा पार्टीले नराम्रो हार व्यहोर्नुपर्‍यो । त्यसैले यस पटक नेतृत्व परिवर्तनको मुद्दा हामीले उठाएका छांै । मेरो विचारमा उम्मेदवार दिने केही दिनअघिसम्म कसले प्रतिस्पर्धा गर्ने भन्ने तय होला ।

०७४ को निर्वाचनमा कांग्रेस पराजित हुनुमा नेतृत्वको कमजोरी हो कि वाम गठबन्धनको कारण हो ?

१ सय ६५ निर्वाचन क्षेत्रमा कांग्रेसले २३ सिट मात्र जित्यो । पहिलो संविधानसभाको कार्यकालमा चार जना कम्युनिस्ट नेता प्रधानमन्त्री भए । तर, संविधान जारी हुन सकेन । दोस्रो संविधानसभा चुनावपछि बनेको सुशील कोइराला नेतृत्वको सरकारले संविधान जारी गर्‍यो । कांग्रेसका लागि राजनीतिक उपलब्धिको योभन्दा ठूलो मुद्दा अरू हुन सक्थेन । संविधानलाई कार्यान्वयनमा लैजान पनि कांग्रेसले म्यान्डेट पाउनुपथ्र्यो । तर, कम्युनिस्टलाई झन्डै दुई तिहाइको म्यान्डेट जनताले दिए । यसमा वाम गठबन्धन मात्रै कारण होइन । नेतृत्वको समस्या पनि मुख्य कारण हो ।

सभापति शेरबहादुर देउवाले पार्टीलाई पुरानै अवस्थामा फर्काउँछु, त्यसका लागि एकपटक मलाई अवसर दिनुहोस् भन्दै आउनुभएको छ नि ?

यो भन्ने कुरा मात्रै हो । विधानअनुसार दुई पटक लड्न पाउने अधिकार उहाँलाई छ । विधि, नियम र विधानले निर्देशित गरेका कामहरू समयमै गर्न नसक्ने नेतालाई फेरि नेतृत्वमा लैजान हुन्न भन्ने हाम्रो कुरा छन् । पार्टीलाई सुदृढीकरण, शुद्धीकरण, संस्थागत गर्ने हो भने अबको नेतृत्वबाट चल्दैन । पुरानै अवस्थामा पुर्‍याउँछु भन्ने कुराको विश्वास पनि छैन । यो पार्टीलाई ‘रिभाइव’ गर्न सक्ने नेता र टिमलाई नेतृत्वमा ल्याउनुपर्छ ।

म भए सब ठीक हुन्छ भन्ने तपाईंको धारणा हो ?

सभापतिका लागि म प्राकृतिक उम्मेदवार हुँ । पार्टीको साधारण सदस्यबाट राजनीतिक सुरु गरेर नेविसंघको जिल्ला अध्यक्ष, पार्टीको जिल्ला सभापति हुँदै केन्द्रीय उपसभापति, निर्वाचित महामन्त्री भइसकें । म पार्टीभित्रको आन्तरिक लोकतन्त्रका लागि पनि लडेको मान्छे हुँ ।

शेरबहादुर देउवा अहिले पार्टी र सत्ताको केन्द्रमा हुनुहुन्छ । तपाईंहरू आफ्नै समूह मिलाउन सक्नुभएको छैन । यस्तो परिस्थितिमा नेतृत्व ल्याउन सक्छौं भन्ने लाग्छ ?

कांग्रेस लोकतन्त्रका लागि लामो संघर्ष गरेको पार्टी हो । राजनीतिक प्रणालीलाई परिवर्तन गर्न सक्ने खुबी भएका कार्यकर्ता कांग्रेसमा छन् । १३ औं महाधिवेशनमा नेतृत्व लिएका नेताको मूल्यांकन अबको १४ औं महाधिवेशनले गर्छ ।

तपाईं कांग्रेसको नेतृत्व लिनुभयो भने अहिले नभएका कुरा सुधार गर्न सक्नुहुन्छ ?

कांग्रेसलाई संस्थागत र सक्षम पार्टी बनाउन सक्छु । कांग्रेसकै नेतृत्वमा संविधान जारी भयो । तर, अहिलेसम्म संविधान कार्यान्वयनले पूर्णता पाएको छैन । त्यसलाई पूर्णता दिने मुख्य जिम्मेवारी छ । अर्कोतर्फ आर्थिक समृद्धिको चाहना छ । आम नागरिकको अधिकारलाई सुनिश्चित गर्दै हरेक नेपालीको जीवन र जीविकोपार्जन सहज बनाउन म लाग्नेछु । संस्थापक नेताहरूले कठिन दिनहरूमा कांग्रेसलाई जसरी नेतृत्व दिनुभयो, त्यस्तै आशा र भरोसाको पार्टी बनाउन चाहन्छु । १४ औं महधिवेशन समाप्त भएको दिनदेखि नै संगठनलाई परिचालन गर्ने, आर्थिक सम्पन्नताको चाहनालाई पूरा गर्ने अभियानमा लाग्नेछु ।

कांग्रेसको संगठन वडादेखि नै विभाजित छ । त्यहीँबाट आउने प्रतिनिधिले मूल्यांकन गरेर तपाईंले भनेजस्तै नेतृत्व छानिएला ?

लोकतान्त्रिक पार्टीमा महाधिवेशनका बेला प्यानल बन्नु स्वाभाविक हो । तर, नेतृत्व चयन गर्ने बेला मतदाताले अवश्य सोच्छन् भन्ने लाग्छ । कमजोर नेतृत्वकै पुनरावृत्ति भयो भने आफ्नो पनि भविष्य हुन्न । यो कार्यकर्तालाई राम्ररी थाहा छ ।

तपाईंहरूबाट को उम्मेदवार हो त ?

एक हुने कुरा सामान्य गणितको हिसाबकिताबले हुँदैन । राजनीतिक गणित सिधा रेखामा चल्दैन । मैले १३ औं महाधिवेशनमा रामचन्द्र दाइलाई समर्थन गरेको हो । जीउज्यान लगाएर जिताउने प्रयास पनि गरेकै हो । गएको महाधिवेशनमा म निर्वाचित महामन्त्रीको हैसियतमा थिएँ । मैले नदोहोर्‍याएर शशांक कोइरालालाई छाडेकै हो । तपाईं गणेशमानको छोरा, अनुभव पनि छ, धेरै जिम्मेवारी पनि छ, अघि बढ्नुहोस् भनेपछि मैले शेरबहादुर दाइसँग संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेको हुँ । उम्मेदवारहरूमध्येमा पनि अहिलेको परिस्थितिमा कसलाई अघि सार्न उपयुक्त हुन्छ भन्ने कुरा पनि हेर्नुपर्छ ।

गणेशमानको छोरा हुँ, विरासतले काम गर्छ भन्ने ठानेर सभापतिमा प्रतिस्पर्धा गर्न खोज्नुभएको हो कि ?

गणेशमानको विरासत छँदै छ । तर, संकटको घडीमा म पास भएको ठान्छु । जस्तोसुकै संकटमा पनि पछि हटेको छैन । जस्तो कि, पूर्वराजा ज्ञानेन्द्रले शाही आयोग गठन गर्दा कसैले यो असंवैधानिक हो भनेर भन्न सकेका थिएनन् । मैले नै पहिलोपल्ट यो असंवैधानिक छ भनेर ज्ञानेन्द्रका विरुद्ध लडेको मान्छे हो ।

तपाईंले राजधानीबाहेक केही हेर्नुहुन्न, राजधानीमा पनि साम्प्रदायिक सोचले काम गर्छ भनेर तपाईंमाथि आरोप लाग्ने गरेको छ नि ?

सबैले मेरो तारिफ गर्दैनन् । प्रतिस्पर्धीलाई आफ्नो इच्छा पूरा गर्न भए–नभएको कुरा गर्नुपर्छ । काठमाडौं देशकै राजधानी हो । काठमाडौंको नेतृत्व सम्हालेर आएको व्यक्ति हुँ । काठमाडौंको भए पनि बाहिर यसको कुनै प्रभाव छैन भन्ने कुरा गलत हो । १२ औं महाधिवेशनमा काठमाडौंको भोटले मात्रै म महामन्त्री भएको हो त ? त्यस बेला पनि देशभरकै महाधिवेशन प्रतिनिधिले मलाई मत दिएर जिताएका हुन् । दसौं महाधिवेशनमा पहिलोपल्ट केन्द्रीय सदस्य लड्दा मेरो तेस्रो स्थानमा मत आएकै हो ।

तपाईंको धारणा शेरबहादुर देउवासँगै रामचन्द्र पौडेलले पनि नेतृत्वको आकांक्षा राख्न हुन्न भन्ने हो ?

हो । उहाँहरूले अहिलेसम्म जे जति गर्नुभयो, धेरै गर्नुभयो । उमेर पनि भयो । अब सम्मानजनक रूपमा बिदा हुनुपर्छ । ०४६ सालदेखि पार्टीमा त उहाँहरू नै हुनुहुन्थ्यो नि । उहाँहरूले कांग्रेसको नेतृत्व लिएपछि पार्टीको अवस्था कस्तो भएको छ ? ०४६ अघि कांग्रेसको आकर्षण कस्तो थियो ? सबैको चाहना नेतृत्व परिवर्तनसँग छ । आम कार्यकर्ताका भावनाको सम्मान पनि गर्नुपर्छ ।

पौडेलप्रति तपाईंको असन्तुष्टि मन्त्री छनोटलाई लिएर भएको हो भन्ने छ नि ?

न्याय हुनुपर्छ भन्ने कुरा मैले त्यतिबेला राखेको हो । १ सय ६५ निर्वाचन क्षेत्रमा जम्मा २३ जनाले जितेको छ । त्यसमध्ये काठमाडौंमा हामी चार जना छौं । म मन्त्रिपरिषद्मा जाने कुुरा थिएन । बाँकी भएका जो कोहीमध्ये काठमाडौंको प्रतिनिधित्व हुने गरी मन्त्री बनाउनुपर्छ भन्ने कुरा नजायज हो र ?

वरिष्ठ नेता रामचन्द्र पौडेलले कि त तपाईंहरू तीन जना मिलाएर एक जना उम्मेदवार बन्नुहोस्, मिल्न सक्नुहुन्न भने मलाई एक वर्षका लागि सभापति बनाउनु होस् भनेर प्रस्ताव राख्नुभएको छ । यसलाई कसरी हेर्नुभएको छ ?

समय धेरै अघि बढिसकेको छ । पार्टी नेतृत्व दोस्रो पुस्तामा आउनुपर्छ भन्ने देशभरका कार्यकर्ताको भावना छ । म देशभर घुम्दा आम कार्यकर्ताले ‘शेरबहादुरजीले त पार्टी चलाउन सकेनन् नै, रामचन्द्रजीबाट चल्दैन है’ भनेर भन्ने गर्छन् । यो कुरा मैले रामचन्द्र दाइलाई भेटेरै भनेको छु । बैठकमा पनि राखेको छु । पछाडि कुरा गर्ने होइन, अगाडि नै कुरा राखेको छु । अहिले हामीले समर्थन गरे पनि यी दुवै नेतालाई भोट दिँदैनन् । उहाँहरूको समय सकियो । हरेक कुरामा विश्राम लिन समय आउँछ । उहाँहरूको पनि अब विश्राम लिने समय हो । अब दुवै नेताबाट पार्टी चल्दैन । यस्तो प्रस्ताव कुन सन्दर्भमा राख्नुभयो, जानकारी भएन । मलाई त्यस्तो प्रस्तावले काम गर्दैन जस्तो लाग्छ ।

रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउनुपर्छ भन्ने प्रस्ताव तपाईंले गर्नुभएको हो ?

व्यक्तित्वअनुसार ठीक व्यक्तिलाई ठीक ठाउँमा लैजानुपर्छ । सबै पदमा मै भन्ने कुरा आउँदैन । व्यक्तित्व हेरेर व्यवस्थापन गर्न खुला छौं । पार्टी सभापति, प्रधानमन्त्री, राष्ट्रपतिलगायत विभिन्न पद छन् । मिलाउन सकिन्छ ।

प्रसंग बदलौं, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका कारण न्यायालय ठप्प भएको यतिका दिन बितिसक्दा पनि राजनीतिक दल किन मौन ?

यतिबेला राज्य सत्ता सञ्चालन गर्ने दायित्व कांग्रेसले पाएको छ । प्रधानमन्त्रीले हरेक कुरामा दृष्टि पुर्‍याउनुपर्छ । न्यायालय स्वतन्त्र छ, न्यायालयलाई हस्तक्षेप गर्न हुन्न भन्ने भावनाप्रति सम्मान गर्नुपर्छ । तर न्यायालय नै काम गर्न नसकेको, सेवाग्राहीले सेवा नपाएर ठप्प हुँदा समस्या पन्छाउन हुन्न । ‘न्याय ढिला हुनु भनेको न्याय नदिनुसरह’ भनिन्छ । सरकारले यस्तो रिमते बनेर बस्न मिल्दैन । न्यायालय राज्यकै एउटा अंग हो । न्यायालयमा बेथिति भएको छ भने त्यसको थिति बसाल्ने दायित्व सरकारको हो । विधिसम्मत तबरले के–के गर्दा निकास निस्कन्छ गर्नुपर्छ ।

किन राजनीतिक दलहरू मौन रहे जस्तो लाग्छ ?

मैले त केन्द्रीय कार्यसमिति बैठकमै सरकार यसरी रमिते भएर बस्न मिल्दैन भनेको हुँ । न्यायालयको विषयमा यसरी रमिते बन्दा त्यसको असर आउने तीनै तहका निर्वाचनमा कांग्रेसलाई पर्छ । हामीले आफ्नो दृष्टिकोण प्रस्ट पार्नुपर्छ ।

अब दलहरूको भूमिका के हो ?

संसद् बैठक बोलाउनुपर्छ । प्रधानन्यायधीशमाथि लगाइएको आरोपको त्यहाँ छलफल गर्नुपर्छ । संवैधानिक परिषद् कल गरेर पनि छलफल गर्न सकिन्छ । अहिलेको मुख्य विवाद प्रधानन्यायाधीशको आचारणलाई लिएर उठेको प्रश्न हो । यसको तथ्य विश्लेषण गरेर संसद्ले आवश्यक प्रक्रिया अघि बढाउनुपर्छ ।

त्यो भनेको महाअभियोग लगाउने भन्ने हो ?

संसद् बोलाइसकेपछि त्यसबारे पनि छलफल हुन्छ । बैठक बोलाउने समय पनि भइसकेको छ । न्यायालय अझै यस्तै राख्ने हो भने त्यस्तो कदम उठाउन पनि आवश्यक हुन सक्छ ।

प्रकाशित : मंसिर १, २०७८ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?