१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०
अन्तर्वार्ता

शेरबहादुरजीलाई हराउने बलियो उम्मेदवार मै हुँ : शशांक कोइराला

'शेरबहादुरजी पार्टी र सरकार दुवै मोर्चामा असफल देखिनुभएको छ ।' 
'स्वतन्त्र न्यायपालिकाले यसरी हस्तक्षेप गर्न थाल्यो भने कस्तो न्याय देला ? राज्य प्रणाली खत्तम पार्छ ।'
'प्रचण्डको ठाउँबाट तालमेलको कुरा सोच्नु ठीक हो तर कांग्रेस निर्वाचनमा कसैसँग तालमेल गर्दैन । एक्लै लड्न सक्षम छ ।'
कुलचन्द्र न्यौपाने

काठमाडौँ — कांग्रेसवृत्तमा पार्टी र सरकारको दुवै मोर्चाको नेतृत्वमा रहेका सभापति शेरबहादुर देउवाबाट पार्टीको नेतृत्व कोइराला परिवारमै फर्काउन सक्ने बलियो दाबेदारका रुपमा महामन्त्री शशांक कोइरालालाई हेरिएको छ । तर, कोइराला परिवारमै दुई जना र पौडेल समूहभित्र सभापतिका आधा दर्जन आकांक्षी रहेकाले सर्वसम्मत उम्मेदवार बन्न कठिन छ ।

शेरबहादुरजीलाई हराउने बलियो उम्मेदवार मै हुँ : शशांक कोइराला

पार्टीको आसन्न १४ औं महाधिवेशन, सरकारका कामकारबाहीलगायत विषयमा कान्तिपुरका कुलचन्द्र न्यौपानेले शशांक कोइरालासँग गरेको अन्तर्वार्ताको सम्पादित अंश :

केही जिल्लामा अझै वडा अधिवेशन हुन सकिरहेको छैन, यसले मंसिरमा हुने केन्द्रीय महाधिवेशन प्रभावित बन्दैन ?

हामीले मंसिर ९–१३ कै मितिमा महाधिवेशन हुनुपर्छ भन्दै आएका छौं । त्यसभन्दा उता सार्न उपयुक्त हुँदैन तर तलका अधिवेशन नै नसकिने विशेष कारण उत्पन्न भयो भने केही समय मात्रै (पुससम्म) पछि सर्न सक्छ ।

दुई वर्षदेखि क्रियाशील सदस्यताको विवाद चलिरहेको छ । यही कारण १३ जिल्लामा वडा अधिवेशन हुन सकेको छैन । यसको भित्री कारण के हो ?

हो, क्रियाशील सदस्यताको विवाद छ । पार्टीको क्रियाशील सदस्यता वडाबाट सिफारिस भएर आउनुपर्छ । हाम्रो विधानको व्यवस्था त्यही हो तर यहाँ त संस्थापन पक्षले वडामा मात्रै नभएर केन्द्रबाटै सदस्यता थपिरहेको छ । त्यस्तो गर्न त पाइँदैन नि ।

तपाईंहरूलाई संस्थापन पक्षले धाँधली गर्दै छ भन्ने शंका भएको हो ?

शंकाभन्दा पनि विधि, विधान र प्रक्रियाअनुसार सदस्यता वितरण वडाबाटै हुनुपर्छ भन्ने हो । अरू तहबाट वितरण गर्न पाइँदैन । अरू तहबाट वितरण हुन्छ भने शंका उब्जनु स्वाभाविक हो ।

कांग्रेस हुन्छु भनेर आउनेलाई सदस्यता दिँदा विवाद गर्नुपर्ने हुन्छ र ?

कांग्रेसको कार्यकर्ता हो होइन, कस्तो व्यक्ति हो भन्ने कुरा पनि केन्द्रबाट होइन वडाबाटै थाहा हुन्छ । यो जिल्लामा यो नाम गरेको कस्तो व्यक्ति हो भनेर मलाई सोध्यो भने मैले कहाँ भन्न सक्छु र ? त्यो त वडाका कार्यकर्ताले भन्न सक्छन् नि ।

कांग्रेसमा जहिल्यै सदस्यताको विवाद किन उठ्ने गर्छ ?

महाधिवेशनलाई प्रभावित पार्ने हिसाबकिताब नै हो । शेरबहादुरजीप्रति हाम्रो अविश्वास पहिला पनि थियो, सदस्यताको विवादले अहिले झनै बढाएको छ ।

तपाईं आफैं सभापतिको उम्मेदवार बन्छु भन्दै आउनुभएको छ । तयारी कसरी अघि बढाउनुभएको छ त ?

म साथीहरूसँग कुरा गरिरहेको छु । ७७ जिल्लाकै साथीहरूसँग कुरा गर्दा ‘तपाईं खुट्टा नकमाउनुहोस्, तपाईं नै हो । अरू कसैले सक्दैन । कांग्रेसलाई परिवर्तन गर्ने हो भने तपाईंले नै नेतृत्व लिनुपर्छ’ भनेर आग्रह गरिरहेका छन ।

व्यक्तिगत रूपमा सोध्नुहुन्छ भने मलाई यो झमेलामा किन म पर्नेजस्तो लाग्छ । तर, बीपीले बनाएको पार्टी हो कांग्रेस । टुलुटुलु हेरेर बस्न पनि म सक्दिनँ । पार्टीलाई एकबद्ध बनाउने, गुट उपगुट समाप्त पार्ने मेरो चाहना छ । दोस्रो, विधान संशोधन नगरी यो पार्टी चल्न सक्दैन । सभापतित्व प्रणालीमा जानुपर्छ ।

भनेपछि सभापतिलाई अधिकारसम्पन्न बनाउनुपर्छ भन्ने तपाईंको जोड हो ?

हो, सभापति जित्नका लागि निर्वाचन हुन्छ । जितिसकेपछि कार्यकालभर आफ्नो विचार र दृष्टिकोणअनुसार काम गर्न सक्ने अधिकार हुनुपर्छ । त्यसका लागि केन्द्रीय समितिमा सभापतिको बहुमत हुनुपर्छ ।

सबै पदाधिकारी निर्वाचित गर्ने विधानको व्यवस्था गलत भयो, अब सबै पद मनोनीत गर्नुपर्छ भन्ने तपाईंको धारणा हो ?

सबै भनेको होइन । उपसभापति र महामन्त्रीमा एक/एक जना चुन्ने अधिकार त सभापतिलाई हुनुपर्‍यो नि ।

यस्तो व्यवस्था त पहिला नै थियो नि ? किन संशोधन गर्नुभएको त ?

पहिलाकै व्यवस्था ठीक थियो । पछिल्लो पटक संशोधन गरियो, यो गलत भयो । धेरै प्रजातान्त्रीकरण गर्दा सभापतिलाई काम गर्नै नसक्ने खालको विधान बनाइयो । पार्टी सञ्चालन गर्नका लागि यति साह्रै प्रजातान्त्रिक विधान बनाएर चल्दैन ।

सभापतिलाई बढी अधिकार दिँदा निरंकुश हुने खतरा हुन्छ भनेर संशोधन गर्नुभएको होइन र ?

निरंकुश हुन्न । सभापति भइसकेपछि पार्टी सञ्चालन गर्न सक्ने पूर्ण अधिकार सभापतिलाई हुनुपर्छ । अर्को कुरा, सभापति भनेको सरकारको कामकारबाहीमा पनि प्रभाव पार्ने पद हो । आफ्नो पार्टीको सरकार हुँदा सभापतिले प्रधानमन्त्रीलाई निर्देशन दिन सक्छ ।

पौडेल समूहमै सभापतिका चार जना आकांक्षी छन्, चार जनामध्ये तपाईं उम्मेदवार हुने सम्भावना कति छ ?

यसो हेर्दा त न्यून छ । तैपनि हामी प्रयासमा छौं । रामचन्द्र दाइ, शेखर दाइ, प्रकाशमानजी र म गरी चार जना त हाम्रो समूहबाटै छौं । हामीलाई जसरी पनि जित्नु छ । चार जनामध्ये एक जना भए ठीक हुन्थ्यो तर हुन सक्ने सम्भावना कम छ । चार जनामध्ये सबैभन्दा उपयुक्त व्यक्ति मै हुँ । ७७ जिल्लाकै पार्टी सभापति र कार्यकर्ताले तपाईं लड्नुहोस्, खुट्टा नकमाउनुहोस् भनिरहेका छन् ।

चारै जना भिड्ने अवस्था त आउँदैन होला नि ?

संख्या कम हुन्छ । दुई जनामा आउन सक्छ । एक जना नै हुने सम्भावना पनि छ तर त्यो अवस्था बनिसकेको छैन ।

शेखर कोइरालाले छाड्नुभएन भने के गर्नुहुन्छ ?

कोइराला परिवारमा हामी शेखर दा, म र सुजाता छौं । सुजाता सभापति नलड्ने भनेकी छन् । मेरो र शेखर दाको बीचमा एउटा समझदारी त हुनुपर्छ नि । पावर भनेको सेयरिङ गर्ने कुरा हो । म सभापति भएपछि शेखर दालाई के पद चाहिने हो, त्यो त म दिइहाल्छु नि । रामचन्द्र दाइ, प्रकाशमानलाई कसरी मिलाउने भन्ने कुरा नि छ । एक जनालाई प्रधानमन्त्री बनाउन सकिन्छ । अर्कोलाई उपसभापति बनाउन सकिन्छ ।

शेखर र तपाईंबीचमै प्रतिस्पर्धा हुने अवस्था आउँछ कि ?

त्यस्तो लाग्दैन । शेखर दाले मलाई सहयोग गर्नुपर्छ ।

शेखरले त अब छोड्ने पालो भाइको हो भन्नुभएको छ नि ?

शेखर ‘दा’ अहिले केन्द्रीय सदस्य मात्रै हुनुहुन्छ । केन्द्रीय सदस्यबाट एकैचोटि सभापति बन्न उहाँलाई कठिनाइ होला । म त महामन्त्री भइसकें, सजिलो मलाई हुन्छ नि ।

उमेरको हिसाबले पनि दाइले भाइबाट आस गर्नुभएको होला नि ?

त्यस्तो तर्कले हुन्न । सभापति जित्न सक्छु भन्ने तर्कले मात्रै कन्भिन्स गर्न सकिन्छ ।

दाजुभाइलाई मिलाउने तत्त्व के छ ?

छलफल भएको छैन । परिवारमा प्रकाश (बीपीका जेठा छोरा) दाइ हुनुहुन्छ । दाइलाई शेखर दाले पनि भेट्नुहुन्छ, म नि भेट्छु । अरू साथीहरू पनि लाग्नुभएको छ ।

तपाईंको समूहमा सभापतिका आकांक्षीमध्ये बलियो मै हुँ भन्ने कसरी लाग्यो ?

अरूको तुलनामा सबैभन्दा बलियो उम्मेदवार मै हुन्छु । शेरबहादुरजी अरूसँग होइन, मसँग डराउनुभएको छ । यसले पनि को बलियो हो भन्ने थाहा हुन्छ ।

बलियो छु भन्ने आधार बीपीको छोरा भएर हो ?

होइन, विरासतको आधार एउटा पक्ष हो तर देशभरका साथीहरूको मलाई दबाब छ । तपाईं लड्नुभएन भने फेरि शेरबहादुरजीले नेतृत्व लिनुहुन्छ भन्नुहुन्छ । त्यो नै मेरो ठूलो शक्ति हो । कार्यकर्ताको चाहना नै मेरो प्रेरणाको स्रोत हो । उनीहरूको प्रेरणाको कदर मैले गर्नुपर्छ ।

तीन पटक सांसद बन्दा संसद्मा मुस्किलले ७/८ पटक बोल्नुभयो । महामन्त्री भएर पनि प्रभावकारी काम गर्न सक्नुभएन । अब कसरी सभापति चलाउनुहोला भन्ने टीकाटिप्पणी कार्यकर्ताले गरेका छन् नि ?

शेरबहादुरजीको विरोध मैले सुरुदेखि गर्न थालेको भए पार्टी ध्वस्त हुने अवस्था थियो । ०७४ को आमनिर्वाचनमा पार्टीले हार्दा सबै शेरबहादुरजीविरुद्ध खनिनुभयो । मैले मात्रै साथ दिएँ । त्यो पार्टीलाई हेरेर गरेको हो, शेरबहादुरजीलाई हेरेर होइन । मैले पनि विरोध गरेको भए पार्टी कहाँ जान्थ्यो ?

दोस्रो कुरा, संसद्मा मैले ७/८ पटक बोलेको छु । बोल्ने कुरा बोलेकै छु । आवश्यकताभन्दा बढी के बोल्नु ? पहिला हामी प्रतिपक्षमा थियौं । राम्रो बोल्ने गगन थापा, मीनेन्द्रहरू थिए । उनीहरूलाई बोल्न दिनुपर्छ भन्थे । त्यसैले उनीहरू बढी बोले, मैले कम बोलें ।

सभापति देउवा पार्टीभित्र जब अप्ठ्यारोमा पर्नुहुन्छ, त्यतिबेला तपाईंले काँध थापिदिनुहुन्छ भन्ने आरोप छ नि ?

त्यो त मैले पार्टीलाई हेरेर गरेको हो । सभापतिलाई गिराइदियो भने पार्टीको अवस्था के हुन्छ ? पार्टी कुन दिशामा जान्छ ? त्यो हेर्न म चाहन्नँ ।

देउवाले फेरि उम्मेदवार हुने घोषणा गरिसक्नुभएको छ । यसप्रति तपाईंको दृष्टिकोण के छ ?

शेरबहादुरजीले पार्टी चलाउन नसक्नुभएको सत्य कुरा हो । शेरबहादुर देउवालाई फेरि नेतृत्व दिन हुन्न भन्ने कुरामा हाम्रा पक्षका सबै नेताहरूको समान धारणा छ । त्यसका लागि बलियो उम्मेदवार मै हुँ भन्ने लाग्छ ।

शेरबहादुर देउवाले नै तपाईंलाई अघि सार्ने सम्भावना कति छ ?

उहाँले छोड्नुहुन्न भन्ने मेरो ठम्याइ छ । हार्दै छु भन्ने लाग्यो भने के गर्नुहुन्छ भन्न सक्दिनँ । तर, अहिले उहाँ प्रधानमन्त्री हुनुहुन्छ । शक्ति सबै उहाँसँग छ । हरेक दृष्टिकोणबाट अनुकूल छ । हुन त उहाँले मलाई यस पटक छोड्देऊ, त्यसपछि तिमीलाई दिन्छु भन्नुभएको छ तर त्यो ललिपप देखाएको मात्रै हो । उहाँलाई डर नै मसँग छ । अरू कोहीसँग छैन ।

तपाईंसँग किन डराउनुभएको ?

अरूभन्दा बलियो छ, यो उठ्यो भने समस्या हुन्छ भनेरै होला ।

तपाईंहरूको समूहबाट धेरै उम्मेदवार हुनासाथ देउवालाई सजिलो हुँदैन र ?

त्यसैले त मैले भरसक एक जना मात्रै उम्मेदवार बन्नुपर्छ । हामी एक भयौं भने शेरबहादुरजीलाई रोक्न सक्छौं ।

तपाईं, प्रकाशमान र विमलेन्द्रबीच गठबन्धनको पहल पनि भइरहेको छ । यो कत्तिको सम्भव छ ?

हामी प्रयत्न गरिरहेका छौं तर अहिलेसम्म तीनै जनाले छोड्ने कुरा भएको छैन । मलाई सभापतिमा सहयोग गर्नुहोस्, अरू पदमा बाँडफाँड गरेर जानुपर्छ भनेर मैले भनेको छु । तीन जनाबीचको छलफलमा पनि ‘पावर सेयरिङ’ को कुरा उठाएको छु । तर, तीनै जनाबीच कसले छोड्ने भन्नेमा समझदारी हुन सकेको छैन ।

मिल्ने सम्भावना कति छ ?

प्रयास हुँदै छ । मिल्दा ठूलो सन्देश पनि दिन्छ । देउवा र पौडेलको पुस्ताबाट नेतृत्व सर्नुपर्छ भन्नेमा हामीबीच एउटै धारणा छ ।

तपाईंको उम्मेदवारीको औपचारिक घोषणा कहिले हुन्छ त ?

तपाईंको मिडियाबाट गइहाल्यो । अरू साथीहरूसँग पनि कुरा गर्नुपर्ने हुन्छ । रामचन्द्र दाइ, प्रकाशमानजी र शेखरदासँग पनि कुरा गर्छु । सबैसँग छलफल गरेरै घोषणा गर्ने हो ।

तपाईंलाई धेरै मान्छेले धार्मिक एजेन्डासँग जोडेर पनि हेर्छन् । अबको महाधिवेशनमा हिन्दु राज्य स्थापनाको एजेन्डा बनाउँदै हुनुहुन्छ भनिन्छ । साँचो हो ?

हाम्रो पार्टीको चारतारे झन्डामध्ये एउटा ताराको अर्थ धार्मिक स्वतन्त्रता हो । धर्मनिरपेक्षता भनेर हामीले ल्याएका थिएनौं । कहाँबाट घुसाइयो । यही कुरा मैले सुशील दालाई पनि भनेको थिएँ । उहाँले पनि पछि परिवर्तन गर्नुपर्छ, अहिले नबोल भन्नुहुन्थ्यो । बीपीले पनि धर्म स्वतन्त्र हुनुपर्छ भन्नुहुन्थ्यो ।

मैले जुन निर्वाचन क्षेत्रबाट तीन/तीन पटक जितें, त्यो हिन्दु आस्था राख्ने धार्मिक व्यक्तिहरू बढी भएको क्षेत्र हो । मठमन्दिरमा पुगेर भाषण गर्नुपर्थ्यो, त्यतिबेला बोल्दा हिन्दु राष्ट्र र धर्मलाई निरपेक्ष राख्न नहुने सन्दर्भ मैले उठाउँदै आएको हुँ ।

महाधिवेशनमा धर्मलाई एजेन्डा बनाउने सम्भावना कति छ ?

दुई वर्षअघि सम्पन्न महासमिति बैठकमै सात सय सदस्यले धर्मनिरपेक्षता खारेज गर्नुपर्छ भनेर हस्ताक्षर बुझाएका थिए । यस पटक झन् तीव्र गतिमा उठ्ने म देख्छु । त्यसलाई मैले नै उठाउँछु । आवश्यक परे मै नेतृत्व लिन्छु ।

संविधानमै धार्मिक स्वतन्त्रता राख्न कि जनमत संग्रह हुनुपर्‍यो कि त संविधान संशोधन गर्न सक्नुपर्छ । तपाईंको बाटो कुन हो ?

दुवै बाटोबाट गर्न सकिन्छ । जुन बाटोमा गए पनि परिणाम आउने एउटै हो ।

पार्टी र सरकार दुवै मोर्चामा देउवाको काम गर्ने शैलीलाई कसरी हेर्नुभएको छ ?

पार्टी चलाउन सक्नुभएन भनेर त मैले भनिनै सकें । गठबन्धन चलाउन पनि धेरै कठिनाइ छ । विभिन्न विचार र दृष्टिकोण बोकेका दललाई मिलाएर लैजान सजिलो छैन । मन्त्रिपरिष्द विस्तार गर्नमै तीन महिना लाग्यो । गठबन्धनमा विचारले होइन, लेनदेन र भागबन्डाले काम गर्छ । यसका लागि शेरबहादुरजीले धेरै खेलिरहनुभएको छ । तर, सरकार कामयाब हुन सकेको छैन । सरकार सञ्चालन कसरी गर्ने भनेर प्रधानमन्त्रीले स्पष्ट दृष्टिकोण पनि बनाउन सक्नुभएन ।

सरकारलाई महाधिवेशनको हिसाबकिताबमा चलाउन खोजेको पनि भन्छन् नि ?

हुन सक्छ । उहाँ (देउवा) लाई फेरि जित्नु छ । नजित्ने भए महाधिवेशनमा ढिलाइ गर्ने, केही समय पछि धकेल्ने सम्भावना पनि छ ।

यस्तो सम्भावना कति देख्नुहुन्छ ?

सम्भावना छ तर हामी मान्दैनौं । हाम्रो असहमतिबीच सभापतिले एकलौटी रूपमा महाधिवेशन टार्न र ढिलाइ गर्न सक्नुहुन्न ।

तीन महिनामा चल्दै गर्दा सरकार सही बाटोमै हिँडिरहेको छ जस्तो लाग्छ ?

एमालेलाई सत्ताबाट हटाउनुपर्छ भन्ने मुद्दामा हामी सफल भयौं तर देउवाले पनि सरकार राम्रोसँग चलाउन सक्नुभएको छैन । मन्त्रिपरिषद् गठनमै तीन महिना बिताइनुभयो ।

बजेट पनि अध्यादेशबाट पारित गर्नुपर्ने अवस्था आयो । अध्यादेश भनेको अप्ठ्यारो परिस्थितिमा मात्रै आउने हो तर अहिले पनि अध्यादेशले शासन चलाउन खोजेको जस्तो देखिँदै छ । यो राम्रो होइन । शेरबहादुरजी अहिले पार्टी र सरकार दुवै मोर्चामा असफल देखिनुभएको छ । पछिल्लो पटक शेरबहादुरजीको अवस्था ढल्दो छ । साँच्चै भन्नुपर्दा अब फेरि पार्टी नेतृत्वमा शेरबहादुरजीलाई हेर्न कोही चाहँदैन ।

मन्त्रिपरिषद् विस्तारमै यतिका दिन लगाउनुमा प्रधानमन्त्री कि गठबन्धनमा सामेल दलका नेताहरूको कमजोरी हो ?

अहिले त प्रधानमन्त्रीकै कमजोरी हो । सम्पूर्ण जिम्मेवारी उहाँसँगै छ । प्रधानमन्त्री आफैंले गठबन्धनमा सामेल दलहरूलाई तिम्रा लागि तीन वटा, तिम्रा लागि चार वटा मन्त्री लिउँ भनेर भन्न सक्नुपर्दथ्यो । सक्नुभएन ।

मन्त्रिपरिषद् विस्तार ढिलाइ हुनुमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले भागबन्डा खोजेकाले हो भन्ने पनि छ नि ?

कति सत्य हो मलाई थाहा छैन तर हामी भन्छौं– न्यायपालिका स्वतन्त्र हो । स्वतन्त्र न्यायपालिकाले यसरी हस्तक्षेप गर्न थाल्यो भने उसले कस्तो न्याय देला ? राज्य प्रणाली खत्तम पार्छ । शक्ति सन्तुलनको सिद्धान्त बिगार्छ । यो ठीक होइन । यस्तो आउनु दुर्भाग्य हो ।

सरकारमा दलहरूको गठबन्धन कति लामो समयसम्म टिक्छ भन्ने लाग्छ ?

सरकार चलाउन सक्ने अवस्थासम्म जानुपर्छ तर निर्वाचनसम्मै गठबन्धन जाने, सिटमा तालमेल गर्ने कुरा म सम्भव देख्दिनँ । कांग्रेस निर्वाचनमा कसैसँग तालमेल गरेर जाँदैन । एक्लै चुनाव लड्छ । एक्लै लड्न सक्षम छ । ९ लाख त पार्टीका क्रियाशील सदस्य नै भइसके । हामीले अरूको सहारा लिन अब आवश्यक छैन ।

अर्ली इलेक्सनतिर जानुपर्छ भन्ने धेरै कांग्रेस नेताहरूको भनाइ छ नि ?

हो, यो पनि एउटा पक्ष छ । शेरबहादुरजीले मन्त्रिमण्डल विस्तारपछि राम्रोसँग सरकार चलाउनुभयो भने पूरा अवधि चल्न सक्ने सम्भावना पनि छ । त्यसले राम्रो पनि गर्छ । जान सकेन भने अर्ली इलेक्सनमै जानुपर्ने हुन्छ । कांग्रेसका लागि अर्ली इलेक्सनमा जानुमै फाइदा छ ।

अर्ली इलेक्सनमा जान माओवादी केन्द्र र एकीकृत समाजवादी तयार छैन । त्यस्तो बेला कांग्रेस र एमाले मिलेर जान सक्ने सम्भावना देख्नुहुन्न ?

निर्वाचनमा जाने विषयमा सहमति गर्ने कुरा बेग्लै हो । गठबन्धन सरकार चलेन भने जाने बाटो त्यही हो ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले बारम्बार यो गठबन्धन निर्वाचनसम्मै जान्छ भन्दै आउनुभएको छ नि ?

त्यस्तो सम्भावना छैन । प्रचण्डको भविष्य त तालमेलमै निर्भर छ । उहाँको ठाउँबाट तालमेलको कुरा सोच्नु ठीक हो तर कांग्रेसले निर्वाचनमा कोहीसँग तालमेल गर्दैन भन्ने प्रस्ट छ ।

सहमहामन्त्री प्रकाशशरण महतको नेतृत्वमा तीन सदस्यीय टोली भारत भ्रमणमा छ । महाधिवेशनलाई लक्षित गरेर हो कि खास कारण छन् ?

पार्टीमा छलफल भएको होइन तर यसलाई म सकारात्मक रूपमा लिन्छु । अहिले भारतसँग हाम्रो सम्बन्ध त्यति राम्रो छैन । नेपालसँगकै सम्बन्धमा दरार आएको छ । लिपुलेक, लिम्पियाधुरालगायत विषयमा हाम्रो दूरी बढेको छ । शेरबहादुरजीले सम्बन्ध बढाउनका लागि गर्नुभएको यो पहल राम्रै हो ।

तस्बिरहरू : कविन अधिकारी/कान्तिपुर

प्रकाशित : आश्विन २३, २०७८ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?