साहिद अफ्रिदी भन्छन् : नेपाल र पाकिस्तानलाई क्रिकेट कूटनीतिले जोड्न चाहन्छु- कुराकानी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साहिद अफ्रिदी भन्छन् : नेपाल र पाकिस्तानलाई क्रिकेट कूटनीतिले जोड्न चाहन्छु

कान्तिपुर संवाददाता

काठमाडौँ — पाकिस्तानका पूर्व क्रिकेट कप्तान साहिद अफ्रिदीले नेपाल र पाकिस्तानबीच क्रिकेट कूटनीतिलाई स्थापित गर्ने बताएका छन् । आइतबार काठमाडौंस्थित सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा अफ्रिदीले नेपाल र पाकिस्तानका जनतालाई जोड्न क्रिकेट कूटनीति आवश्यक रहेको बताए ।

नेपालमा क्रिकेटको भविष्य निकै राम्रो रहेको र सरकारले विशेष ध्यान दिनुपर्ने उनले सुझाव दिएका छन्। पाकिस्तानको १९ वर्ष मुनिको टोलीलाई नेपाली टीमले हराएको प्रसंग उल्लेख गर्दै अफ्रिदीले नेपाली क्रिकेट टीमलाई आफूले सक्दो सहयोग गर्ने बताए । साथै नेपाली टीमलाई आफूले पाकिस्तानमा लगेर क्रिकेट खेलाउने समेत प्रतिबद्धता जनाए । अफ्रिदीसँगको कुराकानीको सम्पादित अंश :

नेपाल छोटो बसाइ कस्तो भइरहेको छ ? अनुभव कस्तो छ ?

म एकदमै खुसी छु । अहिले नेपालमा छु । क्रिकेटको कारण अहिले म नेपालमा छु । यससँगै अर्को महत्वपूर्ण कुरा नेपाल र पाकिस्तानबीच क्रिकेटको माध्ययमबाट सम्बन्ध जोडिएको छ । तीन दिनको बसाइमा नेपालीहरुमा क्रिकेटप्रतिको लगाव निकै पाएको छु । पाकिस्तानी क्रिकेट टोलीलाई माया गर्ने नेपालीहरु पनि पाएको छु । मैले केही नेपाली खेल अधिकारीहरुलाई पाकिस्तान भ्रमणको निम्तो दिएको छु । म पाकिस्तान पुगेर उहाँहरुलाई स्वागत गर्नेछु । जुनसुकै विषय होस्, नेपाल र पाकिस्तानको सम्बन्ध जोडिनु आफैँमा महत्वपूर्ण छ । यो प्रगाढ हुँदै जाओस् ।

नेपाली क्रिकेटलाई कसरी हेर्नु भएको छ, कसरी विश्लेषण गर्नु हुन्छ ?

नेपाली यू–१९ क्रिकेट टोलीले पाकिस्तानी टोलीलाई हराएको सम्झिन्छु । यसको मतलब, नेपाली खेलाडीमा प्रतिभा र क्षमता छ । पछिल्लो खेल ईपीएलमा मैले खेलेँ, उक्त खेलमा मैले क्षमता भएका नेपाली खेलाडी देखेँ । सन्दीप लामिछाने लगायत खेलाडीहरुको टोली क्षमतावान छ । उनीहरुले नेपाललाई विश्वमा चिनाउन सक्छन् । नेपाली क्रिकेट विकास गर्न तल्लो तहदेखि नै ध्यान दिनुपर्छ । सरकारको संलग्नता निकै महत्वपूर्ण हुन्छ । सरकारको सहयोग मिलेको अवस्थामा क्रिकेट एकेडेमी सञ्चालन गर्न सम्भव हुन्छ । खेलाडीहरुलाई सुविधा मिल्छ । सबैभन्दा राम्रो पक्ष नेपाल सरकार क्रिकेटप्रति सकारात्मक छ ।

नेपालको फ्रेन्चाईज लिगसँग जोडिन तपाईँलाई कुन विषयले प्रेरित गर्‍यो ?

म एक व्यवसायिक खेलाडी भएकाले मैले क्रिकेटको बारेमा कुरा गर्छु । कोही खेलाडी शान्ति, प्रेम र सद्भावको खोजीमा हुन्छ र खेल पनि त्यस्तै अवस्थामा होस् भन्ने अपेक्षा राख्छ । क्रिकेट नै एउटा त्यस्तो खेल हो, जसले भारत पाकिस्तानको सम्बन्ध राम्रो नहुँदा पनि भारत भ्रमण गरेर आफ्नो खेल र शान्तिको सन्देश दिएको थियो । पाकिस्तान आफ्ना मित्रराष्ट्र र छिमेकीहरुसँग सुमधुर सम्बन्ध राख्न चाहन्छ । हाम्रो क्षेत्र (दक्षिण एसिया) मा क्रिकेटलाई अलग्गै दृष्टिले हेरिन्छ । भारतमा त क्रिकेट धर्मजस्तै भइसकेको छ । क्रिकेटको माध्ययमबाट सम्बन्धहरुलाई प्रगाढ र घनिभूत बनाउन सकिन्छ । मलाई यस्तो लाग्छ, क्रिकेटकै माध्ययमबाट नेपाल र पाकिस्तानको सम्बन्धलाई पनि अझ बलियो बनाउन सकिन्छ । यसभन्दा अघि म नेपाल आएको थिइनँ, नेपाल देखेको पनि थिइनँ । मेरो खुट्टामा समस्या हुँदा पनि मैले नेपाल भ्रमण गरेको छु । क्रिकेटको माध्ययमबाट नेपालमा रहेका क्रिकेट प्रेमीहरुसँग प्रेम र सद्भावको सन्देश पनि लिएर आएको हुँ ।

पाकिस्तान र नेपाल क्रिकेटसँग जोडिनसक्ने विषयहरु के के छन्? कसरी जोडिन सक्छन् ?

दुई देशको राजनीति आफ्नो स्थानमा छ । क्रिकेटसँग क्रिकेट र क्रिकेट कुटनीति फरक छ । यो पनि एक प्रकारको राजनीति हो । यसबारेमा मेरो बुझाइ अलि फरक छ । यही क्रिकेटबाट जोडिन म नेपाल आएको हुँ । म यहाँ रहँदा जति पनि मानिसहरुसँग भेट भयो, मेरो लागि अविश्मरणीय रह्यो । नेपाल र पाकिस्तानलाई क्रिकेट कुटनीतिले जोड्न चाहन्छु । पाकिस्तान पुगेर मैले नेपाली टोलीलाई खेल्न आमन्त्रण गर्छु । यसलाई नेपालस्थित पाकिस्तान दूतावास र नेपाल सरकारले सहजीकरण गर्नेछन् ।

तपाईँले परिवारसहित फेरि नेपाल भ्रमण गर्ने भन्नु भएको छ । त्यस्तो के विषयले मोहित बनायो ?

यो भ्रमणमा मैले पूरै नेपाल राम्रोसँग घुम्न पाइनँ । छोटो भ्रमण छ । आज (आइतबार) माउन्टेन फ्लाईट गएँ । सगरमाथा देखेँ । सँगै अन्य हिमालहरु हेरेँ । रोमाञ्चक अनुभव रह्यो । त्यसैले म परिवारलाई साथै लिएर आउन चाहन्छु । किन भने मेरो साथ परिवार भयो भने तुरुन्त फर्किने हतारो हुने छैन । शहर भन्दा बाहिर गएर नेपाल हेर्न चाहन्छु । धन्यवाद ।

प्रकाशित : आश्विन १०, २०७८ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्

माओवादी केन्द्रको अबको संगठन : निर्वाचित नेतृत्व, चुस्त कमिटी 

बबिता शर्मा

काठमाडौँ — चार हजार भन्दा बढी केन्द्रीय सदस्य बनाएको कुनै बेला बदनामी कमाएको माओवादी केन्द्रले अब निर्वाचित नेतृत्व र चुस्त पार्टी कमिटी बनाउने भएको छ । माओ दिवसको दिनमा सुरु गर्ने गरी पौष ११–१३ सम्म पार्टीको राष्ट्रिय सम्मेलन गर्ने तयारीमा रहेको माओवादी केन्द्रले संख्या घटाउन लागेको हो ।

सोही सम्मेलनका लागि केन्द्रीय कमिटीबाट पारित अन्तरिम विधान–२०७८ मार्फत निर्वाचित नेतृत्व र चुस्त पार्टी कमिटीको परिकल्पना छ ।

पुसमा राष्ट्रिय सम्मेलनपूर्व भदौ मसान्तसम्म पार्टी सदस्यता नविकरण र नयाँ सदस्यता वितरण, असोज १० गते सेल र टोल भेला गरी कमिटी गठन/पुनर्गठन, असोज २० मा वडा सम्मेलन, कार्तिक ६ मा गाउँपालिका र नगरपालिका सम्मेलन, कार्तिक ७ देखि मंसिर १४ सम्म संगठन सुदृढीकरण र जनपरिचालन तथा मंसिर १५ मा प्रदेश सम्मेलन गर्ने तयारी गरेको छ । यी सबै अधिवेशनमा निर्वाचित नेतृत्व र चुस्त पार्टी कमिटी बनाउने माओवादीको योजना छ ।

निर्वाचित नेतृत्व र चुस्त पार्टी कमिटीलाई माओवादी केन्द्रले क्रान्तिकारी पार्टी निर्माणको अभ्यास भनेको छ । आफुलाई नेपाली कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धारको मुख्य शक्ति दाबी गर्ने माओवादी केन्द्रले संगठनात्मक यथास्थितिवादसँग सम्बन्ध विच्छेद गर्दै क्रान्तिकारी रुपान्तरण एवम् पुनर्गठनका दिशामा फड्को मार्नुपर्ने अहिलेको आवश्यकता रहेको बताएको छ ।

अस्तव्यस्त पार्टी संगठनलाई व्यवस्थित बनाउन भन्दै माओवादी केन्द्रले अन्तरिम विधान बनाएको हो । विधानसँगै माओवादीले केन्द्रीय निर्वाचन आयोग, निर्वाचन नियमावली र कार्यविधिसमेत जारी गरिसकेको छ । आयोगले सोही नियमावली र कार्यविधिमार्फत् सबै तहको नेतृत्व चयन गर्ने बताइएको छ ।

अन्तरिम विधान– २०७३ को प्रथम संशोधन २०७८ ले पार्टीको विभिन्न तह र जनवर्गीय संगठनका केन्द्रीय निकायहरूको निर्वाचन गर्न केन्द्रीय निर्वाचन आयोगको व्यवस्था गरेको छ । पार्टी भित्र हुने आवधिक निर्वाचन, निर्वाचनको अनुगमन, निर्वाचन सम्बन्धी नीति निर्माण, आचार संहिता निर्माण, निर्वाचन पद्दति निर्धारण र निर्वाचन सम्बन्धी विवाद समाधानलाई व्यवस्थित गर्न नेपाल केन्द्रीय निर्वाचन आयोग कार्य सम्पादन नियमावली–२०७८ जारी गरिएको छ । पार्टीको आन्तरिक जीवनमा लोकतान्त्रिक प्रणाली स्थापित गर्दै योग्य, सक्षम र गतिशिल नेतृत्वको मुल्याङ्कन गर्ने अवसर स्वच्छ र निष्पक्ष निर्वाचन हो भन्ने मान्यता राख्दै केन्द्रीय निर्वाचन आयोगको कार्यसम्पादन नियमावली बनेको छ ।

साउन ३० र ३१ गते काठमाडौंमा सम्पन्न केन्द्रीय समितिको बैठकले पार्टीको अन्तरिम विधान–२०७३ लाई खारेज गर्दै अन्तरिम विधान–२०७८ पारित गरी जारी गरेको थियो । उक्त विधान आगामी राष्ट्रिय सम्मेलन वा महाधिवेशनबाट अनुमोदन गर्ने माओवादीको तयारी छ । पार्टी एकता र एकीकरण हुँदा जारी गरिएका विगतका सबै विधानहरूलाई समय सापेक्ष बनाउन र नेपालको संविधानले आत्मसात् गरेको आधारभूत मान्यता अनुरुप विधानमा परिमार्जन गरिएको माओवादीले दाबी गरेको छ ।

एकीकरण र पुनर्गठनको क्रममा २०७३ साल जेठ ६ गते नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बनेको थियो । यसक्रममा २०७५ जेठ ३ गते नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को बीचमा पार्टी एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो । २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाद्वारा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पुनर्स्थापना भएको थियो ।

कुन कमिटीको आकार कत्रो ?

अन्तरिम विधानमा माओवादी केन्द्रले १४ केन्द्रीय निकायको व्यवस्था गरेको छ । जसमा राष्ट्रिय महाधिवेशन, केन्द्रीय समिति, राष्ट्रिय परिषद्,केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग,केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च छन् ।

माओवादीले राष्ट्रिय महाधिवेशनसम्मका अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष सहित २९९ सदस्यीय केन्द्रीय समिति, केन्द्रीय समितिको कूल सदस्य सङ्ख्याको बढीमा एकतिहाई सदस्य रहेको पोलिटब्युरो र पोलिटव्यूरोको कूल सदस्यको बढीमा एकतिहाई सदस्य रहेको स्थायी समितिको व्यवस्था गरेको छ । दैनिक कार्य सञ्चालनका लागि अध्यक्षको नेतृत्वमा उपाध्यक्ष र महासचिवसहितको आवश्यक संख्यामा एक केन्द्रीय कार्यालय र केन्द्रीय कार्यालयको दैनिक प्रशासनिक कार्यहरू सम्पादन गर्नका लागि महासचिवको नेतृत्वमा सचिव र कोषाध्यक्ष सहितको आवश्यक संख्याको एक केन्द्रीय सचिवालय रहनेछ ।

विधानअनुसार सबै केन्द्रीय आयोग २५ सदस्यीय रहनेछन् । राष्ट्रिय परिषद्मा भने केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरूदेखि पार्टीसम्बद्ध जनवर्गीय, पेशागत, मोर्चा तथा अन्य सामाजिक सङ्गठनका केन्द्रीय अध्यक्ष वा संयोजक वा प्रमुख रहने व्यवस्था छ । केन्द्रीय समितिले बढीमा १४९ जना सम्मको अध्यक्ष, सचिव र सदस्यसहित सल्लाहकार समिति गठन गर्नसक्ने तथा जेष्ठ कम्युनिष्ट मञ्चमा केन्द्रीय समितिको कूल सदस्य संख्याको ५० प्रतिशत नबढ्ने गरी अध्यक्ष, सचिव र आवश्यक सङ्ख्यामा सदस्यहरू रहने विधानले व्यवस्था गरेको छ ।

अन्तरिम विधानअनुसार माओवादी केन्द्रको प्रदेश समितिमा अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षसहित बढीमा १७५ सदस्य रहनेछन् भने प्रदेश परिषद्मा प्रदेश समितिका पदाधिकारी र सदस्यहरूदेखि नगर/गाउँ पालिकाका प्रमुखहरूसमेत समेटिने छन् । विधानमा काठमाडौं उपत्यकामा केन्द्रीय समितिले तोकेको जनवर्गीय र पेशागत संगठनहरूमा कार्यरत विभिन्नस्तरका पार्टी सदस्यहरूको बीचमा पार्टीको संगठनात्मक कार्यको लागि अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष सहित बढिमा १७५ सदस्यीय उपत्यका विशेष समिति रहने व्यवस्था छ ।

यसबाहेक विभिन्न जिल्लाबाट काठमाडौँ उपत्यकामा अस्थायी बसोबास गरिरहेकाबीच संगठनात्मक कार्यहरु गर्न प्रदेश समिति स्तरको अध्यक्ष, उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्ष सहित बढिमा १७५ सदस्यीय सम्पर्क समन्वय समिति गठन गर्ने विधानमा व्यवस्था छ ।

जिल्ला समन्वय समितिको आकार निश्चित छैन । यसमा संयोजक प्रदेश समितिले तोकेअनुसार हुने र जिल्ला समन्वय समितिमा पदेन र मनोनित सदस्यहरू रहने व्यवस्था छ । जिल्लामा कार्यरत रहेका प्रदेश समितिका सदस्यहरू, नगर/गाउँ पार्टी समितिका अध्यक्षहरू, पार्टीको तर्फबाट निर्वाचित संघीय सांसद र प्रदेश सभाका सदस्यहरू, पार्टीका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख र पार्टी प्रदेश समितिले मनोनित गरेका बढीमा १० प्रतिशत सदस्यहरू रहेको जिल्ला समन्वय समिति हुने उल्लेख छ ।

स्थानीय समितिको सदस्य सङ्ख्या पनि विधानमा किटान गरिएको छ । जसअनुसार महानगर समिति– ९९, उपमहानगर समिति– ८१, नगर समिति– ६५, गाउँ समिति/शाखा समिति /सम्पर्क समन्वय जिल्ला समिति– ५५, महानगरका वडा समिति– ४५, उपमहानगरका वडा समिति– ३५, नगर र गाउँका वडा समिति/उपशाखा समिति/पालिका सम्पर्क समन्वय समिति –२९, टोल समिति/इकाई समिति/वडा सम्पर्क समन्वय समिति –१९ र पार्टी सेल–१५ सदस्यीय हुनेछ । पार्टी सेल सबैभन्दा तल्लो कमिटी हो ।

यसबाहेक माओवादी केन्द्रले आफ्नो विधानमा विभाग, फ्याक्सन, संयन्त्र र कार्यदलको पनि परिकल्पना गरेको छ । पार्टीका केन्द्रीय समिति, प्रदेश समिति र नगर/गाउँ समिति अन्तर्गत विभागहरू रहने, विभिन्न जनवर्गीय संगठन, पेशागत संगठन र मोर्चाहरुमा पार्टीको नीति र नेतृत्व स्थापित गर्नका लागि फ्रयाक्सन गठन गर्ने र पार्टीका भातृ संगठन नरहेका विभिन्न पेशागत, सामुदायिक तथा सरोकारवाला सङ्घ, सङ्गठन तथा संस्थाहरूमा कार्यरत सङ्गठित सदस्य, सदस्य वा समर्थकहरूबीच पार्टी संयन्त्र गठन गर्ने विधानमा व्यवस्था छ ।

प्रकाशित : आश्विन १०, २०७८ २०:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×