२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

'प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्न धेरै ढिला भयो, अब पर्खिन्‍न भन्‍नुभएको छ' [अन्तर्वार्ता]

'प्रधानमन्त्रीज्यूले रामचन्द्र पौडेललाई नसोधी त केही गर्दै गर्नुहुन्‍न'

सत्ता गठबन्धनमा आबद्ध दलहरुको आन्तरिक किचलोका कारण मन्त्रिपरिषद् विस्तार र सरकारका कामकारबाही प्रभावित छन् । संयुक्त राष्ट्र संघको महासभामा प्रतिनिधित्व गराउनैपर्ने अवस्था बनेपछि बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाले नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरे । तर, अझै पनि देउवाको काँधमा १६ वटा मन्त्रालयको भारी छ । सरकारलाई पूर्णता दिने विषयमा बुधबार साँझ पनि दलहरुले छलफल गरे । तर, कुनै निष्कर्ष निस्केन ।

'प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्न धेरै ढिला भयो, अब पर्खिन्‍न भन्‍नुभएको छ' [अन्तर्वार्ता]

अर्कोतिर कांग्रेसभित्रै देउवाले परामर्श नै नगरी तेस्रोपटकसम्म मन्त्रिपरिषद् विस्तार गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले असन्तुष्टि व्यक्त गरेको छ । यस्तो अवस्थामा गठबन्धन सरकारलाई गति दिन प्रधानमन्त्री देउवाले कस्तो तयारी गरिरहेका छन् ? देउवाका 'विश्वासपात्र' कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतसँग ईकान्तिपुरले गरेको संक्षिप्त कुराकानी :

सरकार गठन भएको अढाई महिना हुन लागिसक्यो । तर, सरकारले काम गर्न सकेको छैन । गठबन्धन भएकैले असहज भएको हो कि ?

यो गठबन्धन सरकार हो । त्यसैले सरकार निर्माणको सन्दर्भमा केही ढिला भएको छ । यो चिन्ताको विषय हो । प्रधानमन्त्री स्वयम् पनि चिन्तित हुनुहुन्छ । र, अब यो पर्खिन सक्ने अवस्था पनि छैन । प्रधानमन्त्रीले पनि अरु दलहरु माधवजी र जसपाको तत्कालै मन्त्रिपरिषद्‌मा सहभागी हुन सक्ने परिस्थिति छैन भने कांग्रेस र माओवादी केन्द्रको मन्त्रीहरु मात्रै थपेर भए पनि सरकारका कामलाई चुस्त दुरुस्त पार्न चाहनुभएको छ । मैले उहाँलाई तत्कालै त्यो गरिहाल्ने भन्ने मानसिकतामा नै पाएको छु । सबै सहभागी हुने अवस्था भयो भने ठीक छ । होइन भने त्यसरी पनि जानुपर्छ भन्ने मनसायमा हुनुहुन्छ । यसरी लामो समयसम्म मन्त्रालयहरुलाई नेतृत्वविहीन राखेर प्रधानमन्त्रीले अनिर्णयको बन्दी बन्नुहुँदैन ।

त्यसरी कांग्रेस र माओवादीबाटै मात्रै मन्त्री बनाएर अघि बढ्न त कसले छेकेको थियो र ?

अब अहिलेसम्मको कुरा गर्ने हो भने त माधव नेपालजीहरुको पार्टी बन्ने प्रक्रियामै थियो । त्यसले गर्दा केही समय ढिला भयो । पर्ख्यौं भन्ने पनि थियो । त्यसपछिका दिनहरुमा पनि अरु कानुनी कारणहरुले गर्दा ढिला भइरहेको छ । जनता समाजवादी पार्टीले पनि नाम दिइरहेको छैन । त्यो अवस्थामा यसलाई अपूर्ण राखिरहनु हुँदैन भन्ने नै हो ।

उसोभए, सरकारले कहिलेसम्म पूर्णता पाउँछ त ?

यो त प्रधानमन्त्रीले जवाफ दिने कुरा हो । प्रधानमन्त्रीले हामीसँग चाँहि अब म पर्खिन्नँ भन्नुभएको छ । अहिलेलाई उपलब्ध भएअनुसार अघि बढ्छु । उहाँहरु जुन बेला आउनुहुन्छ, त्यो बेला उहाँहरुलाई सहभागी गराउँछु नै भन्नुभएको छ । त्यसैले आशा गरौं, अब छिट्टै नै सरकारले पूर्णता पाउँछ ।

अनि तेस्रोपटकसम्म मन्त्रिपरिषद् विस्तार हुँदासम्म पनि प्रधानमन्त्रीले पार्टीमा छलफल गर्नुभएको छैन । वरिष्ठ नेता पौडेल समूहले त कांग्रेसले कति मन्त्रालय पाउने हो, त्यसमा हाम्रो भाग कति हो ? भनेर सोधेको छ नि !

कांग्रेसले कति मन्त्रालय पाउने भन्ने विषय ठूलो कुरा होइन । यसलाई पूर्णता दिनुपर्ने विषय ठूलो कुरा हो । प्रधानमन्त्री स्वयम् यो विषयमा उदार हुनुहुन्छ । अरुलाई बढीभन्दा बढी सहभागी गराउने, सबैका माग सम्बोधन गर्ने, तर काम होस् भन्ने पक्षमा हुनुहुन्छ । त्यसकारण कांग्रेसले मात्रै धेरै मन्त्रालय राख्नुपर्छ भनेर अहिले रोकिएको पनि होइन ।

जहाँसम्म पार्टीको कुरा छ, प्रधानमन्त्रीले पार्टीभित्र पनि सल्लाह गरेर गर्नुभएको छ । उहाँले वरिष्ठ नेता रामचन्द्र पौडेललाई नसोधी त केही गर्दै गर्नुहुन्न । अन्य नेताहरुलाई पनि उहाँले सोधी–सोधीमात्रै काम गर्नुहुन्छ । पार्टीको अधिवेशनको निर्णयमा त उहाँहरुले एक जनाले पनि हुँदैन भनेको अवस्थामा पनि अघि बढ्नुहुन्न । पार्टीमा बहुमतको प्रयोग कहिल्यै भएको छैन । उहाँले त्यस्तो गर्नुहुन्न । तपाईंहरु सबैले देखिरहनुभएको छ नि ! यो एकलौटी भयो भन्ने हुँदै होइन । प्रधानमन्त्रीजीले सबैसँग सल्लाह गरेर अघि बढ्नुभएको छ । आज (बुधबार) कै बैठकमा पनि प्रधानमन्त्रीजीले सल्लाहमै गरेको भनेर जानकारी गराउनुभयो ।

गठबन्धनले साझा नीति तथा कार्यक्रम ल्यायो । तर, त्यसको कार्यान्वयन प्रक्रिया त खासै अघि बढेको देखिँदैन नि ! कहिले हुन्छ कि देखाउने मात्रै ?

होइन, होइन । हामीले काम गर्नै थालिसकेका छौं नि ! स्पाइनल इन्जुरीलगायत रोगीहरुलाई उपचारमा सहायता पुर्‍याउने, सहयोग गर्ने आदि निर्णयहरु भइसकेका छन् । अब खोप सबैलाई सुनिश्चित गर्ने काम अघि बढेको छ । देश त खोपको अभावमा कोभिडको संक्रमणबाट सबैभन्दा बढी समस्यामा परेको अवस्था थियो । तर, अहिले त्यसको निराकरण हुँदै गएको छ ।

पहिलेको सरकारले जसरी राज्यको स्रोत र साधनको व्यापक दूरुपयोग जो गरेको थियो, अहिले त त्यो सबै रोकिएको छ । त्यसकारण मलाई केही नभएको भन्ने लाग्दैन । यो गलत हो । कमसेकम यो दुरुपयोग त रोकिएको छ । भ्रष्टाचारको श्रृंखला रोकिएको छ । र, नेपाली जनता सुरक्षित हुँदैछन् । यो त महत्वपूर्ण काम हो नि ! यसलाई हुँदै भएन भनेर भन्न कसरी मिल्छ र ? अवश्य पनि अरु धेरै काम हुन बाँकी छन् । सबै मन्त्रालयका काम छिटो-छरितो होस् भन्ने चाहना हाम्रो पनि हो । यसमा प्रधानमन्त्री पनि चिन्तित हुनुहुन्छ ।


प्रकाशित : आश्विन ६, २०७८ २१:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?