शेरबहादुरजीले धान्नै नसक्ने बोझ बोक्नुभएको छ : पौडेल

काठमाडौँ — कानुनी संघर्षको बलमा प्रधानमन्त्री चयन भएका कांग्रेस सभापति शेरबहादुर देउवा राजनीतिक ‘अनिर्णयको बन्दी’ भएका छन् । प्रधानमन्त्री नियुक्त भएको ६६ दिनसम्म पनि मन्त्रिपरिषद् विस्तारसमेत गर्न सकेका छैनन् । उनको अक्षमताले राजनीतिक, प्रशासन र आर्थिक रूपमा राज्य सुस्ताएको छ । अहिले पनि १७ मन्त्रालय प्रधानमन्त्रीको काँधमा छ, जसकारण ती मन्त्रालयको कार्यसम्पादन प्रभावित भएको छ । मन्त्रालयका सचिवसमेत प्रधानमन्त्रीलाई खोज्दै बालुवाटार धाउन बाध्य छन् । कतिपयले भेटसमेत पाउँदैनन् ।

शेरबहादुरजीले धान्नै नसक्ने बोझ बोक्नुभएको छ : पौडेल

१० साता पुग्न लाग्दा पनि मन्त्री छान्न नसक्नुको कारण के हो ? सत्ता गठबन्धनभित्र अनेक भनाइ छन् । कांग्रेस र माओवादीका नेताहरू एकीकृत समाजवादीका सांसदको सदस्यतासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा हुनु, दलसम्बन्धी अध्यादेश यथास्थितिमा रहनु कारण देखाउँछन् । यिनै विषयमा सत्तारूढ कांग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेलसँग गरिएको कुराकानी :

सरकार गठन भएको ६६ दिन बितिसक्यो, मन्त्रिपरिषद्ले पूर्णता पाएन नि ?

शेरबहादुरजीले सहयोगी पार्टीहरूसँग प्रस्ट कुरा गरेर यसरी अगाडि जाने, मन्त्रिपरिषद् बनाउने, यो रूपमा नीति कार्यक्रम चल्ने भनेर प्रस्ट भएर सरकार बनाउनुपर्थ्यो, त्यो काम गर्नुभएन । त्यसको परिणाम अहिले न मन्त्रिपरिषद् विस्तार भएको छ न संसद् चल्न सकेको छ । एमसीसीजस्ता महत्त्वपूर्ण विषयमा सरकार निर्णयमा पुग्न सकेको छैन । देश राजनीतिक, आर्थिक र प्रशासनिक रूपले अनिर्णयको बन्दी भइरहेको छ ।

प्रधानमन्त्रीको मात्रै कमजोरी कि गठबन्धनको पनि ?

जो कर्ता हो, उसैले सोच बनाउनुपर्छ । उसैले सबै योजना र तयारी गर्नुपर्छ । यो दुनियाँ आफ्नो दिमाग, सोचाइ र चिन्तनले चल्ने हो । राष्ट्र र जनताप्रतिको ठूलो जिम्मेवारी काँधमा छ, यसप्रति कसरी गम्भीर हुने भनेर उहाँ (देउवा) ले नै सोच्नुपर्छ । गठबन्धन पनि जिम्मेवार छ, उनीहरूको पनि दायित्व हो । गठबन्धनका नेताहरू पनि देश, जनता र सरकारको कर्तव्यप्रति जिम्मेवार हुनुपर्‍यो नि । हिजो मात्रै प्रचण्डको वक्तव्य सुनें । प्रतिक्रियावादी संविधानलाई फाल्दिन्छु, यो व्यवस्था उल्ट्याइदिन्छु भन्ने । यस्तो सोच नेताहरूले पहिला बदल्नुपर्छ । बुर्जुवा सोच पहिला नेताहरूको दिमागबाटै हट्नुपर्छ ।

प्रधानमन्त्री सरकारको काममा केन्द्रित नभएर अर्कै बाटो हिँडिरहनुभएको छ भन्ने हो ?

देशको प्रधानमन्त्री भएको व्यक्तिले यो उमेरमा पार्टी सभापति पनि हुन्छु भनेर तानाबाना मिलाउनुपर्ने । यो धान्नै नसक्ने बोझ उहाँले बोक्नुभएको छ ।

मन्त्रिपरिषद् विस्तार ढिलाइले सरकारका काम–कारबाही प्रभावित भए नि ?

मन्त्रिपरिषद् बनेन अरे, काम त ड्याङड्याङ गर्नुपर्थ्यो नि प्रधानमन्त्रीले । उहाँले आइडिया निकालेर भएका मन्त्री, सचिवमार्फत काम गर्नुपर्ने हो । देश र जनतालाई आशा जगाउने काम गर्नुपर्थ्यो । यो काम हुन थाल्यो, त्यो काम हुन थाल्यो, देश अगाडि बढ्यो भनेको देख्दिनँ म त । यो के भएको हो बुझ्न सकेको छैन ।

प्रधानमन्त्रीले सरकारभन्दा पार्टीतिर बढी ध्यान दिनुभयो भन्ने हो ?

गति सुस्त भएको महसुस सबैले गरेका छन् । जति ढाकछोप गरे पनि लुक्दैन ।

प्रकाशित : आश्विन १, २०७८ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?