अन्तर्वार्ता

प्राधिकरण बिग्रिए धेरै क्षेत्र बिग्रिन्छ : कुलमान घिसिङ

'हिजोको अवस्थामा जे काम गरेर एउटा उचाइ बनाएको छु । त्योभन्दा माथि जानका लागि मैले धेरै काम गर्नुपर्ने छ । मेरा लागि हिजो र आजको परिस्थिति पनि सहज नहुन सक्छ ।'
कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको छ । दैनिक १८ घण्टासम्म लोडसेडिङ भइरहेको अवस्थामा कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङले आफ्नो कार्यकालको पहिलो वर्षमै उपत्यकामा लोडसेडिङ अन्त्यको व्यवस्थापन गरेका थिए ।

प्राधिकरण बिग्रिए धेरै क्षेत्र बिग्रिन्छ : कुलमान घिसिङ

कुलमानले ठूलो चुनौती स्वीकारेर दोस्रो कार्यकालका लागि प्राधिकरणको नेतृत्व गर्न आएको बताएका छन् । यसै सन्दर्भमा उनीसँग कान्तिपुरका लागि विजय तिमल्सिनाले गरेको कुराकानी :

दोस्रो पटक नियुक्त गरेको छ । प्राधिकरणमा तपाईं नै किन आवश्यक हो ?

मैले प्राधिकरणमा म मात्रै आवश्यक हुँ भनेर भनेको छैन । सायद, सरकारले ‘राइट म्यान इन राइट प्लेस’ भनेर मलाई यो जिम्मेवारी दिएको होला । हिजो जुन हिसाबले व्यवस्थापन भइरहेको थियो, सोही कारणले मलाई यहाँ जिम्मेवारी दिइएको होला । प्राधिकरण हिजो नाफामा अघि बढिरहेको थियो । प्रशासनिक र व्यवस्थापनको हिसाबले पनि राम्रो दिशामा अघि बढिरहेको थियो । तर, पछिल्लो एक वर्षमा प्राधिकरण उल्टो दिशामा जान सुरु गर्‍यो । विभिन्न हिसाबले प्राधिकरणको व्यवस्थापन बिग्रँदै गयो । सबैको चाहनाअनुसार सरकारले यो भूमिकामा उपयुक्त देखेको हुन सक्छ ।

धेरैले तपाईंलाई प्राधिकरणबाहेकको वा अर्को ठूलो जिम्मेवारी दिनुपर्ने माग पनि गरेका थिए नि ?

धेरैले मलाई आयल निगम वा अन्य निकायमा लैजाने भनेको सुनें । तर, अन्यत्र मेरो विषयगत क्षेत्र होइन । मैले जुन स्थानको नेतृत्व गरिरहेको छु, त्यो ठाउँ अन्यत्र छैन । म विद्युत् उत्पादन बढाएर पेट्रोलियम आयात घटाउनुपर्छ भन्ने मान्छु । म आयल निगमका लागि फिट हुने मान्छे होइन । प्राधिकरण बिग्रियो भने यसको प्रभाव सबैतिर पर्छ । यसले आर्थिक वृद्धि, औद्योगिक वृद्धि सबै रोक्छ । त्यसैले यही जिम्मेवारी दिएको उपयुक्त लाग्छ ।

पहिलो कार्यकालमा धेरै सुधारको जस पाउनु भएको थियो । दोस्रो कार्यकालमा प्राथमिकता के हुन् ?

सुशासन, भ्रष्टाचार नियन्त्रण, सेवालाई राम्रो बनाउने मेरो पहिलो प्राथमिकता हो । दोस्रो, विद्युत्मा भइरहेको अवरोध हटाएर गुणस्तर सुधार गर्ने हो । तेस्रो, वर्षायाममा बढी भएको विद्युत्लाई कसरी खपत गर्ने, मागलाई कसरी व्यवस्थापन गर्ने, औद्योगिक, घरायसी र व्यावसायिक मागलाई बढाउने र व्यवस्थापन गर्ने मेरो प्राथमिकता हुन्छ । बढी भएको विद्युत् भारत र बंगलादेश निर्यात गर्ने पनि महत्त्वपूर्ण काम छ । हामीले उत्पादन गर्ने एक युनिट विद्युत् पनि खेर जानु भएन ।

दीर्घकालीन रूपमा विद्युत्मा आत्मनिर्भर बन्नका लागि स्वदेशी लगानीमा ठूल्ठूला आयोजना बनाउनुपर्छ । यसका लागि धेरै योजना अघि बढाउनुपर्नेछ । जलाशययुक्त आयोजनाहरू तत्काल सुरु गर्नुपर्छ । यसलाई प्राथमिकता दिएर अघि बढ्छौं ।

अहिले दूधकोसी, बूढीगण्डकी, पश्चिम सेतीजस्ता केही आयोजनाहरू निर्माणमा जान सक्ने अवस्थामा छन् । यीबाहेक अपर अरुण, तामाकोसी–५, चैनपुर सेती, फुकोट कर्णालीलाई अघि बढाउनुपर्नेछ । दीर्घकालीन रूपमा विद्युत् माग धान्न ठूला परियोजना सुरु गर्नुपर्ने बेला भइसकेको छ । प्रसारण लाइनका धेरै परियोजना पूरा गर्नुपर्नेछ । विद्युत् माग बढाउन वितरण लाइनको विस्तार पनि आवश्यक छ ।

वितरणलाई अटोमेसन गर्ने र स्मार्ट मिटर प्रयोग गरेर उपभोक्तालाई दिइने सेवा प्रवाहमा चुस्तता ल्याउने पनि मेरो प्राथमिकता हुनेछ । प्राधिकरणमा प्रविधिको हस्तक्षेप नगरी दीर्घकालीन रूपमा चल्न सक्दैन । कर्मचारीको कल्चर, मान्यतालाई पनि परिवर्तन गर्नुपर्छ । प्राधिकरणलाई प्रविधिमा आधारित बनाउन पनि मेरो ध्यान हुनेछ । देशभर विद्युतीकरण गर्ने कामलाई २ वर्षभित्र सम्पन्न गर्ने पनि प्राथमिकता हुनेछ । योबाहेक काठमाडौंमा तार भूमिगत गर्ने कामलाई तीव्रता दिनुपर्नेछ ।

दोस्रो कार्यकाललाई जीवनकै ठूलो चुनौती भन्नुभयो, किन ?

हिजोको अवस्थामा जे काम गरेर एउटा उचाइ बनाएको छु । त्योभन्दा माथि जानका लागि मैले धेरै काम गर्नुपर्ने छ । मेरा लागि हिजो र आजको परिस्थिति पनि सहज नहुन सक्छ । हिजोको एउटा टिम थियो । आज नयाँ टिम बनाउनुपर्ने हुन्छ । पहिलाका टिममा भएका धेरै साथीहरू रिटायर हुनुभएको छ । राजनीतिक र सामाजिक वातावरण पनि चुनौतीपूर्ण हुन सक्छ । ठूला आयोजनाहरू अघि बढाउन सबैको सहयोग आवश्यक पर्छ । हिजो लोडसेडिङ अन्त्य गर्न सबैले सहयोग गर्नुपर्ने अवस्था थियो, यस्तै सहयोग पाउन मैले फेरि काम गर्नुपर्छ ।

हिजोको दिनमा बनेको मेरो विश्वसनीयताको रक्षा आगामी दिनको कामले गर्नेछ । यी सबै चुनौती स्वीकार गरेर आएको हुँ । सरकारले दिएको जिम्मेवारी पूरा गर्नेछु । सरकारले मलाई यहाँ उपयुक्त देखेर जिम्मेवारी दिएको हो ।

तपाईंले विगतको गल्ती सच्याउने भन्नुभयो ? विगतमा के गल्ती भएको थियो ?

हिजोको दिनमा निर्णय प्रक्रियामा केही गल्ती भएर प्राधिकरण तल गएको रहेछ भने त्यसलाई सच्याउने भनेको हो । हिजोको व्यवस्थापनले गरेको राम्रो कामलाई निरन्तरता दिने र गल्ती भएको रहेछ भने सच्याउने हो ।

अहिले झ्याप–झ्याप बत्ती जाने गुनासो धेरै छ । तपाईं आएपछि कति दिनमा यो समस्या समाधान होला ?

कहाँ–कहाँ समस्या छ भनेर हामी बुझ्दै छौं । छलफल गरिरहेका छौं । मैले भरपर्दो र गुणस्तरीय विद्युत् प्रवाहलाई प्राथमिकतामा राखेको छु । समस्या पहिचान गरेर अघि बढ्छौं ।

प्रकाशित : श्रावण २८, २०७८ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?