रवीन्द्र मिश्रको दस्ताबेज राजतन्त्र ब्युँताउने मार्ग : मिलन पाण्डे

कान्तिपुर संवाददाता

काठमाडौँ — अरू राजनीतिक दलभन्दा प्रगतिशील बन्ने गरी वैकल्पिक राजनीतिको एजेन्डा बोकेर हिँडेको विवेकशील साझा पार्टीमा अध्यक्षले नै पश्चगामी खालको दस्ताबेज ल्याएपछि विग्रह उत्पन्न भएको छ ।

रवीन्द्र मिश्रको दस्ताबेज राजतन्त्र ब्युँताउने मार्ग : मिलन पाण्डे

अध्यक्ष रवीन्द्र मिश्रको संविधानका मूल विशेषता र गणतन्त्रप्रति नै आरोपित गर्ने दस्ताबेजका कारण दलभित्र दुई धार स्पष्ट देखिएको छ । यसै सन्दर्भमा पार्टी संयोजक मिलन पाण्डेसँग ऋषिराम पौड्यालले गरेको कुराकानी :

पार्टी अध्यक्षले दस्ताबेजमार्फत गणतन्त्रमाथि नै प्रश्न गर्नुभयो, होइन ?

अँ, अध्यक्षको दस्ताबेज पढ्दा त्यही देखिन्छ । उहाँले गणतन्त्रलाई आयातीत नै भन्नुभएको छ । गणतन्त्रको कमजोरीलाई राजतन्त्रको राम्रो पक्षसँग तुलना गरेको देखिन्छ । राजतन्त्रको नराम्रो र गणतन्त्रको नराम्रो पक्षसँग मात्र तुलना हुन सक्छ भन्ने लाग्छ ।

विवेकशील साझाका अध्यक्षको दस्ताबेज र राजतन्त्रवादीको मुद्दा मिलेको देखियो नि ?

त्यस्तो भनिहाल्ने अवस्था छैन । यो विषयमा पार्टीमा छलफल भएको छैन । एउटा व्यवस्थाको राम्रो पक्षलाई अर्को व्यवस्थाको कमजोरीसँग जोड्न मिल्दैन । मलाई पनि दुःख लागेको छ । गणतन्त्र मेरो बा र काका पुस्ताले लडेर ल्याएको व्यवस्था हो । यो व्यवस्था ल्याउन गोली खान तयार भएकाहरूका उदाहरण छन् । यस्तो व्यवस्थालाई आयातीत भन्नु चेत नपुगेको महसुस मैले गरेको छु ।

संघीयता खारेज गर्नुपर्ने र धर्मनिरपेक्षताका विषयमा जनमतसंग्रह गर्नुपर्ने उहाँको प्रस्तावलाई कसरी हेर्नुहुन्छ ?

त्यो उहाँ (मिश्र) को व्यक्तिगत विचार हो । अध्यक्षले नै त्यस्तो दस्ताबेज लेखेपछि स्वाभाविक रूपमा व्यक्तिगत भन्ने कि नभन्ने बहसको विषय हुन सक्छ । प्रस्तावित विधान र घोषणाअनुसार पार्टी प्रोगेसिभ हो । अध्यक्षको दस्ताबेजलाई पार्टीले स्वामित्वमा लिइसकेको छैन ।

विवेकशील साझा आन्दोलनका उपलब्धिलाई रक्षा गर्ने पार्टी हो । अध्यक्षको विचार हाम्रो पार्टीको घोषणापत्रसँग मिल्दैन । संविधान अझ बलियो बनाउने भन्दै हामीले चुनाव लड्यौं । यो विषय (अध्यक्षको दस्ताबेज) मा पार्टीभित्र बहस हुन्छ ।

दस्ताबेजमा राजसंस्था र पूर्वराजा ज्ञानेन्द्रलाई एकताको प्रतीक भनिएको छ । तपाईंको पार्टीमा गणतन्त्रवादी र राजतन्त्रवादी रहेछन्, होइन ?

कुरा चपाएर नगरौं । ‘कन्फ्युजन’ खालको सन्देश त गएकै छ । तर सचिवालय, केन्द्रीय समिति छ, त्यहाँ छलफल हुन्छ । त्यो दस्ताबेज छलफलमा ल्याउने कि नल्याउने भन्नेमा रवीन्द्रजीसँग सल्लाह भएको छैन । गणतन्त्रलाई आयातीत भनेर राजतन्त्रको बचाउ गरेको ‘भर्सन’ उहाँको हो । दस्ताबेजअनुसार अन्त्यमा राजतन्त्रमै पुर्‍याउने भन्ने देखियो । पछिल्लो समय सामाजिक सञ्जाल हेर्दा कमल थापाहरू खुसी भएको देखिन्छ ।

बुझ्नुपर्ने कुरा के हो भने यो नेपाली युवाले बनाएको पार्टी हो । चार वर्षमा मतदाता र कार्यकर्तासमेत हजारौं युवालाई सदस्य बनायौं । यो हिजोका आन्दोलनका उपलब्धिलाई रक्षा गर्ने पार्टी हो । संविधानवादमा विश्वास गर्छौं । रवीन्द्रजीको विचार पनि उपलब्धिको रक्षा गर्ने नै हो भन्ने लागेको छ । तर उहाँको विचार नै फ्रेमबाहिर गएको छ । यसमा मलाई दुःख लागेको छ । व्यवस्था नै उल्टने अवस्था आउने हो कि भन्ने चिन्ता छ ।

तपाईंहरूको पार्टी एकपटक फुट्यो, फेरि जुट्यो र अहिले फेरि गणतन्त्रविरोधी दस्ताबेज ल्याइयो । यस्ता घटनाले तपाईंहरूप्रति मतदाताले कसरी विश्वास गर्ने ?

यसले गम्भीर वैचारिक विचलन ल्याएको छ । अहिलेसम्म युवा साथी र मतदातालाई जुन विचारमा गोलबन्द गराएका छौं, त्यसमा प्रश्न आएको छ । मार्ग परिवर्तन भनेर तीन महिनामा अर्को दस्ताबेज आयो भने यो पार्टीको सदस्य बन्ने कि नबन्ने प्रश्न उठ्न सक्छ । तर पार्टीको स्थापनाकालको उद्देश्य र हजारौं युवाको विचारको प्रतिनिधित्वबाट निर्णय हुन्छ ।

छिट्टै सत्तामा पुग्न चाहे अस्थिर विचार आउन सक्छ । तर यो दस्ताबेजलाई अध्यक्षको व्यक्तिगत धारणा हो भन्ने बुझ्नुपर्छ ।

दस्ताबेज सार्वजनिक भएपछि सुरु विवादसँग जोडेर तपाईंका पार्टी सदस्य र शुभचिन्तकलाई के भन्नुहुन्छ ?

पार्टीको विधान र घोषणापत्र यथावत् छ । आत्तिनु पर्दैन । जसरी व्यवस्थामा प्रश्न उठेको छ, त्यसले देश नै अस्थिर बनाउने परिस्थिति आउने हो कि भन्ने चिन्ता छ । हामी व्यवस्था परिवर्तन होइन, अवस्था परिवर्तन गर्न लागेका हौं । पार्टी विधिले चल्छ । पारदर्शिता, इमानदारी, धर्मनिरपेक्ष, संघीयतामा चार वर्षअघि प्रतिबद्ध रहेकामा अहिले त्यसविरुद्ध लाग्दा विश्वास हुँदैन । संविधानलाई पूर्ण पालना गर्ने भनेर हस्ताक्षर गरेका छौं ।

पार्टीमा यो मुद्दामा एक मत हुन सकेन भने के हुन्छ ?

मैले त्यहाँसम्म सोचेको छैन । जुन विचारबाट पार्टी गठन भयो, त्यसको डीएनए अहिले पनि छ । रवीन्द्रजीले आफ्नो विचार सच्याउनु हुन्छ भन्ने लागेको छ । दस्ताबेजअनुसार राजतन्त्र ब्युँताउने मार्ग देखिन्छ । सामाजिक सञ्जाल हेर्दा यो पार्टीलाई राप्रपाकरण गर्न खोजिएको हो कि भन्ने पनि देखिन्छ । तर त्यो सम्भव छैन ।

प्रकाशित : श्रावण १४, २०७८ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?