१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

जित्न र जिताउन क्रियाशील सदस्यता दिने गरिन्छ : प्रदीप पौडेल

कान्तिपुर संवाददाता

काठमाडौँ — महाधिवेशन आउन ३५ दिन बाँकी छँदा कांग्रेसले देशभर ८ लाख ५२ हजार क्रियाशील सदस्यको सूची सार्वजनिक गरेको छ । १४ औं महाधिवेशनको मुखमा मात्रै ४ लाख ४३ हजार सदस्य कांग्रेसमा थपिएका छन् ।

जित्न र जिताउन क्रियाशील सदस्यता दिने गरिन्छ : प्रदीप पौडेल

विदेशस्थित जनसम्पर्क समितिबाट समेत आउँदा कांग्रेसमा ९ लाखभन्दा बढी सदस्य हुने देखिएको छ । यसै सन्दर्भका क्रियाशील सदस्यता विवाद समाधानका लागि गठन भएको छानबिन समितिका सदस्यसमेत रहेका केन्द्रीय सदस्य प्रदीप पौडेलसँगको कुराकानी :

कांग्रेसमा यति ठूलो संख्यामा क्रियाशील सदस्य बढ्नुको कारण के हो ?

अधिवेशनका मुखमा सदस्यता बाँड्नु नै मुख्य कारण हो । अधिवेशनको अंकगणित र नाफा–घाटासँग तुलना गरेर सदस्यता बाँड्ने गरिन्छ । आफू बलियो हुनका लागि वडाबाटै अनुकूलका व्यक्तिलाई खोजी–खोजी सदस्यता दिने गरिन्छ । हिजो पनि त्यही थियो, अहिले पनि त्यही चलन छ ।

कांग्रेसप्रति आकर्षण बढेर होइन ?

केही हदमा आकर्षण पनि छ । तर अधिवेशनको मुखमा स्वस्फूर्त बनेका सदस्यभन्दा पनि आफू जित्न र कसैलाई जिताउन बनाइएका सदस्य बढी हुन्छन् । आफैंले मतदाता बनाएर भोट हाल्न लगाउने गरिन्छ ।

अरू पार्टीकालाई पनि सदस्यता दिइएको चर्चा छ नि ?

अन्य पार्टीका संगठित कार्यकर्ता त आएका छैनन् । सामान्य मतदाताका रूपमा रहेकाहरू आएका होलान् । खासगरी अन्य राजनीतिक दलबाट कांग्रेसमा आएका नेता तथा कार्यकर्ताले त्यस्ता व्यक्तिलाई पार्टीको सदस्यता दिएको गुनासो छ ।

नयाँ सदस्यबाट पार्टीमा रूपान्तरण होला ?

यो संख्याले मात्रै पार्टीको विचार र नेतृत्व नै परिवर्तन गर्ने सम्भावना देख्दिनँ । वडा तहदेखि केन्द्रसम्मकै नेतृत्वले एक दिन भोट हाल्न ल्याएका सदस्य धेरै छन् । नयाँ सदस्यबाट ८ देखि १० प्रतिशतसम्म क्षेत्रीय प्रतिनिधि आउलान् । २–४ प्रतिशत महाधिवेशन प्रतिनिधि बन्लान् । त्यसबाट वैचारिक रूपमा पार्टी परिवर्तन होला भन्ने मलाई लाग्दैन । तलबाटै शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला भनेर आउने गर्छन् । पार्टीको छानबिन समिति पनि पार्टीको आन्तरिक सन्तुलन मिल्ने गरी बनाइन्छ । मिलाउने नाममा भागबन्डा हुन्छ । अहिले पनि विवादित ठाउँमा समितिले भागबन्डाकै आधारमा सहमति गरेको छ । यस्तो काम १३ औं महाधिवेशनमा पनि भएको थियो ।

परिवर्तनका लागि सदस्यता प्रणाली कस्तो बनाउनुपर्छ ?

महाधिवेशन हुने वर्ष सदस्यता बाँड्नै हुन्न । अधिवेशनको मुखमा त सदस्यता वितरण ठप्प नै बनाउनुपर्छ । महाधिवेशनको वर्षबाहेक सदस्यता जति बेला पनि लिन पाइने गरी खुला गरिनुपर्छ । त्यसको अनुगमन गर्नुपर्छ । शेरबहादुर देउवाको पाँच वर्षको कार्यकालमा सदस्यता बाँडिएको भनेकै महाधिवेशनको मुखमा हो । यसले कसैका निम्ति सदस्यता बढाउने, कसैका निम्ति रोक्ने काम भयो । महाधिवेशनको मुखमा सदस्यता बाँड्दा जितहारसँग जोडिन्छ । यसले पार्टीभित्र द्वन्द्व बढाउँछ ।

सम्बन्धित समाचार

प्रकाशित : श्रावण १३, २०७८ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?