२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

‘केवल नेतृत्वको हानाथापले महाधिवेशनको महत्व घटायो’

काठमाडौँ — प्रमुख प्रतिपक्षीबाट सत्तारुढ बन्न पुगेको कांग्रेस पार्टी महाधिवेशनको संघारमा छ । पार्टी सपभाति शेरबहादुर देउवालाई संसद्‌मा विश्वासको मत लिनेमात्र होइन, महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी पनि छ । देशकै पुरानो लोकतान्त्रिक पार्टी मानिने कांग्रेसमा महाधिवेशनलाई सर्वोच्च निकाय मानिन्छ ।

‘केवल नेतृत्वको हानाथापले महाधिवेशनको महत्व घटायो’

र, पार्टीको जीवनमा महाधिवेशनहरुको विशेष स्थान रहँदै आएको छ । कांग्रेसका महाधिवेशनहरुबारे यो पार्टीको इतिहासका ज्ञाता प्राध्यापक राजेश गौतमसित कान्तिपुरका ध्रुव सिम्खडाले गरेको कुराकानीको संपादित अंश ।

कांग्रेस चौधौँ महाधिवेशनको संघारमा छ । यसलाई तपाईंले कसरी नियालिरहनुभएको छ ?

अहिलेको नेपाली कांग्रेसको महाधिवेशन विगतका महाधिवेशनहरुभन्दा बेग्लै र जटिल अवस्थामा अगाडि बढिरहेको छ । जटिल अवस्थामा यस अर्थमा हो कि पहिलो त देशको राजनीतिक परिस्थिति पनि उपयुक्त छैन । दोस्रो, संक्रामक कोरोना भाइरसका कारण मानिसहरु भेला हुन र हिँड्डुल गर्नसमेत डराउनुपर्ने अवस्था छ । तेस्रो, पार्टीभित्रकै नेताहरुको असहिष्णु व्यवहारले गर्दा पनि यो महाधिवेशन जटिल परिस्थितिमा हुँदैछ ।

विगतदेखि अहिलेसम्मका कांग्रेस महाधिवेशनहरुको मूल्याङ्कन कसरी गर्नुहुन्छ ?

नेपाली कांग्रेसका अहिलेसम्मका महाधिवेशनहरुको मूल्याङ्कन गर्दा नेपाली राष्ट्रिय कांग्रेसका तीनवटा महाधिवेशन (२००३, २००४ र २००५ साल) बाहेकका महाधिवेशनहरु नेपाली कांग्रेसकै नाउँमा सञ्चालन भए । २००६ सालयताका सबै आन्दोलनहरु नेपाली कांग्रेसकै नाउँमा सम्पन्न भए । यसबीचमा पार्टीभित्र विभिन्न विषयहरु उठे, विवादहरु देखिए । त्यो स्वाभाविक पनि हो । महाधिवेशनका बेला आ–आफ्ना विचारहरु व्यक्त गर्ने, समूहहरु बनाउने कार्य विगतमा पनि नभएका होइनन् । जस्तो, जनकपुर महाधिवेशनका बेला पनि विवादहरु सिर्जना भए । मातृकाप्रसाद कोइराला र विश्वेश्वरप्रसाद कोइरालाबीचको द्वन्द्वले उग्ररुप लिएको थियो ।

त्यसबेला बालचन्द्र शर्मा, केदारमान व्यथित र भद्रकाली मिश्रको समूहले पार्टीभित्रै वामपन्थी दलको गठन हुनुपर्छ भन्दै एउटा समूह नै गठन गरेका थिए । तर, त्यो धेरै समयसम्म टिक्न सकेन । बीपी कोइरालाको करिस्मेटिक नेतृत्वका कारण केही समयपछि नै त्यस्ता समूहहरु सबै पार्टीमै समाहित हुन पुगे । त्यसपछि २०१२ सालमा वीरगन्जमा छैटौं महाधिवेशन भएको थियो । त्यो महाधिवेशनबाट नेपाली कांग्रेसले आफ्नो विचारलाई थप प्रस्ट पार्‍यो । कांग्रेस समाजवादी धारमा अगाडि बढ्छ भन्ने सन्देश दियो । त्यो महाधिवेशनले सुवर्णशमशेरलाई पार्टी सभापतिमा निर्वाचित गर्‍यो । यद्यपि, गणेशमान सिंहले पनि सभापतिमा चाहना गर्नुभएको थियो । सुवर्णशमशेरको नेतृत्वलाई पार्टीभित्रकै कतिले समूहगत रुपमा मन पराएनन् ।

निर्वाचित सभापतिलाई त्यसरी मन नपराउने समूह कुन थियो ?

खासगरी गिरिजाप्रसाद कोइरालाको समूह सुवर्णशमशेरको विरोधीका रुपमा देखापर्‍यो । गिरिजाप्रसादले सुवर्णशमशेरको विरोध गर्दै हिँड्न थाल्नुभयो । कतिसम्म गर्नुभयो भने सुवर्णशमशेर विराटनगर जाँदा विरोधको नेतृत्व नै उहाँले गर्नुभयो । त्यसबाट सुवर्णशमशेर असन्तुष्ट हुनुभयो । विराटनगरबाट फर्केपछि उहाँले सभापतिबाट राजीनामा दिनुभयो । यो २०१४ सालको कुरा हो । त्यसपछि विराटनगरमा विशेष महाधिवेशन भयो । त्यो महाधिवेशनले फेरि बीपी कोइरालालाई सभापतिमा प्रस्तावित गर्‍यो । र, उहाँ सभापति बन्नुभयो । यो छैटौं महाधिवेशनकै पूरक महाधिवेशन थियो ।

२०१६ सालमा कांग्रेस संसदमा दुई तिहाइ मतसहित (१०९ स्थानमध्ये ७४ स्थानमा विजयी) सत्तामा आयो । २०१७ सालमा ‘कू’ हुनुपूर्व पार्टीले भव्यरुपमा महाधिवेशन गर्‍यो । त्यो कांग्रेसको सातौँ महाधिवेशन थियो । त्यो महाधिवेशनमा विभिन्न किसिमका प्रस्ताव र योजनाहरु प्रस्तुत गरिएका थिए । योजनाहरु राम्रा थिए । तर, कांग्रेसको विरोधमा राजा लागिरहेका थिए । त्यो स्थितिमा २०१७ साल पुस १ गते सरकार विघटन भयो । त्यसपछि करिब ३० वर्षसम्म कांग्रेसका नेता/कार्यकर्ता निर्वासनमा रहन बाध्य भए । त्यस अवधिमा कांग्रेसले कुनै पनि महाधिवेशन सञ्चालन गर्न सकेन । महाधिवेशन गर्न नसके पनि बन्दी अवस्थामा रहनुभएका बीपीले सुवर्णशमशेरकै नेतृत्वमा पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलनका गतिविधिहरु चलाइरहनुभएको थियो । दुई वर्षसम्म नेपाली कांग्रेसले सशस्त्र आन्दोलन गर्दा पार्टीभित्र कुनै पनि विवाद देखा परेन । किनभने त्यो आन्दोलन सुवर्णशमशेरकै नेतृत्वमा भएको थियो । तर, सुवर्णशमशेर सँधै सशस्त्र विद्रोह गरिरहन नसक्ने हुँदा मेलमिलापको नीति लिएर अगाडि बढ्नुपर्छ भन्ने सोचमा हुनुहुन्थ्यो । सशस्त्र आन्दोलनको स्थगनलगत्तै सुवर्णशमशेरमा मेलमिलापको विचार देखिन थाल्यो । योसँगै पार्टीमा फेरि सशस्त्र आन्दोलन गरेरै राजालाई झुकाउनुपर्छ भन्ने खेमा र मेलमिलापबाट अगाडि बढ्नुपर्छ, सँधै सशस्त्र विद्रोह गरिरहन सकिन्न भन्ने खेमाबीच विवाद देखिन थाल्यो ।

त्यतिखेर बीपीलगायत धेरै नेता बन्दी हुनुहुन्थ्यो । बाहिर सुवर्णजी हुनुहुन्छ, पार्टीका सबै गतिविधि उहाँकै मार्गनिर्देशनमा हुनुपर्छ भन्ने बीपीको स्पष्ट विचार थियो । तर, बाहिर रहेका गिरिजाप्रसाद कोइराला, सरोज कोइरालाहरुचाहिँ बेग्लै रुपबाट अगाडि बढ्न थाल्नुभयो । यस्तो स्थिति हुँदाहुँदै पनि कांग्रेसका कुनै पनि कार्यकर्ताले आफ्नो नीतिको उल्लङ्घन गरेनन् । सबैले स्वीकार गर्दै अगाडि बढेको देखिन्छ ।

कांग्रेसमा देखिएको क्रियाशील सदस्यता वितरणको विवाद कस्तो हो ?

अहिले नेपाली कांग्रेसभित्र क्रियाशील सदस्यतासम्बन्धी जुन समस्या देखिएको छ त्यो समस्या पहिले पहिले पनि नहुने होइन, हुन्थ्यो । तर, २०१२ सालको महाधिवेशनसम्म सदस्यतासम्बन्धी समस्या जिल्लाजिल्लामै समाधान गरिन्थ्यो । जिल्लाजिल्लाबाटै विवादहरुको छिनोफानो भएर प्रतिनिधिहरु केन्द्रमा आउँथे । अहिलेजस्तो पार्टीको सबै अधिकार केन्द्रमा थिएन । जे समस्या भए पनि केन्द्रतिर फर्कने प्रवृत्ति थिएन । समस्याहरु हुन्थे तर तिनको निरुपण पनि तलै हुन्थे । केन्द्रसम्म आइ नै पुग्दैनथे । अहिले पनि त्यही प्रक्रिया अपनाएमा यो विवाद सहज ढंगले टुंगिन सक्छ भन्ने लाग्छ । तर, अहिले समस्या समाधान गर्ने कुराभन्दा पनि को नेतृत्वमा आउने भन्ने कुरालाई मात्र बढी महत्व दिएका कारणले महाधिवेशनप्रति नै वितृष्णा पैदा भएको अवस्था छ । महाधिवेशनबाट नेता चुन्ने कुरामा मात्र ध्यान केन्द्रित हुने गरेको र नीतिगत प्रस्तावहरु ओझेलमा परेकाले नै महाधिवेशनप्रति वितृष्णा पैदा भएको हो ।

कांग्रेसका सम्पन्न १३ वटा महाधिवेशनहरुमध्ये कुनचाहिँ बढी महत्वपूर्ण छन् ?

महाधिवेशनअघि नै प्रस्तावहरु तयार हुने र पार्टीमा छलफल हुने गर्छ । नेताहरुबीच सहमति भइसकेको हुन्छ । महाधिवेशनमा त खाली औपचारिकताका लागि मात्र प्रस्तावहरु प्रस्तुत गरिने र पारित गरिने हो । यति हुँदाहुँदै पनि कांग्रेसका केही महाधिवेशन सम्झनलायक छन् ।

२००६ सालमा कोलकातामा सम्पन्न महाधिवेशन महत्वपूर्ण थियो । त्यही महाधिवेशनमा नेपाली राष्ट्रिय कांग्रेस समूह र नेपाल प्रजातन्त्र कांग्रेस मिलेर नेपाली कांग्रेसको जन्म भएको थियो । जुन महाधिवेशनले नेपालमा प्रजातन्त्र स्थापनाको संखघोष गरेको थियो । त्यसैले कांग्रेसको इतिहासमा त्यो ज्यादै महत्वपूर्ण थियो भने अर्को २०१२ सालमा वीरगञ्जमा सम्पन्न महाधिवेशन पनि महत्वपूर्ण थियो । त्यही महाधिवेशनले पार्टीलाई समाजवादी धारमा अगाडि बढाउने निर्णय गरेको थियो । त्यही निर्णयमा नै आजसम्म कांग्रेस अगाडि बढिरहेको छ । कांग्रेसले अपनाएको समाजवादी नीतिमाथि प्रश्न उठाउन सकिन्छ, उसले राम्रो काम गर्‍यो या गरेन, समाजवादी लाइनमा हिँड्यो/हिँडेन भन्नेबारे प्रश्न उठाउन सकिन्छ तर उसले पार्टीको आर्थिक नीति समाजवादी हुनेछ भनेर जुन निर्णय गऱ्यो त्यो ज्यादै महत्वपूर्ण थियो ।

२०१७ सालमा महाधिवेशन हुँदा पार्टी सरकारमा थियो, बीपी कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो, सबैको दृष्टि कांग्रेसप्रति खिचिएको अवस्था थियो । आर्थिक, सामाजिक, राजनीतिक, विदेशनीतिलगायत मूलभूत सवालमा कांग्रेस कसरी अगाडि बढ्ला भनेर सबैले कौतूहलपूर्ण नजरले त्यस महाधिवेशनलाई नियालिरहेका बेला उसले स्पष्ट रुपमा यी विषयलाई अनुमोदन गरेको थियो । यद्यपि, कांग्रेसले महाधिवेशनले पारित गरेका ती निर्णयहरु लागू गर्न पाएन । यति हुँदाहुँदै पनि कांग्रेसको यो महाधिवेशन सम्झनलायक नै थियो ।

अर्को २०४८ सालमा झापाको कलबलगुडीमा सम्पन्न आठौं महाधिवेशन महत्वपूर्ण थियो । २०१७ सालपछि कांग्रेस सत्तामा आइसकेपछिको महाधिवेशन भएको हुनाले यो निकै महत्वपूर्ण रह्यो । त्यसबेला कांग्रेस कार्यकर्ताको मात्र होइन अन्य दलका कार्यकर्ता र आममानिसको पनि कांग्रेस राम्ररी अगाडि बढोस् भन्ने चाहना थियो । त्यो विश्वासलाई कांग्रेसले सहज रुपले अगाडि बढाउन सक्यो या सकेन भन्ने कुरालाई इतिहासले नै प्रमाणित गर्दै गइरहेको छ । त्यसैले त्यसबारेमा धेरै भन्नुपर्ने आवश्यकता छैन । तर पनि कांग्रेसको इतिहासमा त्यो महाधिवेशन निकै महत्वपूर्ण रहेको छ ।

तर, पछिल्ला महाधिवेशनहरु भने औपचारिकतामात्र सीमित रहे । त्यतिसारो महत्व दिनुपर्ने खालका भएनन् । किनभने त्यसयताका महाधिवेशनहरुमा कहिले गिरिजाप्रसादले आफ्नो हातमा नेतृत्व लिनका निम्ति कृष्णप्रसाद भट्टराईजस्तो व्यक्तिको अपमान गरेको देखिन्छ । कहिले गिरिजाप्रसादलाई असहयोग गर्ने शैलीमा शेरबहादुर देउवा अगाडि बढेको देखिन्छ । पछिल्ला महाविधेशनहरुमा यस्ता प्रवृत्तिहरु कांग्रेसभित्र विकास हुँदै गयो । २०४८ सालपछि कांग्रेसभित्र नेतृत्वका लागि जे पनि गर्ने प्रवृत्ति बढेर गयो । महाधिवेशनहरुमा नीतिगत विषयमा भन्दा आफ्नो समूहलाई नेतृत्वमा पुर्‍याउनमात्र ध्यान केन्द्रित हुँदै जान थाल्यो ।

कांग्रेसले के गर्‍यो भने जनताको त्यो भावना बुझ्न सक्ला त ?

कार्यकर्ताहरु खाली सत्ताको खेल र पदमा मात्र अगाडि बढ्ने भए । सही रुपमा जनचाहना के हो भन्नेतिर ध्यान दिन छाडे । एउटा उदाहरण दिऊँ । यसभन्दा अघिको स्थानिय निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवाले चितवनमा गएर पार्टी कार्यकर्ताहरुलाई कांग्रेसको रुखमा भोट हाल भन्नुको सट्टा माओवादीको हँसिया–हथौडामा भोट हाल भन्नु कांग्रेस कार्यकर्तामाथिको ठूलो अपमान हो । नेपाली कांग्रेसको कार्यकर्ता भनेको त नेपाली कांग्रेसको कार्यकर्ता हो नि । आफ्नो स्वार्थपूर्ति गर्न अन्य दललाई भोट हाल भन्ने अधिकार कुनै पनि पार्टी नेतृत्वलाई हुँदैन । सत्ता प्राप्त गर्ने लोभ र आफूलाई बलियो बनाउने चाहनामा यस्ता अराजनीतिक गतिविधि नेतृत्वले गर्‍यो भने पार्टी कमजोर हुँदैजान्छ । शेरबहादुर देउवाले प्रधानन्यायाधीशलाई धरि महाअभियोग लगाउनुपर्छ भन्ने निर्णय गराउनुभयो । यस्ता कार्यले पार्टीको साख कमजोर बनायो । नेतृत्वको यस्ता गतिविधिले कांग्रेसको साख धुमिल बनाउँदै लगेको छ ।

आसन्न महाधिवेशनमा कांग्रेस नेता/कार्यकर्तालाई तपाईंको सुझाव के छ ?

पार्टीमा खटेका नेता/कार्यकर्ताले पदको आकांक्षा राख्नु स्वाभाविक हो । सबै एकढिक्का भएर झगडा नगरीकन पार्टीलाई बलियो बनाउनतिर नेता/कार्यकर्ताहरु लाग्नु पर्छ भन्ने लाग्छ । तर दु:खको कुरा पार्टीभित्र त्यस किसिमका व्यवहार र विचारहरु अहिले पनि देखिएका छैनन् । अझ पनि पार्टीभित्र ६० र ४० को लडाइँ जारी छ । यो लडाइँ महाधिवेशनपछि त सकिनुपर्ने थियो । महाधिवेशनले नयाँ नेतृत्व चुनिसकेपछि त्यो धारणा सकिनुपर्ने थियो । तर, सकिएन । भोलि जो नेतृत्वमा आए पनि यो धारणा त कायमै रहन्छ । जबसम्म यस्ता प्रकारका विवादहरु रहिरहन्छन् तबसम्म पार्टी एकढिक्का भएर अगाडि बढ्न सक्दैन । त्यसैले नेतृत्वको चाहना गर्नेहरुले पार्टीलाई एकढिक्का बनाएर गुटगत भावनालाई निस्तेज पारेर अगाडि बढ्न सक्नुपर्छ । अन्यथा हिजोभन्दा आज कांग्रेस धेरै कमजोर भइसक्यो । पार्टीलाई थप कमजोर हुने अवस्थाबाट बचाउनुपर्छ । किनभने ‘म जन्मँदै कांग्रेस हूँ’ भनेर भोट हाल्ने जमात धेरै कम भइसकेको छ । नयाँपुस्तामा कांग्रेसले आफ्नो प्रभाव जमाउन सकेको छैन । त्यसैले यस स्थितिबाट कांग्रेसलाई कसरी बचाउने हो भन्ने कुरा नेतृत्वले बुझोस् ।


प्रकाशित : असार ३१, २०७८ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?