२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९७

एमाले विवाद सुरक्षित रुपमा अवतरण भएको छ : गोकर्ण बिष्ट

काठमाडौँ — एक साताको निरन्तर गृहकार्यपछि एमालेको १० सदस्यीय कार्यदलले पार्टी विवाद निरूपणका लागि दसबुँदे सहमतिको प्रस्ताव तयार गरेको छ । दोस्रो तहका नेताहरूले गरेको यो सहमतिमा नेता माधवकुमार नेपालले भने असन्तुष्टि जनाएका छन् ।

एमाले विवाद सुरक्षित रुपमा अवतरण भएको छ : गोकर्ण बिष्ट

कार्यदलको सहमतिको प्रस्ताव आएलगत्तै नेता नेपालले प्रतिनिधिसभा विघटन र मुद्दाका सन्दर्भमा आफ्नो सहमति नरहेको बताएका छन् । यसै सन्दर्भमा एमाले सचिव तथा विवाद समाधान कार्यदल सदस्य गोकर्ण बिष्टसँग गरिएको कुराकानी ।

दसबुँदे सहमति कसरी सम्भव भयो ?

नेताहरूबीचमा लामो समयदेखि रहेको दूरी र अन्तरविरोधलाई कम गर्न अनौपचारिक प्रयत्न गर्‍यौं । ३० वटाभन्दा बढी अनौपचारिक बैठकमार्फत ९० प्रतिशतभन्दा बढी सहमतिको आधार खोजिएको थियो । कार्यदललाई औपचारिक रूपमा ब्युँत्याएपछि पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालसँग परामर्श गर्दै, असमझदारीलाई कम गर्दै सहमतिको बिन्दुमा पुग्न सफल भयौं ।

अहिलेको सहमतिले कुनै बिन्दुमा पार्टी एकता भत्किने अवस्था छ कि छैन ?

गतिशील र जीवन्त पार्टीभित्र अन्तरविरोध हुनु स्वाभाविक हो । भविष्यमा अन्तरविरोध नजन्मेला भन्न सकिँदैन । तर एमालेभित्र केही समयदेखि विभाजनको अवस्था थियो । त्यसलाई यो सहमतिले सुरक्षित अवतरण गराएको छ । पार्टीलाई एकताबद्ध बनाउन सफल भएका छौं । अब हामीले विगतका जस्ता कमीकमजोरी दोहोरिन नदिन सावधानी अपनाउनेछौं र सफल पार्टीका रूपमा अगाडि बढ्नेछौं ।

तपाईंहरूले गरेको सहमतिलाई अध्यक्ष ओली र नेता नेपालले मान्नुहुन्छ ?

उहाँहरू दुवैसँग गहिरो परामर्श गरेर सम्झौतामा पुगेका छौं । पार्टीमा जुन प्रकारको सफलता प्राप्त भएको छ, त्यो समग्र पार्टी पंक्तिका लागि सुखद हो । उहाँहरू हाम्रा आदरणीय नेता हुनुहुन्छ । यो एकताको मर्म र भावनालाई गम्भीरताका साथ अझ कसिलो बनाउने गरी उहाँहरूले अगुवाइ गर्नुहुन्छ ।

देउवालाई प्रधानमन्त्री बनाउन २३ जनाले गरेको हस्ताक्षर अब के हुन्छ ?

प्रतिनिधिसभा विघटन र सरकारका सम्बन्धमा सहमतिको बुँदा ६ मा जे कुरा उल्लेख छ, त्यसले भन्न खोजेको नै प्रस्ट छ । त्यसमा थप व्याख्या गर्नुपर्ने आवश्यकता नै देख्दिनँ ।

नेता नेपालले अदालतलाई प्रभाव पार्ने निर्णय अमान्य छ भनिसक्नुभएको छ नि ?

कमरेड माधव नेपालसँग धेरै लामो परामर्शमार्फत यो निष्कर्षमा आइपुगेका छौं । उहाँ हाम्रो आदरणीय नेता हुनुहुन्छ । उहाँबाट यस प्रकारको अभिव्यक्ति आयो होला भन्नेमा मलाई विश्वास लाग्दैन ।

त्यसो भए किन उहाँको त्यस्तो प्रतिक्रिया आयो ?

हस्ताक्षर गर्नु अगाडि, हाम्रै अगाडि कमरेड भीम रावलले उहाँसँग लामो कुराकानी गरेर यो निष्कर्षमा पुगिएको छ ।

उहाँको सहमति भएन भने तपाईंहरूले गरेको समग्र एकताको प्रयास सार्थक होला र ?

यो काल्पनिक प्रश्नको जवाफ दिइरहनुपर्छ भन्ने लाग्दैन । पार्टीभित्र देखापरेका असामान्य र असहज परिस्थितिलाई समाधान गर्न दसबुँदे निष्कर्षमा पुगेका छौं । यसले हाम्रा मान्यता, अडान र आवश्यकतालाई फेरि पनि पुष्टि गरेको छ । यसलाई महत्त्वपूर्ण उपलब्धि मानेर अगाडि बढ्नुपर्छ । पार्टीलाई अझै बलियो बनाउने गरी नै समझदारीलाई व्यवस्थित गर्नु जरुरी छ ।

भोलि बस्ने स्थायी कमिटीको बैठकमा नेता नेपाल उपस्थित हुनुहुन्छ त ?

पार्टी अध्यक्ष र उहाँले बैठक अगाडि भेटघाट गर्ने र बैठकलाई व्यवस्थित गर्ने सन्दर्भमा सल्लाहका साथ अगाडि बढ्न आवश्यक छ । यसमा गम्भीरताका साथ ध्यान पुग्नेछ ।

सहमतिमा पावर सेयरिङको विषय छैन । त्यो कसरी हल हुन्छ ?

कार्यदलले जे कार्यादेश पाएको थियो, त्यसको परिधिभित्र रहेर आफ्नो जिम्मेवारीलाई सम्पादन गरेका छौं । पार्टीभित्र हरेक नेतृत्व, कार्यकर्ता पंक्तिको योग्यता, क्षमता र आवश्यकतालाई उचित व्यवस्थापन गरेर जाने सन्दर्भमा ध्यान पुर्‍याएर नै पार्टी अगाडि बढ्छ ।

प्रकाशित : असार २८, २०७८ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?