१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

'हरे शिव यो के भइरहेछ ?'

नियम कानुन पन्छाएर आफ्ना मान्छेको स्वार्थमा जे पनि गर्ने ? यस्तो पनि हुन्छ ? प्राथमिकता दिनुपर्ने कुरा एकातिर छ, काम अर्कोतिर ।

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति एवं चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन टोलीका विज्ञ केदारभक्त माथेमाले प्रधानमन्त्रीको सोझो निर्देशनमा सारा प्रक्रिया लत्याएर बीएन्डसी कलेजलाई सम्बन्धन दिने कदमको नकारात्मक असर दीर्घकालसम्म हुने बताएका छन् ।

'हरे शिव यो के भइरहेछ ?'

त्रिभुवन विश्विद्यालयका पूर्वउपकुलपति एवं चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन टोलीका विज्ञ केदारभक्त माथेमासँग जनकराज सापकोटाले गरेको कुराकानी :

कोरोना संक्रमणका कारण समाज अस्तव्यस्त भइरहेको मौका छोपेझैं गरेर सरकारले बीएन्डसी कलेजलाई सम्बन्ध दिने प्रक्रिया अगाडि बढाएछ नि ?

त्यही त अचम्मको कुरा छ । यतिबेला त सरकारको प्राथमिकता आउँदै गरेको कोरोनाको तेस्रो लहर रोक्न तयारीमा व्यस्त हुनुपर्ने हो । पहिलो डोज भ्याक्सिन लगाएका नागरिकलाई दोस्रो डोज भ्याक्सिन दिन जुट्नुपर्ने हो । सबै नागरिकलाई भ्याक्सिनको प्रबन्ध गर्न कूटनीतिक रूपमा सक्रिय हुनुपर्ने हो तर सरकार नियम प्रक्रिया सबै मिचेर आफ्नो स्वार्थ पूरा गर्न मेडिकल कलेजलाई सम्बन्धन दिन लागेको छ । यो सब देख्दा त के गरूँ के गरूँ हुँदोरहेछ । छटपटी हुने रहेछ । हे राम भनेजस्तो हुँदोरहेछ ।

सरकारका निम्ति मेडिकल कलेज सम्बन्धको विषय प्राथमिकतामा राख्नुपर्ने विषय किन भयो ?

त्यही त अचम्म छ । प्रधानमन्त्रीको सोझो निर्देशनमा सारा प्रक्रिया लत्याएर सम्बन्धन दिने कुराको लामो असर छ । यसको मूल्य भोलि सिंगो समाजले चुकाउनुपर्छ । प्रजातन्त्रमा पनि यस्तो मनपरी हुन्छ ? कोरोनाको आवरणमा मनपरी शासन चलाउन पाइन्छ ? यस्तो कामलाई त इतिहासले कहिल्यै माफी गर्दैन ।

यति हुँदा सरकारको कदमविरुद्ध बोल्ने आवाज सुनिँदैन त ?

यतिबेला त चिकित्सा शिक्षामा लागेका मान्छेहरू, चिकित्सक संघका मानिसहरूले बोल्नुपर्ने हो । संवैधानिक निकायहरू, काठमाडौं विश्वविद्यालयको सिनेट, प्राध्यापक संघ कराउनु पर्दैन ? मसानघाटजस्तो समय भएको छ । धन्न नागरिक आन्दोलनमा लाग्ने केही साथीहरू बोल्नुभएको छ ।

समाज अस्तव्यस्त भइरहेका बेला जसरी प्रक्रिया मिचेर मेडिकल कलेजलाई सम्बन्धन दिन लागिएको छ । यसको असर के हुन्छ ?

एउटा रेस्टुराँमा ५० जनालाई खुवाउने क्षमता छ तर त्यसले १०० जनालाई खाना खुवाउन थाल्यो भने के हुन्छ ? काठमाडौं विश्वविद्यालयले अहिले नै सम्बन्धन दिएका मेडिकल कलेजलाई अनुगमन गर्न र सहयोग पुर्‍याउन सकिरहेको छैन । यस्तो बेला सम्बन्धन थप्दै गएपछि के हुन्छ ? सम्बन्धनको विषय चिकित्सा शिक्षाको गुणस्तरसँग जोडिन्छ । स्वास्थ्य सेवाको गुणस्तर खस्कियो भने त्यसको सोझो असर जनतामा पर्छ । हामीले यस्तो नहोस् भनेर महिनौं लगाएर चिकित्सा शिक्षा क्षेत्र सुधार प्रतिवेदन बनायांैं । त्यतिका धेरै विज्ञले लामो समय खर्चेर बनाएको प्रतिवेदन निश्चित स्वार्थका निम्ति लत्याउने काम भयो । भकाभक मेडिकल कलेज थप्दै जाने अनि गुणस्तर भन्ने कुरा रद्दीको टोकरीमा फाल्ने काम हुने भयो ।

यो कदमलाई कसरी लिनुभएको छ ?

कुनै घाउ देखिन्छ । कुनै घाउ देखिँदैन । यो नदेखिने घाउ हो । यसले विकृतितिर लैजान्छ । नियम कानुन पन्छाएर आफ्ना मान्छेको स्वार्थमा जे पनि गर्ने ? यस्तो पनि हुन्छ ? प्राथमिकता दिनुपर्ने कुरा एकातिर छ, काम अर्कोतिर ।

सरकारका निम्ति मेडिकल कलेज प्राथमिकतामा पर्‍यो होला नि त ?

त्यो नितान्त स्वार्थको कुरा मात्रै हो । खासमा देशको अहिलेको प्राथमिकता के हो भन्ने नै छैन । जापानले केही दिनअघि कम्बोडिया र भियतनामलाई भ्याक्सिन दियो । हामीले त्यहाँबाट पनि भ्याक्सिन पाउन सक्थ्यौं तर पाएनौं । हामीले कहिले दोस्रो डोज पाउँछौं भनेर पाका उमेरका साथीहरू सोध्नुहुन्छ । त्यसको कुनै जवाफ सरकारसँग छैन । आजै मात्र मैले दुई जना अग्रजको मृत्युको खबर सुनें । हरेक दिन मृत्युको खबर सुनिरहेको छु तर सरकारलाई भने सत्ताबाहेक अरू केही छैन भनेजस्तो छ ।

प्रकाशित : जेष्ठ २९, २०७८ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?