सबै निकायसँग समन्वय गर्छौं : सीसीएमसी कार्यकारी प्रमुख शर्मा

दोस्रो लहरको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले ‘कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ ल्याएको छ । जसमा प्रधानमन्त्री नेतृत्वमा ‘कोभिड–१९ निर्देशक समिति’ बनाइएको छ । यसमा निर्देशक समितिको प्रत्यक्ष निर्देशन र नियन्त्रणमा रहने गरी कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) रहने व्यवस्था पनि गरिएको छ ।

सबै निकायसँग समन्वय गर्छौं : सीसीएमसी कार्यकारी प्रमुख शर्मा

साथै, निर्देशक समितिको सदस्य–सचिवमा केन्द्रको प्रमुख रहने व्यवस्था छ । यसैबीच, सरकारले सोमबार केन्द्रको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी अवकाश प्राप्त रथी बालानन्द शर्मालाई दिएको छ । संयुक्त राष्ट्रसंघअन्तर्गत विभिन्न मुलुकका सेनाको कुशलतापूर्वक नेतृत्व गरेका फोर्स कमान्डर, नेपालको सेना समायोजनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका तथा हाल राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय निर्माणका लागि मुख्य जिम्मेवारी पाएका अनुभवी सैनिक विज्ञसमेत रहेका शर्मासँग कान्तिपुरका जगदीश्वर पाण्डेले गरेको कुराकानी :

नयाँ जिम्मेवारीलाई कसरी लिनुभएको छ ?

मैले जिम्मेवारी पाएको छु । पहिला सुनौं र बुझौं । त्यसपछि कहाँ, के अप्ठ्यारो परेको हो, हाम्रो पहल के हो, कमजोरी के हो, पत्ता लगाएपछि कोरोना रोकथाम र नियन्त्रणका लागि उपाय निकाल्छौं ।

धेरै विषयको अनुभव तपाईंसँग छ । अब यो स्वास्थ्य संकटमा चाहिँ कसरी काम गर्ने सोच बनाउनुभएको छ ? कोरोना रोकथाम र नियन्त्रणका लागि आफैंले केही योजना तयार पार्नुभएको छ त ?

योजना बनाएरै अघि बढ्ने हो । अहिले कानुनले नै मेरो नेतृत्वमा रहेको संयन्त्रमा रहने गरी केही पदाधिकारी तोकिदिएको छ । उहाँहरूसँग टिम बनाएर जाने हो । पछिचाहिँ एउटा रणनीतिक योजना पनि बनाउँछौं । त्यो रणनीति बनाउँदा अहिलेसम्म हामीसँग भएका ज्ञान, स्रोत–साधन तथा जनशक्तिको अध्ययन गर्ने छौं । पहिला स्रोत–साधन, जनशक्ति कसरी परिचालन भएका रहेछन्, कहाँ गल्ती गर्‍यौं, कहाँ चुक्यौं भनेर पुरानो ‘लेसन लर्न’ गर्छौं र अघि बढ्छौं । मैले पनि एउटा अवधारणा बनाएको छु । नेपालको सन्दर्भमा मिल्ने गरी अगाडि बढ्नुपर्ला भन्ने सोचेको छु ।

यो त प्रधानमन्त्रीको नेतृत्वमा रहने कोभिड–१९ निर्देशकमातहत काम गर्ने संयन्त्र हो ? कसरी अघि बढ्नुहुन्छ ?

कोभिड–१९ निर्देशक समितिसँग समन्वय रहेर काम गर्ने हो । समितिले अघि बढाएका विषयवस्तु कार्यान्वयनमा लैजाने गरी केन्द्रले काम गर्नेछ । र, सबै निकायसँग आवश्यकताअनुसार समन्वय गरेर काम गर्ने छौं ।

पहिले सीसीएमसीको सचिवालय थियो, अहिले त्यसलाई हटाएर प्रधानमन्त्री नेतृत्वको निर्देशक समितिमातहत राखिएको छ । कानुनी पक्षलाई कसरी हेर्नुभएको छ ?

अध्यादेशले पनि यसका बारेमा धेरै कुरा प्रस्ट पारेको छ । त्यसलाई टेकेर थप आवश्यक कानुन बनाउन सकिन्छ । पहिला काम गर्दा के कस्तो हुन्छ, त्यसका आधारमा पनि हामी अघि बढ्ने छौं ।

प्रकाशित : जेष्ठ ११, २०७८ २१:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?