१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

कोरोना भाइरस संक्रमणको अवस्था नियन्त्रणमै छ : सचिव बराल

कोभिड क्राईसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) सचिवालयका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयका सचिव खगराज बरालसँग गरिएको संक्षिप्त कुराकानी :

कोरोना भाइरस संक्रमणको अवस्था नियन्त्रणमै छ : सचिव बराल

संक्रमण बढिरहेका बेला सीसीएमसी के कुरामा केन्द्रित छ ?

नियन्त्रण रोगथाम र प्रतिकार्यमा ।

अहिले अक्सिजन सिलिन्डरदेखि बेडसम्मको अभाव देखिएको छ । सीसीएमसी के कुरामा केन्द्रित छ भन्न खोजेको ?

आजको दिनभरी त हामी अक्सिजमै फोकस छौं । भोलिदेखि हामी अरु कुरामा फोकस हुन्छौं । बेडका लागि त स्वास्थ्य मन्त्रालय लागिरहेको छ नि त ।

अक्सिजनको अभाव कसरी पूर्ति होला त ?

अक्सिजनको अभाव त केही समय लाग्ने भो । तैपनि हामीले अभावलाई पूर्ति गरिरहेका छौं । हामीले हरेक अक्सिजन उत्पादन केन्द्रमा सुरक्षाकर्मी खटाएका छौं । बाहिरबाट पनि सिलिन्डर ल्याएर आवश्यकता पर्दा रिफिल गरेका छौं । विराटनगर, सुनसरीतिरबाट पनि ल्याउन मिल्नेजति ल्याएका छौं । कूटनीतिक ढंगबाट पनि आह्वान भएको छ । मित्रराष्ट्रहरुले पनि केही सहयोग गर्छु भनेका छन् ।

अब कति दिनमा अक्सिजनको अवस्था सहज हुन्छ भन्नेबारे केही अनुमान गर्नुभएको छ ?

यो त बिरामी कति बढ्छन् भन्नेमा भर पर्छ । घट्यो भने अक्सिजन पुग्छ । अहिलेभन्दा डबल बिरामी भए भने त अक्सिजन पुग्दै पुग्दैन नि !

त्यही पनि तपाईंहरुले संक्रमण कसरी बढ्छ भन्नेमा केही अनुमानहरु त गर्नुभएको होला नि त ?

तपाईंले कस्तो कुरा नबुझेको । बिरामी बढ्नेबित्तिकै अक्सिजनको आवश्यकता बढीहाल्छ ।

कतिसम्म बिरामी बढ्छन् भन्नेबारे केही आंकलन छैन ?

त्यो त स्वास्थ्य मन्त्रालयलाई थाह छ ।

अघिल्लो कोरोना लहरमा त सीसीएमसीले कसरी संक्रमण बढ्छ भन्नेबारे केही लेखाजोखा पनि गरेको थियो नि त ।

सीसीएसमीले यस्तो अनुमान गर्दैन । गरे पनि स्वास्थ्य मन्त्रालयले हो गर्ने । उसले गरेको अनुमानको भरमा हामी चल्ने हो ।

त्यसोभए तपाईंहरुले कुन स्थितिसम्मका निम्ति तयारी गर्नुभएको छ त ?

स्वास्थ्य मन्त्रालयले यति चाहिन्छ सिलिन्डर, यति चाहिन्छ आईसीयु भनेको छ त्यो हिसाबमा सरकारले बेड थपेको छ । वीर अस्पतालको सर्जीकल वार्डलाई कोरोना वार्ड बनाउने, ५ सय बेड पुर्‍याउने काम गरेको छ । बेड थपेर मात्रै पुग्दैन, स्वास्थ्यकर्मी थप्ने, अक्सिजन थप्ने, आईसीयु र भेन्टिलेटर थप्ने काम पनि हुनुपर्‍यो । स्वास्थ्यकर्मी थप्नका लागि अस्ती क्याबिनेटले निर्णय नै गरिदिएको छ । ६ महिनालाई डेडी तलब दिनु, एक वर्षलाई करारमा राख्नु भनेको छ ।

बाहिरको अवस्था हेर्दा भयावह देखिन्छ र हामी नियन्त्रणबाहिर गएजस्तो देखिन्छ । तपाईंहरुले त्यहाँ बसेर हेर्दा कस्तो देखिन्छ ?

अब तपाईंहरुले त्यहाँ बसेर हेर्ने, हामीले यहाँ बसेर हेर्ने हो । तपाईंहरुले बाहिर गएर ह्याभोक (भयावह अवस्था) क्रियट गर्ने हो, हामीले होइन अवस्था नियन्त्रणमै छ भन्ने यही त हो नि !

प्रकाशित : वैशाख २५, २०७८ २०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?