३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

नेतृत्वले धोका दिए : विमल निभा

काठमाडौँ — २०६२/६३ को जनआन्दोलनको मूल लक्ष्य राजतन्त्र हटाएर लोकतन्त्र स्थापना गर्नु मात्र थिएन, राजनीतिक संस्कार, चिन्तन, कार्यशैली र समग्र सामाजिक रुपान्तरण गर्नु पनि थियो ।

नेतृत्वले धोका दिए : विमल निभा

लोकतन्त्र स्थापना भएको १५ वर्ष पुगिसक्दा पनि नागरिकका अपेक्षाअनुसार राजनीतिले लय समातेको छैन । यसै सन्दर्भमा कवि विमल निभासँग रीना मोक्तानले गरेको कुराकानी :

आज २०६२/६३ को जनआन्दोलनलाई फर्केर हेर्दा तपाईँलाई कस्तो लाग्छ ?

दोस्रो जनआन्दोलनको बेला लोकतन्त्र स्वच्छ, सुन्दर र राम्रो हुन्छ भन्ने जुन परिकल्पना गरिएको थियो त्यो भएन । त्यसको विपरीत दिशातिर लोकतन्त्र गएजस्तो लाग्छ । बिस्तारै भए पनि सही दिशातिर गएको भए यसले गन्तव्य भेट्टाउँथ्यो । तर यसको दिशा नै गलत भएकोले भड्खालोमै गइरहेको छ भनेर गलत शब्दको प्रयोग त नगरुँ । तर यो सही दिशामा गइरहेको छैन ।

यसको परिणाम दुरुस्त र स्वस्थ आउला भन्ने अवस्था छैन । त्यतिबेला जसरी लोकतन्त्रमा स्वस्थ वातावरण हुन्छ भन्ने सोचेका थियौं, त्यो नभएर अहिले भद्दा किसिमको लोकतन्त्र देखापरिरहेको छ । यो लोकतन्त्र नै हो कि होइन भन्ने स्थिति छ । यदि यही लोकतन्त्र हो भने लोकतन्त्रको परिभाषामै केही फेरबदल गर्नुपर्ने स्थिति आइसकेको छ ।

तपाईँले आन्दोलनमा होमिँदा के आश गर्नुभएको थियो ?

त्यसबेला हामीले जनकल्याणकारी भविष्य, एउटा यस्तो क्षितिज जहाँबाट सुनौला घाम देखिनेछ भनेर आस गरेका थियौं । यस्तो क्षितिज जहाँबाट सारा नेपाली सुन्दर भविष्यमा पुग्नेछ भनेर सोचेका थियौं, तर त्यो सोच पूरा भएन । त्यसैले म लोकतन्त्रको स्थिति प्रिय देख्दिन ।

किन प्रिय भएन ?

नेपाली जनता जहिले पनि सही सोचमा छन् । त्यो सोचाइलाई आकार दिने, राम्रो गन्तव्यमा पुर्‍याउने जुन नेताहरु छन् उनीहरुले दायित्व र जिम्मेवारी पालन गरेनन् । दायित्व पालन नगरेपछि जनता र नेतामा दूरी पैदा भएको छ । विकृति र विसंगतिहरु देखिएका छन् ।

त्यो जनआन्दोलन भएको पनि १५ बितेछ । आन्दोलनबाट प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशितामा मुलुक प्रवेश गरेको छ । यसमा राम्रो/नराम्रो के भएजस्तो लाग्छ ?

त्यसबेलाको जुन वीज तत्व थियो, धर्मनिरपेक्षता जनकल्याणकारी राज्यको सोच । ती बीज तत्वको बीजारोपण भयो, अंकुरायो पनि तर त्यसलाई हुर्काउने दायित्व कसको त ? त्यसमा मलजल गर्ने, त्यसको वातावरण मिलाइदिने दायित्व जनताले नेतृत्वलाई सुम्पे । तर, उनीहरुले आफ्नो दायित्व पालन गरिदिएनन् । अंकुरित बीज बढेर त्यसबाट अक्सिजन दिने वृक्ष उत्पादन हुनै पाएन । जसलाई हामीले अभिभारा सुम्पेका थियौँ उनीहरुले धोका दिए ।

के हुनुपर्थ्यो ? हामी सही बाटोमा छौँ त ?

हामी सही बाटोमा छैनौँ । लोकतन्त्रले विपरीत दिशा पक्रेको छ । विपरीत दिशामा गयो भने समय लिए पनि गलततिरै डोर्‍याउँछ । सही बाटोमा जान अब तलबाटै जनता संगठित भएर आफ्नो आवाजलाई दृढतापूर्वक उठाउनुपर्छ । यसको कुनै विकल्प छैन । जसले हामीलाई धोका दिए तिनीहरुलाई हटाएर नयाँ व्यक्तिहरु ल्याउनुपर्‍यो । लोकतन्त्र भनेकै यही हो । जसले गर्न सकेन त्यसले सर्लक्क बाटो छोडिदिनुपर्छ । जसले गर्न सक्छ त्यो अगाडि आउँछ ।

भनेपछि फेरि जनता उठ्नुपर्छ ?

हो, जनता उठ्नैपर्छ । अब अरु कुनै विकल्प छैन । जहाँबाट जे हुनुपर्ने हो त्यो त भइरहेको छैन । उनीहरुको गलत नियतको मार जनताले खाइरहेको छ । त्यसैले जनता उठ्नुपर्छ । उठेर सही नेतृत्व खोज्नुपर्छ ।

अहिलेको नेतृत्व सही छैन भन्ने कुरा त छर्लङ्गै छ । नियतमै खोट भएको नेतृत्व छ । जसले आदर्शका ठूल्ठूला कुरा गरे, सपना देखाए अहिले उनीहरु नै आफ्ना वाचाविपरीत गएका छन् । अब नियत राम्रो भएकाहरु नेतृत्वमा पुग्नुपर्छ । आजको आवश्यकता यही हो । अब जनगुहार आउनु पर्छ ।

त्यस्तो जनगुहार कहिले आउला?

अब त्यो त छिट्टै आउँछ नै । कुनै पनि चिजको एउटा सीमा हुन्छ । त्यो सीमा आइसकेको छ । अब यो भन्दा बढी भयो भने विस्फोट नै हुन्छ । त्यो विस्फोट नहोस्, शान्तिपूर्ण वातावरणमै हाम्रा चाहना पूरा होऊन् ।

लोकतान्त्रिक संस्थाहरुको अवस्था के छ नि ?

तिनीहरु बलिया छैनन् । लोकतन्त्रलाई थाम्ने संस्थाहरु भ्रष्ट भएर गए । त्यसैको दुष्परिणाम हो अहिलेको स्थिति । तिनीहरुको स्थिति राम्रो भएको भए ढिलै भए पनि केही हुन्थ्यो ।

के संघीयताको सही प्रयोग भइरहेको छ त ?

संघीयताको राम्रो प्रयोग भइरहेको छैन । अहिलेको जुन नेतृत्व छ, त्यसले संघीयतालाई जुन रुपले बुझेको छ त्यो बुझाइ नै गलत छ । पञ्चायतकालमा अञ्चलाधीश, सिडिओ राख्ने जुन धारणा थियो । त्यसै अनुसार अहिले पनि नेतृत्वले संघीयतालाई बुझेको छ । संघीयता त त्यस्तो होइन । जनताले पञ्चायतकालको जस्तो केन्द्रिकृत शासन चाहेकै होइन ।

जुन उपलब्धि भएको छ त्यसको बाधक केलाई ठान्नु हुन्छ ?

उपलब्धिको बाधक नेतृत्वको अक्षमता, दुर्नियत र जनतालाई पीडा दिने कामकारबाही हुन् ।

प्रकाशित : वैशाख ११, २०७८ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?