३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

'फ्लोर क्रस' गर्नेहरूले राजनीतिक अपराध गरे : यामलाल कँडेल  

'माधव नेपालसित जोडिएका साथीहरूको राजनीति के रहेछ भन्ने पटाक्षेप भयो'
जयसिंह महरा

काठमाडौँ — केन्द्रमा एमाले र माओवादीबीच भएको सत्ता भागबण्डामा कर्णाली प्रदेशमा माओवादीका महेन्द्रबहादुर शाही मुख्यमन्त्री बने । सबैभन्दा ठूलो दल बनेपछि कर्णालीको पहिलो मुख्यमन्त्री बन्ने चाहना राखेका एमाले प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेल सत्ताधारी दलका नेता हुनपुगे । 

'फ्लोर क्रस' गर्नेहरूले राजनीतिक अपराध गरे : यामलाल कँडेल  

नेकपा रहेकै बेला पनि मुख्यमन्त्रीबाट शाहीलाई हटाएर आफू त्यो पदका पुग्ने धोको कँडेलको थियो । त्यसले केन्द्रीय राजनीति नै तरंगित बनायो । २०७७ कात्तिकमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल कर्णालीलाई लिएर चर्को विवादमा उत्रिए । दोस्रोपटक कँडेलको मुख्यमन्त्री बन्ने धोको पूरा भएन ।

२०७७ फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदियो । त्यसको प्रभाव कर्णाली सरकारमा नपर्ने सम्भावना नै थिएन । पहिल्यै दुईपल्ट मुख्यमन्त्री बन्न खोजेका कँडेलले यो मौकाको सदुपयोग गर्नका लागि शाहीविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराए । उनी प्रस्तावित मुख्यमन्त्री थिए ।

मुख्यमन्त्री बन्ने धोको राखेका कँडेलको तेस्रो प्रयास पनि सफल हुन सकेन । एक सांसदलाई कारबाही गरेर १२ प्रदेशसभाको नेता महेन्द्रबहादुर शाहीले प्रदेशसभाको विश्वास प्राप्त गरे भने १९ प्रदेशसभा रहेका कँडेलले आफ्नै दल सम्हाल्न सकेनन् । एमालेमा जारी ओली र माधवकुमार नेपालको झगडाले कँडेलको मुख्यमन्त्री बन्ने सपना पूरा हुन दिएन ।

शाहीको सरकारमा रहिसकेका नेपाल पक्षका एमाले प्रदेशसभा सदस्यले कँडेलले लगाएको ह्वीप उल्‍लंघन गरे । प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमरबहादुर थापाले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिए । यसरी नेकपा (माओवादी केन्द्र) का १२, नेपाली कांग्रेसका ६ र एमालेका ४ सहित २२ जना सांसदको मतले शाहीको पदमात्रै जोगिएन कँडेलको मुख्यमन्त्री बन्ने बाटो बन्द भयो ।

कर्णाली प्रदेशको यो राजनीतिक अवस्थाबारे कर्णाली प्रदेशसभामा एमाले संसदीय दलका नेता यामलाल कँडेलसँग कान्तिपुरका लागि जयसिंह महराले गरेको कुराकानीको सम्पादित अंशः

कर्णालीको पछिल्लो राजनीतिक परिस्थितिबारे तपाईंको धारणा के हो ?

नतिजा थाहा पाइहाल्नुभयो । उहाँहरू (फ्लोर क्रस गर्ने एमाले सांसद)ले षडयन्त्रपूर्वक ढंगले सहमतिका साथ दलको बैठकमा बसेको देखियो । उहाँहरू पार्टीको दलको भएको हुनाले सहभागी बनाएर १ बजेसम्म सर्वसम्मत ढंगले निर्णय गरिएको थियो ।

प्रकाश ज्वाला राजनीतिक इतिहास बोकेको साथी भइसकेकाले उनले गर्ने थिएनन् । अरुले गर्ने कुरा हुन्थ्यो । उहाँहरूको राजनीतिक अपराधका रूपमा लिन्छु । दल छोड्न सक्छ, राजनीतिक निर्णय गर्न सक्छ, त्यो गरेको भए कुनै आपत्ति थिएन । यो त उहाँहरूले राजनीतिक अपराध गरेर कुनै राजनीतिक भविष्य नदेखेर तत्कालिक फाइदाका लागि त्यस्तो गरेको हो भन्ने लाग्छ ।

फ्लोर क्रस गर्ने सांसदलाई के गर्नुहुन्छ ?

उहाँहरू अब एमाले रहनुभएन । प्रक्रिया पुर्‍याउन बाँकी छ । उहाँहरू एमाले रहनुभएन, रहन सक्नुहुन्न । विधि प्रक्रिया पुर्‍याएर कारबाही हुन्छ ।

कर्णालीमा एमालेले दिएको सन्देश के हो ?

कर्णालीको सामाजिक आर्थिक जुन बनावट छ यसबाट प्रतिनधित्व भएको साथीहरूको प्रतिछायाँ यसमा देखियो । निष्ठा राजनीतिको कुरा देखिएन । अर्को नेकपा एमालेभित्रको जुन संकट देखा परेको छ, अब क्रमश: नेकपा एमालेको माधव नेपालसित जोडिएका साथीहरूको राजनीति के रहेछ भन्ने पटाक्षेप हो । अर्को, कांग्रेस प्रदेशसभामा भाषण गर्दासम्म प्रतिपक्ष प्रतिपक्ष भनिरहेको थियो । प्रतिपक्ष हुँदा पनि सत्तापक्षलाई भोट हाल्ने इतिहासमा नहुने घटना भयो ।

कांग्रेसले निर्णय गरिसकेको थिएन भन्नुभएको हो ?

यो कुरा उहाँ (जीवनबहादुर शाही) आफैले भन्नुभएको थियो ।

एमालेलाई नै सम्हाल्न तपाईंको पहल पर्याप्त नभएको हो ?

आफ्नो दलभित्र विश्वासका साथ उहाँसँग छलफल गरेको थिए । आन्तरिक मतभिन्नताका बाबजुद मेरो अपेक्षा के थियो भने त्यो तहसम्म कदम उठाउनुहुन्न भन्ने थियो । उहाँहरूले नै बैठकमा बारम्बार बताइरहनुभएको थियो । मेरो अरु दलहरूसँग बातचिज र संवाद भइरहेको अवस्था थियो । आफ्नै दलमा केन्द्रित भएर गतिविधि अगाडि बढाइरहेको अवस्था थियो ।

कर्णाली सरकार त जोगियो तर त्यसले एमालेभित्र नै तरंग पैदा गर्‍यो नि, होइन र ?

त्यसको विश्लेषण तपाईंहरूले नै गर्नुस्, के हुन्छ ?

प्रकाशित : वैशाख ३, २०७८ १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?