‘भारतले आफूलाई नेपालको राजनीतिबाट माथि राख्‍नुपर्छ’

'सामाजिक सञ्जालको भ्रामक सूचना रोक्न स्वतन्त्र संस्थागत मिडियाको खाँचो पर्छ'
'रेडियो पत्रकारिताका हिसाबले भारत सबैभन्दा कम लोकतन्त्र भएको मुलुक हो'
सुरेशराज न्यौपाने

नयाँदिल्ली — वरिष्ठ पत्रकार सर विलियम मार्क टली ५५ वर्षदेखि भारतमा छन् । उनले दिल्लीबाटै बीबीसीका लागि ३० वर्षभन्दा बढी पत्रकारिता गरे । दुई दशकभन्दा बढी त बीबीसीको दक्षिण एसिया ब्युरो प्रमुख नै रहे । त्यस अवधिमा उनले नेपाल, भारत र दक्षिण एसियाका अन्य मुलुकका महफ्वपूर्ण राजनीतिक, आर्थिक र सामाजिक घटनाको रिपोर्टिङ गरे ।

‘भारतले आफूलाई नेपालको राजनीतिबाट माथि राख्‍नुपर्छ’

पत्रकारिताका दौरानमा उनले नेपालको राजनीतिक घटनाक्रमलाई पनि नजिकबाट नियाले । ८५ वर्षीय टलीले भारत बसाइँका क्रममा देखेका परिवर्तन, पत्रकारिता र नेपालसम्बन्धी विषयमा नयाँदिल्लीस्थित कान्तिपुर ब्युरोका सुरेशराज न्यौपानेले उनीसँग गरेको कुराकानी :

भारतमा पाँच दशकदेखि बस्दा तपाईंले के कस्ता परिवर्तन देख्नुभयो ?

म जन्मेकै भारतमा हो । केही वर्ष दार्जिलिङमा पढें । १० वर्षको उमेरमा बेलायत गएको हुँ । सन् १९६५ मा फेरि फर्कें । त्यसयता भारतमै बस्दै आएको छु । त्यतिबेला दिल्ली निकै सानो सहर थियो । गाडी निकै कम थिए । फ्लाइओभर थिएनन् । जताततै रेल्वे क्रसिङ थिए । व्यापारिक केन्द्र पनि कम थिए । बयलगाडी बढी चल्थे । त्यस हिसाबले व्यापक परिवर्तन भएको छ । अहिले दिल्ली विश्वकै ठूला सहरमध्ये पर्छ । आप्रवासी पनि त्यत्तिकै छन् । जनसंख्या पनि त्यत्तिकै बढेको छ । ती दिन सम्झँदा अचम्म लाग्छ । अहिले त छुट्टै सहरमा बसिरहेको छु जस्तो लाग्छ ।

त्यतिबेला यहाँ कांग्रेसको वर्चस्व थियो । त्यसैले कांग्रेसभित्रको उतारचढावले समग्र राजनीति प्रभावित हुन्थ्यो । अरू केही पार्टी पनि थिए तर उनीहरूको प्रभाव खासै थिएन । म प्रधानमन्त्री लालबहादुर शास्त्रीको निधनलगत्तै आएको थिएँ । उनको उत्तराधिकारीका लागि पार्टीभित्र निकै ठूलो बहस चलेको थियो । ठूलो सिन्डिकेट थियो । त्यसैबीचबाट इन्दिरा गान्धीको उदय भयो । निकै कमजोर प्रधानमन्त्रीका रूपमा सत्तामा पुगेकी उनी पछि निकै शक्तिशाली बनिन् । पाकिस्तानसँगको लडाइँ र बंगलादेश स्वतन्त्र भएपछि त उनको उचाइ शिखरमै पुग्यो । गान्धीको संकटकाल लगाउने निर्णय र त्यसपछि अन्य दलको उभार पनि देखे । बिस्तारै हिन्दुत्वको नारा सघन बन्दै गयो ।

नेपालले जसरी भए पनि दुई छिमेकीबीच सन्तुलन नै कायम गर्नुपर्छ

भाजपाले प्रभाव विस्तार गर्दै गयो । सरकार एक जना प्रधानमन्त्रीमा निर्भर छ । नरेन्द्र मोदीको लोकप्रियता र व्यक्तित्व नै प्रमुख बन्न पुगेको छ । अहिले त एक किसिमले निरंकुश वातावरण भन्दा हुन्छ । संकटकालमा पनि मिडियाका लागि निकै खराब दिन थिए । अहिले पनि राम्रो वातावरण छैन । खतरा छ तर संकटकालका बेला जस्तो भने होइन ।

तपाईंले भारतको मिडिया क्षेत्र खतरामा छ भन्नुभयो । नेपाललगायत अन्य मुलुकको अवस्था पनि खासै भिन्न छैन । लोकतन्त्र र बहुलवादी समाजका लागि मिडियामाथिको संकटले के अर्थ राख्छ ?

म मिडियालाई लोकतन्त्रको महत्त्वपूर्ण अंग मान्छु । स्वतन्त्र र सक्रिय मिडियाबिना कुनै पनि लोकतन्त्र संस्थागत र सुदृढ हुन सक्दैन । अहिले सामाजिक सञ्जालका कारण त स्वतन्त्र र संस्थागत मिडियाको महत्त्व झनै बढेर गएको ठान्छु । सामाजिक सञ्जालको भ्रामक सूचनालाई रोक्न पनि स्वतन्त्र संस्थागत मिडियाको खाँचो पर्छ, जसले गर्दा पाठक सही सूचनाका लागि सामाजिक सञ्जालमा नभएर यस्ता संस्थामा ढुक्कसँग भर पर्न सकून् । भारतमा बीबीसी जस्तै राजनीतिक प्रभावबाट मुक्त सञ्चारमाध्यमको खाँचो छ, जसप्रति सबैको विश्वास र भरोसा होस् । त्यस्तो संस्था स्थापनाका लागि भारतमा प्रयास नभएको होइन तर त्यो सफल हुन सकेन ।

तपाईंले एउटा अन्तर्वार्तामा भारतमा सञ्चार क्षेत्रमाथि ‘सेन्सरसिप’ बढेको र त्यो संस्थागत बन्दै गएको भन्नुभएको छ । यसको अर्थ भारतीय मिडियाका लागि अहिलेको समग्र वातावरण निकै कठिन छ भन्ने बुझ्दा हुन्छ ?

मैले कहिले भनें, सम्झन सकिनँ तर एउटा कुराचाहिँ पक्का हो, मिडियामाथि दबाब समय–समयमा पर्दै आएको छ । खुला रूपमा सेन्सरसिप नभए पनि सरकारले केही संस्थामाथि दबाब दिइरहेको छ भन्ने आमबुझाइ छ । केही संस्थाको व्यवहार हेर्दा उनीहरू दबाबमा परेको जस्तो पनि लाग्छ । उनीहरू वास्तवमै दबाबमा छन् कि छैनन् भन्ने मलाई थाहा छैन । त्यसका बाबजुद केही मिडियाले अझै पनि स्वतन्त्र ढंगले रिपोर्टिङ गरिरहेका छन् ।

सरकारको आलोचना पनि गरिरहेका छन् । नाम लिने हो भने एनडीटीभी, द वायर, द इन्डियन एक्सप्रेस, बिजनेस स्ट्यान्डर्डलगायत । अहिले सरकारको आलोचना गर्ने हो भने समस्यामा परिन्छ भन्ने आमबुझाइ बन्न पुगेको छ । यो गम्भीर कुरा हो तर केही त्यस्ता व्यक्ति पनि छन्, जो त्यसको मतलब नगरी अगाडि बढेका छन् । त्यसबापत उनीहरूले समस्या पनि भोग्नुपरेको छ ।

तपाईंले एनडीटीभीको प्रसंग निकाल्नुभयो । त्यही टीभीका पत्रकार रविश कुमारले भारतीय मिडिया क्षेत्रमा देखिएको पछिल्लो प्रवृत्तिप्रति व्यंग्य गर्दै ‘गोदी मिडिया’ भन्ने गरेका छन् । त्यसलाई कसरी हेर्नुभएको छ ?

म रविश कुमारको ठूलो प्रशंसक हुँ । उनलाई सुन्न मन पराउँछु । उनले गर्दा मलाई हिन्दी सिक्न पनि सहयोग मिलेको छ । उनले ‘वाच डग’ नभएर ‘ल्याप डग’ भए भन्ने अर्थमा त्यस्तो भनेका होलान् । पक्कै पनि केही मिडिया गोदी मिडियाजस्तै देखिन्छन् तर जहाँसम्म रविशको कुरा छ, हुन त उनीसँग कुरा नभएको धेरै भयो, उनलाई पनि सामाजिक सञ्जालमा धेरै धम्की आउने गरेको सुन्छु । सरकारबाट के कस्तो दबाब आउने गरेको छ, त्योचाहिँ थाहा भएन ।

तपाईंसँग रेडियो पत्रकारिताको लामो अनुभव रह्यो । डिजिटल मिडियाले छापा पत्रकारितालाई समेत छायामा पार्न खोजिरहेका बेला रेडियो पत्रकारितालाई त झनै गाह्रो छ । यो पृष्ठभूमिमा रेडियो पत्रकारिताको हालको अवस्था र भविष्य कस्तो देख्नुभएको छ ?

दुर्भाग्य नै भन्नुपर्छ, भारतमा रेडियो पत्रकारिता विकास हुनै पाएन । मलाई अहिले पनि सम्झना छ, काठमाडौंमा रेडियो पत्रकारितासम्बन्धी क्षेत्रीय सम्मेलन भएको थियो । श्रीलंका, नेपाल, पाकिस्तान, बंगलादेश, भुटानलगायतका पत्रकार सहभागी थिए । मैले कार्यक्रममै भनेको थिएँ– आफूलाई दक्षिण एसियाकै लोकतन्त्रको अगुवा वा पिता दाबी गर्ने भारत छिमेकी मुलुकहरूको तुलनामा रेडियो पत्रकारिताका लागि निकै अनुदार छ र यो आफैंमा लाजमर्दो कुरा हो ।

सरकारले रेडियोमा समसामयिक खबर प्रसारण गर्ने अनुमति नै दिएन । परिणाम रेडियो त चले तर हल्का मनोरन्जनका लागि मात्र । यसले गर्दा पत्रकारिताका हिसाबले रेडियोको योगदान हुन सकेन जबकि बेलायतमा रेडियो पत्रकारिता अझै निकै बलियो छ । रेडियोलाई स्वतन्त्र छाड्ने हो भने त्यसको भविष्य सधैं उज्ज्वल देख्छु ।

तपाईंको भनाइको तात्पर्य भारतजस्तो लोकतान्त्रिक मुलुकमा रेडियो पत्रकारितालाई स्वतन्त्र ढंगले अघि बढ्न दिनुपर्छ भन्ने हो ?

बिल्कुल । त्यही भएर पनि मैले त्यो सम्मेलनमा भनेको थिएँ– रेडियो पत्रकारिताका हिसाबले भारत सबैभन्दा कम लोकतन्त्र भएको मुलुक हो । यसमा नेपालले निकै राम्रो काम गरेको ठान्छु ।

त्यसो भए लोकतान्त्रिक परिपाटीलाई संस्थागत गर्न रेडियो पत्रकारिताको भूमिका अझै पनि महत्त्वपूर्ण छ हैन त ?

पक्कै पनि । अझै पनि ठूलो संख्यामा मानिस रेडियो सुन्छन् । बेलायतमा अहिले पनि समसामयिक राजनीतिक घटनामा आधारित कार्यक्रम ‘टुडे’ निकै लोकप्रिय छ । त्यस कार्यक्रममा बोल्न राजनीतिकर्मीबीच प्रतिस्पर्धा हुन्छ किनभने त्यसले पूरै दिनभरिका लागि राजनीतिक एजेन्डा तय गर्छ ।

तपाईं बीबीसीका लागि दक्षिण एसिया ब्युरो प्रमुख हुँदा कार्यक्षेत्रमा नेपाल पनि पर्थ्यो । नेपालको सामाजिक, राजनीतिक घटनालाई कसरी हेर्नुभएको छ ?

नेपाल निरंकुश राजतन्त्रबाट संवैधानिक राजतन्त्रमा गयो तर दुःखको कुरा राजतन्त्र टिक्न सकेन । मलाई अहिले पनि लाग्छ नेपालका सन्दर्भमा राजतन्त्र त्यहाँको संस्कृति र समाजको अभिन्न हिस्सा थियो । राजतन्त्र भएको भए अहिलेको राजनीतिक अस्थिरताबीच पनि नेपाल बलियोसँग उभिन सक्थ्यो । त्यसैले संवैधानिक राजतन्त्र संरक्षण गरेको भए राम्रो हुन्थ्यो र त्यो राजतन्त्रलाई कुनै किसिमको राजनीतिक भूमिका भएको भए राम्रो हुन्थ्यो । अब त्यो भूमिका कस्तो हुनुपर्छ भन्ने मलाई थाहा छैन । त्यसका लागि संवैधानिक कानुनका जानकारलाई सोध्नुपर्छ । राजतन्त्र हटेपछि नेपालले सफल लोकतन्त्रका रूपमा आफूलाई प्रस्तुत गर्न नसकेको ठान्छु ।

पत्रकार विजयकुमार पाण्डेले आफ्नो पुस्तकमा तपाईं कृष्णप्रसाद भट्टराईको प्रशंसक हुनुहुन्थ्यो भनेर लेख्नुभएको छ । पाण्डेका अनुसार तपाईंले २०४८ को आमनिर्वाचनमा भट्टराईलाई हराएर काठमाडौंका जनताले अपमान गरेको लेख्नुभएको थियो रे !

हो, म अहिले पनि नेपाली राजनीतिका दुई व्यक्तिलाई सम्झन्छु र सम्मान गर्छु, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंह । भट्टराई त निकै ठट्टा गर्नुहुन्थ्यो । म उहाँसँगको भेटमा सोध्ने गर्थें– किन तपाईंहरू सधैं झगडा गरिरहनुहुन्छ ? त्यसमा उहाँको जवाफ थियो– झगडा हाम्रो प्रकृतिमै छ । नेपालको राजनीतिक घटनाक्रमलाई हेर्दा उहाँले भनेको सही हो जस्तो लाग्छ । प्रजातन्त्र ल्याउन राजाविरुद्ध एक हुने । जब प्रजातन्त्र आयो, त्यसपछि फेरि झगडा सुरु तर उहाँहरू दुवैजना गज्जबका नेता हुनुहुन्थ्यो ।

विजयजीले भन्नुभएको ठीक हो । मैले के लेखेको थिएँ भनेर अहिले ठ्याक्कै मलाई सम्झना छैन तर त्यो कुरा मैले दक्षिण एसियामा काम गर्ने पत्रकारहरूको रिपोर्टिङहरूको सँगालोमा लेखेको थिएँ जस्तो लाग्छ । मैले उहाँको व्यक्तिवृत्त लेखेको थिएँ । उहाँको सरल जीवनशैली उल्लेख गरेको थिएँ, जसबाट अति प्रभावित थिएँ । इमानदार, गज्जबको विनोदप्रियता । एउटा घटना अझै पनि ताजा छ । एक पटक उहाँलाई भेट्न गएको थिएँ ।

सायद प्रधानमन्त्री निवास नै हुनुपर्छ । छुट्टीको दिन थियो । हामी बैठक कोठामा प्रतीक्षा गरिरहेका थियौं । एकछिनमा उहाँ बनियान र पाइजामामा आउनुभयो । उहाँले भन्नुभयो, यस्तो अवस्थामा आएको छु, तपाईंहरूको चित्त त दुख्दैन नि ? मैले त्यस्तो केही छैन भनें । कल्पना नै गर्न नसकिने सरलता थियो उहाँको । उहाँका तिनै सरलतामाथि मैले लेखेको थिएँ । उहाँजस्तो राजनीतिज्ञ पाउनु दुर्लभ हो । त्यही भएर पनि म उहाँको ठूलो प्रशंसक थिएँ । गणेशमान सिंहका पनि केही रमाइला क्षण छन् । उहाँ पनि त्यत्तिकै सरल हुनुहुन्थ्यो । नेपालले त्यस्ता नेता विरलै पाउँछ ।

तपाईंले आफ्ना समाचारमा समेटेका नेपालका प्रमुख राजनीतिक घटनाबारे कसरी सम्झनुहुन्छ ?

त्यो त सन् १९९० को प्रजातान्त्रिक आन्दोलन नै हो । आन्दोलनका बेला म काठमाडौं गएको थिएँ । आन्दोलनका कारण हुन सक्छ एयरपोर्टमा ट्याक्सी थिएन । हामी एयरपोर्टबाटै ट्रलीमा लगेज राखेर होटल गएका थियौं । होटलको नाम ठ्याक्कै याद छैन तर एयरपोर्टबाट नजिककै अन्तर्राष्ट्रिय ब्रान्डको होटल थियो ।

एयरपोर्टका कर्मचारीले ट्रली लैजान पाउँदैनौ भनेर हामीलाई केही बेरसम्म पछ्याएका थिए । अर्को एउटा घटना पनि सम्झन्छु । पशुपति शमशेर राणा एउटा बैठकमा थिए । अचानक एउटा भीडले उनलाई घेर्‍यो । त्यसपछि उनले आफूलाई केही भयो भने बीबीसीमा आउँछ भनेर कराए । त्यसपछि त्यो भीड छेउ लाग्यो अनि एउटा सानो घरमा शरण लिए । त्यो सायद चीनको सीमानजिक थियो जस्तो लाग्छ । उनी मेरा निकै मिल्ने साथी हुन् । धेरै भयो, उनीसित भेट भएको छैन ।

राजासँग पनि भेट्नुभयो ?

अहँ पाइनँ । अन्तर्वार्ताका लागि निकै प्रयास पनि गरें तर मौका मिलेन, जबकि राजाका प्रवक्तासँग राम्रो सम्बन्ध थियो ।

दिल्लीमा रहेर दुई देशको सम्बन्धलाई पनि नजिकबाट हेर्नुभयो । वर्तमान सन्दर्भमा नेपाल–भारत सम्बन्धलाई कसरी हेर्नुहुन्छ ?

नेपालको घरेलु राजनीतिक झगडामा भारतलाई तान्ने प्रवृत्ति विगतदेखि नै हो । भारतले आफूलाई नेपालको राजनीतिबाट माथि राख्नुपर्छ । कसैको पक्ष लिनु हुँदैन । भारतको प्रमुख चासो भनेको नेपाल चीनतिर ढल्किन्छ भन्ने हो । भारतले आफ्ना चासोलाई बडो सावधानीपूर्वक र सजगतापूर्वक राख्नुपर्छ ।

त्यसैगरी भारतले नेपाललाई दिने सहयोगको सदुपयोग होस् भन्ने हेर्नुपर्छ । भारतको सहयोगमा बन्दै गरेका तराईका हुलाकी सडक बेलैमा नसकिएर उसको छवि खराब हुन पुगेकामा पनि ध्यान दिनुपर्छ । दुई देशको सम्बन्ध अत्यन्त कोमल छ । त्यही भएर दुवै देश संवेदनशील हुनुपर्छ तर त्यसमा ध्यान नदिँदा बेलाबखत सम्बन्ध खटपटमा गुज्रेको छ । जस्तै– राजीव गान्धीले नाकाबन्दी नै लगाए । त्यो अत्यन्त ठूलो गल्ती थियो । पछि फेरि त्यस्तै नाकाबन्दी दोहोर्‍याइयो ।

भारतका तर्फबाट भएका नाकाबन्दीजस्ता निर्णयलाई कसरी हेर्नुहुन्छ ?

यसमा दुईवटा कुरा छन् । पहिलो त, नेपाल–भारत सम्बन्धका हिसाबले हेर्ने हो भने त्यस किसिमका निर्णय अत्यन्त खेदजनक हुन् । ती नेपालका लागि अन्यायपूर्ण हुन् । त्यस्ता निर्णयले नेपाललाई बढी असर पुर्‍याउँछ । दोस्रो, क्षेत्रीय सम्बन्धका हिसाबले पनि दुःखद हो ।

त्यसै पनि दक्षिण एसियाको क्षेत्रीय भावना आफैंमा कमजोर छ । क्षेत्रीयता बलियो भयो भने त्यसले ठूलो आर्थिक लाभ मिल्छ । भारत र पाकिस्तानबीचको सम्बन्धका कारण पनि दक्षिण एसियाको क्षेत्रीयता बलियो हुन सकेको छैन । इन्दिरा गान्धीले सुरुवाती चरणमा सार्कको अवधारणाको विरोध गरेको मलाई अझै याद छ । उनको मुख्य चिन्ता र चासो भनेको पाकिस्तानले सार्कलाई अन्य मुलुकलाई एक ठाउँमा ल्याएर भारतविरुद्ध प्रयोग गर्नेछ भन्ने थियो । त्यो सोच अहिले पनि कायम छ ।

नेपालमा दुई ठूला छिमेकीको मात्र नभएर अमेरिकाको समेत त्यत्तिकै चासो देखिन्छ । नेपालले यस किसिमको चुनौती र दबाबलाई कसरी सामना गर्नुपर्छ ?

मलाई लाग्छ, राजामा त्यस किसिमको दबाब र चुनौती सामना गर्ने क्षमता थियो । उनी नेपालले के चाहन्छ भन्ने चुपचापसँग प्रकट गर्थे तर कसरी गर्थे, अहिले म सबै कुरा सम्झिन सक्दिनँ । भारत सधैं नेपाल आफ्नो पक्षमा रहोस् भन्ने चाहन्छ । चीन पनि विभिन्न आर्थिक सहयोग दिएर प्रभाव कायम राख्न चाहन्छ । नेपालले जसरी भए पनि दुई देशबीच सन्तुलन नै कायम गर्नुपर्छ ।

अमेरिकाको चासो भए पनि दुई छिमेकजस्तो प्रत्यक्ष संलग्न छैन । मुख्य कुरा ऊ छिमेक होइन । अमेरिकाले नेपालप्रति बनाउने धारणा भनेको मूलतः उसको भारत र चीनसँगको सम्बन्धमा आधारित भएरै हो । दुई छिमेकसँग निकै सजग ढंगले सन्तुलन बनाउनुपर्ने बेला नेपालको राजनीति भने आपसी कलहमै केन्द्रित छ । यो निकै दुःखद हो ।

प्रकाशित : वैशाख १, २०७८ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?