कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

सरकारकै भर परेर हेलचेक्रयाइँ गर्ने हो भने संक्रमण बढ्न सक्छ : डा. अधिकारी

‘अनावश्यक रुपमा जहाँ पनि जाने, भीडभाड गर्ने बेला भएकै छैन । मास्क लगाउनै पर्छ, एक अर्काबीच दूरी कायम गर्नैपर्छ, अनावश्यक रुपमा भेट्ने काम गर्नु हुँदैन ।’

काठमाडौँ — पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै नेपालमा पनि कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । संक्रमितको संख्या उकालो लाग्दै गरेको तथ्यांकले देखाएका छन् ।

सरकारकै भर परेर हेलचेक्रयाइँ गर्ने हो भने संक्रमण बढ्न सक्छ : डा. अधिकारी

कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणसम्बन्धी रहेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीसँग गरिएको कुराकानी :

भारतमा कोरोना संक्रमणले हरेक दिन रेकर्ड तोडिरहेको छ । भारतमा संक्रमण बढेपछि त्यहाँ रहेका नेपाली घर फर्किने क्रम बढ्दो छ । त्यसले नेपालमा फेरि संक्रमण फैलिने सम्भावना कति देखिन्छ ?

नेपाल जोखिममा नै छ । भारतमा रहेका नेपालीहरु तथा भारतीयहरु नै नेपाल आउनेजाने क्रम बढिरहेको छ । व्यवसाय, श्रम, अध्ययन विभिन्न कारणहरुले आउजाउ बढी हुने हो । भारतमा संक्रमण बढ्नु र आउजाउ बाक्लो हुनु यता फेरि जनस्वास्थ्य मापदण्ड उल्लंघन भइरहँदा नेपालमा कोरोना संक्रमणको जोखिम बढेको छ ।

स्वास्थ्य मन्त्रालयको तयारी कस्तो छ ?

हामीले सानो घटनाको पनि विश्लेषण गरिरहेका हुन्छौँ । त्यसका आधारमा निर्देशन र निर्णय गरिरहेका हुन्छौँ । जोखिमलाई हेरेर संक्रमण बढ्न सक्छ है भनेर मन्त्रालय सजग हुनुपर्छ भन्ने हिसाबले तयारी गरिरहेका छौँ । विभिन्न हेल्थ डेस्क व्यवस्थित बनाउने, निगरानी बढाउने, सामग्री तथा जनशक्ति व्यवस्थापन गर्ने, सूचना सामग्री उपलब्ध गराउने, शंकास्पद व्यक्तिको परीक्षण नाकामै गराउने गर्ने गरी व्यवस्थापन भइरहेको छ । कोही नाकामा आउँछ भने स्वास्थ्य अवस्था बुझ्न लगाउने, एन्टिजेन परीक्षण गर्ने ,संक्रमण पुष्टि भएको खण्डमा नजिकको आइसोलेसन केन्द्रमा लग्ने निर्देशन दिइसकेको छ । आउने व्यक्तिलाई कम्तीमा १० वटा मास्क दिएर पठाउने निर्णय भएको छ ।

हामीले सूचना सम्प्रेषणमा अलि बढी जोड दिएका छौँ । त्यसैगरी परीक्षण विस्तारमा बढी जोड दिने भन्ने हो । अस्पतालहरुमा केश बढी आएमा अस्पताललाई तयारी अवस्थामा रहन र सामग्रीहरुको व्यवस्थापन गर्ने र स्रोतसाधन नभएको खण्डमा अनुरोधका लागि आग्रह गरेका छौँ ।

मुख्य कुरा भनेको रोकथाम नै हो । अस्पताल गएपछि पाउने दु:ख र जोखिमबाट कसरी सुरक्षित हुन सक्छु भन्ने आफ्नो ठाउँमा छ । यसमा लाग्ने सरकारको स्रोत र साधन, लगानी अर्को पाटो हो । सर्वसाधारणले गर्नुपर्ने पाटो पनि आफ्नो ठाउँमा छ । कतैबाट आउँदा १० दिन क्वारेन्टाइनमै बस्नपर्छ । आफू सजग भए अरुलाई सर्दैन । जोखिममा हुनुभन्दा आफू रोकथामका लागि भूमिका निर्वाह गर्नुपर्छ ।

अनावश्यक रुपमा जहाँ पनि जाने, भीडभाड गर्ने त्यस्तो काम अझै गर्नेबेला भएकै छैन । मास्क लगाउनै पर्छ, एक अर्काबीच दूरी कायम गर्नैपर्छ, अनावश्यक रुपमा भेट्ने काम गर्नु हुँदैन । शंकास्पद लक्षण भएको व्यक्तिलाई सरकारी प्रयोगशालामा नि:शुल्क परीक्षणको व्यवस्था छ । यो काम आफै गरिदिए र अरुलाई पनि बुझाइदिए संक्रमण रोकिएर जान्छ । संक्रमणको चक्र अगाडि बढ्दैन । र हामी पहिलेको जस्तो एकदम धेरै संक्रमण भएको अवस्थामा जादैनौँ । अरु देशले भोगेको जस्तो खराब अवस्था हामीले बेहोरेनौँ । तर त्यो अवस्था नआउला भन्न सकिन्न । हाम्रा प्रयासहरु बलियो भए हामी रोकथाम गर्न सक्छौँ ।

पछिल्लो वर्ष आइसोलेसन र क्वारेन्टाइन व्यवस्थापनमा समस्या देखिएको थियो । फेरि त्यस्तै समस्या दोहोरिने त होइन ?

कोभिड–१९ हाम्रो पुस्ताका लागि नयाँ थियो । कोरोना संसारभरका लागि नयाँ थियो । संक्रमण रोक्नका लागि आइसोलेसन तथा क्वारेन्टाइनका महत्त्वको बारेमा पनि बुझाइ कम थियो । सुरुआती चरणमा स्वास्थ्यकर्मीहरु पनि धेरै कुरा नबुझेर अन्योलमा देखिन्थे । समग्र विश्व नै अन्योलमा थियो । क्वारेन्टाइन तथा आइसोलेसन सुधार्ने ठाउँ धेरै थिए भन्ने सिकेका छौँ । जनस्वास्थ्यका मापदण्ड, परीक्षण, अस्पताल व्यवस्थापनलगायतका कुरामा भोगाइले सिकाइसकेको छ । अबको अगाडिको पाटोमा धेरै कुरा परिष्कृत भएर जान्छ नै ।

संक्रमित हुने अवस्थामा जानुहुँदैन भन्ने हो । जोखिमपूर्ण हुन्छ । संक्रमण रोक्नलाई चाह्यौँ भने सक्छौँ । बढी जोड संक्रमण रोक्न नै हो । संक्रमणको अवस्था बढ्दै गयो भने आइसोलेसनमा राख्नै पर्छ । धेरै जटिल अवस्था आयो भने अस्पतालमा राखेर व्यवस्थापन गर्नैपर्छ । त्यसैले गएको वर्षमा अस्पतालका धेरै पूर्वाधार विकास भएका छन् । धेरै अस्पताल थपिएका छन् । थपिने क्रममा छन् । हरेक स्थानीय तहमा भएका स्वास्थ्य संस्थामा आइसोलेसन बेड तयार गरेर काम गरिरहेका छौँ ।

तर सरकारले सबै व्यवस्था गरेको छ भनेर आफूले जानेको व्यवहारमा चुक्दै जाने हो भने संक्रमणको अवस्था बढ्दै जान्छ । त्यति नै क्रिटिकल केयर दिनुपर्ने व्यक्तिको संख्या बढ्दै जान्छ । सघन उपचारमा संक्रमितको संख्या बढ्दै जाने भनेको अस्पतालमा कामको लोड बढ्दै जानु हो । हामीसँग भएको स्रोत साधन थपे पनि संक्रमित एकदमै धेरै बढ्दै गयो भने चाप बढ्दै जान्छ । तिनै स्वास्थ्यकर्मी, अस्पताल तथा पूर्वाधारमा सेवा लिनका लागि कोभिडभन्दा बाहेकका औषधि खाइरहेका व्यक्तिहरुलाई संक्रमण सर्न सक्ने जोखिम थपिन्छ । त्यसैले हामी अस्पतालभन्दा संक्रमण रोक्ने पार्टमै जोड दिने भन्नेमा केन्द्रित छौँ । अस्पतालहरुलाई सुदृढीकरण गर्ने, आइसोलेसन व्यवस्थापन गर्ने, परीक्षण बढाउने काममा पहिलेभन्दा धेरै परिस्कृत तरिकाले काम गरिरहेका छौँ । अझै पनि कसैलाई अस्पताल जानुपर्ने गरी संक्रमण नहोस् भन्ने लागेको छ ।

हाई डिपेन्डेन्सी युनिट बेडहरु सञ्चालनका लागि के भइरहेको छ ?

हाई डिपेन्डेन्सी युनिट(एचडीयू) बेडका लागि हरेक प्रदेशको अस्पतालमा थप्दै विस्तार गर्दै गइरहेका छाँै । धेरै अस्पतालमा सञ्चालनमा आइसकेका छन् । केही अस्पताल बन्ने क्रममा छन् । हामीले थपेको बेडमा कोभिडको संक्रमण बढ्दै जाँदा र पछिको अरु स्वास्थ्य समस्या बढ्दै गएमा अक्सिजन दिनुपर्ने सघन उपचारका लागि यी बेडमा सेवा दिन सजिलो हुन्छ । भोलिका दिनमा आईसीयू पाएनौँ वा भेन्टिलेटर पाएनौँ भनेर यसले धेरै गाह्रो भएको अवस्थामा यसले सहयोग पुर्‍याउनेछन् । २ हजार बेडको दरले हरेक प्रदेशमा थप्ने सरकारको तयारी छ ।

कोरोना संक्रमितका लागि नि:शुल्क उपचारमा सरकारले के निर्णय गरिरहेको छ ?

सरकारले कोभिड–१९ को शंकास्पद लक्षित व्यक्तिहरुलाई सरकारी प्रयोगशालामा परीक्षण नि:शुल्क गरेको छ । संक्रमण पुष्टि भयो तर उपयुक्त छ भने होम आइसोलेसनमा बस्न अनुरोध गरिरहेका छौँ । स्थानीय तहहरुले स्वास्थ्यकर्मी परिचालन गरेर अनुगमन गर्ने व्यवस्था छ । संक्रमण बढ्दै गए भने सरकारले आइसोलेसन सेन्टरमा राखेर व्यवस्थापन गर्ने काम गर्दछ । त्यो नि:शुल्क नै हुन्छ । जुन निकायले गरे पनि प्रतिबिरामी प्रतिदिनका हिसाबले पैसा उपलब्ध गराइन्छ । त्यसका साथै संक्रमित बढेको अवस्थामा अस्पताल नै बस्ने बिरामी छन् भने संक्रमितको अवस्था हेरेर अस्पतालहरुमा नि:शुल्क उपचार सरकारले तोकेका कोभिड अस्पतालहरु नि:शुल्क उपचार गर्छौं । यो पहिलेको नै प्रबन्ध हो । संक्रमित घट्दै गएको अवस्थ्मा केही प्रयोगशालाहरुको परीक्षण तथा उपचार स्थगित गरेका थियौँ । सरकारले नि:शुल्क नै उपचार गराउँछ । संक्रमित बढ्दै गए भने कोभिड–१९ डेडिकेटेड अस्पतालको संख्या पनि बढाउँछौं ।

कोरोना भाइरसको नयाँ भेरियन्टका बारेमा मन्त्रालयले अध्ययन अनुसन्धान भइरहेको छ कि ?

कोरोना भाइरसले आफ्नो स्वरूप परिवर्तन गरिरहेको हुन्छ । यस्तो भाइरसमा सामान्य परिवर्तन देखिए त्यसलाई सामान्य रूपमै लिइन्छ । जटिल किसिमको परिवर्तन देखियो भने यसको सर्ने प्रक्रियाहरु, सार्न सक्ने लक्षण तथा प्रभावहरु परिवर्तन गर्दै जान्छ । अहिले हेर्दा कोरोनाको सामान्य रूप परिवर्तन होस् वा जटिल किसिमको हामीसँग भएको विधि प्रक्रिया जनस्वास्थ्यका मापदण्ड नै हुन् । सर्वसाधारणले भाइरस परिवर्तन भयो भनेर डराइहाल्नु हुँदैन । हामीले संक्रमण रोक्न जे जानेका छौँ त्यहीअनुसार व्यवहार गर्नुपर्छ । जानेर पनि व्यवहारमा लगाइएन भने त्यसको औचित्य हुँदैन । एउटा प्रयोगशालामा परीक्षण भएपछि त्यसको नमुना अर्को प्रयोगशालामा पनि परीक्षण भइरहेको हुन्छ ।

भाइरस परिवर्तित भएको हो कि उस्तै हो भनेर नियमित रुपमा केही केही नमुनाहरु सम्बन्धित प्रयोगशालाहरुसँग परीक्षणका समन्वय गरिरहेका छौँ । भाइरसमा नयाँ परिवर्तन भइरहेको पुष्टि भए हामीले त्यसको टोर्गेटेड रुपमा परीक्षण गर्छौ भने नयाँ रुपमा के भइराखेको छ भने जिन सिक्वेन्सिङ गर्नुपर्ने हुन्छ । भाइरसको परिवर्तन भएको खण्डमा नियमित रुपमा निगरानी गरिरहेका छौँ । पुष्टि भए हामीले त्यसको अध्ययन गर्छौँ ।

पछिल्लो एक वर्षमा सामना गरेका समस्या र भोगाइले कस्तो पाठ सिकायो ?

हामीले गएको एक वर्षमा धेरै कुरा सिकेका छौँ । सर्वसाधारणको धैर्यताले पनि काम गरेको छ । लकडाउन भोगेका छौँ । सामान्य दैनिकीबाट पनि हामी वञ्चित भएका छौँ । यो सबै भनेको महामारीबाट बच्न, बचाउन सबैको प्रयास हो । सिकेका कुराहरु भोलिका दिनमा हुने ठूला महामारीका स्रोत हो । महामारीले सिकाएको ठूलो पाटो भनेको महामारीले कुनै तह तप्का, कुनै वर्ग कसैलाई छोड्दैन । त्यही भएर हामीले तयारी गर्ने सम्बन्धमा सरोकारवाला सबै निकायको भूमिका प्रशंसनीय रहनुपर्छ ।

स्वास्थ्य क्षेत्रको भूमिकाले मात्र पुग्दैन । यसले मात्र गर्न नसक्ने रहेछ । यो कुरालाई बुझेर अब पनि अघि बढ्याैं भने संक्रमणलाई नियन्त्रणमा राख्न सकिन्छ । ‘मेरो भूमिका के हो’ भनेर सबै अघि बढ्ने हो भने संक्रमण रोकथाम गर्न सजिलो हुन्छ । भोलिका दिन सजिलो हुनेछ । धेरै राम्रा साथ र सहयोग भएका छन् । समग्रमा हेर्दा सिकाइ, भोगाइ, प्रतिकार्य, समन्वयहरु राम्रा छन् । महामारीको सन्दर्भमा काम गर्न सक्छौँ । संक्रमणको अवस्था नबढोस् धेरै भन्नेमा नै छ हाम्रो उद्देश्य । स्रोत र साधन धेरै चुनौतिपूर्ण थियो तर अहिले भने व्यवस्थापन गर्न सक्ने अवस्थामा पुगेका छौँ । हामीसँग अनुभव र ज्ञान छ । स्रोत साधनमा बढोत्तरी भएको छ । एकदमै खराब अवस्थाको परिकल्पना नगरौँ ।

प्रकाशित : चैत्र २८, २०७७ १५:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?