कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

‘कोभिड–१९ को अर्को लहरबाट सुरक्षित रहन सहयोग गर्छौं’

‘स्पुतनिक–५’ विश्वका तीन भ्याक्सिनमध्येको हो, जुन ९० प्रतिशतभन्दा बढी प्रभावकारी छ ।
रूसको सरकारी कम्पनीले आफ्ना प्रविधि र अनुभव नेपालमा प्रयोग गर्न चासो व्यक्त गरेको छ ।

काठमाडौँ — मुलुकमा कोभिड–१९ को महामारी चलिरहेका बेला २०२० अगस्टमा पहिलो पटक नेपाललाई कोरोना भाइरसविरूद्धको खोपको आशा देखाउने मुलुक हो– रूस । त्यसबेला नेपालका लागि रूसका राजदूतले राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग सिंहदरबारमा भेटेर आफ्नो देशले कोभिड–१९ विरूद्धको खोप उत्पादन गरेको र नेपाललाई पनि उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । रूसी खोप ‘स्पुतनिक–५’ नेपालमा आइसकेको भने छैन ।

‘कोभिड–१९ को अर्को लहरबाट सुरक्षित रहन सहयोग गर्छौं’

रूसले सहयोग गर्ने भनेको खोप, नेपालको रेल्वे परियोजनामा चासो, दुई मुलुकबीचको सम्बन्धलगायत विषयमा नेपालका लागि रूसका राजदूत अलेक्से नोभिकोभसँग कान्तिपुरका जगदीश्वर पाण्डेले गरेको इमेल अन्तर्वार्ताको सम्पादित अंश :

तपाईंले ६ महिनाअघि नै रुसले नेपाललाई कोभिड–१९ खोपमा सहयोग पुर्‍याउँछ भन्नुभएको थियो तर अहिलेसम्म रुसी भ्याक्सिन आइपुगिसकेको छैन नि, किन ?

रुस र नेपाल लामो समयदेखि नजिकको मित्र रहँदै आएका छन् । नेपाली जनताले कोभिड–१९ मा सामना गर्नुपरेका चुनौतीका बारेमा हामी सधैं ध्यान दिइरहेका छौं । यो महामारीले पर्यटन क्षेत्रलगायत नेपाली अर्थतन्त्रलाई नराम्ररी असर गरेको छ । २०२० सेप्टेम्बरमा हामीले पहिलो भ्याक्सिन ‘स्पुतनिक–५’ को विकास गरेका थियौं । लगत्तै रुसले नेपाललाई २५ मिलियन डोजसम्म उक्त भ्याक्सिन उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो । रुस नेपाल सरकारलाई, नेपाली जनतालाई आवश्यक पर्ने भ्याक्सिन सक्दो चाँडो उपलब्ध गराउन प्रतिबद्ध छ । हामी उक्त भ्याक्सिन नेपालमा दर्ता गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र यसअन्तर्गत रहेको औषधि व्यवस्था विभागसँग नियमित सम्पर्कमा छौं । ‘स्पुतनिक–५’ को क्लिनिकल परीक्षण र अन्य आवश्यक सूचनाको सम्बन्धमा रुस पारदर्शी छ ।

स्पुतनिक–५ कति प्रभावकारी छ ? कति देशले यो खोप लगाए त ?

म के जानकारी दिन चाहन्छु भने हाम्रो देशमा अहिलेसम्म कोभिड–१९ विरुद्ध तीनवटा भ्याक्सिन आपत्कालीन प्रयोगका लागि दर्ता भइसकेका छन् । ‘स्पुतनिक–५’ गमेलेय रिसर्च इन्स्टिच्युट अफ इपिडिमियोलोजी एन्ड माइक्रोबायोलोजीले विकास गरेको खोप हो । यो राम्रो अध्ययन गरेर सबैभन्दा पहिलो दर्ता भएको मानव एडिनोवायरल भेक्टरमा आधारित प्लेटफर्म हो । ‘स्पुतनिक–५’ भ्याक्सिन ५० भन्दा बढी मुलुकमा दर्ता भइसकेको छ । रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनसहित १० लाखभन्दा बढी जनताले यो खोप लगाइसकेका छन् । जसको कुनै पनि साइड इफेक्ट छैन । ३१ सय जनतालाई यो भ्याक्सिनको ‘पोस्ट–रिजिस्ट्रेसनल’ क्लिनिकल परीक्षण गरिएको थियो । फेज–३ मा स्पुतनिकको क्लिनिकल परीक्षण यूएई, भारत, भेनेजुयला र बेलारुसमा भएको थियो । यो विश्वका तीन भ्याक्सिनमध्येको हो, जुन ९० प्रतिशतभन्दा बढी प्रभावकारी छ ।

नेपालमा स्पुतनिक–५ भ्याक्सिन ल्याउनका लागि रुस र नेपालबीच कुनै सहकार्य भइरहेको छ ?

नेपालमा उक्त भ्याक्सिन प्रयोगका लागि आवश्यक कानुनी प्रक्रिया चाँडो सम्पन्न हुन्छ भन्ने विश्वास रुसले लिएको छ । नेपालमा आपत्कालीन प्रयोगका लागि अनुमति दिन औषधि व्यवस्था विभागलाई गत मार्च १५ मै अनुरोध गरिसकेका छौं । हामीले पेस गरेका कागजातको समीक्षाका लागि कुर्दै छौं । ती कागजात रुसको प्रत्यक्ष लगानी कोषबाट पेस गरिएका छन् । यसअघि नै मैले भनेअनुसार हामी नेपाली पक्षसँग लगातार सम्पर्कमा छौं । हामी विश्वस्त गर्न चाहन्छौं कि उच्चस्तरीय क्षमताको भ्याक्सिन उपलब्ध गराएर फेरि आउन सक्ने कोभिड–१९ को अर्को लहरबाट सुरक्षित राख्न र जीवनलाई सामान्य अवस्थामा फर्काउन रुसले सहयोग गर्नेछ ।

तपाईंले नेपालको रेलवे परियोजनाको विकासका बारेमा पनि रुचि देखाउनुभएको छ । पछिल्लो पटक भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङसँगको भेटवार्तामा नेपालमा रुसले रेलवे परियोजना विकासका लागि सहयोग गर्ने बताउनुभएको थियो । रुसले कस्तो सहयोग गर्ने भनेको हो ?

हामीले आधुनिक रेल्वे सञ्जाल विकास गरेका छौं । आधुनिक रेल सञ्जालले काउकसस र उर्ल पहाडजस्ता जटिल भूभागसम्म मुलुकभर विभिन्न सामग्रीलाई एकीकृत गर्न सहयोग गरेको छ । रुसमा संसारको सबैभन्दा ठूलो रेल सञ्जाल छ । हामी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रयास देखेर अत्यन्त खुसी भयौं । मन्त्रालयले देशमा नयाँ यातायात पूर्वाधार तयार गर्न कडा मिहिनेत गरिरहेको छ । विशेषगरी पूर्व–पश्चिम रेलवे परियोजनालाई जोड्न सक्छ । रुसको सरकारी कम्पनीले आफ्ना प्रविधि र अनुभव नेपालमा प्रयोग गर्न चासो व्यक्त गर्दै नेपाली पक्षलाई पत्र पठाएको छ । हाम्रो जानकारीमा आएअनुसार अहिले उक्त कम्पनीका प्राविधिकले नेपाली पक्षले प्रदान गरेको डाटा अध्ययन गरिरहेका छन् । साथै, रुसी पक्ष काठमाडौंमा लाइट मेट्रो निर्माणको परियोजनामा सहकार्य गर्न पनि तयार छ ।

नेपाल र रुसको सम्बन्धलाई कसरी हेर्नुहुन्छ ?

मैले पहिले पनि भनिसकें, रुस र नेपाल सौहार्दपूर्ण र घनिष्ठ सम्बन्ध भएका मित्र छन् । १९५६ जुलाई २० बाट दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो । त्यसबेलादेखि नै हाम्रो घनिष्ठ सम्बन्ध छ । हामी विश्वास गर्छौं, भर्खरै खोपको पहल, यातायात पूर्वाधारमा सहयोग, जलविद्युत् परियोजना निर्माण तथा मस्को–काठमाडौं सीधा उडान पुनःस्थापनाले द्विपक्षीय सम्बन्धको स्तरमा ठूलो वृद्धि गर्न सक्छ । रुसले दुवै देशबीचको ऐतिहासिक सम्बन्धलाई कदर गर्छ । विशेषगरी रुस–नेपाल भ्रातृत्व दोस्रो विश्वयुद्धका दौरानमा रह्यो । त्यसबेला रुसका जनताले पश्चिमी र पूर्वी भागमा अलाइड फोर्स (जर्मनी, इटाली र जापानको सहकार्यको फोर्स) सँग लड्नुपरेको थियो । त्यसबेला नेपाली सैनिकहरूले पनि त्यही अलाइड फोर्ससँग लडेका थिए ।

प्रकाशित : चैत्र २१, २०७७ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?